1. अन्तिम समयमा धूर्त आत्माहरूको कुरा र शैतानका सिद्धान्तहरूमा मन दिएर कति मानिसहरू विश्वासबाट भड्केर जान्छन् भन्ने कुरा पवित्र आत्माले प्रस्टै भन्नुहुन्छ।
2. तिनीहरू आफ्नो कपटमा झूट बोल्छन्, जसको विवेक तातो फलामले डामिएको हुन्छ।
3. तिनीहरूले विवाह गर्न निषेध गर्छन्। विश्वास गर्नेहरू र सत्य जान्नेहरूले धन्यवादसाथ ग्रहण गर्नुपर्ने परमेश्वरले सृष्टि गर्नुभएका खानेकुरा खान निषेध गर्छन्।
4. परमेश्वरको प्रत्येक सृष्टि असल छ र धन्यवाद चढाएर ग्रहण गरे कुनै पनि कुरा अस्वीकार गरिनुपर्दैन।
5. किनभने परमेश्वरको वचन र प्रार्थनाद्वारा त्यो पवित्र तुल्याएको हुन्छ।
6. यदि तिमीले भाइहरूलाई यी कुरा देखाइदियौ भने तिमी विश्वास र असल शिक्षाको वचनद्वारा हुर्किएको येशू ख्रीष्टका असल सेवक बन्नेछौ, जुन शिक्षा तिमीले राम्ररी जानेका छौ।
7. तर भक्तिहीन र अर्थहीन दन्त्यकथाहरूदेखि एकदमै अलग बस, बरु भक्तिको साधना गर।
8. किनभने शारीरिक तालिम केही मूल्यको मात्र हुन्छ तर ईश्वर-भक्ति हरेक किसिमले लाभदायक हुन्छ, यसैमा वर्तमान र आउने जीवन, दुवैको निम्ति प्रतिज्ञा छ।
9. यो भनाइ विश्वसनीय र सम्पूर्णरूपले स्वीकार्य छ।
10. यसैको निम्ति हामी परिश्रम गर्छौं तथा दिलोज्यान दिन्छौं, किनभने हामीले जीवित परमेश्वरमा भरोसा राखेका छौं, जो सारा मानवजातिका, विशेषगरी उहाँमाथि विश्वास गर्नेहरूका मुक्तिदाता हुनुहुन्छ।
11. यिनै कुराको आज्ञा देऊ र सिकाऊ।
12. कुनै मानिसले तिम्रो जवानीलाई तुच्छ ठान्न नपाओस्, तर वचनमा, चालचलनमा, प्रेममा, आत्मामा, विश्वासमा, शुद्धतामा तिमी विश्वासीहरूका लागि एक उदाहरण होओ।
13. म नआएसम्म धर्मशास्त्र पढाइ, अर्ती र शिक्षामा ध्यान देऊ।
14. एल्डरहरूले तिमीमाथि हात राख्दा अगमवाणीद्वारा तिमीलाई प्राप्त भएको वरदानलाई अवहेलना नगर।
15. यी कर्तव्य पालन गर। तिनीहरूमा नै लागिबस, यसैले कि तिम्रो प्रगति सबैले देखून्।
16. आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा होशियार बस। यी कुरामा लागिरह। यसो गर्नाले तिमीले आफैलाई र सुन्नेहरूलाई समेत बचाउनेछौ।
|