1. यी कुरा भइसकेपछि येशू गालील समुद्रको पारिपट्टि जानुभयो, जसलाई तिबेरियासको समुद्र पनि भनिन्छ।
2. एउटा ठूलो भीडले उहाँलाई पछयायो, किनभने उहाँले रोगीहरूमाथि गर्नुभएका आश्चर्यकर्महरू तिनीहरूले देखेका थिए।
3. येशू डाँडामा उक्लिनुभयो र चेलाहरूसँग बस्नुभयो।
4. त्यो यहूदीहरूको निस्तार-चाड आउनै लागेको समय थियो।
5. येशूले आफ्नो आँखा उचालेर हेर्नुभयो र मानिसहरूको ठूलो भीड आफूतिर आउँदै गरेको देखेर फिलिपलाई भन्नुभयो, ‘‘फिलिप, यत्तिका धेरै मानिसहरूलाई खुवाउने रोटी हामीले कहाँबाट किन्नु?’’
6. उहाँले फिलिपको जाँच गर्नलाई त्यसो भन्नुभएको थियो, किनभने उहाँले के गर्नुहुनेछ भन्ने उहाँ आफैलाई थाहा थियो।
7. फिलिपले जवाफ दिए, ‘‘दुई सय दिनारको रोटीले सबैलाई अलिअलि दिए पनि पुग्दैन।’’
8. अनि उहाँका एक जना चेला, पत्रुसका दाजु अन्द्रियासले उहाँलाई भने,
9. ‘‘यहाँ एउटा ठीटोसित पाँचवटा जौका रोटी र दुईवटा माछा छन्। तर यत्तिका धेरै मान्छेलाई यी के हुन् र?’’
10. येशूले अह्राउनुभयो, ‘‘यी सबैलाई बस्न लगाओ।’’ अब त्यस ठाउँमा प्रशस्त घाँस थियो, यसकारण गन्तीमा प्राय: पाँच हजार पुरुषहरू त्यहाँ बसे।
11. त्यसपछि येशूले ती रोटी लिनुभयो र त्यसको निम्ति परमेश्वरलाई धन्यवाद दिइसक्नुभएपछि उहाँले चेलाहरूलाई दिनुभयो र चेलाहरूले ती बसेका मानिसहरूलाई बाँडिदिए। त्यसैगरी तिनीहरूलाई चाहिएजति माछाहरू पनि बाँडिदिए।
12. तिनीहरू अघाइसकेपछि उहाँले चेलाहरूलाई भन्नुभयो, ‘‘उब्रेका टुक्राटाक्रीहरू बटुल, यसैले कि एउटै पनि खेरो नजाओस्।’’
13. यसकारण तिनीहरूले बटुले र पाँचवटा जौका रोटी खानेहरूले उबारेका टुक्राटाक्रीहरूले बाह्र डाला भरे।
14. जब ती मानिसहरूले उहाँले गर्नुभएको आश्चर्यकर्म देखे, तब तिनीहरूले भने, ‘‘निश्चय नै संसारमा आउनुहुने अगमवक्ता उहाँ नै हुनुहुन्छ।’’
15. तिनीहरू आएर उहाँलाई जबरजस्ती लगेर राजा बनाउन खोज्दैछन् भन्ने थाहा पाएर येशू फेरि तिनीहरूबाट अलग भई एकलै डाँडातिर जानुभयो।
16. साँझ परेपछि उहाँका चेलाहरू समुद्रतिर झरे,
17. अनि डुङ्गामा चढेर समुद्रपारि कफर्नहुमतिर लागे । त्यसबेला अँध्यारो भइसकेको थियो र येशू त्यसबेलासम्म पनि आइपुग्नुभएको थिएन ।
18. एउटा ठूलो आँधीबेहरी चलेको कारण समुद्रको छाल उर्लन लाग्यो।
19. तिनीहरू डुङ्गा खियाएर लगभग पाँच-छ किलोमिटरजति टाढा पुगेपछि तिनीहरूले येशूलाई पानीमाथि हिँड्दै डुङ्गाको नजिक आउँदै गर्नुभएको देखे र भयभीत भए।
20. तर उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘म नै हुँ , नडराओ ।’’
21. तब तिनीहरूले खुशीसाथ उहाँलाई डुङ्गामा राखे र तुरुन्तै डुङ्गा तिनीहरू जान चाहेको ठाउँमा पुगिहाल्यो। येशू, जीवनको रोटी
22. त्यसको भोलिपल्ट समुद्रको पारिपट्टिको किनारमा उभिरहेका मानिसहरूले उहाँका चेलाहरू चढेको डुङ्गाबाहेक अरु कुनै डुङ्गा त्यहाँ देखेनन् र येशू पनि आफ्ना चेलाहरूसित डुङ्गाभित्र चढनुभएको थिएन तर उहाँका चेलाहरू मात्रै त्यहाँबाट गएको थाहा पाए।
23. तर पनि जहाँ प्रभुले धन्यवाद दिनुभएपछि तिनीहरूले रोटी खाएका थिए, त्यही ठाउँको नजिकमा तिबेरियासबाट अरु डुङ्गाहरू आइपुगे।
24. जब ती मानिसहरूले त्यहाँ येशू र उहाँका चेलाहरूलाई देखेनन्, तब तिनीहरू आफै डुङ्गामा चढे र उहाँलाई खोज्दै कफर्नहुममा आए।
25. अनि जब तिनीहरूले उहाँलाई समुद्रको पारिपट्टि भेट्टाए, तब तिनीहरूले उहाँलाई भने, ‘‘गुरुज्यू, तपाईं यहाँ कहिले आउनुभयो?’’
26. येशूले जवाफ दिनुभयो, ‘‘साँचो साँचो म तिमीहरूलाई भन्दछु, तिमीहरू चिन्हहरू देखेका कारणले होइन तर रोटी खाएर अघाएकोले मलाई खोज्दै छौ।
27. नष्ट हुने भोजनको निम्ति होइन तर अनन्त जीवनसम्म रहिरहने भोजनको निम्ति परिश्रम गर, जो मानिसको पुत्रले तिमीहरूलाई दिनेछन्, किनकि परमेश्वर पिताले उनैमाथि आफ्नो छाप लगाउनुभएको छ।’’
28. तिनीहरूले उहाँलाई सोधे, ‘‘परमेश्वरको काम गर्नलाई हामी के गरौं?’’
29. येशूले भन्नुभयो, ‘‘उहाँले जसलाई पठाउनुभएको छ, उनलाई विश्वास गर, यही नै परमेश्वरको काम हो।’’
30. तिनीहरूले भने, ‘‘तपाईं हामीलाई के चिन्ह देखाउनुहुन्छ र हामी तपाईंमाथि विश्वास गरौं? तपाईं के काम गर्नुहुन्छ?
31. हाम्रा पिता-पुर्खाले उजाड-स्थानमा मन्न खाए। धर्मशास्त्रले भनेअनुसार, ‘उहाँले तिनीहरूलाई स्वर्गबाटको रोटी खान दिनुभयो’।’’
32. येशूले भन्नुभयो, ‘‘साँचो, साँचो, म तिमीहरूलाई भन्दछु, मोशाले तिमीहरूलाई स्वर्गबाटको त्यो रोटी दिएनन् तर मेरा पिताले तिमीहरूलाई स्वर्गबाट साँचो रोटी दिनुहुन्छ।
33. किनभने परमेश्वरका रोटी उनै हुन्, जो स्वर्गबाट ओर्लेर आउँछन् र संसारलाई जीवन दिन्छन्।’’
34. तिनीहरूले उहाँलाई भने, ‘‘प्रभु, त्यसो भए यो रोटी हामीलाई सधैँ दिनुहोस्।’’
35. येशूले जवाफ दिनुभयो, ‘‘जीवनको रोटी म नै हुँ। मकहाँ आउने कहिल्यै भोकाउने छैन र जसले ममाथि विश्वास गर्छ, त्यो पनि कहिल्यै तिर्खाउनेछैन।
36. तर मैले तिमीहरूलाई भनेजस्तै तिमीहरूले मलाई देखेका छौ, तापनि अहिलेसम्म विश्वास गर्दैनौ।
37. पिताले मलाई दिनुभएका सबै जना मकहाँ आउँछन् र मकहाँ आउनेलाई म कुनै रीतिले त्याग्नेछैनँ ।
38. किनभने म आफ्नै इच्छा होइन तर मलाई पठाउनुहुनेको इच्छा पूरा गर्नका निम्ति स्वर्गबाट ओर्लिआएको हुँ।
39. अनि मलाई पठाउनुहुनेको इच्छा यो हो कि मलाई दिइएकाहरूमध्ये एउटालाई पनि म नगुमाऊँ तर अन्तिम दिनमा ती सबैलाई पुनर्जीवित पारूँ।
40. किनभने पुत्रलाई देख्ने र उसमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोऊन् तर तिनीहरूले अनन्त जीवन पाऊन् भन्ने मेरा पिताको इच्छा छ। अन्त्यको दिनमा म तिनीहरूलाई पुनर्जीवित पार्नेछु।’’
41. त्यसकारण यहूदीहरूले उहाँसँग गनगन गरिरहेका थिए, किनभने उहाँले भन्नुभयो, ‘‘म स्वर्गबाट ओर्लिआएको रोटी हुँ। ’’
42. तिनीहरूले भने, ‘‘के यिनी यूसुफको छोरो येशू होइनन् र? जसका बाबु र आमालाई हामी चिन्छौं? तब यिनले कसरी ‘म स्वर्गबाट ओर्लिआएको हुँ’ भन्छन् त?’’
43. तर येशूले जवाफ दिनुभयो, ‘‘तिमीहरू आपसमा गनगन नगर।
44. किनभने मलाई पठाउनुहुने पिताले नखिँचेसम्म कोही पनि मकहाँ आउन सक्दैन। अनि अन्त्यको दिनमा म उसलाई पुनर्जीवित पार्नेछु ।
45. यही कुरा अगमवक्ताहरूको पुस्तकमा लेखिएको छ, ‘तिनीहरू सबैलाई परमेश्वरद्वारा नै सिकाइनेछ। पिताबाट सुन्ने र उहाँबाट सिक्नेहरू हरेक मकहाँ आउँछन्।
46. पितालाई कसैले देखेको छैन, केवल जो पिताबाट पठाइएको छ, उसले मात्र पितालाई देखेको छ।
47. साँचो, साँचो म तिमीहरूलाई भन्दछु, जसले ममाथि विश्वास गर्दछ, त्योसँग अनन्त जीवन छ।
48. जीवनको रोटी म नै हुँ।
49. तिमीहरूका पिताले उजाड-स्थानमा मन्न खाए र तिनीहरू मरे।
50. स्वर्गबाट ओर्लिआएको रोटी यही हो, जसले यो खान्छ त्यो मर्नेछैनँ।
51. स्वर्गबाट ओर्लिआएको जीवित रोटी म नै हुँ। यदि कसैले यो रोटी खान्छ भने ऊ सधैँभरि जिउनेछ। यस संसारले जीवन पाओस् भनेर मैले दिएको त्यो रोटी मेरो देह हो।’’
52. यसकारण यहूदीहरूले ‘‘यस मानिसले कसरी हामीलाई आफ्नो देह खान दिनसक्छ?’’ भन्दै आपसमा तर्क गर्नलागे।
53. तब येशूले फेरि भन्नुभयो, ‘‘साँचो, साँचो म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह नखाएसम्म र उसको रगत नपिएसम्म तिमीहरू आफैमा जीवन छैन।
54. तर जसले मेरो देह खान्छ र रगत पिउँछ, ऊसँग अनन्त जीवन छ र म उसलाई अन्त्यको दिनमा पुनर्जीवित पार्नेछु।
55. किनभने मेरो देह साँच्चीकै खानेकुरा हो र मेरो रगत पिउने कुरा हो।
56. मेरो देह खाने र मेरो रगत पिउने ममा रहन्छ र म त्यसमा रहन्छु।
57. जसरी जीवित पिताले मलाई पठाउनुभयो र म पिताद्वारा जिउँछु, त्यसरी नै जसले मलाई खान्छ, ऊ पनि मद्वारा जिउनेछ ।
58. स्वर्गबाट ओर्लिआएको रोटी यही नै हो। तिमीहरूका पुर्खाहरूले मन्न खाए र मरे तर जसले यो रोटी खान्छ, त्यो सधैँभरि जिउनेछ।’’
59. कफर्नहुमको सभाघरमा शिक्षा दिनुहुँदा उहाँले यी कुरा भन्नुभयो।
60. त्यसकारण यो सुनेपछि उहाँका चेलाहरूमध्ये धेरैले भने, ‘‘यो कठोर वचन हो, कसले यसलाई बुझ्नसक्छ र?’’
61. उहाँका चेलाहरूले गनगन गरिरहेका छन् भन्ने बुझेर उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘के मेरा कुराले तिमीहरूलाई ठेस लाग्यो?
62. तिमीहरूले मानिसका पुत्रलाई पहिले उनी जहाँ थिए, त्यतैतिर उक्लँदै गइरहेका देख्यौ भने नि, कसो?
63. जीवन दिनुहुने त आत्मा हुनुहुन्छ, शरीरबाट केही फाइदा हुँदैन। मैले तिमीहरूलाई भनेका यी वचन आत्मा र जीवन हुन्।
64. तर तिमीहरूमध्ये कति जनाले ममाथि विश्वास गर्दैनौ।’’ किनभने उहाँलाई कसले विश्वास गर्दैन र कसले उहाँलाई धोका दिनेछ भन्ने विषयमा शुरुदेखि नै थाहा थियो।
65. तब उहाँले भन्नुभयो, ‘‘यसैकारण मैले तिमीहरूलाई भनेको हुँ-‘पिताले नदिएसम्म कोही पनि मकहाँ आउन सक्दैन’।’’
66. त्यस समयदेखि उहाँका धेरै जना चेलाहरू पछि हटे र उहाँसँग हिँड्न छोडे।
67. अनि येशूले बाह्र चेलाहरूतर्फ फर्केर सोध्नुभयो, ‘‘के तिमीहरू पनि मलाई छोडेर जान चाहन्छौ?’’
68. सिमोन पत्रुसले जवाफ दिए, ‘‘प्रभु, हामी कसकहाँ जाऊँ? तपाईंसँग मात्रै अनन्त जीवनका वचन छन्।
69. हामीले तपाईंको वचनमा विश्वास गरेका छौं र थाहा पाएका छौं कि तपाईं जीवित परमेश्वरका पुत्र ख्रीष्ट हुनुहुन्छ।’’
70. तब येशूले भन्नुभयो, ‘‘के म आफैले तिमीहरू, बाह्रै जनालाई चुनिनँ र ? तापनि तिमीहरूमध्ये एक जना दुष्ट छ।’’
71. उहाँले यो कुरा सिमोन इस्करियोतको छोरो यहूदाको विषयमा भन्नुभएको थियो, किनभने बाह्रमध्ये एक जना भएर पनि त्यसले उहाँलाई धोका दिने भयो।
|