1. तर जब चेलाहरूको संख्या लगातार बढ्दै गयो, तब हिब्रूहरूका विरुद्धमा ग्रीक-यहूदीहरूले गनगन गरे, किनभने दैनिक भोजन वितरणमा तिनीहरूका विधवाहरूको बेवास्ता गरिएको थियो।
2. तब बाह्रै चेलाहरूलाई भेला गरेर भने, ‘‘परमेश्वरको वचन छोडेर खुवाउने-पियाउने सेवा गर्नु हाम्रोनिम्ति उचित हुँदैन।
3. यसकारण हे भाइहरू हो, अब तिमीहरूका बीचबाट पवित्र आत्मा र बुद्धिले भरपूर भएका, साथै सबैबाट आदर पाएका सात जना मानिस छान, जसलाई हामी यस काममा नियुक्त गर्न सक्छौं।
4. तर हामी भने प्रार्थना र वचनको सेवकाइमा निरन्तर लागिरहनेछौं।’’
5. यो कुरा समूहमा सबैलाई मन पर्यो र तिनीहरूले पवित्र आत्मा र विश्वासले भरिएका स्तिफनस, फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास र यहूदी मतमा लागेका एन्टिओकका निकोलाउसलाई छाने।
6. तिनीहरूले यी मानिसहरूलाई प्रेरितहरूको अघि ल्याए र प्रेरितहरूले तिनीहरूमाथि हात राखेर प्रार्थना गरिदिए।
7. परमेश्वरको वचन चारैतिर फैलिँदै गयो। यरूशलेममा विश्वास गर्नेहरूको सङ्ख्या अत्यन्तै बढयो र यहूदी पूजाहारीहरूमध्ये धेरैले यस विश्वासलाई स्वीकार गरे।
8. परमेश्वरको शक्ति र अनुग्रहले पूर्ण भएर मानिसहरूका बीचमा स्तिफनसले ठूला-ठूला अचम्मका काम र चिन्हहरू गरे।
9. तर एक दिन स्वतन्त्र पारिएका कमाराहरूका सभाघर (यसको नाउँ यही थियो) बाट आएका कोही-कोहीले स्तिफनससँग वादविवाद गर्नथाले। तिनीहरू कुरेनी, अलेक्जेन्ड्रिया, किलिकिया र एसियाका प्रान्तबाट आएका थिए।
10. स्तिफनस जुन बुद्धि र आत्माद्वारा बोल्थे, त्यसको सामना तिनीहरूमध्ये कसैले गर्न सकेनन्,
11. तब तिनीहरूले केही मानिसहरूलाई गुप्तमा उक्साएर स्तिफनसको विरुद्धमा यसो भन्न लगाए ‘‘मोशा र परमेश्वरको विरुद्धमा यसले निन्दापूर्ण कुरा बोलेको हामीले सुनेका छौं।’’
12. यस्तो कुराले जनतालाई, धर्मगुरुहरूलाई र धार्मिक व्यवस्थाका शिक्षकहरूलाई उक्साए अनि तिनीहरूले स्तिफनसलाई पक्रेर महासभाको अघि ल्याए।
13. झूटा गवाहीहरूले बयान दिए, ‘‘यो मानिस सधैँ नै मन्दिर र मोशाको व्यवस्थाको विरुद्धमा बोलिरहन्छ,
14. किनभने यसले यसो भनेको हामीले सुन्यौं, नासरतका येशूले यस ठाउँलाई नाश गर्नेछन् र मोशाले हामीलाई दिएका रीतिथिति पनि बदल्ने अरे।’’
15. महासभामा उपस्थित सबैले तिनलाई एकटक लाएर हेरे, किनभने तिनको मुहार स्वर्गदूतको झैँ चहकिलो भएको थियो।
|