Bible Study: FrontPage




 

युहन्ना, Chapter 4

Bible Study - युहन्ना 4 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. यूहन्‍‌नाले भन्दा येशूले धेरै चेला बनाएर बप्तिस्मा दिँदै हुनुहुन्छ भन्‍‌ने कुरा फरिसीहरूले सुने भनी प्रभुले थाहा पाउनुभयो।
  
2. तापनि उहाँ आफैले होइन,उहाँका चेलाहरूले बप्तिस्मा दिन्थे।
  
3. उहाँ यहूदिया छोडेर फेरि गालीलमा फर्कनुभयो।
  
4. उहाँ सामरिया भएर जानुपर्थ्यो।
  
5. आखिरमा उहाँ सामरिया शहरको सुखार भनिने ठाउँमा आइपुग्‍‌नुभयो, जुन ठाउँ याकूबले आफ्‍‌नो छोरो योसेफको लागि किनिदिएको जमीनको नजिकै पर्दछ।
  
6. त्यहाँ याकूबको कुवा थियो, प्राय: मध्यान्हतिर येशू लामो यात्राबाट थकित हुनुभएकोले कुवाको छेउमा बसिरहनुभएको थियो।
  
7. एउटी सामरी स्त्री पानी लिन त्यहाँ आई, येशूले त्यसलाई भन्‍‌नुभयो, ‘‘कृपया मलाई पानी पिउन देऊ।’’
  
8. उहाँका चेलाहरू सबै जना खानेकुरा किन्‍‌न शहरमा गएका थिए।
  
9. त्यसले उहाँलाई भनी, ‘‘तपाईं एक यहूदी भएर पनि म, सामरी स्त्रीको हातबाट कसरी पिउने पानी माग्‍‌नुहुन्छ?’’ किनकि यहूदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन्।
  
10. येशूले जवाफ दिनुभयो, ‘‘यदि तिमीले परमेश्वरको वरदान र ‘मलाई पिउनदेऊ’ भन्‍‌ने व्यक्तिलाई चिनेकी भए तिमीले ऊसित माग्‍‌ने थियौ र उसले तिमीलाई जीवित पानी दिनेथियो।’’
  
11. त्यस स्त्रीले उहाँलाई भनी, ‘‘हजूर, तपाईंसित उघाउने भाँडो छैन र कुवा पनि गहिरो छ। तब तपाईंले त्यो जिउँदो पानी कहाँबाट पाउनुहुन्छ?
  
12. के तपाईं यो कुवा खनिदिने हाम्रा पुर्खा याकूबभन्दा पनि महान् हुनुहुन्छ र? यस कुवाबाट उनी आफै, आफ्‍‌ना सन्तानहरू र गाईबस्तुहरूले पिएका थिए।’’
  
13. येशूले जवाफ दिनुभयो, ‘‘यो पानी पिउने सबै फेरि तिर्खाउनेछन्,
  
14. तर मैले दिने पानी पिउने कहिल्यै तिर्खाउनेछैन। मैले दिने पानी त उसमा अनन्त जीवनको उम्रिरहने पानीको मूल बन्‍‌नेछ।’’
  
15. त्यस स्त्रीले भनी, ‘‘हजूर, मलाई त्यही पानी दिनुहोस्, यसैले कि म कहिल्यै तिर्खाउनेछैन र फेरि यस कुवामा पानी लिन आउनुपर्नेछैन। ’’
  
16. येशूले भन्‍‌नुभयो, ‘‘जाऊ र तिम्रो लोग्‍‌नेलाई बोलाएर यहाँ ल्याऊ।’’
  
17. त्यस स्त्रीले भनी, ‘‘मेरो लोग्‍‌ने नै छैन।’’ येशूले भन्‍‌नुभयो, ‘‘मेरो लोग्‍‌ने छैन, भनेर तिमीले ठीकै भनेकी छ‍यौ,
  
18. किनभने तिमीसित पाँच जना लोग्‍‌ने भइसकेका छन् र अहिले तिमीसित हुने पनि तिम्रो लोग्‍‌ने होइन। यो तिमीले साँचो भनेकी छ‍यौ।’’
  
19. त्यस स्त्रीले भनी, ‘‘हजूर, तपाईं त एक अगमवक्ता हुनुहुँदोरहेछ ।
  
20. हाम्रा पिता-पुर्खाहरूले यस पहाडमा आराधना गरे र तपाईं भन्‍‌नुहुन्छ कि मानिसहरूले आराधना गर्नुपर्ने ठाउँ यरूशलेममा छ।’’
  
21. येशूले जवाफ दिनुभयो, ‘‘हे नारी, मलाई विश्वास गर, यस्तो समय आउँदै छ, जब तिमीहरूले पितालाई न त यस पहाडमा, न त यरूशलेममा नै आराधना गर्नेछौ।
  
22. तिमीहरू जसलाई चिन्दैनौ, उहाँको आराधना गर्दछौ, हामी जसलाई चिन्दछौं, उहाँकै आराधना गर्दछौं, किनकि उद्धार यहूदीहरूबाट नै आउँछ।
  
23. तर समय आउँदैछ र त्यो अहिले नै हो, सच्चा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्, किनकि त्यस्ता मानिसहरूलाई पिताले आफ्‍‌ना आराधकहरू भएको चाहनुहुन्छ।
  
24. परमेश्वर आत्मा हुनुहुन्छ र उहाँलाई पुज्‍‌नेहरूले आत्मा र सत्यतामा पुज्‍‌नुपर्छ।’’
  
25. त्यस स्त्रीले भनी, ‘‘मलाई थाहा छ,कि मसीह(जसलाई ख्रीष्ट भनिन्छ) आउँदै हुनुहुन्छ, जब उहाँ आउनुहुन्छ, उहाँले हामीहरूलाई सबै कुरा बताउनुहुनेछ।’’
  
26. तब येशूले त्यसलाई भन्‍‌नुभयो, ‘‘तिमीसँग बोल्‍‌ने म, उही हुँ।’’
  
27. त्यत्ति नै बेला चेलाहरू आइपुगे र उहाँले एउटी स्त्रीसँग कुराकानी गरिरहनुभएको देखेर छक्क परे, तापनि ‘तपाईं के खोज्‍‌नुहुन्छ?’ वा ‘किन तपाईं तिनीसित कुराकानी गर्नुहुन्छ?’ भनी कसैले पनि सोधेनन्।
  
28. तब त्यस स्त्रीले पानीको गाग्रो त्यहीँ छाडेर शहरमा गई र मानिसहरूलाई भनी,
  
29. ‘‘आओ र एक जना मानिसलाई हेर, जसले मैले गरेका सबै कुरा बताइदिनुभयो। कतै उहाँ नै मसीह त हुनुहुन्‍‌न?’’
  
30. तब तिनीहरू शहरबाट निस्के र उहाँकहाँ आए।
  
31. त्यही समयमा उहाँका चेलाहरूले, ‘‘हे गुरुज्यू, खाना खानुहोस्’’ भन्दै उहाँलाई विन्ती गरे।
  
32. तर उहाँले तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘मसँग खानलाई भोजन छ, जसको बारेमा तिमीहरूलाई थाहा छैन।’’
  
33. त्यसकारण चेलाहरूले एक-आपसमा भने, ‘‘कसैले उहाँलाई खानेकुरा ल्याएर दियो कि कसो ?’’
  
34. येशूले भन्‍‌नुभयो, ‘‘मेरो भोजन नै मलाई पठाउनुहुनेको इच्छा र उहाँको काम पूरा गर्नु हो।
  
35. ‘अझै चार महिना छन् र बाली काट्‍‌ने समय आउँछ’ भनी के तिमीहरू भन्दैनौ र? हेर, म तिमीहरूलाई भन्दछु, आफ्‍‌ना नजर उठाएर खेतबारीमा हेर, किनकि त्यो कटनीको निम्ति पाकिसकेको छ।
  
36. जसले बाली काट्छ, उसले ज्याला पाइरहन्छ र अनन्त जीवनको लागि फल बटुल्छ अनि छर्ने र बटुल्‍‌ने दुवै एकसाथ रमाउँछन्,
  
37. किनभने यस विषयमा ‘एउटाले छर्छ र अर्कोले बटुल्छ’ भन्‍‌ने यो भनाइ सत्य छ।
  
38. तिमीहरूले परिश्रम नै नगरेको ठाउँमा मैले तिमीहरूलाई बाली काट्‍‌न पठाएँ। अरुले परिश्रम गरे र तिमीहरूले त्यस परिश्रमको फल लिन पायौ ।’’
  
39. त्यस स्त्रीले ‘‘मैले गरेका सबै कुरा उहाँले बताइदिनुभयो,’’ भनी साक्षी दिएको कारण धेरै सामरीहरूले येशूमा विश्वास गरे।
  
40. यसकारण जब सामरीहरू उहाँकहाँ आए, तिनीहरूले उहाँलाई तिनीहरूसित बस्‍‌नुहोस् भनेर विन्ती गरे, तब उहाँ दुई दिनसम्म त्यहाँ बस्‍‌नुभयो।
  
41. उहाँको वचन सुनेर अझै धेरैले विश्वास गरे।
  
42. तिनीहरूले त्यस स्त्रीलाई भने, ‘‘अब तिम्रो भनाइको कारणले मात्र हामीले विश्वास गरेका होइनौं किनकि अब हामी आफैले उहाँबाट सुनेका छौं र जान्दछौं कि उहाँ साँच्चै नै ख्रीष्ट, संसारका मुक्तिदाता हुनुहुन्छ।’’
  
43. दुई दिनपछि येशू त्यहाँबाट गालीलतिर जानुभयो ।
  
44. येशू आफैले अगमवक्तालाई उसको आफ्‍‌नै ठाउँमा आदर हुँदैन भनी साक्षी दिनुभयो।
  
45. यसकारण जब उहाँ गालीलमा आउनुभयो, तब गालीलीहरूले निस्तार-चाडको समयमा यरूशलेममा उहाँले गर्नुभएका सबै कुरा देखेका हुनाले उहाँलाई स्वागत गरे, किनकि तिनीहरू पनि त्यस चाडमा गएका थिए।
  
46. येशू फेरि गालीलको कानामा आउनुभयो, जहाँ उहाँले पानीलाई अङ्गुरमद्य बनाउनुभएको थियो। त्यहाँ कुनै एक जना अधिकृत थिए, जसको छोरो कफर्नहुममा बिरामी थियो।
  
47. जब तिनले येशू यहूदियाबाट गालीलतिर आउनुभएको छ भन्‍‌ने सुने, तब तिनी येशूकहाँ गए र उहाँ आएर आफ्‍‌नो छोरालाई निको पारिदेऊन् भनी विन्ती गरे, किनभने तिनको छोरो मर्नै लागेको थियो।
  
48. येशूले तिनलाई भन्‍‌नुभयो, ‘‘चिन्ह र आश्चर्यकर्महरू नदेखेसम्म तिमीहरूले कहिल्यै विश्वास गर्दैनौ।’’
  
49. ती अधिकृतले अनुरोध गरे, ‘‘हजूर, मेरो छोरो मर्नुभन्दा अघि नै आइदिनुहोस्।’’
  
50. तब येशूले तिनलाई भन्‍‌नुभयो, ‘‘आफ्‍‌नो बाटो लाग। तिम्रो छोरो बाँच्छ।’’ तिनले, येशूले बोल्‍‌नुभएको वचन विश्वास गरे र आफ्‍‌नो बाटो लागे।
  
51. तिनी तल झर्दै गर्दा तिनका नोकरहरूले भेटेर तिनको छोरो बाँचेको समाचार दिए।
  
52. तिनले सोधे, ‘‘कुन बेलादेखि छोरो ठीक हुनथाल्यो?’’ तिनीहरूले भने, ‘‘हिँजो दिउँसो एक बजे ज्वरोले छोड‍यो।’’
  
53. यसकारण त्यो समय येशूले तिनलाई ‘तिम्रो छोरो बाँच्छ’ भनेकै बेलामा हो रहेछ भनी बुबाले थाहा पाए। तब तिनी आफैले र तिनका सम्पूर्ण घरानाले विश्वास गरे।
  
54. यहूदियाबाट गालीलमा आएर येशूले गर्नुभएको यो दोस्रो चिन्ह थियो।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES