1. तिमीहरूका बीचमा व्यभिचार छ भन्ने कुरा पक्का गरी सुनिएको छ, यस्तो व्यभिचार जो अयहूदीहरूको बीचमा पनि हुँदैन। तिमीहरूमध्ये कुनै एक जनाले आफ्नै बाबुकी स्वास्नी राखेको छ, भन्ने सुनिन्छ।
2. अनि तिमीहरू घमण्डले फुलेका छौ, यस्तो काम गर्ने तिमीहरूका बीचबाट निकालियोस् भनेर बरु तिमीहरूले विलाप गर्नुपर्थ्यो।
3. किनकि म शरीरमा उपस्थित नभए पनि आत्मामा तिमीहरूसँग छु। म उपस्थित भएझैँ गरी यस्तो काम गर्नेको न्याय मैले गरिसकेको छु।
4. जब तिमीहरू हाम्रा प्रभु येशू ख्रीष्टको नाउँमा भेला हुन्छौ र म आत्मामा तिमीहरूसँग उपस्थित हुन्छु अनि हाम्रा प्रभु येशूको शक्ति त्यहीँ हुन्छ।
5. मैले त्यस्तो मानिसलाई सङ्गतिबाट अलग गरेर शैतानको हातमा सुम्पिदिने निश्चय गरेको छु, यसैले कि त्यसको पापमय स्वभाव नाश होस् र प्रभु येशूको दिनमा त्यसको आत्मा बाँच्न सकोस्।
6. तिमीहरूको घमण्ड ठीक होइन। अलिकति खमीरले जम्मै ढिकालाई खमीरी बनाइहाल्छ भन्ने के तिमीहरूलाई थाहा छैन?
7. यसकारण पुरानो खमीर निकालेर शुद्ध पार र तिमीहरू एउटा नयाँ ढिका हुनसक। यस्तै अखमीरी तिमीहरू छौ पनि। किनकि ख्रीष्ट पनि, जो हाम्रो निस्तारको पाठो हुनुहुन्छ, हाम्रा निम्ति बलिदान हुनुभएको छ।
8. यसकारण हामी कुकर्म र दुष्टताको पुरानो खमीर हालेको रोटीले होइन, तर निष्कपटता र सत्यताको अखमीरी रोटीले चाड मनाऔं।
9. मैले तिमीहरूलाई व्यभिचारीहरूसँग सङ्गत नगर्नू भनी पत्रमा लेखेको थिएँ।
10. त्यसको अर्थ, यस संसारका व्यभिचारीहरू, लोभीहरू, लुटाहाहरू वा मूर्त्तिपूजकहरूसँग सङ्गत नगर्नू भनेको होइन, नत्र त तिमीहरू संंसारबाट नै निस्किजानुपर्थ्यो।
11. मैले भन्न चाहेको यो हो कि जसले आफैलाई विश्वासी हुँ भनी भन्छ तर वास्तवमा जो व्यभिचारी वा लोभी वा मूर्त्तिपूजक वा निन्दा गर्ने वा मतवाला वा लुटाहा हो, त्यस्तो मानिससँग त खान पनि नबस।
12. किनकि बाहिरकाहरूका न्याय गर्न मलाई के अधिकार छ ? के तिमीहरू मण्डलीभित्रकाहरूको न्याय गर्दैनौ र?
13. बाहिर हुनेहरूका न्याय परमेश्वरले नै गर्नुहुनेछ। ‘‘तिमीहरूले आफ्नो बीचबाट दुष्ट मानिसलाई निकालिदेओ।’’
|