Bible Study: FrontPage




 

हिब्रु, Chapter 11

Bible Study - हिब्रु 11 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. अब विश्वास, आशा गरिएका कुराको निश्चयता र नदेखिएका कुराको दृढ भरोसा हो ।
  
2. किनकि यसै विश्वासद्वारा प्राचीनकालका मानिसहरूलाई परमेश्वरले ग्रहण गर्नुभयो।
  
3. विश्वासद्वारा हामी बुझ्छौं कि संसार परमेश्वरका वचनद्वारा बनिए, त्यसकारण देखिने कुरा देखिएका थोकद्वारा बनिएका होइनन्।
  
4. विश्वासद्वारा हाबिलले परमेश्वरलाई कयिनले भन्दा अझ उत्तम बलि चढाए र त्यसद्वारा तिनी धर्मी ठहरिए, तिनको बलि स्वीकार गरेर परमेश्वरले आफ्‍‌नो स्वीकृति जनाउनुभयो, तिनी मरे तापनि विश्वासद्वारा नै तिनी अझ बोलिरहेका छन्।
  
5. विश्वासद्वारा मृत्यु नचाखी हनोक स्वर्गमा उठाई लगिए, ‘तिनी कतै फेला परेनन्, किनकि परमेश्वरले तिनलाई उठाई लैजानुभयो।’ तिनी उठाई लगिनुभन्दाअघि परमेश्वरलाई तिनले प्रसन्‍‌न पारेको कुरा पुष्टि भएको थियो।
  
6. अनि बिनाविश्वास परमेश्वरलाई रिझाउन असम्भव छ। किनकि जो परमेश्वरको नजिक आउँछ, त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई यत्‍‌नसित खोज्‍‌नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्‍‌ने पक्का विश्वास गर्नुपर्छ।
  
7. विश्वासद्वारा नोआले त्यतिबेलासम्म नदेखिएको घटनाको बारेमा परमेश्वरबाट चेताउनी पाएर भक्तिसाथ आफ्‍‌नो घरानालाई बचाउन एउटा पानीजहाज बनाए। यसैद्वारा संसारलाई दोषी ठहराएर विश्वासद्वारा आउने धार्मिकताका उत्तराधिकारी भए।
  
8. विश्वासद्वारा अब्राहामले बोलावट पाएपछि तिनले उत्तराधिकारको रूपमा पाउनुपर्ने ठाउँमा गई परमेश्वरको आज्ञापालन गरे र कता जानुपर्ने हो सो नजाने तापनि तिनी निस्केर गए।
  
9. विश्वासैद्वारा तिनी एक परदेशीझैँ प्रतिज्ञाको देशमा, त्यही प्रतिज्ञाको देशमा त्यही प्रतिज्ञाका सहहकदार इसहाक र याकूबझैँ तम्बुहरूमा बसोबास गरे ।
  
10. किनकि तिनले जग भएको शहरको आशा गर्दथे, जसको शिल्पकार र निर्माता परमेश्वर नै हुनुहुन्छ।
  
11. विश्वासैद्वारा साराले उमेर ढल्किसकेपछि पनि गर्भधारण गर्ने क्षमता प्राप्त गरिन्, किनकि उनले प्रतिज्ञा गर्नुहुनेलाई विश्वसनीय ठानिन्।
  
12. त्यसैकारण, मरेतुल्य शरीर भइसकेको एउटै मानिसबाट ‘आकाशका ताराजतिकै असङ्ख्य र समुद्र किनारका अनगिन्ती बालुवाका कणजतिकै’ सन्तान उत्पन्‍‌न भए।
  
13. तिनीहरू सबै प्रतिज्ञा प्राप्त नगरी तर त्यसलाई टाढैबाट देखेर स्वागत गरी, पृथ्वीमा परदेशी र यात्री हौं भनी स्वीकार गर्दै विश्वासमा नै मरे।
  
14. यस्ता कुरा गर्ने मानिसहरूले आफ्‍‌नो एउटा देश खोजिरहेका छन् भन्‍‌ने कुरा प्रस्ट हुन्छ।
  
15. यदि साँच्चै तिनीहरूले आफू निस्केर गएको देशको बारेमा सोचेका भए, तिनीहरूले फर्केर जाने मौका पाउने थिए।
  
16. तर अब तिनीहरूले अझै उत्तम देश अर्थात् स्वर्गदेशको चाहना गर्छन्, यसकारण परमेश्वर, उनीहरूका परमेश्वर भनिन लजाउनुहुन्‍‌न, किनकि उहाँले तिनीहरूका निम्ति एउटा शहर तयार पार्नुभएको छ।
  
17. विश्वासैद्वारा अब्राहामले, तिनको जाँच हुँदा इसहाकलाई बलि गर्न तयार भए, जसले प्रतिज्ञा पाएका थिए, तिनी आफ्‍‌नो एकमात्र छोरोलाई बलिदान चढाउन राजी भए।
  
18. यिनी नै ती व्यक्ति हुन्, जसलाई यसो भनिएको थियो, ‘इसहाकद्वारा नै तेरो सन्तानको नाउँ रहनेछ।’
  
19. परमेश्वरले मानिसहरूलाई मृतकबाट जीवित पार्न सक्‍‌नुहुन्छ भन्‍‌ने कुरा अब्राहामले सोचेको हुनाले तिनले इसहाकलाई प्रतीकको रूपमा फिर्ता पाए।
  
20. विश्वासैद्वारा इसहाकले आउनलागेका कुराको विषयमा याकूब र एसावलाई आशीर्वाद दिए।
  
21. विश्वासद्वारा याकूबले मर्ने बेलामा आफ्‍‌नो लौरोको टुप्पोमा अडेस लागेर परमेश्वरको आराधना गरे र योसेफको प्रत्येक छोरालाई आशीर्वाद दिए।
  
22. विश्वासद्वारा योसेफले आफ्‍‌नो जीवनको अन्त्यतिर इस्राएलीहरू निस्केर जाने विषयमा बताए र तिनका हाडहरूको विषयमा आदेश दिए।
  
23. मोशा जन्मदा तिनका आमा-बुबाले तिनलाई सुन्दर देखे र विश्वासद्वारा तीन महिनासम्म तिनलाई लुकाइराखे र राजाका हुकुमको तिनीहरूले डरै मानेनन्।
  
24. जवान भएपछि विश्वासद्वारा मोशाले फारोकी छोरीको छोरा कहलाइन इन्कार गरे।
  
25. पापको क्षणिक सुख भोग्‍‌नुभन्दा बरु परमेश्वरका मानिसहरूसँग दु:ख भोग्‍‌न तिनले रोजे।
  
26. तिनले ख्रीष्टको निम्ति निन्दा सहने कुरालाई मिश्रदेशको धनसम्पत्तिभन्दा मूल्यवान् ठाने। किनकि तिनको दृष्टि इनामतिर लागेको थियो।
  
27. विश्वासैद्वारा तिनले राजाको क्रोधसँग नडराईकन मिश्रदेशलाई त्यागे, किनकि जो देखिनुहुन्‍‌न उहाँलाई देखेजस्तै गरी तिनी स्थिर रहे।
  
28. जेठोहरूलाई नाश गर्नुहुनेले तिनीहरूलाई नछोऊन् भनी विश्वासद्वारा तिनले निस्तार-चाड र रगतको छिट्काउको पालन गरे।
  
29. विश्वासैद्वारा तिनीहरू ओबानो जमीनमा हिँडेझैँ गरी लालसमुद्र पार भए, मिश्रीहरू पनि त्यही बाटो भएर जाँदा डुबेर मरे।
  
30. सात दिन परिक्रमा गरेपछि विश्वासैद्वारा यरीहोको पर्खाल ढल्यो।
  
31. विश्वासैद्वारा वेश्या राहाबले शान्तिसाथ जासुसहरूलाई सत्कार गरेकीले उनी अनाज्ञाकारीहरूका साथमा नष्ट भइनन्।
  
32. योभन्दा बढ्ता म के भनूँ? किनकि गिदोन, बाराक, शिमशोन, यिप्ताको बारेमा र दाऊद, शमूएल र अगमवक्ताहरूका विषयमा भनिरहन मलाई समय छैन।
  
33. ज-जसले विश्वासद्वारा राज्यहरू जिते, धार्मिकताका कार्यहरू गरे, प्रतिज्ञाहरू पाए, सिंहहरूका मुख बन्द गरिदिए,
  
34. आगोका ज्वाला निभाए, तरवारका धारबाट बाँचे, कमजोरीबाट बलिया बनाइए, लडाइँमा वीर भए, विदेशीहरूका फौजलाई भगाए,
  
35. स्त्रीहरूले आफ्‍‌ना मरेकाहरूलाई पुनरुत्थानद्वारा फेरि जीवित रूपमा पाए, अरुहरूले मृत्युपछि अझ उत्तम जीवन प्राप्त गर्नलाई छुटकारा इन्कार गरेर दण्ड भोगे।
  
36. अनि अरुहरूले गिल्ला, कोर्रा, बन्धन र कैद पनि भोगे।
  
37. तिनीहरूलाई ढुङ्गाले हाने। तिनीहरू करौँतीले चिरिए । तिनीहरू तरवारले मारिए। भेडा र बाख्राका छालाहरू लगाएर कङ्गाल भई क्लेश र दु:ख पाएर तिनीहरू यताउता डुलिहिँडे।
  
38. संसार तिनीहरूका निम्ति योग्यको थिएन। मरुभूमि, पहाडहरू, गुफाहरू र पृथ्वीका ओडारहरूतिर तिनीहरूलाई घुमिहिँड्‍‌नुपर्‍यो।
  
39. अनि तिनीहरू सबैले विश्वासद्वारा स्वीकृति पाए तापनि प्रतिज्ञा गरिएका कुरा प्राप्त गरेनन्।
  
40. किनकि हामीबिना तिनीहरू सिद्ध नहोऊन् भनेर परमेश्वरले हाम्रा निम्ति पहिलेबाट केही उत्तम कुराको प्रबन्ध गर्नुभएको थियो।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES