Bible Study: FrontPage




 

प्रेरित, Chapter 5

Bible Study - प्रेरित 5 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. त्यसबेला हननिया नाउँ भएको एक जना व्यक्तिले आफ्‍‌नी स्वास्‍‌नी सफीरासित मिलेर एक टुक्रा जमीन बेचे
  
2. र त्यसको मोलबाट, तिनकी स्वास्‍‌नीले पनि थाहा पाउने गरी, केही हिस्सा आफूसँग राखे र बाँकी हिस्सा ल्याएर प्रेरितहरूको चरणमा राखिदिए,
  
3. अनि पत्रुसले भने, ‘‘ए हननिया, पवित्र आत्मासँग झूट बोल्‍‌न र जमीनको मोलबाट केही हिस्सा राख्‍‌ने काम गर्नलाई शैतानले किन तिम्रो हृदय भरिदियो?
  
4. जमीन बेचे पनि, नबेचे पनि त्यो तिम्रो इच्छाअनुसार थियो र बेचिसकेपछि, पैसा दिनु-नदिनु तिम्रो अधिकारको कुरा थियो। यस्तो काम गर्ने विचार तिम्रो हृदयमा कसरी पलायो ? तिमीले मानिसहरूसँग होइन, परमेश्वरसँग झूटबोल्यौ।’’
  
5. यो कुरा सुनेर हननिया भुइँमा ढले र मरे। यो घटना सुन्‍‌नेहरू सबै भयभीत भए।
  
6. त्यसपछि केही जवानहरूले तिनलाई कात्रोले बेरे र बाहिर लगेर गाडे।
  
7. त्यहाँ घटेको घटना थाहा नपाई, प्राय: तीन घण्टापछि तिनकी स्वास्‍‌नी पनि त्यहाँ भित्र आइन्।
  
8. पत्रुसले तिनलाई सोधे, ‘‘मलाई भन त, तिमी र तिम्रो लोग्‍‌नेले बेचेको जमीनको रकम त्यत्ति नै हो त?’’ अनि तिनले भनिन् ‘‘ज्यू, त्यत्ति नै हो।’’
  
9. अनि पत्रुसले तिनलाई भने, ‘‘प्रभुको आत्माको परीक्षा गर्न तिमीहरू कसरी सहमत भयौ? हेर, तिम्रो लोग्‍‌नेलाई गाड्‍‌नेहरू ढोकामै छन् र तिनीहरूले तिमीलाई पनि बोकेर बाहिर पुर्‍याउनेछन्।’’
  
10. तुरुन्तै तिनी पत्रुसको पाउनेर लडिन् र मरिन् । जब युवकहरू भित्र आए, तब तिनलाई मरिसकेकी देखेर बाहिर बोकेर लगे र तिनको लोग्‍‌नेको नजिकमा गाडिदिए ।
  
11. सारा मण्डलीमाथि र यी कुरा सुन्‍‌ने सबैमाथि ठूलो डर छायो।
  
12. त्यही समय, प्रेरितहरूका हातबाट अचम्मका चिन्हहरू र अनौठा कामहरू मानिसहरूका बीचमा हुनथाले र तिनीहरू सबै सोलोमनको दलानमा भेला हुनेगर्थे।
  
13. तिनीहरूसँग मिल्‍‌ने आँट कसैले गरेन, तापनि हरेकले तिनीहरूलाई आदर गर्थे।
  
14. प्रभुमा विश्वास गर्ने पुरुष र स्त्रीहरूको संख्या दिनदिनै बढ्‍‌ने क्रम जारी नै रह्यो।
  
15. यहाँसम्म कि, मानिसहरूले गल्ली-गल्लीमा बिमारीहरूलाई ल्याए र पत्रुस आउँदा तिनको छायाँ मात्र भए पनि तिनीहरूमध्ये कसैमाथि परिहालोस् भनी ओछ‍यान र खाटहरूमा राखिदिन्थे।
  
16. यरूशलेम वरिपरिका गाउँहरूबाट पनि धेरै मानिसहरूले बिमारीहरू र अशुद्ध आत्माले सताइएकाहरूलाई लिएर आउँथे र ती सबै निको हुन्थे।
  
17. तर प्रधान पूजाहारी र उनका साथीहरू (जो सदुकी पन्थका थिए) डाहले भरिएर प्रेरितहरूका विरुद्धमा खडा भए
  
18. अनि प्रेरितहरूलाई तिनीहरूले पक्रेर सार्वजनिक झ्यालखानमा हालिदिए।
  
19. तर प्रभुका एउटा दूतले राती झ्यालखानका ढोकाहरू खोलेर तिनीहरूलाई बाहिर निकाले र भने,
  
20. ‘‘जाओ र मन्दिरमा उभिएर जीवनको यो सन्देश मानिसहरूलाई सुनाओ।’’
  
21. यो सुनेर प्रेरितहरू एकाबिहानै मान्दिरभित्र पसे र शिक्षा दिनथाले। जब प्रधान पूजाहारी र उनका सहयोगीहरू आइपुगे र महासभा अर्थात् इस्राएलीहरूको सम्पूर्ण सभाका सबैलाई डाके अनि प्रेरितहरूलाई झ्यालखानबाट ल्याउन मानिसहरू पठाए।
  
22. तर जब मन्दिरका पहरेदारहरू झ्यालखानमा पुगे तब मानिसहरूलाई नभेट्टाउँदा फर्की आएर महासभालाई यस्तो खबर दिए,
  
23. ‘‘झ्यालखानका ढोकाहरूमा बलिया तालाहरू लाएका र पालेहरू ढोकाहरूमा नै तैनाथ थिए तर ढोका उघार्दा हामीले भित्र कसैलाई भेट्टाएनौं।’’
  
24. जब मन्दिरका पहरेदारहरूका कप्तान र प्रधान पूजाहारीहरूले यो खबर सुने, तब ‘यो कुराको परिणाम के होला’ भनी तिनीहरू अन्योलमा परे।
  
25. त्यसैबेला कोही एक जना आएर खबर दियो, ‘‘हेर्नुहोस्, तपाईंहरूले जुन मानिसहरूलाई झ्यालखानमा हाल्‍‌नुभएको थियो, तिनीहरूले मन्दिरमा मानिसहरूलाई शिक्षा दिइरहेका छन्।’’
  
26. मन्दिरका पहरेदारहरूसित कप्तान गए र तिनीहरूलाई बलजफत नगरी ल्याए (किनभने मानिसहरूले तिनीहरूलाई ढुङ्गाले हान्लान् भनी उनीहरू डराए)।
  
27. उनीहरूले प्रेरितहरूलाई ल्याएर महासभाको अघि उभ्याए र प्रधान पूजाहारीले यसो भन्दै सोधे,
  
28. ‘‘हामीले तिमीहरूलाई यस नाउँमा केही नसिकाउनू भनी कडा चेताउनी दिएका थियौं, हेर, तिमीहरूले आफ्‍‌ना शिक्षाले सारा यरूशलेम भरिसक्यौ र त्यस मानिसको रगतको दोष हामीमाथि ल्याउन चाहन्छौ।’’
  
29. तब पत्रुस र अरु प्रेरितहरूले जवाफ दिए, ‘‘हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा मान्‍‌नैपर्छ।
  
30. तपाईंहरूले क्रूसमा झुन्ड‍याएर मार्नुभएको येशूलाई हाम्रा पुर्खाहरूका परमेश्वरले मृतकहरूबाट पुनर्जीवित पार्नुभयो।
  
31. उहाँ उही नै हुनुहुन्छ, जसलाई परमेश्वरले इस्राएलको पश्चात्तापको लागि र तिनीहरूलाई पापको क्षमा दिन उहाँलाई राजा र मुक्तिदाता तुल्याएर आफ्‍‌नो दाहिने बाहुलीपट्टि उच्चस्थानमा राख्‍‌नुभयो ।
  
32. हामी उहाँको आज्ञापालन गर्नेहरूलाई दिइएको पवित्र आत्मा र यी सबै कुराका साक्षी छौं।’’
  
33. यो कुरा सुनेपछि, उनीहरू साह्रै रिसाए र तिनीहरूलाई मार्न खोजे।
  
34. गमलिएल नाउँका एक जना फरिसी, जो जनताहरूद्वारा मानिएका व्यवस्थाका एक पण्डित थिए, उनले महासभामा उठेर प्रेरितहरूलाई केही क्षणको निम्ति बाहिर लैजाने आदेश दिए,
  
35. अनि उनले महासभाका मानिसहरूलाई भने, ‘‘इस्राएलका मानिस हो, यी मानिसहरूलाई तपाईंहरूले जे गर्न आँट्‍‌नुभएको छ, त्यसमा होशियार हुनुहोस्।
  
36. केही समयअघि थूदास भन्‍‌ने व्यक्तिले आफैलाई ‘मै हुँ’ भनी दाबी गर्दा प्राय: चार सयजति मानिसहरू उसको पछि लागेका थिए। तर ऊ मारियो र उसलाई पछ‍याउनेहरू सबै छरपस्ट भए अनि तिनीहरूको नाउँनिसान नै मेटियो।
  
37. यस मानिसपछि जनगणनाको समयमा गालीलवासी यहूदा देखा पर्‍यो। उसले पनि कतिपय मानिसहरूलाई आफूतिर खिँच्यो। तर ऊ पनि मारियो अनि उसका सबै चेलाहरू छरपस्ट भए।
  
38. यसर्थ यस मामिलामा पनि तपाईंहरूलाई मेरो सल्लाह यो छ कि यी मानिसहरूबाट अलग रहनुहोस्, यिनीहरूलाई छोडिदिनुहोस्। यदि यिनीहरूले सिकाउँदै र गर्दै गरेका कामहरू आफ्‍‌नैतर्फबाट गरेका हुन् भने यो त्यसै हराएर जानेछ,
  
39. तर यदि यिनीहरूले गरेका कामहरू परमेश्वरका नै हुन् भने त तपाईंहरूले यिनीहरूलाई रोक्‍‌न सक्‍‌नुहुन्‍‌न। नत्र त तपाईंहरू परमेश्वरको विरुद्धमा उठेको ठहरिनुहुनेछ।’’
  
40. महासभाले उनको सल्लाह मानिलिए।उनीहरूले प्रेरितहरूलाई भित्र बोलाएर कोर्रा लगाए र येशूको नाउँमा फेरि नबोल्‍‌नू भन्‍‌ने आदेश दिएर छोडिदिए।
  
41. परमेश्वरले हामीलाई येशूको नाउँको खातिर अपमान सहने योग्यको ठहर्‍याउनुभयो भन्दै प्रेरितहरू बडो आनन्दसाथ महासभाको उपस्थितिबाट निस्केर गए।
  
42. तिनीहरूले हरेक दिन ‘‘येशू नै ख्रीष्ट हुनुहुन्छ’’ भन्‍‌ने सुसमाचार मन्दिरमा र घरघरमा सिकाउन अनि प्रचार गर्न छोडेनन्।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES