1. तिनको हत्यामा सहमत भएकाहरूमध्ये शाऊल पनि एक थिए, त्यही दिन यरूशलेमको मण्डलीको विरुद्धमा ठूलो सतावट शुरु भयो र प्रेरितहरूबाहेक अरु सबै जना यहूदिया र सामरियाका क्षेत्रहरूभरि छरपस्ट भए।
2. अनि भक्तजनहरूले स्तिफनसलाई गाडे र तिनको निम्ति ठूलो विलाप गरे,
3. शाऊलले मण्डलीलाई खेदो गर्न शुरु गरे, तिनले घरघर पसेर पुरुष र स्त्रीहरूलाई घिसार्दै झ्यालखानमा हाले।
4. तर छरपस्ट भएका विश्वासीहरूले चारैतिर वचनको प्रचार गर्दै गए।
5. अनि फिलिप सामरियाको एउटा शहरभित्र पसे र ख्रीष्टको विषयमा मानिसहरूलाई बताए।
6. फिलिपले बोलेको वचन सुनेर अनि तिनले गरेका आश्चर्यकर्महरू देखेर मानिसहरूले तिनको कुरामा ध्यान दिए।
7. धेरै दुष्टात्माहरू ठूलो स्वरले चिच्च्याउँदै मानिसहरूबाट निस्के अनि धेरै पक्षाघातीहरू र लङ्गडाहरू निको पारिए।
8. त्यसले गर्दा त्यस शहरमा ठूलो आनन्द छायो।
9. त्यस शहरमा केही समयदेखि सिमोन नाउँ भएको एक जादुगरले टुनामुना गरेर सामरियाका मानिसहरूलाई चकित पारेको थियो, उसले आफू एक महान् व्यक्ति भएको दाबी गर्थ्यो।
10. सामरियाका ठूला-साना सबै मानिसहरूले उसलाई ‘‘ईश्वरीय शक्ति भएको महान् व्यक्ति’’ भन्ने गर्थे।
11. उसले देखाएको जादुगरीको कारण ऊ प्रभावशाली भएको थियो।
12. तर अब फिलिपद्वारा मानिसहरूले परमेश्वरको राज्य र येशू ख्रीष्टको नाउँको सुसमाचार सुनेर विश्वास गर्नथाले। फलस्वरूप, धेरै पुरुष र स्त्रीहरूलेबप्तिस्मा लिए।
13. तब सिमोन आफैले पनि विश्वास गरी बप्तिस्मा लियो। ऊ फिलिपको साथ लाग्यो अनि फिलिपद्वारा भएका चिन्ह र आश्चर्यकर्महरू देखेर छक्क पर्यो।
14. जब सामरियाका मानिसहरूले परमेश्वरको सन्देश ग्रहण गरे भनी यरूशलेममा रहेका प्रेरितहरूले सुने, त्यहाँ तिनीहरूले पत्रुस र यूहन्नालाई पठाए।
15. तिनीहरू त्यहाँ पुग्नेबित्तिकै नयाँ ख्रीष्टियनहरूले पवित्र आत्मा पाऊन् भनी प्रार्थना गरिदिए।
16. त्यतिन्जेलसम्म पवित्र आत्मा तिनीहरूमध्ये कोहीमाथि पनि आउनुभएको थिएन, तिनीहरूले प्रभु येशूको नाउँमा बप्तिस्मा मात्र लिएका थिए।
17. त्यसपछि पत्रुस र यूहन्नाले ती विश्वासीहरूमाथि आफ्ना हात राखे अनि तिनीहरूले पवित्र आत्मा पाए।
18. प्रेरितहरूले मानिसहरूको शिरमाथि हात राख्दा पवित्र आत्मा आउनुभएको जब सिमोनले देख्यो, तब उसले त्यो शक्ति किन्न पैसा टक्रयाउँदै
19. भन्यो, ‘‘मलाई पनि यो शक्ति दिनुहोस् र जसकसैमाथि मैले हात राख्दा तिनीहरूले पवित्र आत्मा पाऊन्।’’
20. तर पत्रुसले जवाफ दिए, ‘‘परमेश्वरको वरदान किन्न सकिन्छ भन्ने तिम्रो विचारसितै तिम्रो पैसा पनि नष्ट भइहालोस्।
21. यसमा तिम्रो न त कुनै भाग न हिस्सा नै छ, किनभने परमेश्वरको दृष्टिमा तिम्रो हृदय ठीक छैन।
22. आफ्नो दुष्टयाइँबाट फर्क र प्रभुलाई पुकार। हुनसक्छ, उहाँले तिम्रा दुष्ट विचारहरूलाई क्षमा गर्नुहुन्छ।
23. किनभने म देख्दैछु कि तिमी तितोपनले भरिएका र पापद्वारा बाँधिएका छौ।’’
24. तर सिमोनले विन्ती गर्यो, ‘‘मेरोनिम्ति प्रभुलाई प्रार्थना गरिदिनुहोस् र यस्तो कुरा ममाथि नघटोस्।’’
25. तर सिमोनले विन्ती गर्यो, ‘‘मेरोनिम्ति प्रभुलाई प्रार्थना गरिदिनुहोस् र यस्तो कुरा ममाथि नघटोस्।’’
26. परमप्रभुका दूतले फिलिपलाई भने, ‘‘उठ, र यरूशलेमदेखि गाजातिर जाने मरुभूमिको दक्षिणपट्टि जाऊ।’’
27. उनी उठे र गए अनि हेर, त्यहाँ इथियोपियाली कन्दाकी रानीका महान् अख्तियारमुनि रहेका एक नपुंसक कोष-प्रबन्धक थिए । तिनी यरूशलेमतिर आराधना गर्न गएका थिए।
28. अनि आफ्नो रथमा घर फर्किरहँदा उनले अगमवक्ता यशैयाको पुस्तक पढिरहेका थिए।
29. पवित्र आत्माले फिलिपलाई भन्नुभयो, ‘‘जाऊ, यस रथको साथ लागेर हिँड।’’
30. फिलिप दगुरेर गए अनि त्यस मानिसले अगमवक्ता यशैयाको पुस्तकबाट पढ्दै गरेको सुने र तिनले सोधे, ‘‘तपाईंले पढिरहनुभएको पुस्तक बुझ्दै हुनुहुन्छ?’’
31. ती मानिसले जवाफ दिए, ‘‘यसको अर्थ बताइदिने कोही नहुन्जेल म कसरी बुझ्न सक्छु र?’’ अनि उनले फिलिपलाई रथमा चढेर आफूसित बस्ने आग्रह गरे।
32. उनले पढिरहेका धर्मशास्त्रको खण्ड यो थियो, ‘‘जसरी भेडालाई काट्न लगिन्छ, त्यसरी नै उहाँलाई लगियो र जसरी ऊन कत्रनेको सामु भेडा चुप लागेर बस्छ, त्यसैगरी उहाँले पनि आफ्नो मुख खोल्नुभएन।
33. उहाँको अपमानित अवस्थामा उहाँ न्यायबाट वञ्चित हुनुभयो, उहाँका पुस्ताको कसले वर्णन गर्नसक्छ? किनकि उहाँको जीवन पृथ्वीबाट हटाइयो।’’
34. नपुंसकले फिलिपलाई सोधे, ‘‘कृपा गरी मलाई भन्नुहोस्, अगमवक्ताले यो आफ्नैबारेमा कि अरु कसैको बारेमा भनेका हुन्?’’
35. यसैले फिलिपले धर्मशास्त्रको त्यही खण्डबाट शुरु गरेर उनलाई येशूको बारेमा बताए।
36. बाटोमा जाँदै गर्दा, तिनीहरू केही पानी भएको ठाउँमा पुगे र नपुंसकले भने, ‘‘हेर्नुहोस् यहाँ पानी रहेछ, म किन बप्तिस्मा लिन सक्तिनँ?’’ [
37. फिलिपले भने, ‘‘यदि तपाईंले सारा हृदयले नै विश्वास गर्नुहुन्छ भने बप्तिस्मा लिन सक्नुहुन्छ।’’ उनले जवाफ दिए, ‘‘येशू ख्रीष्ट नै परमेश्वरका पुत्र हुनुहुन्छ भनी म विश्वास गर्छु।’’]
38. त्यति भनिसकेर उनले रथ रोक्न लगाए। अनि फिलिप र नपुंसक पानीभित्र गए र फिलिपले उनलाई बप्तिस्मा दिए।
39. जब तिनीहरू पानीबाट बाहिर निस्के, प्रभुको आत्माले फिलिपलाई अकस्मात् लिएर जानुभयो र नपुंसकले फिलिपलाई फेरि देखेनन्, तर उनी रमाउँदै आफ्नो बाटो लागे।
40. त्यही बेला फिलिपले आफैलाई अश्दोदमा पाए। तिनले त्यहाँ सुसमाचार सुनाए र बाटोमा पर्ने हरेक शहरमा कैसरिया नपुगुन्जेलसम्म प्रचार गरिरहे।
|