1. भाइहरू हो, तिमीहरूसँग बोल्दा म आत्मिक मानिसहरूसँगजस्तै बोल्न सकिनँ तर सांसारिक मानिस, ख्रीष्टमा दूधे बालकहरूसँग झैँ बोलेँ।
2. मैले तिमीहरूलाई दूधै खुवाएँ, खँदिलो खानेकुरा होइन, किनकि तिमीहरू अझै त्यसलाई ग्रहण गर्न सक्तैन थियौ, अझ पनि सक्तैनौ।
3. किनकि तिमीहरू अझ पनि शारीरिक नै छौ। किनभने जब तिमीहरूका बीचमा डाह र कलह छ, त के तिमीहरू शारीरिक चालमा चल्ने मानिसहरूजस्ता मात्र भएनौ र?
4. जब एउटाले ‘‘म पावलको हुँ’’ अनि अर्कोले ‘‘म अपोल्लसको हुँ’’ भन्छौ भने, के तिमीहरू शारीरिक मानिसहरू भएनौ र?
5. तब अपोल्लस को हो? अनि पावल को हो? प्रभुले हरेकलाई खटाउनुभएअनुसार सेवकहरू मात्र हुन्, जसद्वारा तिमीहरूले विश्वास गर्यौ।
6. मैले रोपेँ, अपोल्लसले पानी हाले तर परमेश्वरले नै बढाउनुभयो।
7. यसकारण रोप्ने केही होइन, न पानी हाल्ने तर परमेश्वर मात्र, जसले वृद्धि दिनुहुन्छ।
8. अब रोप्ने र पानी हाल्ने एकै समान हो तर हरेकले आ-आफ्नै मेहनतअनुसार इनाम पाउनेछन्।
9. किनकि हामी परमेश्वरका सहकर्मीहरू हौं, तिमीहरू परमेश्वरका खेत हौ, परमेश्वरका घर हौ।
10. मलाई दिइएको परमेश्वरको अनुग्रहअनुसार घर बनाउने निपुण कारीगरले जस्तै मैले जग बसालेँ अनि अब अरुले बनाउँदै लाँदै छन्। त्यसमाथि बनाउँदै जाने हरेक मानिसले कसरी बनाउँदै छ, त्यसमा ध्यान देओस् ।
11. किनकि जुन जग बसालिइसकिएको छ, जो येशू ख्रीष्ट हुनुहुन्छ, त्यसबाहेक कुनै मानिसले अर्को जग बसाल्न सक्दैन।
12. अब यदि कुनै मानिसले यस जगमाथि सुनचाँदी र बहुमूल्य पत्थर, काठ, घाँस र परालले निर्माण गर्छ भने
13. प्रत्येक मानिसको काम प्रकट हुनेछ, किनकि त्यस दिनले त्यो खुलस्त गरिदिनेछ। त्यो आगोद्वारा प्रकट हुनेछ र हरेकले कस्तो काम गरेको छ, सो आगोले जाँच गर्नेछ।
14. यदि कुनै मानिसले गरेको काम आगोबाट बाँच्यो भने त्यसले इनाम पाउनेछ।
15. यदि कुनै मानिसको काम जलेर नष्ट भयो भने उसले नोक्सानी भोग्नुपर्नेछ तर ऊ, आफै आगोबाट उम्केझैँ बाँच्नेछ।
16. तिमीहरू परमेश्वरका मन्दिर हौ र तिमीहरूमा परमेश्वरका आत्माले वास गर्नुहुन्छ भन्ने के तिमीहरूलाई थाहा छैन?
17. जसले परमेश्वरको मन्दिरलाई नष्ट पार्छ, परमेश्वरले उसलाई पनि नष्ट पार्नुहुन्छ । किनभने परमेश्वरको मन्दिर पवित्र छ र त्यो तिमीहरू नै हौ।
18. कुनै मानिसले आफैलाई धोका नदेओस्। यदि तिमीहरूमध्ये कसैले आफैलाई यस युगमा बुद्धिमान् ठान्छ भने त्यो मूर्ख बनोस् यसैले कि त्यो बुद्धिमान् बन्नसकोस्।
19. किनकि यो संसारको बुद्धि परमेश्वरको सामु मूर्खता हो। किनकि लेखिएको छ, ‘‘उहाँले बुद्धिमान्हरूलाई तिनीहरूको धूर्ततामा पक्रनुहुन्छ।’’
20. र फेरि, ‘‘बुद्धिमान्हरूका विचार व्यर्थ हुन् भनी परमप्रभु जान्नुहुन्छ।’’
21. यसैकारण कसैले मानिसहरूमाथि गर्व नगरोस्। किनकि सबै थोक तिमीहरूकै हुन्।
22. चाहे पावल, कि अपोल्लस, कि पत्रुस, अथवा संसार, वा जीवन वा मृत्यु, वा वर्तमान, कि भविष्य सबै तिमीहरूकै हुन्
23. अनि तिमीहरू ख्रीष्टका हौ र ख्रीष्ट परमेश्वरका हुनुहुन्छ।
|