1. त्यतिबेला, शाऊलले सम्पूर्ण शक्ति लगाएर धम्की दिइरहेका थिए। प्रभुका चेलाहरूको हत्या गर्ने इच्छाले तिनी प्रधान पूजाहारीकहाँ गए
2. अनि यस मार्गलाई पालन गर्ने कुनै पनि पुरुष वा स्त्रीलाई बाँधेर यरूशलेममा ल्याउन पाऊँ भनी तिनले पुर्जी मागे।
3. आफ्नो उद्देश्यको निम्ति तिनी दमस्कस पुग्नलाग्दा, स्वर्गबाट अचानक चम्किलो ज्योति तिनको वरिपरि चम्क्यो।
4. तिनी भुइँमा लडे र यसो भन्ने आवाज सुने, ‘‘हे शाऊल, शाऊल, किन तैँले मलाई सताउँदै छस्?’’
5. शाऊलले प्रश्न गरे, ‘‘प्रभु, तपाईं को हुनुहुन्छ?’’ अनि उहाँले भन्नुभयो, ‘‘म येशू हुँ, जसलाई तैँले सताइरहेको छस्?
6. अब उठ्, र शहरभित्र जा अनि तैँले जे गर्नुपर्छ त्यो त्यहाँ बताउनेछु।’’
7. शाऊलसित भएका मानिसहरू छक्क पर्दै अवाक भई उभिरहे, किनभने तिनीहरूले आवाज सुने तर कसैलाई देखेनन्।
8. तब शाऊल भुइँबाट उठे, तिनका आँखाहरू खुल्लै भए तापनि तिनले केही देखेनन् । यसैले तिनका साथीहरूले शाऊललाई हातमासमातेर डोर्याउँदै दमस्कससम्म पुर्याए।
9. अनि तीन दिनसम्म तिनी नदेख्ने भए र तिनले न त खाए, न त पिए।
10. त्यसबेला दमस्कसमा हननिया नाउँ भएको एक जना चेला थिए। प्रभुले उनलाई दर्शनमा बोलाउँदै भन्नुभयो, ‘‘ए हननिया !’’ उनले जवाफ दिए, ‘‘ज्यू प्रभु हाजिर छु।’’
11. प्रभुले भन्नुभयो, ‘‘सीधा भनिने गल्लीमा जाऊ, त्यहाँ यहूदाको घर छ। त्यहाँ पुगेपछि टार्ससको शाऊललाई सोध। अहिले ऊ मलाई प्रार्थना गरिरहेको छ।
12. दर्शनमा हननिया नाउँको व्यक्तिले आफ्नो टाउकोमा उसका हातहरू राखेर आँखा देख्ने तुल्याएको तिनले देखेका छन्।’’
13. तर हननियाले जवाफ दिए,‘‘प्रभु, यो मानिसले यरूशलेममा वास गर्ने तपाईंका सन्तगणलाई सताएको कुरा मैले सुनेको छु।
14. अनि यहाँ पनि तपाईंको नाउँ लिने सबैलाई बाँध्ने अधिकार मुख्य पूजाहारीहरूबाट तिनले प्राप्त गरेका छन्।’’
15. तर प्रभुले तिनलाई भन्नुभयो, ‘‘जाऊ र म जे भन्छु त्यही गर, किनभने शाऊललाई मैले अयहूदीहरू, राजाहरू र इस्राएलीहरूलाई समेत मेरो वचन सुनाउनलाई छानेको छु।
16. अनि मेरो नाउँको खातिर तिनले कति दु:ख भोग्नुपर्छ, त्यो म तिनलाई देखाउनेछु।’’
17. तब हननिया गए र त्यस घरभित्र पसे। उनले तिनीमाथि आफ्नो हात राखेर भने, ‘‘भाइ शाऊल, तपाईंले बाटोमा देख्नुभएको प्रभु येशूले तपाईं देख्नसक्ने हुनुहोस् र पवित्र आत्माद्वारा भरिनुहोस् भनी मलाई पठाउनुभएको छ।’’
18. अनि तुरुन्तै शाऊलका आँखाहरूबाट पाप्राजस्तो केही खसे र तिनी देख्ने भए। तब तिनी जुरुक्क उठे र बप्तिस्मा लिए।
19. त्यसपछि तिनले भोजन खाएर बल पाए। शाऊल धेरै दिनसम्म विश्वासीहरूसित दमस्कसमा बसे।
20. अनि तिनले तुरुन्तै ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ भनी सभाघरहरूमा प्रचार गर्न थाले।
21. तिनको कुरा सुन्नेहरू सबैले छक्क परेर सोधे,‘‘ जसले यरूशलेममा येशूका चेलाहरूलाई नाश गर्ने विचारले सताउँदै थियो, यो त्यही मानिस होइन, के त्यो यहाँ तिनीहरूलाई पक्रेर मुख्य पूजाहारीहरूकहाँ पुर्याउन आएको होइन ?’’
22. शाऊलको प्रचार झन्झन् शक्तिशाली हुँदै गयो अनि तिनले दमस्कसवासी यहूदीहरूलाई येशू साँच्चै ख्रीष्ट हुनुहुन्छ भन्ने प्रमाण दिएर निरुत्तर बनाए।
23. अनि धेरै दिनपछि यहूदीहरूले तिनलाई मार्ने षडयन्त्र गरे।
24. तर शाऊलले तिनीहरूको षडयन्त्रको सुइँको पाए। उनीहरू तिनलाई मार्न रातदिन शहरका ढोकाहरूमा ढुकिबस्थे।
25. यसैले चेलाहरूले तिनलाई टोकरीमा बसाएर शहरको पर्खालबाट तल झारिदिए।
26. जब शाऊल यरूशलेममा आइपुगे, तिनले विश्वासीहरूसित भेट्ने कोशिश गरे तर सबै विश्वासीहरू तिनीसँग डराए। तिनी एक चेला हुन् भनी तिनीहरूले विश्वास गरेनन्।
27. तर बर्णाबासले तिनलाई समातेर प्रेरितहरूकहाँ ल्याए र तिनीहरूलाई यो बताइदिए कि कसरी तिनले प्रभुलाई बाटोमा देखे र उहाँ तिनीसित बोल्नुभयो अनि कसरी तिनले दमस्कसमा निर्भिक भएर येशूको नाउँमा प्रचार गरे।
28. अनि तिनी यरूशलेममा भित्रबाहिर गर्दै उनीहरूसितै रहन्थे।
29. अनि तिनी प्रभु येशूको नाउँमा साहससँग बोल्थे र ग्रीकभाषा बोल्ने यहूदीहरूसँग तर्क गर्थे तर उनीहरूले तिनलाई मार्नखोजे ।
30. यस्तो कुरा विश्वासीहरूले जब सुने, उनीहरूले तिनलाई कैसरिया ल्याए र टार्ससमा पठाइदिए।
31. त्यसपछि यहूदिया, गालील र सामरियाका मण्डलीहरूमा शान्ति छायो अनि मण्डली बलियो भयो र संख्यामा बढ्दै गयो। विश्वासीहरू प्रभुको भयमा र पवित्र आत्माको सान्त्वनामा हिँडिरहेका थिए।
32. पत्रुस यताउति सबै ठाउँमा यात्रा गर्दै लुड्डामा भएका सन्तहरूकहाँ पनि आइपुगे।
33. तिनले त्यहाँ एनियास नाउँ भएको एक जना मानिसलाई भेटे, जो आठवर्षदेखि पक्षाघातले थला परेको थियो।
34. पत्रुसले त्यसलाई भने, ‘‘ए एनियास, येशू ख्रीष्टले तँलाई निको पार्नुहुन्छ। उठ् र आफ्नो ओछयान उठा।’’ अनि त्यो तुरुन्तै उठिहाल्यो।
35. अनि लुड्डा र शारोनमा बस्नेजति सबै जना त्यसलाई देखेर प्रभुतिर फर्किए।
36. योप्पामा तबीता (ग्रीकभाषामा ‘डोरकास’) नाउँकी एउटी विश्वासी थिइन्। तिनी असल काम गर्न र दानपुण्यमा लागिरहन्थिन्।
37. ती दिनहरूमा तिनी बिरामी परिन् र मरिन् अनि मानिसहरूले लाशलाई नुहाइदिए र माथिल्लो तलाको एउटा कोठामा राखे।
38. लुड्डा योप्पाको नजिक भएको हुनाले, चेलाहरूले पत्रुस त्यहाँ छन् भन्ने सुनेर तिनीकहाँ दुई जना मानिसलाई यसो भनी पठाए, ‘‘हामीकहाँ झट्टै आउनुहोस्।’’
39. तब पत्रुस तिनीहरूसित गए अनि जब उनी त्यहाँ पुगे, तिनीहरूले उनलाई माथिल्लो कोठामा पुर्याए। विधवाहरू सबै तिनको नजिक उभिएर रोइरहेका थिए र तिनीहरूले तबीता तिनीहरूसित हुँदा तिनले बनाइराखेका पोशाक र अरु वस्त्र देखाए।
40. तर पत्रुसले कोठाभित्रका सबैलाई बाहिर जाने आग्रह गरे अनि घुँडा टेकी प्रार्थना गरे र लाशतिर फर्केर भने, ‘‘ए तबीता उठ।’’ अनि तिनले आँखा खोलिन् र पत्रुसलाई देखेर उठेर बसिन्।
41. उनले तिनलाई आफ्नो हात दिएर जुरुक्कै उठाए। तब उनले सबै सन्तगण र विधवाहरूलाई भित्र बोलाए अनि तिनको जीवित शरीर सुम्पिदिए।
42. अब यो कुरा सारा योप्पाभरि फैलियो र धेरैले प्रभुमा विश्वास गरे।
43. अनि छालाको काम गर्ने सिमोनसँग पत्रुस धेरै समयसम्म योप्पामा नै बसे।
|