1. यसकारण परमेश्वरको कृपाद्वारा हामीसँग यो सेवकाइ भएको हुनाले हामी हरेस खाँदैनौं।
2. हामीले शर्मका र लुकीछिपी गर्ने कामहरू त्यागेका छौं। हामी धूर्त काम गर्न वा परमेश्वरको वचनलाई हेरफेर गर्न इन्कार गर्छौं। तर सत्यको वचन खुलस्त गरी घोषणा गर्दै परमेश्वरको दृष्टिमा हामी हरेक मानिसको विवेकमा आफैलाई ग्रहणीय तुल्याउँछौं।
3. यदि हाम्रो सुसमाचारमा घुम्टो हालेको छ भने, त्यो नष्ट हुनेहरूकै निम्ति घुम्टो हालेको छ।
4. परमेश्वरको स्वरूप, ख्रीष्टको महिमित सुसमाचारको ज्योति विश्वास नगर्नेहरूको मनमा नचम्कोस् भनेर यस संसारको देवले तिनीहरूको मनलाई अन्धो तुल्याइदिएको छ।
5. हामी आफैलाई होइन तर ख्रीष्ट येशूलाई प्रभु भनी प्रचार गर्दछौं र हामी आफै येशूको खातिर तिमीहरूका कमाराहरू हौं।
6. ख्रीष्टको अनुहारमा भएको परमेश्वरको महिमित ज्ञानको ज्योति फैलाउनलाई ‘‘अँध्यारोबाट ज्योति चम्कनेछ’’ भन्नुहुने परमेश्वर स्वयम् हाम्रो हृदयमा चम्कनुभएको छ।
7. सर्वश्रेष्ठ शक्ति हाम्रो होइन तर परमेश्वरको हो भनी प्रस्ट पार्न यो धन हामीसित माटोको भाँडाहरूमा छ।
8. हामी हरप्रकारले कष्टमा परेका छौं तर किचिएका छैनौं। अन्योलमा परेका छौं तर हताश भएका छैनौं।
9. सताइएका छौं तर त्यागिएका छैनौं। प्रहार गरिएका छौं तर नाश भएका छैनौं।
10. येशूको जीवन हाम्रो शरीरमा प्रकट होस् भनेर हामी धेरै कष्ट भोग्दै उहाँको मृत्यु सधैँ हाम्रो शरीरमा बोकेर हिँड्छौं।
11. येशूको जीवन हाम्रो मरणशील शरीरमा प्रकट होस् भनेर उहाँको खातिर हामी जीवितहरू बारम्बार मृत्युका मुखमा सुम्पिएका हुन्छौं।
12. यसकारण मृत्युले हामीमा र जीवनले तिमीहरूमा काम गर्दछ।
13. लेखिएअनुसार, ‘‘मैले विश्वास गरेँ, यसकारण म बोलेँ’’ भन्नेकै विश्वासको आत्मा हामीमा भएको हुनाले, हामी विश्वास पनि गर्छौं त्यसकारण बोल्छौं पनि।
14. यो जानेर कि येशूलाई पुनर्जीवित पार्नुहुनेले हामीलाई पनि पुनर्जीवित पार्नुहुनेछ र उहाँले नै हामीलाई तिमीहरूसँग उहाँको उपस्थितिमा ल्याउनुहुनेछ।
15. किनकि यी सबै तिमीहरूकै खातिर हुन्, किनभने जुन अनुग्रह धेरैभन्दा धेरै मानिसहरूमा फैलिरहेछ, त्यसद्वारा परमेश्वरको महिमाको निम्ति धन्यवाद दिने काम पनि बढ्न सकोस्।
16. त्यसकारण हामी हरेस खाँदैनौं, तर हाम्रो बाहिरी मनुष्यत्व नाश हुँदै गए पनि हाम्रो भित्री मनुष्यत्व दिन-प्रतिदिन नयाँ हुँदै जान्छ।
17. किनकि यो क्षणभरको र हलुका कष्टले हाम्रानिम्ति अतुलनीय तथा अनन्तको महान् महिमा तयार गरिरहेछ।
18. हामी देखिने कुरालाई होइन तर नदेखिने कुरालाई हेर्छौं, किनकि देखिने कुरा क्षणिक हुन्छन् तर नदेखिने कुरा अनन्तसम्म रहन्छन्।
|