1. येशूले आफ्ना चेलाहरूलाई यो दृष्टान्त पनि भन्नुभयो, ‘‘एक जना धनी मानिसले आफ्नो धनसम्पत्तिको रेखदेख गर्नको लागि एउटा व्यवस्थापक नियुक्त गर्यो। तर धेरै समय नबित्दै उसले आफ्ना मालिकको धनसम्पत्ति उडाइरहेको छ भन्ने अभियोग उसलाई लाग्यो।
2. त्यसकारण उसको मालिकले एक दिन उसलाई बोलाएर भन्यो, ‘तिमीले मेरो धनसम्पत्तिमा मनपरी गर्दैछौ भन्ने सुनिन्छ नि, कुरा के हो ? सबै थोकको लेखा मलाई देऊ, किनभने अब तिमी व्यवस्थापक रहनेछैनौ ।
3. व्यवस्थापकले मनमनै विचार गरे, ‘अब के गर्ने? मलाई अवश्य यहाँबाट निकालिदिन्छ। अब गएर खनजोत गरेर खान म सक्दिनँ, बलको काम गरेर म आफैलाई पाल्न सक्दिनँ अनि मागेर खान पनि मलाई लाज हुन्छ।
4. मैले के गर्नुपर्छ भनेर यसको समाधान पत्ता लगाएँ। अब म यहाँबाट हटाइएपछि पनि मलाई मानिसहरूले तिनीहरूको घरमा स्वीकार गर्नेछन् ।’
5. त्यसपछि उसले ज-जसलाई मालिकको धनबाट ऋण दिएको थियो, ती सबैलाई बोलायो र हिसाब माग्यो। उसले पहिलोलाई सोध्यो, ‘तिमीले कति ऋण लिएका थियौ?’
6. त्यसले जवाफ दियो, ‘तीन हजार लिटर तेल।’ अनि व्यवस्थापकले भन्यो, ‘त्यो पुरानो तमसुक च्यात र पन्ध्र सय लिटरको नयाँ तमसुक बनाऊ।’
7. उसले अर्कोलाई सोध्यो, ‘अनि तिमीले मेरो मालिकबाट कति लिएका छौ?’ त्यसले जवाफ दियो, ‘तीन सय पचास क्वीन्टल गहुँ।’ व्यवस्थापकले भन्यो, ‘सुन, तिम्रो तमसुक ल्याऊ र त्यसमा तीन सय क्वीन्टल मात्रै लेख।’
8. त्यस बेइमान व्यवस्थापकको चतुर्याइँ देखेर मालिकले उसको प्रशंसा गर्यो, किनकि त्यसले चतुरतापूर्वक काम गरेको थियो, किनकि यस संसारका सन्तान आफ्नो पुस्तामा ज्योतिका सन्तानभन्दा बढ्ता चतुर हुन्छन्।
9. त्यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो सांसारिक धनसम्पत्तिद्वारा अरुहरूको भलाइ गर र साथीहरू बनाओ। जब यस जीवनको अन्त्यमा तिमीहरूको सम्पत्तिसकिन्छ, तिम्रा साथीहरूले तिमीलाई आफ्नो अनन्त वासस्थानमा स्वागत गर्नेछन्।
10. तिमीहरू थोरै कुरामा विश्वसनीय भएनौ भने धेरै कुरामा पनि विश्वसनीय हुनसक्नेछैनौ। यदि थोरैमा तिमी इमानदार भएनौ भने धेरैमा पनि तिमी इमानदार हुनसक्दैनौ ।
11. तिमी सांसारिक धनमा विश्वसनीय भएनौ भने कसले तिमीलाई स्वर्गको साँचो धन जिम्मा लगाउँछ र?
12. अनि यदि तिमीहरू अरु मानिसहरूको धनमा विश्वसनीय भएनौ भने तिमीहरूको आफ्नै धनमा तिमीहरूलाई कसले विश्वसनीयता देखाउला र?
13. कसैले पनि दुई जना मालिकको सेवा गर्न सक्दैन, किनभने तिमीले एउटालाई घृणा गर्नेछौ र अर्कोलाई माया गर्नेछौ अथवा तिमी एउटाप्रति समर्पित हुनेछौ र अर्कोलाई बेवास्ता गर्नेछौ । तिमीहरूले परमेश्वर र धनसम्पत्ति दुवैको सेवा गर्न सक्दैनौ।’’
14. धनका लोभी फरिसीहरूले यो कुरा सुनेर उहाँको उपहास गरे।
15. तब उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘तिमीहरू मानिसहरूको अगाडि त आफूलाई धर्मी देखाउँछौ तर तिमीहरूको हृदय कति दुष्ट छ भन्ने कुरा परमेश्वर जान्नुहुन्छ। मानिसहरूको बीचमा जुनकुरालाई ज्यादै आदर गरिएको हुन्छ, त्यो परमेश्वरको दृष्टिमा तुच्छ हुन्छ।
16. बप्तिस्मा दिने यूहन्नाले प्रचार गर्न शुरु नगरूञ्जेल मोशाको व्यवस्था र अगमवक्ताहरूका पुस्तकहरूले नै तिमीहरूलाई मार्गदर्शन गर्थे। तर अहिले परमेश्वरको राज्यको सुसमाचारप्रचारिएको छ, धेरै मानिसहरू यस मार्गमा द्रुतगतिले अघि बढिरहेका छन्।
17. तर व्यवस्थाबाट एक मात्र विन्दु मेटिनभन्दा बरु स्वर्ग र पृथ्वी टलिजान सजिलो छ।
18. जसले आफ्नी पत्नीलाई त्यागेर अर्की स्त्रीसित विवाह गर्छ, त्यसले व्यभिचार गर्छ, अनि जसले त्यागिएकी स्त्रीसित विवाह गर्छ, त्यसले पनि व्यभिचार गर्छ।’’
19. येशूले भन्नुभयो, ‘‘एउटा अत्यन्तै धनी मानिस थियो। ऊ सधैँ बहुमूल्य वस्त्र लगाएर दिनहुँ मोजमज्जामा रहन्थ्यो।
20. उसको घरमा ढोकानेर लाजरस नाउँ गरेको एउटा भिखारी लडेर बसिरहन्थ्यो। त्यसको शरीरभरि घावैघाउ थियो।
21. धनी मानिसले खाएर टेबुलबाट झरेको टुक्राटाक्रीबाट त्यसले आफ्नो पेट भर्ने लालसा राख्थ्यो र कुकुरहरू आएर त्यसको घाउचाट्दथे।
22. अन्त्यमा, त्यो भिखारी मर्यो र स्वर्गदूतहरूले त्यसलाई अब्राहामको काखमा पुर्याए। धनी मानिस पनि मर्यो र गाडियो।
23. अनि उसले नरकमा कष्ट भोगिरहेको बेला टाढाबाट आँखा उठाएर हेर्दा अब्राहामलाई देख्यो र लाजरस उनको काखमा बसिरहेको थियो।
24. धनी मानिसले रुँदै भन्यो, ‘हे पिता अब्राहाम, ममाथि दया गर्नुहोस्। लाजरसलाई यहाँ पठाइदिनुहोस् र त्यसले आफ्नो औँला पानीमा चोपेर मेरो जिब्रो शीतल गराइदेओस्, किनकि म यस आगोको ज्वालामा कठोर वेदना भोगिरहेको छु।’
25. तर अब्राहामले उसलाई भने, ‘छोरा, पहिलेको कुरा सम्झी त, तैँले आफ्नो जीवनकालमा सबै असल कुरा प्राप्त गरिस्। तर लाजरससँगकेही पनि थिएन, तैँले चाहेजति सुख भोगिस् र यसले कष्टै कष्ट भोग्यो। यसैकारण लाजरस यहाँ आराममा छ र तँ कष्टमा छस्। ’
26. यसबाहेक, हामी र तँ भएको ठाउँलाई अलग गर्ने धेरै ठूलो खाडल छ। यहाँबाट त्यहाँ र त्यहाँबाट यहाँ कोही पनि आउन र जान सक्दैन।
27. तब धनी मानिसले विन्ती गर्यो, ‘पिता अब्राहाम, कृपा गरी लाजरसलाई मेरा बाबुको घरमा पठाइदिनुहोस्।
28. त्यहाँ मेरा पाँच जना भाइहरू छन्, त्यहाँ गएर त्यसले तिनीहरूलाई साक्षी देओस् र मरेपछि तिनीहरू यस कष्टको ठाउँमा आउन नपरोस्।’
29. तर अब्राहामले भने, ‘तिनीहरूका साथमा मोशा र अगमवक्ताहरू छन्। तिनीहरूले उनीहरूका वाणी सुनून्।’
30. धनी मानिसले जवाफ दियो, ‘होइन, पिता अब्राहाम, मरिगएकाहरूमध्येका कसैलाई पठाइदिने हो भने तिनीहरूले पश्चात्ताप गर्नेछन्।’
31. तर अब्राहामले भने, ‘यदि तिनीहरूले मोशा र अगमवक्ताहरूका कुरा त सुनेनन् भने अब कोही मृतकबाट जीवित भए पनि तिनीहरूले विश्वास गर्नेछैनन्’।’’
|