1. पत्रुस र यूहन्ना दिउँसो तीन बजेतिर प्रार्थनाको समयमा मन्दिरतर्फ जाँदैथिए।
2. मन्दिरभित्र पस्नेहरूसित भीख माग्न भनी मानिसहरूले जन्मैदेखिको एक लङ्गडोलाई बोकेर ल्याई दिनहुँ मन्दिरको सुन्दर भनिने ढोकामा राखिदिन्थे।
3. पत्रुस र यूहन्नालाई मन्दिरभित्र पस्नलागेका देखेर त्यसले पैसा माग्यो।
4. पत्रुस र यूहन्नाले त्यसलाई एकटक लाएर हेरे अनि पत्रुसले भने, ‘‘हामीतिर हेर !’’
5. त्यो लङ्गडो मानिसले केही पाउने आशाले ध्यान दिएर तिनीहरूलाई हेर्यो।
6. तर पत्रुसले भने, ‘‘मसित सुनचाँदी छैन तर जे मसित छ, त्यही म तँलाई दिन्छु। नासरतका येशू ख्रीष्टको नाउँमा हिँड्।’’
7. तब पत्रुसले त्यसको दाहिने हात समातेर त्यसलाई उठ्न सहायता गरे अनि तुरुन्तै त्यसका खुट्टाहरू र गोलीगाँठोमा ताकत आयो।
8. अनि जुरुक्कै उठेर त्यो खडा भयो र हिँड्न थाल्यो र हिँड्दै-उफ्रँदै अनि परमेश्वरको स्तुति गर्दै तिनीहरूसँग मन्दिरमा पस्यो।
9. सबै मानिसहरूले त्यसलाई हिँड्दै गरेको र परमेश्वरको प्रशंसा गरिरहेको देखे ।
10. तिनीहरूले त्यसलाई मन्दिरको सुन्दर ढोकामा सधैँ भीख माग्न बसिरहने यही नै हो भनेर जब चिने, त्यसलाई के भयो भनी तिनीहरू आश्चर्यले चकित भए।
11. त्यसले पत्रुस र यूहन्नालाई समातिरहँदा आश्चर्यले चकित भएका मानिसहरू सोलोमनको दलानमा एकसाथ तिनीहरूतिर दौडेर आए।
12. पत्रुसले यो देखेर मानिसहरूलाई भने, ‘‘इस्राएलका मानिस हो, यस कुरामा तपाईंहरू किन छक्क पर्नुहुन्छ? मानौं, हामीले हाम्रो शक्ति वा भक्तिद्वारा यस मानिसलाई हिँड्नसक्ने तुल्याएजस्तै किन वाल्ल परेर हामीलाई हेर्नुहुन्छ?
13. अब्राहाम, इसहाक र याकूबका परमेश्वर, हाम्रा पुर्खाका परमेश्वरले आफ्ना पुत्र येशूलाई महिमित पार्नुभयो, जसलाई तपाईंहरूले पिलातसको हातमा सुम्पिदिनुभयो र उनले उहाँलाई छोडिदिने निर्णय गर्दा पनि तपार्ईंहरूले उहाँलाई उनकै सामुन्ने अस्वीकार गर्नुभयो।
14. तर तपाईंहरूले पवित्र र धर्मीजनलाई अस्वीकार गरेर एउटा ज्यानमारालाई छोडिदिने माग गर्नुभयो।
15. तपाईंहरूले जीवनको सृजनाहारलाई मार्नुभयो तर परमेश्वरले उहाँलाई मृतकबाट पुनर्जीवित पार्नुभयो। हामी यसका गवाही छौं।
16. उहाँको नाउँमाथि गरेको विश्वासले र उहाँकै नाउँले, तपाईंहरूले देखेका अनि जानेका यस मानिसलाई बलियो तुल्यायो। येशू नाउँमा राखेको विश्वासले यस मानिसलाई तपाईंहरूकै आँखाअघि पूरा निको पार्यो।
17. अब भाइहरू हो, मलाई थाहा छ, कि तपाईंहरूले येशूलाई जे गर्नुभयो, त्यो अजानमा गर्नुभयो र तपाईंका शासकहरूले पनि त्यसै गरे।
18. ख्रीष्टले कष्ट भोग्नैपर्छ भन्ने अगमवक्ताहरूबाट बोलिएका अगमवाणीहरू परमेश्वरले यसरी पूरा गर्नुभयो।
19. यसकारण पश्चात्ताप गर्नुहोस् र परमेश्वरतर्फ फर्कनुहोस्, यसैले कि तपाईंहरूको पाप मेटिओस् र परमप्रभुको उपस्थितिबाट आनन्दको समय आओस्।
20. उहाँले तपाईंहरूका निम्ति अघिबाटै नियुक्त गर्नुभएको येशूलाई पठाइदिनुहुन्छ।
21. परमेश्वरले उहिलेको समयदेखि नै आफ्ना पवित्र अगमवक्ताहरूका मुखबाट बोल्नुभएका सबै थोकको पुनर्स्थापना हुने समय नआउञ्जेल ख्रीष्ट स्वर्गमा रहनुपर्छ,
22. किनकि मोशाले पुर्खाहरूलाई भनेका छन्, ‘तिमीहरूका आफ्नै मानिसहरूमध्येबाट मजस्तै एक जना अगमवक्तालाई परमप्रभु तिम्रा परमेश्वरले खडा गर्नुहुनेछ, उहाँले तिमीहरूलाई भनेका सबै कुरा सुन्नेछौ।
23. अनि यसो हुनेछ कि त्यस अगमवक्तालाई नसुन्ने प्रत्येक जन मानिसहरूबाट निकालिनेछ र पूर्णरूपले नष्ट हुनेछ।’
24. शमूएलदेखि लिएर त्यसपछिका सबै अगमवक्ताहरूले यी दिनहरूमा हुँदै गरेका घटनाहरूको बारेमा बोलेका छन्।
25. तपाईंहरू तिनै अगमवक्ताहरूका र त्यही करारका सन्तान हुनुहुन्छ, जुन करार परमेश्वरले तपार्ईंहरूका पुर्खा अब्राहामसँग यसो भनेर बाँध्नुभयो, ‘तिम्रा सन्तानमा पृथ्वीका सबै परिवारले आशिष् पाउनेछन्।’
26. जब परमेश्वरले आफ्ना पुत्रलाई खडा गर्नुभयो, तपाईंहरू सबैलाई अधर्मबाट फर्काएर आशिष् दिन उहाँलाई तपाईंहरूकहाँ नै पहिले पठाउनुभयो।’’
|