1. अयहूदीहरूले पनि परमेश्वरको वचन ग्रहण गरेका कुरा यहूदियामा भएका प्रेरितहरू र अरु विश्वासीहरूको कानमा पुग्यो।
2. तर जब पत्रुस फर्केर यरूशलेममा आइपुगे, तब खतना लिनेहरूले उनको आलोचना गर्दै भने,
3. ‘‘तपाईं खतना नगरेका मानिसहरूकहाँ गई तिनीहरूसँग खानुभएछ। ’’
4. तब पत्रुसले यसो भन्दै सबै कुरा तिनीहरूलाई बताए,
5. ‘‘म योप्पा शहरमा प्रार्थना गरिरहेको बेला मैले एउटा दर्शन देखेँ, त्यसबेला मैले चारै कुनामा बाँधिएको ठूलो तन्नाजस्तो केही आकाशबाट मतिर झदर्ैै गरेको देखेँ।
6. जब मैले त्यसमा हेरेँ, त्यहाँ मैले पृथ्वीका चारखुट्टे जन्तुहरू, जङ्गली जनावरहरू, घस्रने जन्तुहरू र आकाशका चराचुरुङ्गी देखेँ।
7. अनि मैले यसो भन्ने आवाज सुनेँ, ‘हे पत्रुस, उठ र मारेर खाऊ।’
8. तर मैले भने, ‘प्रभु यस्तो नहोस्, किनकि मेरो मुखभित्र कहिल्यै पनि कुनै अपवित्र वा अशुद्ध थोक परेको छैन।’
9. तर फेरि स्वर्गबाट आवाज आयो, ‘परमेश्वरले शुद्ध पारेको थोकलाई अशुद्ध नठान।’
10. यस्तो तीनपल्टसम्म भयो र तन्नाभित्र भएका कुरा फेरि आकाशतिरै उठाइलगियो।
11. अनि हेर, ठीक त्यही समयमा कैसरियाबाट मलाई बोलाउन पठाइएका तीन जना मानिसहरू म बसेको घरको ढोकामा आइपुगे।
12. तिनीहरू अयहूदी हुन् भन्ने कुराको वास्ता नगरी तिनीहरूसित जानू भन्ने कुरा पवित्र आत्माले मलाई बताउनुभयो, यी छ जना भाइहरूले मलाई साथ दिए अनि जुन मानिसले हामीलाई बोलाइपठाएका थिए उनको घरमा हामी चाँडै पुग्यौँ।
13. उनले हामीलाई बताए कि एउटा स्वर्गदूत उनको घरमा उभिएर यसो भनिरहेका उनले देखे, ‘योप्पामा मानिस पठाएर पत्रुस भनिने सिमोनलाई बोलाऊ।
14. उनले तिमीलाई र तिम्रो घरानालाई उद्धार पाउने कुरा बताउनेछन्।’
15. जब म बोल्न थालेँ, त्यहाँ तिनीहरूमाथि पवित्र आत्मा त्यसरी नै आउनुभयो जसरी शुरुमा हामीहरूमाथि आउनुभएको थियो।
16. त्यसपछि मैले, प्रभुले भन्नुभएको वचन सम्झँे, ‘‘बप्तिस्मा दिने यूहन्नाले पानीमा बप्तिस्मा दिए, तर तिमीहरूले पवित्र आत्माद्वारा बप्तिस्मा पाउनेछौ।
17. प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्ने हामीहरूलाई जुन वरदान उहाँले दिनुभयो, परमेश्वरले नै उनीहरूलाई पनि त्यही वरदान दिनुभएपछि उहाँसित बहस गर्ने म को हुँ र?’’
18. जब अरुहरूले यो कुरा सुने, तिनीहरूको प्रतिवाद त्यहीँ सकियो र यसो भन्दै परमेश्वरको प्रशंसा गर्नलागे, ‘‘अब त परमेश्वरले अयहूदीहरूलाई समेत पश्चात्तापद्वारा जीवनमा डोर्याउनुभएछ।’’
19. स्तिफनसको विषयमा शुरु भएको सतावटले गर्दा यरूशलेमबाट छरपस्ट भएका विश्वासीहरू फोनिके, साइप्रस र सिरियाको एन्टिओकसम्म पुगे। तिनीहरूले त्यहाँ रहेका यहूदीहरूलाई मात्र वचन प्रचार गरे।
20. तर केही विश्वासीहरू साइप्रस र कुरेनीबाट एन्टिओकमा आएर प्रभु येशूको बारेमा प्रचार गर्दै ग्रीकभाषा बोल्ने यहूदीहरूसँग पनि बातचित गरे।
21. प्रभुको बाहुली तिनीहरूमाथि थियो, अनि अयहूदीहरूले ठूलो सङ्ख्यामा विश्वास गरे र प्रभुतिर फर्किए।
22. जब यरूशलेमको मण्डलीले यो कुरा चाल पाए, तब तिनीहरूले बर्णाबासलाई एन्टिओकमा पठाए।
23. अनि उनी त्यहाँ आइपुगे र परमेश्वरको अनुग्रहको प्रमाण देखेपछि आनन्दले भरिएर विश्वासीहरूलाई सम्पूर्ण हृदयले प्रभुमा निरन्तररूपमालागिरहने उत्साह दिए।
24. बर्णाबास एक असल, पवित्र आत्मामा भरपूर र विश्वासमा दह्रो मानिस थिए अनि उनले ठूलो संख्यामा मानिसहरूलाई प्रभुमा डोर्याए।
25. त्यसपछि बर्णाबास पावललाई भेट्न टार्ससतिर गए।
26. जब उनले पावललाई भेटे, तब तिनलाई एन्टिओकमा फर्काएर ल्याए। दुवैले एक वर्षसम्म विश्वासीहरूलाई शिक्षा दिँदै त्यहाँ बसे । एन्टिओकमा नै सबैभन्दा पहिले चेलाहरूलाई ‘ख्रीष्टियन’ भनिएको हो।
27. यही बेला कुनै-कुनै अगमवक्ताहरू यरूशलेमदेखि एन्टिओकमा आए।
28. तिनीहरूमध्ये अगाबस नाउँले चिनिने एक अगमवक्ताले पवित्र आत्माबाट सूचना पाएर सम्पूर्ण रोमी साम्राज्यभरि ठूलो अनिकाल आउन आँटेको छ भन्ने कुराको अगमवाणीगरे। क्लौडियसको शासनकालमा यो पूरा भयो।
29. यसैले एन्टिओकमा बस्ने चेलाहरूले आफ्नो औकातअनुसार यहूदियामा भएका विश्वासी भाइ-बहिनीहरूलाई सहयोग पठाउने निश्चय गरे।
30. तिनीहरूले उठाएका दान-रकम बर्णाबास र शाऊलको हातद्वारा यरूशलेममा भएको मण्डलीका धर्मगुरुकहाँ पठाइदिए ।
|