1. प्रभुले अरु सत्तरी जनालाई छान्नुभयो र आफू जानलाग्नुभएको सबै शहर अनि गाउँहरूतिर तिनीहरूलाई दुई-दुई जना गरी आफूभन्दा अघि पठाउनुभयो ।
2. उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘फसल त प्रशस्त छ, तर खेताला थोरै छन्। त्यसकारण फसलका मालिक प्रभुलाई खेताला पठाइदिनुहोस् भनी प्रार्थना गर।
3. अहिले तिमीहरू जाओ, यो कुरा याद राख कि मैले तिमीहरूलाई ब्वँासाहरूका माझमा पाठाहरूलाई झैँ पठाएको छु।
4. न त पैसाको थैली, न त झिटीगुन्टा, न जुत्ता बोक। अनि बाटोमा कसैलाई अभिवादन नगर।
5. तिमीहरू जुन घरमा पस्छौ, त्यस घरलाई आशिष् देओ।
6. यदि त्यस घरका मानिसहरू आशिष्को योग्य रहेछन् भने तिमीहरूले दिएको आशिष् तिनीहरूलाई लाग्नेछ र ती योग्यका रहेनछन् भने त्यो तिमीहरूमै फर्किआउनेछ।
7. जब तिमीहरू कुनै शहरमा पस्छौ, त्यहाँका घर-घर चहारी नहिँड। तिनीहरूले जे दिन्छन्, त्यो खाँदै-पिउँदै त्यही घरमा बसिरहो। कसैले तिमीहरूलाई आफ्नो घरमा निम्त्याउँछ भने तिनीहरूको सम्मान ग्रहण गर, किनभने खेताला ज्यालाको योग्य हुन्छन्।
8. यदि तिमीहरू कुनै शहरमा पस्छौ र तिनीहरूले स्वागत गरेर केही खान दिन्छन् भने खाओ।
9. रोगीहरूलाई निको पार । जब तिमीहरू कसैलाई निको पार्छौ, तब तिनीहरूलाई भन : ‘परमेश्वरको राज्य तिमीहरूको नजिकै आएको छ।’
10. तर कुनै शहरले तिमीहरूलाई स्वागत गरेन भने त्यस शहरबाट बाहिर निस्क र भन,
11. ‘तिमीहरूको शहरमा टेक्दा हाम्रा खुट्टामा लागेको धूलोसमेत हामी तिमीहरूको विरुद्धमा टकटक्याइदिन्छौं र तिमीहरू यी कुरा नभुल कि परमेश्वरको राज्य नजिकै आएको छ।’
12. म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा त्यस शहरको भन्दा सदोमको हालत सहनीय हुनेछ।
13. धिक्कार तँलाई ए खोराजिन ! धिक्कार तँलाई, ए बेथसेदा ! किनभने तिमीहरूमा गरिएका आश्चर्यकर्महरू टुरोस र सीदोनमा गरिएका भए, त्यहाँका मानिसहरूले धेरै पहिले नै भाङ्ग्रा ओढेर अनि आफ्ना शिरमा खरानी घसेर पश्चात्ताप गरिसक्ने थिए।
14. तर न्यायको दिनमा तिमीहरूको भन्दा टुरोस र सीदोनको अवस्था सहनीय हुनेछ।
15. ए कफर्नहुमका मानिसहरू हो, के तिमीहरू स्वर्गसम्म उचालिनेछौ र? होइन, तिमीहरू नरकमा खसालिनेछौ।’’
16. उहाँले फेरि चेलाहरूलाई भन्नुभयो, ‘‘जसले तिमीहरूको कुरा सुन्छ र ग्रहण गर्छ त्यसले मलाई नै ग्रहण गर्नेछ। अनि जसले तिमीहरूलाई इन्कार गर्छ, त्यसले मलाई नै इन्कार गर्नेछ। त्यसैगरी जसले मलाई इन्कार गर्छ, त्यसले मलाई पठाउनुहुने परमेश्वरलाई इन्कार गर्नेछ।’’ े
17. ती सत्तरी जना चेलाहरू जब उहाँले अह्राउनुभएको काम पूरा गरेर आनन्दसाथ फर्किए र भने, ‘‘प्रभु हामील तपाईंको नाउँ लिँदा भूतात्माहरूले समेत हाम्रो आज्ञापालन गर्छन्।’’
18. उहाँले भन्नुभयो, ‘‘हो, मैले शैतानलाई स्वर्गबाट बिजुलीझैँ खसिरहेको देखेँ।
19. मैले तिमीहरूलाई शत्रुका सम्पूर्ण शक्तिमाथि विजयी हुने अधिकार दिएको छु। हेर, तिमीहरूले सर्प र बिच्छीहरूलाई कुल्चिँदै हिँड्नेछौ, तापनि तिनले तिमीहरूको कुनै हानी गर्नेछैन।
20. तैपनि दुष्टात्माहरूले तिमीहरूको आज्ञापालन गरे भनेर नरमाओ, बरु स्वर्गका नागरिकको रूपमा तिमीहरूको नाउँ लेखिएको छ भनेर रमाओ।’’
21. तब येशू पवित्र आत्माको आनन्दले भरिनुभयो र भन्नुभयो, ‘‘हे पिता, सारा स्वर्ग र पृथ्वीका प्रभु, आफैलाई बुद्धिमान् र चलाख ठान्नेहरूबाट तपाईंले सत्यता लुकाएर, यी बालकहरूलाई प्रकट गरिदिनुभएको निम्ति धन्यवाद । हो, पिता तपाईंलाई यसै गर्न उचित लाग्यो।’’
22. उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘मेरा पिताले सबै थोकको अधिकार मलाई सुम्पिदिनुभएको छ। पिताबाहेक अरु कसैले पुत्रलाई चिन्दैन। त्यसैगरी पुत्रले जसलाई प्रकट गरिदिने इच्छा गर्दछ, तिनीहरूले मात्रै पितालाई चिन्दछन्।’’
23. अरु कोही पनि नभएको बेला उहाँ चेलाहरूसित बोल्न थाल्नुभयो, ‘‘धन्यका हुन् ती आँखाहरू, जसले, तिमीहरूले देखेका यी कुरा देख्तछन्।
24. म तिमीहरूलाई भन्दछु, धेरै अगमवक्ता र राजाहरूले खुबै इच्छा गरे तापनि तिमीहरूले देखेका र सुनेका कुरा देख्न र सुन्न सकेनन्।’’
25. एक दिन एक जना धार्मिक व्यवस्थाको पण्डित उहाँको जाँच गर्न भनेर आयो र येशूलाई यस्तो प्रश्न सोध्यो, ‘‘गुरुज्यू, अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ?’’
26. येशूले जवाफ दिँदै भन्नुभयो, ‘‘मोशाको व्यवस्थाले के भन्छ? तिमी त्यसलाई कसरी पढ्छौ?’’
27. त्यस मानिसले जवाफ दियो, ‘‘तैँले परमप्रभु तेरा परमेश्वरलाई आफ्नो सारा हृदयले, सारा प्राणले, सारा बलले र सारा मनले प्रेम गर्नू अनि आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।’’
28. येशूले भन्नुभयो, ‘‘ठीक भन्यौ, यसै गर र तिमी जिउनेछौ।’’
29. त्यो मानिसले आफैलाई धार्मिक प्रमाणित गर्न चाहन्थ्यो। त्यसकारण त्यसले येशूलाई सोध्यो, ‘‘त्यसो भए मेरो छिमेकी को हो त?’’
30. येशूले एउटा दृष्टान्तद्वारा जवाफ दिनुभयो, ‘‘एक जना मानिस यरूशलेमबाट यरीहोतिर गइरहेको थियो। बाटोमा जाँदैगर्दा उसलाई डाँकाहरूले आक्रमण गरे। तिनीहरूले उसलाई नाङ्गेझार पारेर लुटे, मरणासन्न हुने गरी पिटेर बाटोको छेउमा छोडी दिए।
31. संयोगले एक जना पूजाहारी त्यही बाटो भएर आयो। तर बाटो छेउमा पस्रिरहेको घाइते व्यक्तिलाई देखी मुन्टो फर्काएर गयो।
32. एक जना लेवी पनि त्यही बाटो भएर आयो र उसलाई देखेर त्यो पनि तर्केर गयो।
33. तब एक जना सामरी त्यही बाटो भएर आयो। जब उसले त्यस घाइतेलाई देख्यो, तब उसको हृदय दयाले भरियो।
34. उसले घाइतेको छेउमा बसेर उसका घाउहरू पुछिदियो र पट्टी बाँधेर औषधी लगाइदियो। उसले त्यसलाई आफ्नै गधामा चढायो र एउटा पौवामा ल्याएर हेरचाह गर्यो।
35. भोलिपल्ट उसले पौवाको मालिकलाई दुई दिनार दिएर त्यस मानिसको हेरचाह गर्न लगायो, उसले भन्यो, ‘यति पैसाले यस मानिसको हेरचाह गर्न पुगेन भने म फर्केर आएपछि बाँकी पैसा सबै चुक्ता गरिदिनेछु’।’’
36. तब येशूले सोध्नुभयो, ‘‘तिम्रो विचारमा डाँकाहरूले घाइते बनाएर छोडेको त्यस व्यक्तिको छिमेकी ती तीन जनामध्ये को हो?’’
37. त्यसले भन्यो, ‘‘जसले त्यसलाई दया देखायो।’’ त्यसपछि येशूले भन्नुभयो, ‘‘हो, अब तिमी पनि जाऊ र त्यसै गर।’’
38. येशू र उहाँका चेलाहरू यरूशलेमतिर जाँदै गर्दा मार्था र मरियमको गाउँमा आइपुग्नुभयो। तिनीहरूले उहाँलाई आफ्नो घरमा स्वागत गरे ।
39. मार्थाकी बहिनी मरियम येशूको पाउमा बसेर उहाँको वचन सुनिरहेकी थिइन् ।
40. तर मार्था भने खानेकुरा तयार गर्नमा अति नै व्यस्त थिइन्। तिनी येशूको छेउमा आइन् र भनिन्, ‘‘प्रभु, मेरी बहिनीले सेवाको काममा मलाई एकलै पारेकी छिन्, के तपाईं मलाई वास्ता गर्नुहुन्न? मलाई सहायता गर्न भनी यिनलाई भन्नुहोस्।’’
41. तर प्रभुले तिनलाई भन्नुभयो, ‘‘मार्था, मार्था तिमी धेरै कुरा लिएर व्याकुल हुन्छयौ।
42. तर आवश्यकता एउटै कुराको छ। त्यही असल कुरा मरियमले छानेकी छिन्, जो उनीबाट खोसिनेछैन।’’ र्
|