1. अब मूर्त्तिलाई चढाएको खानेकुराको विषयमा: हामी जान्दछौं, हामी सबैसँग ज्ञान छ। ज्ञानले घमण्ड ल्याउँछ तर प्रेमले मण्डलीमा उन्नति ल्याउँछ।
2. यदि कसैले म केही जान्दछु भन्छ, भने त्यसले आफूले जान्नुपर्ने कुरा केही जानेको हुँदैन।
3. तर यदि कसैले परमेश्वरलाई प्रेम गर्छ भने त्यो उहाँद्वारा चिनिएको हुन्छ।
4. त्यसकारण हामी मूर्त्तिहरूलाई चढाइएको खानेकुराको विषयमा जान्दछौं कि मूर्त्ति संसारमा केही पनि होइन र एक परमेश्वरबाहेक अरु कोही छैन।
5. किनकि चाहे आकाशमा होस्, चाहे पृथ्वीमा, ईश्वर भनिनेहरू त छन् नै, जसरी धेरै ईश्वरहरू र धेरै प्रभुहरू छन्,
6. तर हाम्रा निम्ति एक मात्र परमेश्वर हुनुहुन्छ अर्थात् पिता, जसबाट सबै कुरा भएका छन् र हामी उहाँमा छौं अनि एक मात्र प्रभु हुनुहुन्छ अर्थात् येशू ख्रीष्ट, जसद्वारा सबै कुरा भएका छन् अनि हामी उहाँद्वारा नै अस्तित्वमा छौं।
7. तरै पनि सबैमा त्यो ज्ञान हुँदैन । किनकि विवेकमा मूर्त्ति रहेको हुनाले कतिले यस घडीसम्म पनि यसलाई मूर्त्तिर्लाई चढाएको थोक सम्झेर खान्छन् अनि उनीहरूको विवेक कमजोर भएर अशुद्ध हुन्छन्।
8. तर खानेकुराले हामीलाई परमेश्वरको दृष्टिमा अझ ग्रहणीय बनाउँदैन, नखाँदैमा कुनै हानि हुँदैन र खाँदैमा कुनै लाभ हुँदैन।
9. तर होशियार बस, तिमीहरूको स्वतन्त्रता दुर्बलहरूका निम्ति ठोकरको कारण नबनोस्।
10. किनकि कसैले तिमी ज्ञान भएको मानिसलाई मूर्त्तिको मन्दिरमा खाइरहेको देख्यो भने, के त्यस कमजोर मानिसको विवेकले मूर्त्तिहरूलाई चढाएका थोक खानका निम्ति हौसला पाउनेछैन र?
11. तिम्रो ज्ञानको कारणले त्यो दुर्बल भाइ नष्ट हुन्छ, जसको निम्ति ख्रीष्ट मर्नुभयो।
12. जब तिमी आफ्ना भाइहरूको विरुद्धमा यसरी पाप गर्छौ र तिनीहरूका कमजोर विवेकलाई चोट पुर्याउँछौ तब तिमीहरू ख्रीष्टकै विरुद्धमा पाप गर्दछौ।
13. यसकारण यदि कुनै खानेकुराले मेरो भाइलाई ठेस लाग्छ भने, मेरो भाइलाई ठेस नदिऊँ भनेर म कहिल्यै मासु खानेछैनँ।
|