1. तिनीहरूलाई शासकहरू र अधिकारीहरूको अधीनमा रहन याद दिलाइदेऊ। तिनीहरू आज्ञाकारी र जे असल छ सो गर्न तत्पर रहनुपर्छ।
2. तिनीहरूले कसैको बदनाम नगरून्, झगडालु नहोऊन्, तर कोमल र सबै मानिसहरूलाई सबै प्रकारको नम्रता देखाउनेहरू होऊन्।
3. किनकि हामी आफै पनि एक समय मूर्ख, अनाज्ञाकारी, भ्रममा परेकाहरू, विभिन्न अभिलाषा र सुखविलासका कमाराहरू थियौं, द्वेष र डाहमा जीवन बिताउँदथ्यौं, घृणित थियौं, र एक-अर्कालाई घृणा गर्थ्यौं।
4. तर जब हाम्रा मुक्तिदाता परमेश्वरको दया र मानिसहरूप्रति प्रेम प्रकट भयो,
5. तब हामी आफैले गरेका धार्मिक कामहरूको आधारमा होइन, तर उहाँकै कृपाअनुसार नयाँ जन्मको स्नान र पवित्र आत्माको नवीकरणद्वारा हामीलाई उद्धार गर्नुभयो।
6. पवित्र आत्मालाई उहाँले हाम्रो मुक्तिदाताद्वारा हामीमाथि प्रशस्त गरी खन्याउनुभयो।
7. ताकि उहाँको अनुग्रहद्वारा धर्मी ठहरिएर अनन्त जीवनको आशाअनुसार हामी उत्तराधिकारीहरू बन्न सकौं।
8. यो विश्वसनीय वचन हो र म चाहन्छु, तिमीले निरन्तर यी कुरामा जोड देऊ कि ज-जसले परमेश्वरमा विश्वास गरेका छन्, उनीहरूले असल कामहरूमा लागिरहन ध्यान देऊन्। यी कुरा मानिसहरूका निम्ति असल र लाभदायक छन्।
9. तर मूर्खतापूर्ण वादविवाद, वंशावली, कलह र व्यवस्थासम्बन्धी झगडाहरूबाट टाढा बस, किनकि ती बेफाइदाका र व्यर्थका हुन्।
10. पहिलो र दोस्रो चेताउनीपछि विवाद ल्याउने व्यक्तिलाई इन्कार गर।
11. यो जानेर कि यस्तो मानिस कुबाटोमा लागेको हुन्छ र आफैद्वारा दोषी ठहरिँदै पाप गरिरहन्छ।
12. जब अर्तिमास वा तुखिकसलाई तिमीकहाँ पठाउँछु, तब तिमी निकोपोलिसमा मकहाँ आउनलाई भरमग्दुर चेष्टा गर किनकि त्यहीँ नै हिउँद कटाउने मैले निश्चय गरेको छु।
13. वकील जेनास र अपोल्लसलाई यात्रामा भरमग्दुर सहायता गरिदेऊ र तिनीहरूलाई केही कुराको खाँचो नपरोस्।
14. अनि हाम्रा मानिसहरूले पनि नभई नहुने खाँचोहरू पूरा गर्नलाई असल कामहरूमा लागिरहन सिकून्, यसैले कि तिनीहरू निष्फल नहोऊन्।
15. मसँग भएका सबैले तिमीलाई अभिवादन पठाएका छन् । हामीलाई विश्वासमा प्रेम गर्नेहरूलाई अभिवादन भनिदेऊ। तिमीहरू सबैसँग अनुग्रह रहोस्।
|