1. एक दिन येशूले बाह्रै प्रेरितलाई बोलाएर तिनीहरूलाई सबै किसिमका रोग र भूतात्माहरू धपाउने शक्ति र अधिकार दिनुभयो।
2. त्यसपछि उहाँले तिनीहरूलाई परमेश्वरका राज्यको आगमनको प्रचार गर्न र रोगी बिमारीहरूलाई निको पार्न पठाउनुभयो।
3. उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘आफ्नो साथमा लौरो नबोक, न झिटीगुन्टा, न खानेकुरा, न पैसा, न त जगेडा वस्त्र।
4. जब तिमीहरू कुनै गाउँमा पस्दछौ, एउटा मात्रै घरमा बस।
5. त्यस गाउँमा पसेर प्रचार गर्दा मानिसहरूले तिमीहरूको कुरा सुन्न इन्कार गरे भने त्यहाँबाट निस्किएर जाँदा तिनीहरूका विरुद्धमा गवाहीका निम्ति आफ्ना खुट्टामा लागेको धूलोसमेत टकटक्याओ।’’
6. यसरी प्रेरितहरू सुसमाचार प्रचार गर्दै र रोगी-बिमारीहरूलाई निको पार्दै गाउँ-गाउँ घुमे।
7. जब येशूले गर्नुभएका आश्चर्यकर्महरूको विषयमा हेरोद एन्टिपासले सुने, तब तिनी ज्यादै चिन्तित र अलमल्ल परे, किनभने कसै-कसैले यसो भनिरहेका थिए, ‘मृत्युबाट पुनर्जीवित भएको बप्तिस्मा दिने यूहन्ना हुनुपर्छ।’
8. अरु कोही-कोहीले उहाँलाई ‘एलिया वा प्राचीन अगमवक्ताहरूमध्ये कुनै पुनर्जीवित भएको हुनुपर्छ’ भन्थे।
9. हेरोदले भने, ‘‘मैले नै यूहन्नाको शिर काट्ने आज्ञा दिएँ, अनि यो मानिस को होला, जसको विषयमा मैले यस्तो अनौठो कुरा सुनिरहेको छु?’’ तिनले येशूलाई भेट्ने प्रयास गरे।
10. जब प्रेरितहरू फर्किएर आए, तिनीहरूले आफूले गरेका सबै कामहरूको विवरण येशूलाई बताए। त्यसपछि चेलाहरूलाई साथमा लिएर उहाँ सुटुक्क बेथसेदातिर जानुभयो।
11. तर उहाँ कतै जाँदै हुनुहुन्छ भन्ने थाहा पाएर भीड उहाँको पछि लाग्यो। उहाँले तिनीहरूलाई परमेश्वरको राज्यको विषयमा शिक्षा दिँदै र बिमारीहरूलाई निको पार्दै स्वागत गर्नुभयो।
12. दिन ढल्कन थालेपछि बाह्र चेलाहरूले उहाँको नजिक आएर भने,‘‘यी मानिसहरूलाई पठाइदिनुहोस्, यसैले कि तिनीहरूले नजिक गाउँमा गएर आफ्नोनिम्ति गाँस र बासको बन्दोबस्त गरून्, किनकि यस उजाड-स्थानमा हामीसित खानेकुरा केही पनि छैन।’’
13. तर येशूले तिनीहरूलाई भन्नुभयो, ‘‘तिमीहरूले नै तिनीहरूलाई खुवाओ।’’ तब तिनीहरूले प्रत्युत्तर दिए, ‘‘हामीसित पाँच रोटी र दुई माछाबाहेक अरु केही पनि छैन अथवा के तपाईं हामी गएर यतिका भीडलाई खानेकुरा किनेर ल्याऔं भन्ने चाहनुहुन्छ?’’
14. किनभने त्यहाँ पुरुषहरू मात्र लगभग पाँच हजारजति थिए। येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, ‘‘ तिनीहरूलाई पचास-पचासको समूहमा बस्न लगाओ।’’
15. यसरी सबै मानिसहरू मिलेर बसे।
16. येशूले पाँच रोटी र दुई माछा लिनुभयो। त्यसपछि उहाँले स्वर्गतिर हेरेर खानाको निम्ति परमेश्वरसँग आशिष् माग्नुभयो र रोटीलाई टुक्रा पारेर मानिसहरूलाई बाँडिदिन चेलाहरूलाई दिनुभयो।
17. ती सबैले अघाउन्जेल खाए र तिनीहरूले उबारेका टुक्राटाक्री जम्मा गर्दा बाह्र डालो भयो।
18. एक दिन जब येशू व्यक्तिगतरूपमा प्रार्थना गरिरहनुभएको थियो। उहाँ चेलाहरू भएको ठाउँमा आउनुभयो र तिनीहरूलाई सोध्नुभयो, ‘‘मानिसहरूले मलाई, म को हुँ भन्छन्?’’
19. तिनीहरूले जवाफ दिए, ‘‘तपाईंलार्इं कसैले बप्तिस्मा दिने यूहन्ना, कसैले एलिया र कसैले प्राचीन अगमवक्ताहरूमध्ये एक हो, भन्छन्।’’
20. उहाँले सोध्नुभयो,‘‘तिमीहरू म को हुँ भन्छौ?’’ पत्रुसले जवाफ दिए, ‘‘तपाईं परमेश्वरबाट पठाइनुभएको मसीह हुनुहुन्छ।’’
21. येशूले तिनीहरूलाई यस विषयमा कसैलाई नभन्नू भनी कडा आज्ञा दिनुभयो।
22. उहाँले भन्नुभयो, ‘‘किनभने म मानिसको पुत्रले धेरै भयानक कष्ट भोग्नुपर्छ । धार्मिक अगुवाहरू, मुख्य पूजाहारीहरू र धार्मिक व्यवस्थाका शिक्षकहरूले मलाई इन्कार गर्नेछन् र मार्नेछन् तर त्यसको तीन दिनपछि म मृतकबाट जीवित भई उठ्नेछु।’’
23. त्यसपछि उहाँले भीडलाई भन्नुभयो, ‘‘यदि तिमीहरूमध्ये कोही मेरोपछि आउन चाहन्छ भने त्यसले आफैलाई इन्कार गरोस् र दिनहुँ आफ्नो क्रूस उठाएर मेरोपछि लागोस्।
24. यदि तिमीले आफ्नो जीवन बचाउने कोशिश गर्यौ भने त्यो गुमाउनेछौ। तर यदि तिमीले आफ्नो जीवन मेरोनिम्ति गुमायौ भने त्यो प्राप्त गर्नेछौ।
25. यदि तिमीहरूले सारा संसारै हात पारेर साँचो जीवन गुमायौ भने तिमीहरूलाई के लाभ छ र?
26. यदि कोही म र मेरो वचनसँग लजाउँछ भने म, मानिसको पुत्र पनि मेरो आफ्नो पिताको र पवित्र स्वर्गदूतहरूको महिमामय आगमनमा त्यससँग लजाउनेछु।
27. म तिमीहरूलाई साँचो कुरा भन्दछु, यहाँ अहिले उभिनेहरूमध्ये कोही-कोही परमेश्वरको राज्य नदेखेसम्म मर्नेछैनौ।’’
28. त्यसको एक हप्तापछि पत्रुस, याकूब र यूहन्नालाई साथमा लिएर येशू प्रार्थना गर्न डाँडामा जानुभयो ।
29. जब उहाँ प्रार्थना गरिरहनुभएको थियो, उहाँको मुहार परिवर्तन भयो र उहाँको वस्त्र प्रकाशसमान चहकिलो भयो।
30. त्यसपछि दुई जना मानिस, मोशा र एलिया देखा परे अनि येशूसँग बात मार्नथाले।
31. त्यो दृश्य साँच्चै महिमित थियो र येशूले यरूशलेममा उहाँको मृत्युद्वारा कसरी परमेश्वरको योजना पूरा हुनेछ भन्ने विषयमा उनीहरू कुरा गरिरहेका थिए।
32. पत्रुस र उनका साथीहरू निद्राले लट्ठ परेका थिए र तिनीहरू ब्यूँझिएपछि तिनीहरूले येशूको महिमा अनि उहाँसँग उभिएका दुई जनालाई देखे।
33. मोशा र एलिया त्यहाँबाट जानैलाग्दा पत्रुसले ‘के बोल्दैछु’ भन्ने कुरा थाहै नपाईकन एक्कासि भने, ‘‘गुरुज्यू, कस्तो अचम्म ! हामी यहीँ बस्नु असल हुन्छ। हामी यहाँ तीनवटा तम्बु बनाऔं, एउटा तपार्इंको लागि, एउटा मोशाको लागि र अर्को एलियाको लागि।’’
34. तर उनले यसो भन्दै गर्दा उनीहरूलाई बाक्लो बादलले ढाक्यो र बादलले ढाक्दा उनीहरू भयभीत भए।
35. बादलबाट यसो भन्ने आवाज आयो, ‘‘यिनी मेरा प्रिय पुत्र हुन् । यिनको कुरा सुन।’’
36. त्यसपछि त्यो आवाज हरायो, त्यतिबेला येशू मात्रै त्यहाँ हुनुहुन्थ्यो । अनि त्यसको धेरै पछिसम्म पनि आफूले देखेको घटनाको बारेमा उनीहरूले कसैलाई भनेनन्।
37. डाँडाबाट ओर्लिआएको भोलिपल्ट एउटा ठूलो भीडले येशूलाई घेर्यो।
38. भीडमा भएको एउटा मानिसले उहाँलाई भन्यो,‘‘गुरुज्यू, मेरो छोरोलाई हेर्नुहोस्। यो मेरो एउटै छोरो हो,
39. एउटा दुष्टात्माले त्यसलाई छोपिरहन्छ, यो अचानक चिच्च्याउँछ, अधमरो पारेर लडाउँछ, फीँज काड्छ अनि यसलाई सधैँ लछारपछार र चोट पार्छ। यसलाई म एकलै छोड्न सक्दिनँ।
40. मैले तपाईंका चेलाहरूसित त्यस दुष्टात्मालाई निकाल्नको निम्ति अनुरोध गरेँ, तर उनीहरूले सकेनन्।’’
41. येशूले जवाफ दिनुभयो, ‘‘ए हठी र अविश्वासी मानिसहरू हो। म कहिलेसम्म तिमीहरूसँग रहिरहूँला? त्यस केटोलाई यहाँ ल्याओ।’’
42. त्यो केटो उहाँको नजिक आउनासाथै त्यस भूतले त्यसलाई पछार्यो र नराम्रोसँग बटार्यो। तर येशूले त्यस दुष्टात्मालाई हप्काउनुभयो र के टालाई निको पार्नुभयो, त्यसपछि, त्यसलाई बुबाको जिम्मामा लगाइदिनुभयो।
43. ती मानिसहरू परमेश्वरको शक्ति प्रकट भएको देखेर चकित भए। उहाँले गर्नुभएका आश्चर्यकर्महरूमा मानिसहरू छक्क परिरहेको देखेर येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो,
44. ‘‘मैले भन्न लागेको कुरा ध्यानपूर्वक सुन । मानिसको पुत्रलाई धोका दिन लागिएको छ ।’’
45. तर उहाँले के भन्नुभएको हो भन्ने कुरा उनीहरूले बुझेनन्। उनीहरूले बुझ्न नसकून् भनेर त्यस रहस्यमय कुरालाई गुप्तमा नै राखिएको थियो। त्यसको अर्थ के हो भनेर सोध्ने साहस पनि उनीहरूले गर्न सकेनन्।
46. तब चेलाहरूले तिनीहरूमध्ये ‘सबैभन्दा ठूलो को हुनेछ’ भनी आपसमा बहस गर्नथाले।
47. तर तिनीहरूको हृदयको विचार बुझेर येशूले एउटा सानो बालकलाई आफ्नो छेउमा ल्याउनुभयो ।
48. तब उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘जसले मेरो नाउँमा कसैलाई यस बालकलाई जस्तो गरी ग्रहण गर्छ, त्यसले मलाई ग्रहण गर्नेछ । जसले मलाई ग्रहण गर्छ, त्यसले मलाई पठाउनुहुने मेरा पितालाई ग्रहण गर्नेछ। तिमीहरूमध्ये जो सबैभन्दा सानो छ, त्यो नै सबैभन्दा ठूलो गनिनेछ।’’
49. यूहन्नाले येशूलाई भने, ‘‘गुरुज्यू, कसैले तपाईंको नाउँमा भूतहरू धपाउने गरेको हामीले देख्यौं। त्यो मानिस हाम्रो समूहमा छैन, त्यसकारण हामीले त्यसलाई रोक्न खोज्यौं।’’
50. तर येशूले भन्नुभयो,‘‘त्यसलाई नरोक। जो हाम्रो विरुद्धमा छैन, त्यो हाम्रो पक्षमा छ।’’
51. उहाँको स्वर्गारोहणको दिन नजिक आयो, येशूले यरूशलेमतिर जाने निश्चय गर्नुभयो।
52. सामरियामा गएर उहाँको आगमनको निम्ति तयारी गर्न येशूले समाचारवाहकहरूलाई अगिअगि पठाउनुभयो।
53. तर त्यहाँ नबसेर यरूशलेमतिरै जाने येशूको अठोट थाहा पाएर सामरीहरूले उहाँलाई स्वागत गरेनन्।
54. अनि जब उहाँका चेलाहरू याकूब र यूहन्नाले यो देखे तब येशूलाई सोधे, ‘‘प्रभु, स्वर्गबाट आगो बर्सियोस् र यो गाउँ भस्म होस् भनेर के हामीले आज्ञा नगर्नू?’’
55. तर तिनीहरूतिर फर्केर येशूले दुवैलाई हप्काउनुभयो,
56. तर तिनीहरूतिर फर्केर येशूले दुवैलाई हप्काउनुभयो,
57. बाटोमा जाँदै गर्दा कसैले येशूलाई भन्यो, ‘‘तपार्इं जहाँसुकै जानुभए तापनि म तपार्इंलाई पछयाउनेछु।’’
58. तर येशूले जवाफ दिनुभयो, ‘‘फ्याउराहरूको बस्ने दुलाहरू हुन्छन् र चराचुरुङ्गीहरूका गुँडहरू तर म, मानिसको पुत्रको त शिरलाई अडेस लगाउने ठाउँसमेत छैनँ ।’’
59. उहाँले अर्को मानिसलाई भन्नुभयो, ‘‘आऊ, मेरोपछि लाग।’’ त्यस मानिसले स्वीकार त गर्यो, तर यसो भन्यो, ‘‘प्रभु, पहिले मलाई घर गएर मेरो बुबालाई गाड्न दिनुहोस्।’’
60. येशूले भन्नुभयो, ‘‘तिनीहरू, जो आत्मिकरूपमा मरेका छन्, तिनीहरूले नै आफ्ना मृतकहरूलाई गाडून्। तर तिमी गएर परमेश्वरको राज्यको प्रचार गर।’’
61. अर्कोले भन्यो, ‘‘ज्यू प्रभु, म तपाईंको पछि लाग्छु तर पहिले गएर मेरो परिवारसित बिदा मागेर आउन दिनुहोस्।’’
62. येशूले त्यसलाई भन्नुभयो, ‘‘हलोको अनौमा आफ्नो हात राखेर पछिल्तिर फर्केर हेर्ने मानिस परमेश्वरको राज्यको योग्य हुँदैन।’’
|