1. यिनै मल्कीसेदेक, शालेमका राजा, सर्वोच्च परमेश्वरका पूजाहारी, जसले राजाहरूलाई मारेर फर्किरहेका अब्राहामलाई भेटे र तिनलाई आशिष् दिए।
2. त्यसपछि अब्राहामले आफूले लडाइँमा जितेर ल्याएका सबै कुराको दशांश मल्कीसेदेकलाई दिए। तिनको नाउँको अर्थ ‘धार्मिकताका राजा’ र फेरि ‘शालेमका राजा’ पनि हो अर्थात् ‘शान्तिका राजा’।
3. बिनाबुबा, बिनाआमा, बिनावंशावली, जीवनको आदि र अन्त्य नभएका तर परमेश्वरका पुत्रजस्तै यिनी सधैँ पूजाहारी भई रहन्छन्।
4. अब हेर, यिनी कस्ता महान् व्यक्ति थिए, जसलाई कुलपिता अब्राहामले पनि लुटका मालमत्ताको दशांश दिए !
5. पूजाहारी पदमा नियुक्त भएका लेवीका छोराहरूलाई आफ्नै भाइहरूबाट दशांश लिने आज्ञा व्यवस्थाले दिएको छ, यद्यपि तिनीहरू पनि अब्राहामकै सन्तान थिए।
6. तर लेवीका वंशावलीमा नपर्ने यिनै मानिसले अब्राहामबाट दशांश लिएका हुन् र प्रतिज्ञाहरू पाउनेलाई नै यिनले आशीर्वाद दिएका हुन्।
7. यसमा विवाद गर्ने केही कुरा छैन, किनकि सानाले ठूलाबाट आशीर्वाद पाउँछ।
8. एकातिर मरणशील मानिसहरूले दशांश लिन्छन्, अर्कोतिर सदाकाल जीवित रहन्छन् भनी घोषणा गरिएका उनै एक जनाले सो लिन्छन्।
9. अनि यो भन्न सकिन्छ, अब्राहामद्वारा दशांश पाउने लेवीले पनि दशांश दिए।
10. किनकि मल्कीसेदेकले अब्राहामलाई भेट्दा तिनी आफ्ना पुर्खाकै शरीरमा नै थिए।
11. अब यदि लेवीको पूजाहारी पदद्वारा सिद्धता प्राप्त हुनेभए (जसको आधारमा मानिसहरूले व्यवस्था प्राप्त गरेका थिए), हारूनको दर्जाबमोजिम नै नभएर फेरि मल्कीसेदेकको दर्जाअनुसार अर्को पूजाहारी खडा गर्न के आवश्यक पर्थ्यो?
12. अनि जब पूजाहारी पद बद्लिन्छ, व्यवस्था पनि बद्लिनु नै पर्दछ।
13. किनभने जसको विषयमा हामी कुरा गरिरहेका छौं, उहाँ अर्कै कुलसित सम्बन्धित हुनुहुन्छ, जसका सदस्यहरूले वेदीमा सेवा गर्दैनन्।
14. किनभने यो स्पष्ट छ, हाम्रा प्रभु यहूदा कुलबाट आउनुभयो र पूजाहारी पदका सम्बन्धमा मोशाले कहिल्यै पनि यस कुलको नाम लिएनन्।
15. यदि मल्कीसेदेकजस्तै अर्को पूजाहारी खडा हुने हो भने यो कुरा अझ स्पष्ट हुन्छ।
16. अर्थात् उहाँ पुर्ख्यौली नियमको आधारमा होइन तर अविनाशी जीवनको शक्तिद्वारा पूजाहारी हुनुभएको हो ।
17. किनकि उहाँको बारेमा यस्तो गवाही दिइएको छ, ‘‘मल्कीसेदेकको दर्जाबमोजिम तिमी सधैँभरिको निम्ति एक पूजाहारी हौ।’’
18. किनभने एकातिर त्यो पहिलो नियम कमजोर र बेकामको भएको हुनाले खारिज भएको छ भने
19. (व्यवस्थाले कुनै कुरा सिद्ध तुल्याएन), अर्कोतिर एउटा उत्तम आशा ल्याइएको छ, जसद्वारा हामी परमेश्वरको नजिक हुन्छौं।
20. अनि उहाँ शपथबिना पूजाहारी हुनुभएको होइन,
21. किनकि तिनीहरू शपथ नलिईकन पूजाहारी भएका थिए, तर उहाँ शपथसहित पूजाहारी बन्नुभयो र उहाँको विषयमा परमेश्वर भन्नुहुन्छ, ‘‘परमप्रभुले शपथ हाल्नुभएको छ, र आफ्नो मन बदल्नुहुनेछैन : ‘तिमी सधैँभरिको निम्ति पूजाहारी हौ’।’’
22. परमेश्वरको शपथको कारणले गर्दा येशू नै यो उत्तम करारको प्रभावकारिताको जमानत हुनुहुन्छ।
23. अर्को भिन्नताको कुरा यो छ कि पुरानो व्यवस्था अन्तर्गत धेरै पूजाहारीहरू थिए। जब एउटा पूजाहारीको मृत्यु हुन्थ्यो, अर्को पूजाहारीले त्यसको स्थान लिनुपर्थ्यो।
24. तर येशू सधैँभरि पूजाहारी रहिरहनुहुनेछ। उहाँको पूजाहारी पद स्थायी छ।
25. त्यसकारण, उहाँद्वारा परमेश्वरकहाँ आउने सबै मानिसहरूलाई उहाँले सधँैको निम्ति एकैपल्ट उद्धार गर्न सक्नुहुन्छ। उहाँ तिनीहरूका पक्षमा परमेश्वरसित अर्जविन्ती गर्नको निम्ति सदैव जीवित रहनुहुन्छ।
26. उहाँ हाम्रो यस्तो प्रधान पूजाहारी हुनुहुन्छ, जो पवित्र, दोषरहित र निष्कलङ्क, पापीहरूबाट अलग, स्वर्गभन्दा उच्च हुनुहुन्छ।
27. अब प्रधान पूजाहारीले जस्तो उहाँले हरेक दिन बलिदानहरू चढाइरहनुपर्दैन। तिनीहरूले पहिले आफ्नैनिम्ति र त्यसपछि मानिसहरूका पापको निम्ति बलिदान चढाउँथे। किनकि उहाँले आफैलाई अर्पण गरेर सधैँको निम्ति एकैपल्ट यो बलिदान चढाउनुभयो ।
28. किनकि व्यवस्थाद्वारा नियुक्त भएका प्रधान पूजाहारी कमजोर छन्, तर व्यवस्थाको पछि आएको शपथको वचनद्वारा नियुक्त हुनुभएको पुत्र सधैँको निम्ति सिद्ध तुल्याइनुभएको छ ।
|