1. पत्रुस र यूहन्ना मानिसहरूसित बोल्दै गर्दा पूजाहारीहरू, मन्दिरका कप्तान र सदुकीहरू तिनीहरूकहाँ आए,
2. किनभने तिनीहरूले मानिसहरूलाई शिक्षा दिइरहेका र येशूमा मृतकहरू पुनर्जीवित हुन्छन् भनी घोषणा गरिरहेका थिए।
3. तब उनीहरूले तिनीहरूलाई पक्रे र साँझ परिसकेको हुनाले भोलिपल्टसम्म थुनामा राखे।
4. तर वचन सुन्नेहरूमध्ये धेरैले नै विश्वास गरे र विश्वासीहरूको संख्या लगभग पाँच हजार पुग्यो।
5. अनि भोलिपल्ट यस्तो भयो, उनीहरूका शासकहरू, धर्मगुरुहरू र धार्मिक व्यवस्थाका शिक्षकहरू,
6. प्रधान पूजाहारी हन्नास, कैयाफा, यूहन्ना र अलेक्जेण्डर अनि प्रधान पूजाहारीका सबै आफन्तहरू यरूशलेममा भेला भए।
7. उनीहरूले पत्रुस र यूहन्नालाई बीचमा खडा गराएर सोधे, ‘‘कुन शक्तिबाट अथवा कसको नाउँमा तिमीहरूले यो गरेका छौ?’’
8. तब पवित्र आत्माले भरिएका पत्रुसले उनीहरूलाई यस्तो जवाफ दिए, ‘‘हे जनताका शासक र इस्राएलका धर्मगुरुहरू हो,
9. आज हामीले एउटा लङ्गडो मानिसप्रति एक असल काम गरेको विषयमा त्यो कुन उपायले निको पारियो भनेर प्रश्न गर्नुहुन्छ भने
10. तपाईंहरू सबैलाई र इस्राएलका सारा मानिसलाई स्पष्ट बुझाउने मौका मलाई दिनुहोस् कि तपाईंहरूले क्रूसमा टाँग्नुभएका र परमेश्वरले मृतकबाट जीवित पार्नुभएका, उनै नासरतका येशू ख्रीष्टको नाउँमा यो मानिस तपाईंहरूका सामुन्ने निको भएर उभिएको छ।
11. ‘तपाईं डकर्मीहरूले बेकम्मा ठान्नुभएको उहाँ त्यही ढुङ्गो हुनुहुन्छ, जो अहिले कुनाको शिर ढुङ्गो हुनुभएको छ।’
12. अरु कसैमा मुक्ति छैन, किनकि स्वर्गमुनि मानिसहरूको बीचमा अर्को कुनै नाउँ दिइएको छैन, जसद्वारा हामीले मुक्ति पाउन सक्छौं।’’
13. पत्रुस र यूहन्नाजस्ता अशिक्षित र साधारण मानिसहरूमा यस्तो साहस देखेर उनीहरू छक्क परे। यिनीहरू येशूको साथमा रहन्थे भन्ने उनीहरूले थाहा पाए।
14. तर निको भएको मानिसलाई यिनीहरूसँग उभिरहेको देखेर सभामा जुटेकाहरूले केही बोल्न सकेनन्।
15. यसैले उनीहरूले पत्रुस र यूहन्नालाई सभाभवनबाट बाहिर जाने हुकुम दिएपछि उनीहरूले आपसमा मतो गरे,
16. ‘‘यी मानिसहरूलाई अब हामीले के गर्ने हो? किनकि यरूशलेमवासीहरूलाई यिनीहरूबाट भएका अचम्मका कामबारे थाहा भइसकेको छ र हामी पनि यसलाई इन्कार गर्न सक्दैनौं।
17. तर यो कुरा अब अझै जनतामा नफैलियोस् भनी यिनीहरूलाई यस नाउँमा फेरि कुनै मानिससँग नबोल्ने चेताउनी दिऔं।’’
18. त्यसपछि उनीहरूले पत्रुस र यूहन्नालाई बोलाएर ‘अब उप्रान्त येशूको नाउँमा नबोल्नू र कुनै शिक्षा नदिनू’ भनी आदेश दिए।
19. तर पत्रुस र यूहन्नाले जवाफ दिए, ‘‘परमेश्वरको भन्दा तपाईंहरूको कुरा सुन्नु उहाँको दृष्टिमा उचित छ कि छैन सो तपाईंहरू आफै विचार गर्नुहोस्,
20. किनकि हामीले देखेका र सुनेका अचम्मका कुरा हामी नबोली बस्न सक्दैनौं।’’
21. सजाय दिने निहुँ नभेट्टाएकोले मानिसहरूको डरले गर्दा यिनीहरूलाई अझ बढी धम्क्याएर महासभाले छोडिदिए, किनभने अचम्मका घटनाहरूको निम्ति मानिसहरूले परमेश्वरको प्रशंसा गरिरहेका थिए,
22. किनकि आश्चर्यकर्मद्वारा निको पारिएको लङ्गडोको उमेर चालीस वर्षभन्दा बढी थियो।
23. छुटकारा पाएपछि पत्रुस र यूहन्नाले साथीहरूकहाँ आएर प्रधान पूजाहारी र धर्मगुरुहरूले भनेका सबै कुराको बेलीबिस्तार लगाए।
24. जब सारा विश्वासीहरूले यी कुरा सुने, तब सबैले एकै मनको भएर परमेश्वरतिर उच्च सोर उचाल्दै भने, ‘‘हे प्रभु, तपाईंले स्वर्ग, समुद्र र तिनमा भएका यावत् थोक सृजनुभयो,
25. जसले पवित्र आत्माद्वारा आफ्ना सेवक, हाम्रा पुर्खा दाऊदको मुखबाट बोल्नुभयो : ‘किन अयहूदीहरूरिसाए, किन मानिसहरूले व्यर्थका योजनाहरूमा समय फाले?
26. परमप्रभुको विरुद्धमा र उहाँका अभिषिक्तजनको विरुद्धमा पृथ्वीका राजाहरू खडा भए र शासकहरू एकसाथ भेला भए।’
27. त्यही त भयो यो शहरमा, तपाईंले अभिषेक गर्नुभएका, तपाईंका पवित्र सेवक येशूको विरुद्धमा हेरोद, शासक पन्तियस पिलातस, अयहूदीहरू र इस्राएलीहरूसँग भेला भएका थिए,
28. तपाईंको बाहुली र तपाईंको पूर्वसल्लाहअनुसार यसो हुनआयो।
29. अब हे प्रभु, तिनीहरूका धम्कीमाथि नजर गर्नुहोस् र प्रचार गर्दा तपाईंका सेवकहरूलाई ठूलो साहस दिनुहोस्।
30. तपाईंको पवित्र पुत्र येशूको नाउँद्वारा रोगीहरूलाई पूर्ण निको तुल्याउन अनि आश्चर्यपूर्ण चिन्हहरू र अलौकिक कामहरू गर्न आफ्नो बाहुली फैलाउनुहोस्।’’
31. यो प्रार्थना सकेपछि, तिनीहरू भेला भएको ठाउँ हल्लियो र तिनीहरू सबै जना पवित्र आत्माले भरिए र तिनीहरूले साहससित परमेश्वरको वचन बोल्नथाले ।
32. सबै विश्वासीहरू एउटै हृदय र मनका भएका थिए अनि जे पनि तिनीहरूसित थियो, कसैसित तेरो र मेरो भन्ने भावना थिएन तर आफूसित भएका थोक आपसमा बाँडचुँड गर्थे।
33. ती प्रेरितहरूले प्रभु येशू मृतकबाट पुनर्जीवित हुनुभएको शक्तिशाली गवाही दिन्थे र तिनीहरू सबैमाथि ठूलो अनुग्रह रहेको थियो।
34. तिनीहरूमध्ये कसैलाई केही कुराको खाँचो हुँदैनथ्यो, किनकि जति जना जग्गाजमीन वा घरका मालिक थिए, तिनीहरूले ती बेचेर त्यसको मोल ल्याउँथे
35. र प्रेरितहरूका चरणमा राखिदिन्थे र ज-जसलाई जे-जे कुराको अभाव हुन्थ्यो, सो प्रत्येकलाई बाँडिदिन्थे।
36. अब साइप्रस देशको लेवी कुलका योसेफ, जसलाई प्रेरितहरूले बर्णाबास ( जसको अर्थ, उत्साहको पुत्र) भन्ने गर्थे,
37. उनले आफ्नो जमीन बेचे, अनि त्यसको मोल ल्याएर प्रेरितहरूको चरणमा राखिदिए।
|