1. वृद्ध पुरुषलाई नहप्काऊ, तर तिनलाई बुबालाई जस्तै गरी सम्झाऊ। आफूभन्दा सानाहरूलाई भाइसँग जस्तो व्यवहार गर।
2. वृद्ध स्त्रीहरूसँग आमाझैँ र युवतीहरूसँग सम्पूर्ण पवित्रतासाथ बहिनीहरूसँग जस्तो व्यवहार गर।
3. जो साँच्चै विधवाहरू हुन्, तिनलाई आदर गर।
4. तर कुनै विधवाका छोराछोरीहरू वा नातिनातिनाहरू छन् भने तिनीहरूले पहिले घरमा भक्ति देखाऊन् र बुबा-आमालाई उपकारको बदला तिर्न सिकून्, किनकि यो कुरा परमेश्वरको सामु असल र ग्रहणीय छ।
5. तर जो साँच्चै विधवा हुन् र तिनको कोही छैन भने तिनले परमेश्वरको आशा राख्तछिन् र रातदिन नम्र-निवेदन र प्रार्थनामा लागिरहन्छिन्।
6. तर जो सुखविलासमा जिउँछे, ऊ जिउँदै मरेकी हो।
7. तिनीहरूलाई यी कुराको आज्ञा देऊ, यसैले कि तिनीहरू दोषरहित होऊन्।
8. तर यदि कसैले आफ्नाहरूका निम्ति र विशेषगरी आफ्नो परिवारका निम्ति प्रबन्ध गर्दैन भने उसले विश्वासलाई इन्कार गरेको छ र ऊ अविश्वासीभन्दा पनि खराब भएको छ।
9. साठी वर्षदेखि माथिकी विधवा, जसको एकचोटि मात्र विवाह भएको थियो, तिनलाई मात्र विधवा-सूचीमा राख।
10. साथै तिनले असल काम गरेकी, छोराछोरीहरू हुर्काएकी, परदेशीहरूको सत्कार गरेकी, सन्तहरूका खुट्टा धोएकी, दु:खीहरूको उपकार गरेकी र जुनसुकै असल काममा ध्यान दिएकी साबित हुनुपर्छ।
11. तर तरुणी विधवाहरूको नाउँ विधवा-सूचीमा नलेख, किनकि जब तिनीहरूको कामवासनाले तिनीहरूलाई ख्रीष्टबाट टाढा लान्छ, तब तिनीहरूले विवाह गर्ने इच्छा गर्छन्।
12. यसरी आफ्नो पहिलो वाचा भङ्ग गरेको कारण तिनीहरू दण्डमा पर्छन्।
13. त्यसबाहेक तिनीहरू घरघर डुल्ने भएर अल्छी गर्ने मात्र होइन, तर कुराउटे, अर्काको काममा हातहाल्ने, बोल्नु नहुने कुरा बोल्ने हुन्छन्।
14. यसकारण कम उमेरका विधवाहरूले विवाह गरून्, छोराछोरीहरू पाऊन्, घरबार सँभालून्, विरोधीहरूलाई हाम्रो बदनाम गर्ने मौका नदेऊन् भन्ने म चाहन्छु।
15. किनकि कोही-कोही त अघि नै शैतानतर्फ गएका छन्।
16. यदि विश्वासी स्त्रीका कोही आफन्तहरू विधवा छन् भने तिनले उनीहरूलाई सघाऊन् र मण्डलीमाथि कुनै बोझ नपरोस् र मण्डलीले सकसमा परेका विधवाहरूलाई सहायता दिनसकोस्।
17. मण्डलीको असल रेखदेख गर्ने एल्डरहरू दोबर आदरका योग्य हुन्छन्, विशेषगरी जसले वचनको प्रचार र शिक्षामा परिश्रम गर्छन्।
18. किनभने पवित्र-शास्त्र भन्छ, ‘‘दाइँ गर्ने गोरुको मुखमा मोहोलो नलगाउनू,’’ र ‘‘श्रमिकले आफ्नो कामको ज्याला पाउनुपर्छ।’’
19. दुई वा तीन साक्षीको गवाहीबाहेक एल्डरको विरुद्धमा लाएको आरोप कहिल्यै स्वीकार नगर।
20. पापमा लागिरहनेहरूलाई सबैका सामु हप्काऊ र यसरी अरुहरू पनि डराउनेछन्।
21. परमेश्वर र ख्रीष्ट येशूको सामु अनि चुनिएका स्वर्गदूतहरूका सामु म तिमीहरूलाई कडा आज्ञा दिन्छु, कुनै भेदभाव वा पक्षपात नगरी यी नियमहरू तिमीले पालन गर।
22. कसैमाथि हात राख्ने काममा हतार नगर। कुनै मानिसको पापमा सहभागी नहोऊ। आफूलाई पवित्र राख।
23. अघिजस्तो पानी मात्र पिउने नगर तर तिम्रो पेटको लागि र घरीघरी बिरामी भएकोले गर्दा अलिअलि अङ्गुरमद्य पिउने गर।
24. कुनै कुनै मानिसका पाप त सोझै न्यायमा पुग्ने गरी प्रत्यक्ष हुन्छन् तर अरु कतिका पाप पछि मात्र देखा पर्छन्।
25. त्यसैगरी असल कामहरू त प्रत्यक्ष हुन्छन् र जो प्रत्यक्ष छैनन्, ती पनि गुप्तमा रहन सक्दैनन्।
|