1. महासभातिर एकटक लाएर हेर्दै पावलले भने, ‘‘भाइ हो, आजको दिनसम्म परमेश्वरको दृष्टिमा मैले शुद्ध विवेकले जीवन बिताउँदै आएको छु।’’
2. प्रधान पूजाहारी हननियाले छेउमा उभिरहनेहरूलाई तुरुन्तै पावलको अनुहारमा झापट लाउने हुकुम दिए।
3. तर पावलले उनलाई भने, ‘‘ए चुनाले पोतिएको भित्तो ! तिमीलाई पनि परमेश्वरले यसरी नै हिर्काउनुहुनेछ। तिमी व्यवस्थाबमोजिम मेरो इन्साफ गर्न बसेर के व्यवस्थाको विपरीत मलाई हिर्काउने हुकुम दिन्छौ?’’
4. अनि छेउमा उभिरहनेहरूले पावललाई भने, ‘‘के तँ परमेश्वरको प्रधान पूजाहारीको अपमान गर्छस्?’’
5. पावलले जवाफ दिँदै भने, ‘‘भाइ हो, उहाँ प्रधान पूजाहारी हुनुहुन्छ भन्ने मलाई थाहा थिएन, किनभने वचनले भन्छ, ‘तैँले जनतामाथि शासन गर्नेहरूको विरुद्धमा कुनै खराबी नबोल्नू’।’’
6. तर त्यस महासभामा उपस्थित सदस्यहरूमध्ये कुनै एक दल सदुकी र अर्को दल फरिसीहरू रहेछन् भन्ने चाल पाएर पावलले उच्च सोरमा भने, ‘‘भाइहरू हो, मेरा पुर्खाहरूझैँ म पनि एक फरिसी हुँ। मरेकाहरू पुनर्जीवित हुन्छन् भन्ने आशाको कारण मेरो मुद्दा चलिरहेछ।’’
7. यो कुराले सैद्धान्तिक मतभेद भएका फरिसीहरू र सदुकीहरूको बीचमा झन् फाटो ल्यायो,
8. किनकि सदुकीहरू पुनरुत्थानमा विश्वास गर्दैनन्, साथै स्वर्गदूतहरू र आत्मा हुँदैनन् भन्दछन् तर फरिसीहरू भने यी सबै कुरामा विश्वास गर्छन्।
9. त्यहाँ ठूलो होहल्ला मच्चियो र धार्मिक व्यवस्थाका गुरुहरू, जो फरिसीहरू थिए, पावलले भनेका कुरा ठीकै हुन् भन्दै उनीहरू उफ्रँदै बहस गर्नलागे, ‘‘यस मानिसमा हामी केही खराबी पाउँदैनौं तर कुनै आत्मा वा स्वर्गदूतले यिनीसित बात गरेका छन् भने हामी परमेश्वरको विरोधमा खडा नहौं।’’
10. त्यहाँ ठूलो मतभेद भएपछि तिनीहरूका हातबाट पावल लुछलाछ पारिएलान् भन्ने डरले सेनापतिले सिपाहीहरूलाई तल गएर तिनलाई तिनीहरूका बीचबाट बलजफतीसँग ल्याएर छाउनीभित्र लैजानू भनी आज्ञा दिए।
11. त्यही राती पावलको अघि प्रभु देखा पर्नुभयो र भन्नुभयो, ‘‘साहस गर, पावल, किनकि जसरी तिमीले यरूशलेममा मेरो विषयमा गवाही दियौ, त्यसरी नै तिमीले रोममा पनि गवाही दिनुपर्छ।’’
12. भोलिपल्ट उज्यालो हुनेसाथ यहूदीहरू आपसमा सङ्गठित भएर पावललाई नसिद्धयाएसम्म ‘केही नखाने र नपिउने’ शपथ लिए।
13. यो षडयन्त्र रच्नेहरू चालीस जनाभन्दा धेरै थिए।
14. यिनीहरूले मुख्य पूजाहारीहरू र अन्य अगुवाहरूलाई गएर भने, ‘‘पावलको हत्या नगरेसम्म हामी केही खानेछैनौं वा पिउनेछैनौं भनी हामीले दृढ शपथ खाएका छौं।
15. यसकारण तपाईंहरू र महासभा मिलेर सेनापतिलाई अपिल गर्नुहोस् र त्यसको मुद्दाको छिनाफाना ठीकसँग गर्नुपर्छ भन्ने बहाना बनाएर त्यसलाई झिकाउनुहोस् । अनि त्यो यहाँ आउनेसाथ हामी त्यसलाई मार्न तयार रहन्छौं।’’
16. तर पावलको भानिजले तिनीहरूको षडयन्त्रपूर्ण सल्लाह सुनेर छाउनीभित्र पुर्याइएको पावललाई त्यो सुनाइदियो।
17. तब पावलले कप्तानहरूमध्ये एक जनालाई बोलाएर भने, ‘‘यस जवान ठिटोलाई सेनापतिकहाँ पुर्याइदिनुहोस्, किनभने यससँग उहाँलाई भन्नुपर्ने खास कुरा छ अरे।’’
18. यसकारण कप्तानले त्यस जवान ठिटोलाई सेनापतिकहाँ पुर्याएर भने, ‘‘कैदी पावलले मलाई बोलाएर यस ठिटोलाई तपाईंकहाँ लैजानू भनेको छ, यससँग तपाईंलाई भन्नुपर्ने केही कुरा छ, अरे।’’
19. सेनापतिले त्यसको पाखुरामा समातेर एकातिर लगी सोधे, ‘‘तँ मलाई के भन्न चाहन्छस्?’’
20. पावलको भानिजले उनलाई भने, ‘‘केही यहूदीहरूले पावलको विषयमा अझ राम्रो जानकारी पाउने निहुँले भोलि तिनलाई महासभामा ल्याइदिनुहोस् भनी तपाईंसँग अनुरोध गर्ने मतो गरेका छन्।
21. तर तपाईंले तिनीहरूको अनुरोध स्वीकार नगरिदिनुहोस्, किनभने तिनीहरूमध्ये चालीस जनाभन्दा बढी मानिसहरूले तिनको हत्या नगरूञ्जेलसम्म केही नखाने र नपिउने शपथ लिएका छन् अनि अब तिनीहरू तपाईंको स्वीकृतिको आशा गरेर बसेका छन्।’’
22. यसकारण सेनापतिले त्यस ठिटोलाई यसो भनी चेताउनी दिएर पठाए, ‘‘तैँले मलाई यो खबर दिएको कुरा कसैले चाल नपाओस् है।’’
23. त्यसपछि सेनापतिले दुई जना कप्तानहरूलाई बोलाएर भने, ‘‘आज राती नौ बजेतिर दुई सय सिपाहीहरू, सत्तरी जना घोडचढी र दुई सय भालावालहरूलाई कैसरियासम्म जान तयार पारिराख।
24. अनि पावलको निम्ति पनि घोडाको व्यवस्था गर र उनलाई सुरक्षासाथ हाकिम फेलिक्सकहाँ पुर्याऊ।’’
25. तब उनले एउटा यस्तो पत्र पनि लेखे:
26. ‘‘माननीय हाकिम फेलिक्सलाई क्लौडियस लुसियसको अभिवादन !
27. यस मानिसलाई केही यहूदीहरूले पक्रेर मार्न खोजेका थिए तर जब म फौजसँग त्यहाँ पुगेँ, यो मानिस रोमी नागरिक रहेछ भन्ने थाहा पाएर यसलाई सुरक्षासाथ छुटाएँ।
28. कुन अभियोगमा तिनीहरूले यसलाई दोष लगाएका रहेछन् भन्ने कुरा बुझ्न मैले यसलाई तिनीहरूको महासभामा खडा गराएँ।
29. तिनीहरूले व्यवस्थाका सम्बन्धमा यसलाई दोष लगाएका रहेछन्। तर ज्यानसजायँ अथवा कैद गर्नुपर्ने माफिकको केही दोष मैले यस मानिसमा भेट्टाइनँ।
30. यस मानिसको विरुद्ध षडयन्त्र रचिँदै छ भन्ने कुराको गुप्त सूचना पाएर यसलाई तुरुन्तै तपाईंको सामु पठाएको छु र यसको विरुद्धमा दोष लाउनेहरूलाई पनि तपाईंको सामु बयान दिनू भनी आदेश जारी गरेको छु।’’
31. सेनापतिद्वारा आज्ञा पाएबमोजिम सिपाहीहरूले पावललाई राती नै एन्टिपाट्रिसमा पुर्याए।
32. घोडचढीहरूलाई तिनको साथमा जान त्यहीँ छोडेर अर्को दिन तिनीहरू छाउनीमा फर्के ।
33. जब तिनीहरू कैसरिया पुगे, तिनीहरूले हाकिमलाई पत्र बुझाएर पावललाई पनि उनका सामुन्ने हाजिर गराए।
34. उनले पत्र पढे, अनि तिनी कुन जिल्लाका हुन् भनी सोधे। तिनी किलिकियाका हुन् भन्ने थाहा पाएपछि उनले भने,
35. ‘‘तिमीलाई अभियोग लाउनेहरू यहाँ आइपुगेपछि म तिम्रो मुद्दा सुन्नेछु।’’ अनि हाकिमले पावललाई हेरोदको प्रेटोरियनमा राख्दै गर्नू भनी हुकुम दिए।
|