1. तर तिमीले जे सत्य सिद्धान्त सुहाउँदो छ, त्यही मात्र सिकाऊ।
2. वृद्ध मानिसलाई संयमी, गम्भीर, समझदार, विश्वासमा पक्का, प्रेम र धैर्यमा दृढ हुन सिकाऊ।
3. यसरी नै वृद्धा स्त्रीहरू आचार-व्यवहारमा श्रद्धालु हुनुपर्छ, बदख्वाइँ नगर्ने, धेरै मद्यपान नगर्ने हुनुपर्छ भन्ने आदेश देऊ। तिनीहरूले जे असल छ त्यही सिकाऊन्।
4. तिनीहरूले तरुणी स्त्रीहरूलाई आ-आफ्ना पतिलाई प्रेम गर्न र आफ्ना छोराछोरीहरूलाई माया गर्न,
5. आत्मसंयमी र शुद्ध हुन, घरधन्दा चलाउन, दयालु हुन र आफ्ना पतिहरूको अधीनमा बस्न सिकाऊन्, यसैले कि परमेश्वरको वचनको निन्दा हुन नपाओस्।
6. यसरी नै जवान ठिटाहरूलाई बुद्धिमान्पूर्ण जीवनयापन गर्न उत्साह देऊ।
7. तिनीहरूलाई जे असल छ सो गरेर हरेक कुरामा उदाहरण देखाइदेऊ, अनि तिम्रो शिक्षामा इमानदारी, गम्भीरता
8. र कसैले निन्दा गर्न नपाउने ठीक बोली होस्, यसैले कि हाम्रा विरुद्धमा खराबी बोल्ने कुरा केही नभएकोले तिम्रा विरोधीहरू शर्ममा परून्।
9. दासहरूलाई आ-आफ्ना मालिकको आज्ञाकारी हुने अर्ती देऊ, तिनीहरूले उनीहरूको विरुद्धमा नबोली सबै कुरामा तिनीहरूलाई खुशी पारून्।
10. तिनीहरूले चोरी नगरून्, तर पूर्णरूपमा विश्वसनीय होऊन्। यसरी हरेक कुरामा तिनीहरूले हाम्रा मुक्तिदाता परमेश्वरका शिक्षाको शोभा बढाऊन्।
11. किनकि सबै मानिसको उद्धारका लागि मुक्ति ल्याउने परमेश्वरका अनुग्रह प्रत्यक्ष प्रकट भएको छ,
12. अनि यसले हामीलाई यो सिकाउँछ, भक्तिहीनता र सांसारिक अभिलाषाहरू इन्कार गरेर यस वर्तमान संसारमा हामीले आत्मसंयम, धार्मिकता र भक्तिसाथ जिउनुपर्छ।
13. साथै त्यस धन्य आशाको, हाम्रा महान् परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको महिमापूर्ण आगमनको बाटो हेर्दै जिउनुपर्छ।
14. हामीलाई सबै अधर्मबाट छुटकारा दिन र जे असल छ सो गर्न तयार रहने उहाँको एक जाति, उहाँकै निम्ति पवित्र बनाइनको लागि दिइहाल्नुभयो।
15. सम्पूर्ण अधिकारसित यी कुरा भन, अर्ती देऊ र हप्काऊ। कुनै मानिसले तिमीलाई तुच्छ ठान्न नपाओस्।
|