1. पाँच दिनपछि प्रधान पूजाहारी हननिया र कतिपय यहूदी धर्मगुरुहरू तर्तुल्लस नाउँका वकीलसँग पावलको विरुद्धमा मुद्दा पेश गर्न आइपुगे।
2. जब पावललाई भित्र बोलाइयो, तब तर्तुल्लसले हाकिमको सम्मुख पावलको विरुद्धमा मुद्दा पेश गर्दै यसरी सम्बोधन गरे: ‘‘सम्माननीय फेलिक्स, हामी यहूदी जातिले हजूरबाट शान्ति उपभोग गर्न पाएका छौं र हाम्रो जातिको निम्ति हजूरले धेरै सुधारका कामहरू पनि गरिदिनुभएको छ।
3. अनि यी सबै कुराको निम्ति हामी हजूरप्रति अत्यन्तै कृतज्ञ छौं।
4. तर हजूरको बढी समय नलिएर हाम्रो विन्ती छोटकरीमा दया गरी सुनिदिनुहोस्,
5. किनभने हामीले यस मानिसलाई जताततै दु:ख दिएर हिँड्ने, संसारभरिका सारा यहूदीहरूका बीचमा आन्दोलन मच्चाउने र नासरी पन्थका मुख्य अगुवाको रूपमा भेट्टाएका छौं।
6. यसले मन्दिर पनि अपवित्र पार्ने चेष्टा गरेको थियो। तर हामीले यसलाई पक्रयौं। हाम्रो व्यवस्थाअनुसार कारवाही गर्ने पनि थियौं
7. तर सेनापति लुसियसले हामीकहाँ आएर बडो जबरजस्तीसित त्यसलाई हाम्रो हातबाट खोसेर लैजानुभयो र यसको विरुद्धमा अभियोग लाउनेहरूलाई हजूरकहाँ आउने आज्ञा गर्नुभयो।
8. तर अब हामीले यसलाई लगाएको अभियोग साँचो हो वा होइन, हजूरले यसलाई जाँच गर्नुहुँदा पत्तो पाउन सक्नुहुनेछ।’’
9. तब अरु यहूदीहरूले पनि ती कुरा ठीक हुन् भनी समर्थन गरे।
10. हाकिमले तिनलाई बोल्ने इसारा गरेपछि पावल बोल्नथाले, ‘‘धेरै वर्षदेखि हजूर यहूदी जातिका न्यायाधीश हुनुभएका कुराले मलाई मेरो पक्षमा बोल्ने भरोसा दिलाएको छ।
11. हजूरले तुरुन्तै पत्तो लगाउन सक्नुहुन्छ कि यरूशलेमको मन्दिरमा म आराधना गर्न आएको बाह्र दिनभन्दा बढी भएकै छैन।
12. मैले मन्दिरमा कसैसित बहस नै गरिनँ, न त यिनीहरूले मलाई सभाघरमा वा शहरका गल्लीहरूमा हूलदङ्गा मच्चाएको नै भेट्टाएका छन्।
13. यिनीहरूले ममाथि लगाएका अभियोगको पक्का प्रमाण पनि दिन सक्दैनन्।
14. तर म जुन मार्गमा हिँडिरहेको छु, त्यसलाई यिनीहरूले एउटा पन्थको संज्ञा दिएका छन्, यहूदी व्यवस्था र अगमवाणीका पुस्तकहरूमा लेखिएका सबै कुरामा विश्वास राख्ने भएकोले नै म हाम्रा पिता-पुर्खाहरूका परमेश्वरको उपासना गर्दछु।
15. धर्मी र अधर्मी दुवै मृतकबाट पुनर्जीवित हुन्छन् भन्ने आशा यिनीहरूमा छ, त्यस्तै आशा म पनि परमेश्वरमा राख्तछु।
16. यसैकारण, परमेश्वरप्रति र मानिसहरूप्रति म सधँै शुद्ध विवेक राख्ने चेष्टा गर्दछु।
17. निकै वर्षपछि आफ्नो जातिलाई आर्थिक सहयोग पुर्याउन र परमेश्वरलाई भेटी चढाउन म यरूशलेम फर्केको थिएँ।
18. मैले शुद्ध हुने रीति पूरा गर्नलाग्दा यिनीहरूले मलाई मन्दिरमा भेट्टाएका थिए। त्यहाँ कुनै भीड थिएन, होहल्ला त झन् बिलकुलै थिएन।
19. बरु एसिया प्रान्तबाट आएका कुनै-कुनै यहूदीहरू त्यहाँ थिए, तिनीहरू यहाँ हजूरको सम्मुख हाजिर हुनुपर्ने थियो। मेरो विरुद्धमा यदि केही भन्ने कुरा भएको भए, तिनीहरूले अभियोग लाउन सक्थे।
20. हजूरको सामुन्ने यिनीहरू आफैले भनून्- म महासभाको अघि खडाहुँदा ममा के कसुर भेट्टाएका थिए ?
21. केवल एउटै कुरा मात्र जो मैले कराएर यसो भनेको थिएँ, ‘मृतकहरू पुनर्जीवित हुन्छन् भन्ने मेरो विषयमा आज तपाईंहरूका सामुन्ने मेरो मुद्दा चलिरहेको छ’।’’
22. यस मार्गको गुदीसमेत जान्ने फेलिक्सले यी कुरा सुनेपछि तिनीहरूलाई यसो भनी टारेर पठाए, ‘‘सेनापति लुसियस यहाँ आइपुगुञ्जेलसम्म पर्ख। त्यसपछि म तिमीहरूको मुद्दाको फैसला गरिदिनेछु।’’
23. तब उनले पावललाई निगरानीमा राख्ने हुकुम कप्तानलाई दिएर भने, यिनलाई केही स्वतन्त्रता दिनू र यिनका कुनै साथीले खाँचो पूरा गरिदिन आएको खण्डमा तिनीहरूलाई नरोक्नू।
24. केही दिनपछि फेलिक्स आफ्नी यहूदी पत्नी द्रुसिल्लासित आएर पावललाई बोलाए र ख्रीष्ट येशूमाथिको विश्वासबारे तिनीबाट सुने।
25. पावलले धार्मिकता, आत्मसंयम र आउनेवाला न्यायबारे बताउँदै गर्दा फेलिक्स आँत्तिए र यसो भने, ‘‘अहिलेलाई भयो, अब जाऊ, मौका पारेर म तिमीलाई फेरि बोलाउँला।’’
26. पावलबाट कतै रुपियाँ पनि मिलिहाल्ला कि भनी उनले आशा गरेका थिए। यसकारण पनि उनले तिनलाई घरीघरी बोलाएर कुराकानी गर्ने गर्थे।
27. तर दुई वर्षपछि जब फेलिक्सको बदलीमा पर्किअस फेस्तस आए, तब फेलिक्सले यहूदीहरूलाई खुशी राख्नका निम्ति पावललाई झ्यालखानमै राखेर गए।
|