1. तिमीहरूमध्ये एक जनाको आफ्नो छिमेकीसँग झगडा भएको छ भने न्यायको निम्ति सन्तहरूकहाँ नगएर अधर्मीहरूकहाँ जाने के त्यसले आँट गर्छ?
2. वा सन्तहरूले नै संसारको न्याय गर्छन् भन्ने के तिमीहरूलाई थाहा छैन? यदि तिमीहरूले नै संसारको न्याय गर्छौ भने सानाभन्दा साना कुराको न्याय गर्न के तिमीहरू अयोग्य छौ र?
3. हामी स्वर्गदूतहरूको न्याय गर्नेछौं भन्ने के तिमीहरूलाई थाहा छैन? उसो भए यस जीवनमा हुने कुरा कति ठूला हुन् र?
4. यसकारण तिमीहरूले यस जीवनसम्बन्धी कुराको न्याय गर्नुपर्दा के मण्डलीसँग सम्बन्ध नै नभएका व्यक्तिहरूलाई न्यायाधीशहरू तुल्याउँछौ?
5. तिमीहरूलाई शर्ममा पार्न म यो भन्दछु। दाज्यू-भाइहरू बीचको झगडा मिलाइदिनसक्ने बुद्धिमान् व्यक्ति के तिमीहरूको बीचमा कोही छैन र?
6. तर एउटा भाइ अर्को भाइको विरुद्धमा अदालतमा जान्छ, त्यो पनि विश्वास नगर्नेहरूका अघि !
7. एउटाले अर्काको विरुद्धमा मुद्दा लड्नु नै तिमीहरूको ठूलो हार हो। बरु अन्याय नै किन सहँदैनौ? बरु ठगिएर नै किन बस्दैनौं?
8. तर तिमीहरू आफै नै अन्याय गर्दछौ र ठग्छौ, त्यही पनि आफ्नै भाइ-बहिनीलाई !
9. अधर्मीहरू परमेश्वरका राज्यको हकदार हुँदैनन् भन्ने के तिमीहरूलाई थाहा छैन? धोका नखाओ, अनैतिकहरू, मूर्त्तिपूजकहरू, व्यभिचारीहरू, पुरुषवेश्याहरू, पुरुषगामीहरू, समलिङ्गीहरू,
10. चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दा गर्नेहरू, लुटाहाहरू, परमेश्वरको राज्यका हकदार हुनेछैनन्।
11. तिमीहरूमध्ये कोही कोही यस्तै थियौ तर अब तिमीहरू धोइएका छौ, पवित्र पारिएका छौ। तिमीहरू प्रभु येशू ख्रीष्टको नाउँ र हाम्रा परमेश्वरको आत्माद्वारा धर्मी ठहराइएका छौ।
12. ‘सबै कुरा मेरोनिम्ति न्यायसङ्गत छन्’ तर सबै कुरा फाइदाजनक छैनन्। ‘सबै कुरा मेरोनिम्ति न्यायसङ्गत छन्’ तापनि म कुनै कुराको वशमा पर्दिनँ।
13. ‘भोजन पेटको निम्ति र पेट भोजनको निम्ति हो।’ तर परमेश्वरले यी दुवैलाई नाश गर्नुहुनेछ। शरीर व्यभिचारको निम्ति होइन तर प्रभुको निम्ति हो र प्रभु हाम्रो शरीरको निम्ति हुनुहुन्छ।
14. अब परमेश्वरले प्रभुलाई मात्र मरेकाहरूबाट जीवित पार्नुभएन तर उहाँको शक्तिद्वारा हामीलाई पनि जीवित पार्नुहुनेछ।
15. तिमीहरूका शरीर ख्रीष्टका अङ्गहरू हुन् भन्ने के तिमीहरूलाई थाहा छैन? तब के म ख्रीष्टका अङ्गहरूलाई लिएर तिनलाई वेश्याको अङ्गहरू तुल्याऊँ? यस्तो कदापि नहोस् !
16. वा वेश्यासित मिसिने व्यक्ति त्यससँग एक हुन्छ भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? किनकि उहाँ भन्नुहुन्छ, ‘‘ती दुवै एउटै शरीर हुनेछन्।’’
17. तर जो प्रभुसँग एक हुन्छ, त्यो उहाँसँग आत्मामा एउटै हुन्छ।
18. व्यभिचारदेखि अलग बस। अरु जुनसुकै पाप जो मानिसले गर्दछ, त्यो शरीरबाट बाहिर हुन्छ तर व्यभिचार गर्ने मानिसले आफ्नै शरीरको विरुद्धमा पाप गर्छ।
19. तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, जुन पवित्र आत्मा तिमीहरूले परमेश्वरबाट पाएका हौ, जो तिमीहरूभित्र रहनुहुन्छ भन्ने के तिमीहरूलाई थाहा छैन ? तिमीहरूको आफूमाथि कुनै अधिकार छैन।
20. किनभने तिमीहरू दाम तिरेर किनिएका हौ। यसकारण आफ्नो शरीरद्वारा परमेश्वरको महिमा गर।
|