1. यदि तिमीहरू ख्रीष्टसित पुनर्जीवित भएका छौ भने माथिका कुरा खोज, जहाँ ख्रीष्ट परमेश्वरको दाहिने हाततर्फ बस्नुभएको छ।
2. माथिका कुरामा मन लगाओ, पृथ्वीमा भएका कुरामा होइन।
3. किनकि तिमीहरू मरेका छौ र तिमीहरूको जीवन ख्रीष्टसित परमेश्वरमा लुकेको छ।
4. ख्रीष्ट जो हाम्रो जीवनमा हुनुहुन्छ, उहाँ प्रकट हुनुहुँदा तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ।
5. यसकारण तिमीहरूमा भएका सांसारिक स्वभावका कुरा अर्थात् व्यभिचार, अशुद्धता, कामुकता, खराब इच्छा र लोभ, जो मूर्त्तिपूजा हो, तिनलाई मार।
6. यी नै कुराका खातिर परमेश्वरको क्रोध आज्ञा नमान्नेहरूमाथि आउँदछ।
7. यी कुराको प्रभावमा जीवन बिताएर तिमीहरू पनि एक समय यस्तै चालमा चल्दथ्यौ।
8. तर अब त तिमीहरूले पनि त्यस्तो क्रोध, रिस, ईर्ष्यालु व्यवहार, निन्दा र मुखबाट निस्कने खराब बोलीवचनहरू त्याग।
9. एक-अर्कालाई नढाँट, किनकि तिमीहरूले आफ्नो पुरानो मानव स्वभाव र त्यसका सबै कार्यहरूलाई त्यागेका छौ,
10. अनि नयाँ स्वभावलाई धारण गरेका छौ, जो आफ्नो सृष्टिकर्ताको स्वरूपअनुसार ज्ञानमा नयाँ भएको हुन्छ।
11. जहाँ ग्रीक र यहूदी, खतना र बेखतनाका, अशिक्षित, असभ्य, कमारा र स्वतन्त्रको भेद रहनेछैन तर ख्रीष्ट नै सबै कुरा र सबै कुरामा हुनुहुन्छ।
12. यसकारण परमेश्वरका चुनिएका, पवित्र र प्रियजनले झैँ कोमल माया, दया, मनको नम्रता, दीनता, सहनशीलतालाई धारण गर।
13. एउटाले अर्कोलाई सहेर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने एउटाले अर्कोलाई क्षमा गर, जसरी प्रभुले पनि तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसैगरी तिमीहरूले पनि क्षमा गर।
14. तर सबैभन्दा बढी प्रेम धारण गर, जसले सबै कुरालाई पूर्ण एकतामा बाँद्धछ।
15. ख्रीष्टको शान्तिले तिमीहरूका हृदयमा राज्य गरोस्, यसैका निम्ति तिमीहरू एउटै शरीरमा बोलाइएका छौ र तिमीहरू धन्यवादी होओ।
16. ख्रीष्टको वचनले तिमीहरूभित्र प्रशस्त गरी वास गरोस्। भजन, स्तुतिगान र आत्मिक गीतद्वारा सारा बुद्धिसित एकले अर्कोलाई सिकाओ र सम्झाओ, आफ्ना हृदयमा कृतज्ञ भई परमेश्वरको निम्ति गाओ।
17. अनि वचनमा र काममा तिमीहरू जे पनि गर्दछौ, उहाँद्वारा परमेश्वर र पितालाई धन्यवाद चढाउँदै सबै कुरा प्रभु येशूकै नाउँमा गर।
18. पत्नी हो, आ-आफ्नो पतिको अधीनमा बस, किनकि प्रभुमा यो उचित छ।
19. पति हो, आ-आफ्नो पत्नीलाई प्रेम गर, तिनीहरूसित कठोर व्यवहार नगर ।
20. छोराछोरीहरू हो, सबै कुरामा आफ्ना आमा-बुबाको आज्ञा मान, किनकि यसले प्रभुलाई प्रसन्न तुल्याउँछ ।
21. बुबा हो, आफ्ना छोराछोरीलाई रिस नउठाओ, नत्र उनीहरू निराश हुनेछन्।
22. कमारा हो, आँखाको अगाडि मानिसहरूलाई खुशी पार्नेजस्तो गरी होइन तर परमेश्वरको भयमा हृदयको इमान्दारीबाट सबै कुरामा तिमीहरूका सांसारिक मालिकहरूको आज्ञापालन गर।
23. तिमीहरू जे गर्छौ त्यो मानिसको निम्ति होइन तर प्रभुको निम्ति जस्तै गरी दिलोज्यानले र आनन्दसाथ गर।
24. यो जानेर कि प्रभुले तिमीहरूलाई इनामको रूपमा उत्तराधिकार दिनुहुनेछ। तिमीहरूले प्रभु येशू ख्रीष्टको सेवा गर्दछौ।
25. तर खराबी गर्नेले खराबीको प्रतिफल पाउनेछ र त्यहाँ पक्षपात हुँदैन।
|