1. किनभने व्यवस्था अब आउने उत्तम कुराको खास रूप नभएर छायाँ मात्र हो, यसकारण वर्षैपिच्छे चढाइने त्यही किसिमका बलिहरूद्वारा नजिक आउनेहरूलाई यसले सिद्ध पार्नसक्दैन।
2. नत्र त बलिदान चढाउने कार्य के बन्द हुनेथिएन र? किनकि आराधकहरू एकैपल्टमा शुद्ध हुनेभए, तिनीहरूमा त्यसपछि पापको चेतना हुनेथिएन।
3. तर ती बलिदानहरूले वर्षैपिच्छे पापको सम्झना गराउँदछन् ।
4. किनकि साँढे र बोकाहरूको रगतले पाप हटाउन असम्भव छ।
5. यसकारण संसारमा आउनुहुँदा उहाँले भन्नुभयो, ‘‘बलिदान र भेटी तपाईंले चाहनुभएन तर तपाईंले मेरोनिम्ति एउटा शरीर तयार पारिदिनुभएको छ।
6. होमबलि र पापबलिमा तपाईं प्रसन्न हुनुहुन्न।
7. तब मैले भनेँ, ‘हेर्नुहोस्, हे परमेश्वर पुस्तकको मुट्ठोमा मेरोबारेमा लेखिएजस्तै तपाईंको इच्छा पूरा गर्न म आएको हुँ’।’’
8. उहाँले पहिला भन्नुभयो, ‘‘बलिदान र भेटीहरू, होमबलि र पापबलिहरू तपाईंले चाहनुभएन। तपाईं तिनीहरूमा प्रसन्न हुनुभएन। ’’ (यी त व्यवस्थाबमोजिम चढाइन्छ।)
9. अनि त्यसपछि भन्नुभयो, ‘‘हेर्नुहोस्, तपाईंकै इच्छा पूरा गर्न म आएको छु।’’ दोस्रोलाई स्थापित गर्न पहिलो उहाँले खारिज गर्नुहुन्छ।
10. त्यही इच्छाबाट येशू ख्रीष्टको शरीरको बलिदानद्वारा एकैपल्टमा सधैँको निम्ति हामी पवित्र बनाइएका छौं ।
11. अनि हरेक पूजाहारी एकै किसिमको बलिदान बारम्बार चढाउँदै दिनहुँ सेवामा खडा रहन्छ, जुन बलिदानले पाप उठाइ लैजानसक्दैन।
12. तर उहाँले पापको निम्ति सधैँको लागि एउटै बलिदान चढाएर परमेश्वरका दाहिने बाहुलीपट्टि विराजमान हुनुभएको छ।
13. अनि ‘उहाँका शत्रुहरू उहाँको पाउदान नहोउञ्जेल’ उहाँ पर्खिरहनुहुन्छ ।
14. किनकि एउटै बलिदानद्वारा उहाँले पवित्र पारिएकाहरूलाई सधैँको निम्ति सिद्ध बनाउनुभएको छ।
15. अनि पवित्र आत्माले पनि हामीलाई गवाही दिनुहुन्छ। पहिल्यै उहाँ भन्नुहुन्छ,
16. ‘‘ती दिनपछि तिनीहरूसँग बाँध्ने मेरो करार यही हो, परमप्रभु भन्नुहुन्छ, तिनीहरूका हृदयमा म मेरो व्यवस्था राखिदिनेछु र तिनीहरूका मनमा पनि म त्यो लेखिदिनेछु।’’
17. तब उहाँ भन्नुहुन्छ, ‘‘तिनीहरूका पाप र तिनीहरूका दुष्कर्महरू म फेरि सम्झनेछैनँ।’’
18. अब जहाँ यी कुराको क्षमा हुन्छ, त्यहाँ अब फेरि पापको निम्ति कुनै बलिदान हुँदैन।
19. यसकारण प्रिय भाइहरू हो, येशूको रगतको कारणले गर्दा हामी साहसपूर्वक महापवित्रस्थानभित्र प्रवेश गर्नसक्छौं ।
20. हाम्रो निम्ति उहाँले एउटा नयाँ र जीवित मार्ग खोलिदिनुभएको छ, जसको कारण पर्दा अर्थात् उहाँको शरीरद्वारा हामीभित्र पस्न सक्छौं।
21. अनि परमेश्वरका घरमाथि हाम्रा महान् प्रधान पूजाहारी हुनुभएकोले,
22. हाम्रा हृदय खराब विवेकबाट छिट्काउद्वारा चोख्याइएर अनि शुद्ध पानीले हाम्रो शरीरलाई धोएर साँचो हृदयले विश्वासको सम्पूर्ण निश्चयतामा हामी परमेश्वरको नजिक जाऔं।
23. हामीले दृढविश्वास गरेको आशालाई नडगमगाइ दह्रोसँग थामिराखौं, किनकि प्रतिज्ञा गर्नुहुने उहाँ विश्वसनीय हुनुहुन्छ।
24. हामी एउटाले अर्कालाई प्रेम र असल कामहरूले हौसला दिने कुरा विचार गरौं ।
25. तर कसै-कसैको बानी भएझैँ, हामी एक ठाउँमा भेला हुन नछोडौं तर दिन नजिक आएको तिमीहरूले देखेका हुनाले एक-अर्कालाई झन् बढी उत्साह दिऔं।
26. किनकि सत्यको ज्ञान पाएपछि पनि हामी जानीबुझी पाप गर्दछौं भने पापको निम्ति कुनै बलिदान बाँकी रहँदैन।
27. तर न्यायको डरलाग्दो प्रतीक्षा र विरोधीहरूलाई भस्म गर्ने क्रोधको अग्निबाहेक अरु कुनै कुरा रहनेछैन।
28. मोशाको व्यवस्था पालन नगर्ने कुनै पनि मानिस दुई वा तीन साक्षीहरूको गवाहीमा दयाबिना मर्थ्यो भने,
29. अब विचार गर, परमेश्वरका पुत्रलाई खुट्टामुनि कुल्चने, आफूलाई पवित्र तुल्याइएको करारको रगतलाई अपवित्र ठान्ने र अनुग्रहको आत्मालाई अपमानित गर्नेको सजाय झन् कति कठोर होला।
30. किनकि यस्तो भन्नुहुनेलाई हामी चिन्छौं, ‘‘बदला म लिनेछु। प्रतिफल म दिनेछु।’’ अनि फेरि भन्नुहुन्छ, ‘‘परमप्रभुले आफ्ना मानिसहरूको न्याय गर्नुहुनेछ।’’
31. जीवित परमेश्वरको हातमा पर्नु डरलाग्दो कुरा हो।
32. तर ती पहिलेका दिनहरू सम्झ, जब ज्योति पाएपछि तिमीहरूले दु:खको ठूलो सङ्घर्ष सह्यौ,
33. कहिले तिमीहरू निन्दा र कष्टका कारण खुला तमासा बन्यौ, अनि कहिले त्यस्तो व्यवहार सहेकाहरूसित सहभागी भयौ,
34. किनकि तिमीहरूको आफ्नै अझ उत्तम र सदा रहने सम्पत्ति छ भन्ने जानेर तिमीहरूले कैदीहरूलाई सहानुभूति देखायौ र तिमीहरूका सम्पत्ति लुटिँदा पनित्यसलाई सहर्ष स्वीकार गर्यौ।
35. त्यसकारण आफ्नो आत्मविश्वास नगुमाओ, जसको एउटा ठूलो इनाम छ ।
36. तिमीहरूलाई परमेश्वरको इच्छा पूरा गरेर प्रतिज्ञा गरिएको फल पाउन धैर्यको खाँचो छ।
37. किनकि अब थोरै समयमा, ‘‘उहाँ, जो आउँदै हुनुहुन्छ, आउनु नै हुनेछ र ढिलो गर्नुहुनेछैन।
38. तर मेरो धर्मीजन विश्वासद्वारा जिउनेछ र यदि ऊ पछि हट्छ भने मेरो प्राण त्यसमा प्रसन्न हुनेछैन।’’
39. हामी नाश हुनका निम्ति पछि हट्नेहरूमध्येका होइनौं तर आत्मा बचाउनलाई विश्वास गर्नेहरूमध्येका हौं।
|