1. विश्वासमा कमजोर हुनेलाई ग्रहण गर तर उसका विचारको न्याय गर्न होइन।
2. एक जना व्यक्तिमा सबै कुरा खान हुन्छ भन्ने विश्वास हुन्छ तर जो विश्वासमा कमजोर छ, उसले सागपात मात्र खान्छ।
3. खानेले नखानेलाई तुच्छ नठानोस् र नखानेलाई खानेले दोष नलगाओस्। किनभने परमेश्वरले त्यसलाई ग्रहण गर्नुभएको छ।
4. अर्काको न्याय गर्ने तिमी को हौ? ऊ आफ्नै मालिकको निम्ति खडा हुँदछ वा लड्छ, किनकि प्रभुले उसलाई स्थिर गराउन सक्नुहुन्छ।
5. यसरी नै कुनै मानिसले एउटा दिनलाई अर्को दिनभन्दा महत्वपूर्ण ठान्छ, अर्कोले हरेक दिनलाई एउटै ठान्छ, हरेक मानिस आफ्नो मनमा निश्चित होस्।
6. कुनै विशेष दिन पालन गर्नेले प्रभुकै निम्ति गर्छ, खानेले प्रभुकै निम्ति खान्छ, किनकि उसले परमेश्वरलाई धन्यवाद दिन्छ, अनि जसले खाँदैन, उसले प्रभुकै निम्ति खाँदैन र उसले परमेश्वरलाई धन्यवाद दिन्छ।
7. किनकि हामी कोही पनि आफ्नैनिम्ति बाँच्दैनौं र कोही पनि आफ्नैनिम्ति मर्दैनौं।
8. किनभने हामी बाँच्दा प्रभुकै निम्ति बाँच्छौ वा मर्दा पनि प्रभुकै निम्ति मर्छौं। यसकारण हामी चाहे बाँचौं वा मरौं, हामी प्रभुकै हौं।
9. जीवित र मरेकाहरू, दुवैका प्रभु हुनका निम्ति नै ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो।
10. यसकारण तिमी, किन आफ्नो भाइको न्याय गर्छौ? तिमी किन आफ्नो भाइलाई तुच्छ ठान्छौ? किनकि हामी सबै जना परमेश्वरको न्याय-आसनको अघि खडा हुनेछौं।
11. किनकि यसरी लेखिएको छ, ‘‘प्रभु भन्नुहुन्छ, जसरी म जिएको छु, मेरो सामुन्ने प्रत्येक घुँडा टेकिनेछ र हरेक जिब्रोले परमेश्वरको प्रशंसा गर्नेछ।’’
12. यसैले हामी हरेकले परमेश्वरलाई आ-आफ्नो लेखा बुझाउनुपर्नेछ।
13. यसैकारण हामी एउटाले अर्कोको अब उसो न्याय नगरौं ।बरु आफ्नो भाइको बाटोमा बाधा वा ठेस लाग्ने कुरा नराख्ने अठोट गरौं।
14. म जान्दछु र प्रभु येशूमा निश्चय छु कि कुनै कुरा आफैमा अशुद्ध हुँदैन तर जसले अशुद्ध हुन्छ भन्ने विश्वास गर्छ त्यसको निम्ति अशुद्धै हुन्छ।
15. किनकि यदि खानेकुराको कारण तिम्रो भाइलाई चोट पुग्छ भने तिमी प्रेमअनुसार चलेका हुँदैनौ। तिम्रो खानेकुराले उसलाई नाश नपार, जसको निम्ति ख्रीष्ट मर्नुभयो।
16. तिमीले असल ठानेको कुरालाई अरुहरूले खराब भन्न नपाओस्।
17. किनभने परमेश्वरको राज्य भनेको खानु र पिउनु होइन तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्द हो।
18. किनकि यस प्रकारले ख्रीष्टको सेवा गर्ने व्यक्ति परमेश्वरमा ग्रहणीय र मानिसहरूका निम्ति मनपर्दो हुन्छ।
19. यसैले हामी ती कुराको पछि लागौं, जसले मण्डलीमा मेलमिलाप ल्याउँछ र एक-अर्काको आत्मिक उन्नति गराउँछ।
20. खानेकुराको खातिर परमेश्वरको कामलाई नष्ट नपार। वास्तवमा सबै थोक शुद्ध छन् तर आफूले खाएको कुराले अरुलाई बाधा पार्नु खराबी हो।
21. मासु नखानु वा मद्य नपिउनु वा त्यस किसिमको कुनै काम नगर्नु नै असल हो, जसद्वारा तिम्रो भाइलाई ठेस लाग्छ।
22. तिमीमा भएको विश्वास परमेश्वर र तिम्रो बीचमा राख। आफूले असल ठहराएर गरेको कामको कारणले आफैलाई दोषी नठहराउने मानिस धन्यको हो।
23. तर यदि कसैले शङ्का गरेर खायो भने, त्यो मानिस दोषी ठहर्छ किनकि उसले विश्वाससाथ खाएको हुँदैन। विश्वासबाट नआएको कुनै पनि कुरा पाप हो।
|