1. मेरो थोरै मूर्खतामा तिमीहरूले सहिदेओ भन्ने म चाहन्छु तर साँच्चै तिमीहरूले मलाई सहिरहेका पनि छौं।
2. म तिमीहरूप्रति ईश्वरीय डाहले डाही भएको छु। किनभने मैले तिमीहरूको मगनी एउटै पुरुषसँग गरिदिएको छु, यसैले कि म तिमीहरूलाई ख्रीष्टमा पवित्र कन्याको रूपमा प्रस्तुत गर्नसकूँ।
3. तर जसरी सर्पले आफ्नो चलाकीद्वारा हव्वालाई छल्यो, त्यसरी नै ख्रीष्टप्रति भएको निष्कपट र चोखो भक्तिबाट तिमीहरूलाई बहकाउला कि भनेर मलाई डर लागेको छ।
4. कसैले आएर हामीले प्रचार गरेको भन्दा अर्कै येशू वा तिमीहरूले पाएको भन्दा अर्कै आत्मा वा तिमीहरूले स्वीकार गरेको भन्दा भिन्नै सुसमाचार सुनाए भने तिमीहरू त्यसका सामु सजिलै झुक्दा रहेछौ।
5. ती सर्वोच्च प्रेरितहरूभन्दा म कुनै कुरामा कम छैनँ।
6. म बोल्नमा उति सिपालु नभए पनि, ज्ञानमा त्यस्तो छैनँ, हामीले सबै कुरामा यो तिमीहरूलाई प्रमाणित गरिदिएका छौं।
7. मैले तिमीहरूलाई उचाल्दै आफैलाई होच्याएर तिमीहरूबाट कुनै थोक लिने आशा नगरीकन ख्रीष्टको सुसमाचार सुनाएकोमा के मैले पाप गरेँ त?
8. तिमीहरूको सेवा गर्न अरु मण्डलीहरूबाट ज्याला लिएर मैले तिनीहरूलाई लुटेंँ।
9. तिमीहरूसँग रहँदा जब मलाई अभाव परेको थियो, तब म कसैको बोझ भइनँ, किनभने म्यासिडोनियाबाट आएका भाइहरूले मेरो अभाव पूरा गरिदिए । अनि हरेक कुरामा म तिमीहरूको निम्ति बोझ हुनदेखि बाँचे र बाँचिरहेको छु।
10. जसरी ख्रीष्टको सत्यता ममा छ, त्यसरी नै अखैयाका इलाकाहरूमा मेरो यस घमण्डलाई कसैले रोक्न सक्दैन।
11. किन? के म तिमीहरूलाई प्रेम गर्दिनँ र? परमेश्वर जान्नुहुन्छ कि म तिमीहरूलाई प्रेम गर्छु।
12. तर हामीले जस्तै काम गर्यौं भनी घमण्ड गर्ने मौका खोज्नेहरूलाई त्यो मौका नदिनलाई मैले जे काम गर्दैछु, त्यो गरी नै रहनेछु।
13. ती मानिसहरू झूटा प्रेरितहरू, छली कामदारहरू र ख्रीष्टका प्रेरितहरूको भेष लगाएर हिँड्नेहरू मात्र हुन्।
14. यसमा अचम्म नमान, किनकि शैतानले पनि ज्योतिर्मय स्वर्गदूतको भेष धारण गर्दछ।
15. यसकारण यो कुनै अनौठो कुरा होइन कि त्यसका चाकरहरूले पनि धार्मिकताको सेवकहरू हुने बहानामा त्यस्ता भेषहरू बदल्न सक्छन्, तिनीहरूको अन्त्य तिनीहरूले गरेका दुष्ट कामहरूको नापअनुसार हुनेछ।
16. म फेरि भन्दछु, कसैले मलाई मूर्ख नसम्झोस् तर तिमीहरू त्यस्तो सम्झन्छौ भने पनि मूर्खलाई झैँ मलाई ग्रहण गर, यसैले कि म पनि केही घमण्ड गर्नसकूँ।
17. यो घमण्डमा भरोसा राखेर म जे बोल्छु, त्यो प्रभुअनुसार होइन तर मूर्खतामा बोल्छु।
18. धेरै जनाले शरीरमा घमण्ड गरेझैँ म पनि गर्दछु।
19. किनकि तिमीहरू बुद्धिमान् भएकोले मूर्खलाई आनन्दसाथ सहन्छौ।
20. वास्तवमा कसैले पनि तिमीहरूलाई कमारा तुल्याउँदा, आफ्नो शिकार बनाउँदा, फाइदा उठाउँदा, धाक जमाउँदा र मुखैमा हिर्काउँदा पनि तिमीहरू सहँदा रहेछौ।
21. म शर्मसाथ स्वीकार गर्छु कि हामीले यी सबै सहन सकेनौं। तर कसैले कुनै कुरामा घमण्ड गर्छ भने म पनि ती कुरामा गर्छु। हो, म मूर्खझैँ बोल्दैछु।
22. के तिनीहरू हिब्रू हुन्? म पनि हुँ। के तिनीहरू इस्राएलीहरू हुन्? म पनि हुँ। के तिनीहरू अब्राहामका सन्तान हुन्? म पनि हुँ।
23. के तिनीहरू ख्रीष्टका सेवकहरू हुन्? म अझ असल सेवक हुँ, बौलाहाझैँ म बोलिरहेको छु। मैले ज्यादै परिश्रम गरेँ। कैदमा अझ धेरैपल्ट परेँ। अनगिन्ती कोर्रा खाएँ, मृत्युको मुखमा बारम्बार परिरहेँ।
24. विभिन्न समयमा मैले यहूदीहरूबाट एक कम चालीस गरी पाँचपल्ट कोर्रा खाएँ।
25. तीनपल्ट म लौरोले पिटिएँ, एकपल्ट ढुङ्गाले हानिएँ, तीनपल्ट म चढेको जहाज ध्वस्त भयो। एकपल्ट समुद्रमा, एक दिन र एक रात छर्लङ्गै काटेको छु।
26. मेरो बारम्बारको यात्राहरूमा, म नदीहरूका जोखिममा, डाँकाहरूका जोखिममा, आफ्नै जातिका मानिसहरूका जोखिममा, अयहूदीहरूका जोखिममा र शहरको जोखिममा, उजाड-स्थानको जोखिममा, समुद्रको जोखिममा, झूटा भाइहरूबाट आउने जोखिममा परेँ,
27. परिश्रम र कष्टमा कति-कति अनिदो रातहरूमा, भोक र तिर्खामा, बारम्बार खानु न पिउनुको अवस्थामा, जाडो र नग्नतामा परेँ।
28. यी सबै कुराबाहेक, मण्डलीहरू कसरी चल्दै होलान् भन्ने बोझ पनि दिनहुँ ममाथि छ।
29. को दुर्बल छ? र म दुर्बल छैन? को पापमा पर्दा म व्याकुल हुँदिनँ?
30. मैले घमण्ड गर्नुपर्छ भने, म मेरो दुर्बलतामा घमण्ड गर्नेछु।
31. हाम्रा प्रभु येशूका पिता परमेश्वर महिमा पाउने योग्यको हुनुहुन्छ, जसले जान्नुहुन्छ कि मैले झूटो बोलिरहेको छैन।
32. दमस्कसमा अरितस राजाका हाकिमले मलाई पक्रन शहरको ढोकामा पहरा राखेका थिए।
33. तर पर्खालको एउटा झ्यालबाट डालोमा हालेर मलाई तल झारिदिएको हुनाले म तिनका हातबाट उम्केँ ।
|