1. अब हामीले भन्न चाहेको कुरा यो हो हाम्रा यस्ता प्रधान पूजाहारी हुनुहुन्छ, जो स्वर्गमा महान् परमेश्वरका सिंहासनका दाहिनेपट्टि विराजमान हुनुहुन्छ।
2. उहाँ मानिसद्वारा होइन तर परमप्रभुले खडा गर्नुभएको वेदी, साँचो पवित्र वासस्थानमा सेवक हुनुहुन्छ।
3. किनकि हरेक प्रधान पूजाहारी भेटी र बलिदानहरू चढाउन नियुक्त गरिएको हुन्छ, यसकारण यी प्रधान पूजाहारीले पनि केही कुरा चढाउनु नै पर्दछ।
4. यदि उहाँ संसारमा हुनुभएको भए, उहाँ पूजाहारी नै हुनुहुनेथिएन, किनकि त्यहाँ पहिलेदेखि नै व्यवस्थाले माग गरेबमोजिम भेटी चढाउने पूजाहारीहरू थिए।
5. जसले स्वर्गमा भएका कुराको प्रतिरूप र छायाँको सेवा गर्दछन्, जसरी मोशाले पवित्र वासस्थान बनाउनलाग्दा परमेश्वरले चेताउनी दिँदै भन्नुभयो, ‘‘पर्वतमा तँलाई देखाइदिएको नमूनाबमोजिम तैँले सब थोक बनाउनू।’’
6. तर अब उहाँले प्राप्त गर्नुभएको सेवा अझ उत्तम छ, अझ उहाँ उत्तम प्रतिज्ञाहरूमा खडा गरिएको उत्तम करारको मध्यस्थ पनि हुनुहुन्छ।
7. यदि पहिलाको करार दोषरहित भएको भए, दोस्रोको आवश्यकता पर्ने थिएन।
8. किनभने ती मानिसहरूको दोष देखाउँदै उहाँ भन्नुहुन्छ, ‘‘परमप्रभु भन्नुहुन्छ, हेर ती दिन आउनेछन्, जब मैले इस्राएल र यहूदाका घरानासँग एउटा नयाँ करार स्थापित गर्नेछु।
9. तिनीहरूका पुर्खासित बाँधेको करारजस्तो यो हुनेछैन, जब मैले तिनीहरूलाई हात समातेर मिश्रदेशबाट डोर्याएर ल्याएँ। तिनीहरू मेरो करारप्रति विश्वसनीय भएर रहेनन्। यसकारण मैले तिनीहरूको वास्ता गरिनँ, परमप्रभु भन्नुहुन्छ।
10. परमप्रभु भन्नुहुन्छ : ती दिनपछि म इस्राएलको घरानासित एउटा नयाँ करार बाँध्नेछु, म तिनीहरूका मनमा मेरो व्यवस्था राख्नेछु र तिनीहरूको हृदयमा यो लेखिदिनेछु अनि म तिनीहरूका परमेश्वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन्।
11. ‘परमप्रभुलाई चिन’ भनेर अब उसो कुनै मानिसले आफ्नो छिमेकीलाई वा आफ्ना दाज्यू-भाइलाई सिकाउनेछैन। किनकि सानादेखि लिएर ठूलासम्म तिनीहरू सबैले मलाई चिन्नेछन्।
12. किनकि म तिनीहरूका अपराध क्षमा गर्नेछु र तिनीहरूका पाप म फेरि कहिल्यै सम्झनेछैन।’’
13. एउटा नयाँ करार भन्नुभएर उहाँले पहिलोलाई पुरानो पार्नुभएको छ। जब उहाँले ‘‘नयाँ करार’’ भन्नुभयो, उहाँले पहिलेकोलाई पुरानो तुल्याउनुभएको छ तर पुरानो भएको कुरा हराएर जान्छ।
|