1. यसपछि येशू गालीलमा नै घुमिरहनुभयो। यहूदी अगुवाहरूले उहाँलाई मार्न खोजेकाले उहाँ यहूदियामा जानुभएन।
2. अब यहूदीहरूको छाप्रो-वासको चाड नजिकै थियो ।
3. यसकारण येशूका भाइहरूले उहाँलाई भने, ‘‘यो ठाउँ छोडेर यहूदिया जानुहोस् र तपाईंले गरिरहनुभएका कामहरू तपाईंका चेलाहरूले पनि देखून्।
4. खुल्लमखुल्ला चिनिने इच्छा राख्नेले कुनै पनि कुरा गुप्तमा गर्दैन, यदि तपाईं यी कुरा गर्नुहुन्छ भने आफैलाई संसारमा प्रकट गर्नुहोस्।’’
5. किनभने उहाँका आफ्नै भाइहरूले पनि उहाँमाथि विश्वास गर्दैन थिए।
6. येशूले जवाफ दिनुभयो, ‘‘मेरो समय अझै आएको छैन। तर तिमीहरूको समय सधैँ तयार छ।
7. संसारले तिमीहरूलाई घृणा गर्नसक्दैन तर मलाई गर्छ, किनकि त्यसका कामहरू दुष्ट छन् भनी म गवाही दिन्छु।
8. तिमीहरू यस चाडमा जाओ, म अहिले जान्नँ। म यस चाडमा जान तयार भएको छैन, किनकि मेरो समय अझै पूरा भएको छैन।’’
9. यी कुरा भन्नुभएपछि येशू गालीलमा नै बस्नुभयो। मन्दिरमा येशूको शिक्षा
10. जब उहाँका भाइहरू चाड मान्न गए, तब उहाँ आफै पनि खुल्लमखुल्ला होइन तर चालै नपाउने गरी चाडमा जानुभयो।
11. चाडमा यहूदीहरूले उहाँलाई यसो भन्दै खोजे,‘‘तिनी कहाँ छन्?’’
12. मानिसहरूको बीचमा उहाँकै विषयमा थुप्रै चर्चा चलिरहेको थियो। कसैले भन्थे, ‘‘उनी एक असल मानिस हुन्।’’ अरुले भन्थे, ‘‘होइन, उसले मानिसहरूलाई भड्काउँछ।’’
13. तर पनि कसैले उहाँको बारेमा खुल्लमखुल्ला बोलेनन्, किनभने तिनीहरू यहूदीहरूसँग डराउँथे।
14. अब चाड आधाआधी बितेपछि येशू मन्दिरमा उक्लिनुभयो र शिक्षा दिनलाग्नुभयो।
15. यहूदीहरूले अचम्म मान्दै यसो भने, ‘‘यो मानिसले पढ्दै नपढी कसरी यस्तो ज्ञान प्राप्त गर्यो?’’
16. येशूले तिनीहरूलाई भन्नुभयो, ‘‘मेरो शिक्षा मेरो आफ्नै होइन तर मलाई पठाउनुहुनेको हो।
17. यदि कसैले परमेश्वरको इच्छा पालन गर्न चाहन्छ भने मेरो शिक्षा परमेश्वरतर्फबाट हो कि मेरो आफ्नैतर्फबाट हो, सो उसले जान्नेछ।
18. आफ्नै विचार प्रस्तुत गर्नेले आफ्नै महिमा खोज्छ, तर जसले आफूलाई पठाउनेको आदर होस् भन्ने चाहन्छ, ऊ सत्य हो र उसमा कुनै अधर्म हुँदैन।
19. के मोशाले तिमीहरूलाई व्यवस्था दिएनन् र? तर पनि तिमीहरू कसैले मोशाको व्यवस्था पालन गर्दैनौ। तिमीहरू किन मलाई मार्न खोज्छौ?’’
20. मानिसहरूले जवाफ दिए, ‘‘तिमीलाई भूत लागेको छ । कसले तिमीलाई मार्न खोज्छ र?’’
21. येशूले जवाफ दिनुभयो, ‘‘मैले एउटा काम गरेँ र त्यसमा तिमीहरू अचम्म मान्दछौ।
22. यसकारण मोशाले तिमीहरूलाई खतनाको विधि दिए (यो मोशाबाट होइन, तर पिता-पुर्खाहरूबाट हो)अनि तिमीहरू विश्राम-दिनमा मानिसको खतना गर्दछौ।
23. मोशाको व्यवस्था भङ्ग नहोस् भनेर विश्राम-दिनमा यदि तिमीहरू मानिसहरूको खतना गराउँछौ भने विश्राम-दिनमै मैले एक जना मानिसलाई पूर्णरूपले निको पारिदिएकोमा ममाथि तिमीहरू किन खनिन्छौ?
24. मुख हेरेर न्याय नगर तर ठीक न्याय गर।’’
25. यरूशलेमका कुनै कुनै मानिसहरूले आपसमा भने, ‘‘तिनीहरूले मार्न खोजेको व्यक्ति यिनी नै होइनन् र?
26. तर यिनी खुल्लमखुल्ला बोल्दैछन् तरै पनि यिनलाई तिनीहरू केही भन्दैनन्। शासकहरूलाई यिनी नै ख्रीष्ट हुन् भन्ने कुरा थाहा छैन कि कसो?
27. तापनि यी मानिस कहाँबाटका हुन् भनी हामीलाई थाहा छ, तर ख्रीष्ट आउनुहुँदा त उहाँ कहाँका हुनुहुन्छ भनी कसैलाई थाहा हुनेछैन।’’
28. येशूले मन्दिरमा बसेर शिक्षा दिनुहुँदा यसो भन्नुभयो, ‘‘तिमीहरू मलाई चिन्दछौ, म कहाँबाट आएको हुँ भन्ने कुरा पनि तिमीहरूलाई थाहा छ। म आफ्नैतर्फबाट आएको होइन तर जसले मलाई पठाउनुभयो उहाँ सत्य हुनुहुन्छ र उहाँलाई तिमीहरू चिन्दैनौ।
29. म उहाँलाई चिन्दछु, किनभने म उहाँबाट आएँ र उहाँले नै मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।’’
30. तब तिनीहरूले उहाँलाई पक्रन खोजे, तर कसैले पनि उहाँमाथि हात हालेन, किनभने उहाँको समय अझसम्म आएको थिएन।
31. मन्दिरमा भेला भएका मानिसहरूमध्ये धेरैले उहाँमाथि विश्वास गरे। तिनीहरूले भने, ‘‘जब ख्रीष्ट आउनुहुन्छ, तब के यी मानिसले गर्नुभएको चिन्हहरूभन्दा बढी उहाँले गर्नुहुनेछ र ?’’
32. मानिसहरूले उहाँको विषयमा त्यस्तो कुरा गरेका फरिसीहरूले सुने अनि फरिसीहरू र मुख्य पूजाहारीहरूले उहाँलाई पक्रनको निम्ति पहरेदारहरूलाई पठाए ।
33. तब येशूले तिनीहरूलाई भन्नुभयो, ‘‘अझ केही समयसम्म म तिमीहरूसँग हुन्छु र म, मलाई पठाउनुहुनेकहाँ जान्छु।
34. तिमीहरूले मलाई खोज्नेछौ, तर भेट्टाउनेछैनौ र जहाँ म हुन्छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।’’
35. तब यहूदीहरूले आपसमा भने, ‘‘हामीले भेट्टाउनै नसक्ने कस्तो ठाउँमा यो मानिस जान खोज्दैछ? के छरिएर बसेका ग्रीकहरूको बीचमा गएर शिक्षा दिने त होइन?
36. ‘तिमीहरूले मलाई खोज्नेछौ तर भेट्टाउनेछैनौ, म जाने ठाउँमा तिमीहरू आउन पनि सक्दैनौ’ भनी यिनले के भन्न खोजेका हुन् त?’’
37. अब अन्तिम दिन, चाडको मुख्य दिनमा येशू भीडको सामुन्ने उभिएर उच्च स्वरले बोल्नुभयो, ‘‘यदि कोही तिर्खाउँछ भने त्यो मकहाँ आओस् र पिओस्।
38. धर्मशास्त्रले भनेअनुसार ममा विश्वास गर्नेको अन्तस्करणबाट जीवित पानीको खोलाहरू बग्नेछन्।’’
39. यो कुरा उहाँले आत्माको विषयमा भन्नुभएको थियो, जुन उहाँमाथि विश्वास गर्नेहरूले पाउनुपर्ने थियो। पवित्र आत्मा अझैसम्म दिइनुभएको थिएन, किनकि येशू अझै महिमित हुनुभएको थिएन।
40. उहाँले त्यसो भन्नुभएको सुनेर भीडमा हुनेहरूमध्ये कतिले भने, ‘‘निश्चय नै यी मानिस अगमवक्ता हुन्।’’
41. अरुले भने, ‘‘उहाँ ख्रीष्ट नै हुनुहुन्छ।’’ तर अझै अरुहरूले सोधे, ‘‘के ख्रीष्ट गालीलबाट नै आउनुहुनेछ र?
42. के धर्मशास्त्रले ख्रीष्ट दाऊदको वंश र दाऊदकै शहर बेथलेहेमबाट आउनेछन् भनी बताएको छैन र?’’
43. उहाँको कारण मानिसहरूको बीचमा मतभेद भयो।
44. अनि कतिले उहाँलाई पक्रन चाहन्थे तर कसैले पनि उहाँमाथि हात लगाएन।
45. उहाँलाई गिरफ्तार गर्न पठाइएका मन्दिरका पहरेदारहरू, मुख्य पूजाहारी र फरिसीहरूकहाँ फर्केर आए । उनीहरूले तिनीहरूलाई सोधे, ‘‘तिमीहरूले त्यसलाई किन ल्याएनौ?’’
46. तिनीहरूले जवाफ दिए, ‘‘यी मानिसले बोलेझैँ त कसैले कहिल्यै बोलेको छैन।’’
47. फरिसीहरूले भने, ‘‘के तिमीहरू पनि बहकियौ?
48. के शासकहरू वा फरिसीहरूमध्ये कसैले उसमाथि विश्वास गरेको छ र?
49. तर व्यवस्था नजान्ने यी मानिसहरू श्रापित छन्।’’
50. तिनीहरूमध्येकै एक जना निकोदेमस, जो एकपल्ट राती येशूलाई भेट्न गएका थिए, तिनले भने,
51. ‘‘के हाम्रो व्यवस्थाले कुनै मानिसलाई, उसको कुरा पहिले नसुनीकन र उसले के गर्दछ, सो नजानीकन न्याय गर्छ र?’’
52. तिनीहरूले जवाफ दिए, ‘‘के तिमी पनि गालीली हौ? खोज र हेर, किनकि कुनै पनि अगमवक्ता गालीलबाट आउँदैन।’’
53. अनि हरेक मानिस आ-आफ्ना घरतिर लागे।
|