1. मानिसहरूले हामीलाई ख्रीष्टका सेवकहरू र परमेश्वरका रहस्यहरूका भण्डारेहरू सम्झून्। हामी परमेश्वरका रहस्यहरू खोलिदिने भण्डारेहरू हौं ।
2. यसबाहेक यो कुरामा भण्डारेहरू विश्वसनीय पाइनुपर्छ।
3. तर तिमीहरूबाट वा मानिसको कुनै अदालतबाट मेरो न्याय हुनु मेरोनिम्ति धेरै सानो कुरा हो, म आफै पनि आफ्नो न्याय गर्दिनँ।
4. मेरो आफ्नै विरुद्धमा केही छ भन्ने कुरा मलाई थाहा छैन तर त्यसले मलाई निर्दोष साबित गर्दैन। मेरो न्याय गर्ने त प्रभु नै हुनुहुन्छ।
5. यसकारण प्रभु आउनुभन्दाअघि कुनै पनि कुराको न्याय गर्न हतार नगर । प्रभु आउनुभएपछि उहाँले अँध्यारोमा लुकेका कुरालाई उज्यालोमा ल्याउनुहुनेछ र मानिसका ह्रदयका अभिप्रायहरू प्रकट गरिदिनुहुनेछ । तब हरेक मानिसले परमेश्वरबाट प्रशंसा पाउनेछ।
6. भाइहरू हो ! मैले तिमीहरूका खातिर आफ्नै र अपोल्लसको विषयमा उदाहरण दिएको छु कि लेखिएको कुराभन्दा बढ्ता गर्नुहुन्न भन्ने तिमीहरूले हामीबाट सिक र तिमीहरूमध्ये कोही पनि एउटा अर्कोको विरुद्धमा घमण्डले नफुल।
7. अरुहरूभन्दा तिमीहरू कुन कुरामा फरक छौ? तिमीहरूसित के छ, जो तिमीहरूले पाएका छैनौ? अनि तिमीहरूले त्यो पाएका छौ भने मानौं त्यो वरदान तिमीले पाएका होइनौ जस्तै गरी किन तिमीहरू घमण्डले फुल्दछौ?
8. तिमीहरू तृप्त भइसकेका छौ। तिमीहरू धनी भइसकेका छौ। हामीबिना नै तिमीहरू राजा भएका छौ। तिमीहरूले साँच्चै राज्य गरेका भए हुन्थ्यो, यसैले कि हामी पनि तिमीहरूसँगै राज्य गर्नसकौं।
9. किनकि मलाई यस्तो लाग्छ, परमेश्वरले हामी प्रेरितहरूलाई मृत्युको निम्ति ठहराएझैँ गरी सबैभन्दा पछिल्तिर राख्नुभएको छ, किनकि हामी संंसारका निम्ति, स्वर्गदूतहरूका निम्ति र मानिसहरूका निम्ति तमासा बनाइएका छौं।
10. हामी ख्रीष्टको खातिर मूर्ख छौं तर तिमीहरू ख्रीष्टमा बुद्धिमान् छौ, हामी कमजोर छौं, तर तिमीहरू बलिया छौ, तिमीहरूले आदर पाएका छौ तर हामी तुच्छ गनिएका छौं।
11. यस घडीसम्म हामी भोका र प्यासा छौं, नाङ्गा छौं, दुर्व्यवहार गरिएका छौं, घरविहीन छौं।
12. हाम्रो जीविकाको निम्ति हामीले आफ्नै हातले काम गर्दै आएका छौं । हामीलाई सराप्नेहरूलाई हामी आशीर्वाद दिन्छौं। हामीले सतावट सहेका छौं।
13. निन्दित हुँदा हामी नम्रतापूर्वक बोल्छौं। अहिलेसम्म पनि हामी संसारका फोहोर र पृथ्वीमा फालिएका कसिङ्गर बनेका छौं।
14. तिमीहरूलाई शर्ममा पार्नलाई यी कुरा मैले लेखेको होइनँ तर मेरा प्यारा बालकहरूलाई जस्तै अर्ती दिएको मात्र हो।
15. किनकि तिमीहरूलाई ख्रीष्टबारे सिकाउनेहरू दश हजार भए पनि तिमीहरूका धेरै पिताहरू छैनन्। किनभने सुसमाचारद्वारा ख्रीष्ट येशूमा म तिमीहरूका पिता बनेँ।
16. यसकारण, तिमीहरूलाई मेरो आग्रह छ कि तिमीहरूले मेरो अनुकरण गर।
17. यसैले गर्दा म तिमोथीलाई तिमीहरूकहाँ पठाउँदै छु। तिनी प्रभुमा मेरा प्रिय र विश्वसनीय छोरो हुन्। मैले सबै ठाउँमा, सबै मण्डलीमा सिकाएअनुसार ख्रीष्टमा भएका मेरो चाल तिनले तिमीहरूलाई स्मरण गराउनेछन्।
18. मलाई थाहा छ कि म तिमीहरूकहाँ नआउने भन्ने ठानेर तिमीहरूमध्ये कति जना अहङ्कारी भएका छौ।
19. यदि प्रभुको इच्छा भयो भने म तिमीहरूकहाँ चाँडै आउनेछु र ती अहङ्कारी मानिसहरूको कुराको होइन तर तिनीहरूका शक्तिको पत्तो लगाउनेछु।
20. किनकि परमेश्वरको राज्य कुरामा होइन तर परमेश्वरको शक्तिमा छ।
21. तिमीहरू के इच्छा गर्छौ? म तिमीहरूकहाँ आउँदा छडी लिएर कि प्रेम र भद्रताको आत्मामा आऊँ?
|