1. चेलाहरूले निरन्तर प्रार्थना गरिरहून् र हताश नहोऊन् भनी येशूले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो,
2. ‘‘कुनै एउटा शहरमा एक जना न्यायाधीश थिए । उनी परमेश्वरसित नडराउने र मानिसहरूको आदर नगर्ने व्यक्ति थिए।
3. त्यसै शहरकी एउटी विधवा घरीघरी उनीकहाँ आएर भन्थी, ‘मेरो हानि गर्ने वादीबाट मलाई न्याय दिनुहोस्।’
4. केही दिनसम्म त न्यायाधीशले त्यस विधवाको निवेदनको वास्ता गरेनन् तर आखिरमा त्यसले उनलाई दिक्क पारी । उनले मनमनै भने, ‘म परमेश्वरसँग डराउँदिनँ न मानिसकै डर मान्छु,
5. तर त्यसले त मलाई दिक्क पारिरहेकी छे। म त्यसको न्याय गरिदिनेछु, नत्र त त्यसले एकोहोरो आएर मलाई हैरान पार्ली’।’’
6. त्यसपछि प्रभुले चेलाहरूलाई भन्नुभयो, ‘‘त्यस दुष्ट न्यायाधीशबाट पाठ सिक।
7. उनले त आखिरमा आफ्नो विचार बद्लेर विधवालाई उचित न्याय दिए भने परमेश्वरका चुनिएका मानिसहरूले उहाँसँग रातदिन पुकारा गर्दा के उहाँले न्याय दिनुहुन्न र? के उहाँले न्याय दिन बियाँलो गर्नुहुन्छ र ?
8. म तिमीहरूलाई भन्दछु, उहाँले चाँडै तिनीहरूको न्याय गरिदिनुहुनेछ । तर जब मानिसको पुत्र फर्किआउँछ, के उसले यस पृथ्वीमा विश्वास भेट्टाउनेछ र?’’
9. आफैमाथि भरोसा राख्ने र आफैलाई धर्मी ठानेर अरुहरूलाई तुच्छ ठान्नेहरू कसै- कसैलाई उहाँले यो दृष्टान्त भन्नुभयो,
10. ‘‘दुई जना मानिसहरू प्रार्थना गर्न मन्दिरमा गए। एक जना फरिसी थियो र अर्को कर उठाउने व्यक्ति थियो।
11. फरिसी बडो गर्व गर्दै उभियो र यसरी प्रार्थना गर्नथाल्यो, ‘हे परमेश्वर, म तपाईंलाई धन्यवाद दिन्छु, म अरुजस्तो धुताहा, अन्यायी, व्यभिचारी वा यो महसुल उठाउनेजस्तो पापी छैन।
12. म हप्ताको दुईपल्ट उपवास बस्छु र मेरो सम्पूर्ण कमाइको दशांश पनि तपाईंलाई दिन्छु।’
13. तर महसुल उठाउने मानिस अलिक परै उभियो र स्वर्गतिर हेर्न पनि नसकी अधोमुख लगाउँदै, उसले आफ्नो छाती पिटयो र दु:खित भएर यसरी पुकारा गर्यो, ‘हे परमेश्वर म पापीमाथि दया गर्नुहोस्।’
14. म तिमीहरूलाई भन्दछु, त्यो फरिसीभन्दा बरु महसुल उठाउने परमेश्वरको नजरमा धर्मी ठहरिएर घर फर्कियो, किनभने हरेक जसले आफूलाई उचाल्छ, त्यो होच्याइनेछ तरजसले आफूलाई होच्याउँछ त्यो उच्च पारिनेछ।’’
15. येशूले बालबालिकाहरूमाथि आफ्नो हात राखेर आशिष् देऊन् भनी केही आमा-बुबाहरूले तिनीहरूलाई उहाँकहाँ ल्याए। तर चेलाहरूले तिनीहरूलाई हप्काए।
16. अनि येशूले ती बालबालिकाहरूलाई बोलाउनुभयो र चेलाहरूलाई भन्नुभयो, ‘‘बालबालिकाहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक, किनभने परमेश्वरको राज्य यस्तैहरूको हो।
17. साँच्चै म तिमीहरूलाई भन्दछु, जसले परमेश्वरको राज्यलाई बालकले जस्तै ग्रहण गर्दैन, त्यो कदापि त्यसभित्र प्रवेश गर्नेछैन।’’
18. एकपल्ट एक जना धार्मिक अगुवाले येशूलाई यस्तो प्रश्न सोधे, ‘‘असल गुरु, अनन्त जीवन पाउनको निम्ति मैले के गर्नुपर्छ?’’
19. येशूले भन्नुभयो, ‘‘तिमी मलाई किन असल भन्छौ? परमेश्वरबाहेक अरु कोही असल छैन।
20. तिमीलाई आज्ञाहरू त थाहा होला नि? ‘व्यभिचार नगर्नू, हत्या नगर्नू, नचोर्नू, झूटो साक्षी नदिनू, आमा-बुबाको आदर गर्नू’।’’
21. त्यस मानिसले जवाफ दियो, ‘‘यी सबै आज्ञाहरू त मैले युवावस्थादेखि नै पालन गर्दै आएको छु।’’
22. यो सुनेर येशूले भन्नुभयो, ‘‘तिमीमा अझै एउटा कुराको कमी रहेछ। आफूसँग भएको सबै धनसम्पत्ति बेच र आएको पैसा गरीबहरूलाई बाँडिदेऊ अनि स्वर्गमा तिम्रो धन हुनेछ । त्यसपछि आएर मेरोपछि लाग।’’
23. तर उहाँको कुरा सुनेर त्यो मानिस त्यहाँबाट उदास भएर गइहाल्यो, किनभने ऊ धेरै धनी थियो।
24. येशूले त्यो जाँदै गरेको हेर्नुभयो र आफ्ना चेलाहरूलाई भन्नुभयो, ‘‘धनी मानिसहरूलाई परमेश्वरको राज्यमा प्रवेश गर्न कति गाह्रो हुन्छ ।
25. धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नुभन्दा त बरु एउटा ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो हुन्छ।’’
26. उहाँको त्यो कुरा सुन्नेहरूले भने, ‘‘त्यसो भए, यस संसारमा कसले उद्धार पाउनसक्छ त?’’
27. उहाँले जवाफ दिनुभयो, ‘‘जुन कुरा मानिसको दृष्टिमा असम्भव छ, त्यो परमेश्वरमा सम्भव छ।’’
28. पत्रुसले भने, ‘‘हामीले हाम्रा घरहरू छोडेर तपाईंलाई पछयाएका छौं।’’
29. येशूले जवाफ दिनुभयो, ‘‘ठीक भन्यौ, साँच्चै म तिमीहरूलाई भन्दछु, ज-जसले परमेश्वरको राज्यको खातिर आफ्नो घर कि, आमा-बुबा कि, दाजु-भाइ कि, दिदी-बहिनी कि, श्रीमती कि, छोराछोरी छोड्दछ,
30. उसले नै यस जीवनमा धेरै इनाम र आउने युगमा अनन्त जीवन प्राप्त गर्नेछ।’’
31. बाह्रै जना चेलाहरूलाई आफ्नो वरिपरि भेला गरेर येशूले भन्नुभयो, ‘‘हेर, हामी यरूशलेमतिर गइरहेका छौं र त्यहाँ पुगेपछि मानिसको पुत्रको विषयमा पुराना अगमवक्ताहरूले भनेका सबै अगमवाणीहरू पूरा हुनेछन्।
32. उसलाई अयहूदीहरूको हातमा सुम्पिइनेछ, उसलाई निन्दा र गिल्ला गरिइनेछ, उसलाई मानिसहरूले थुक्नेछन्,
33. तिनीहरूले उसलाई कोर्रा लगाउनेछन् र मार्नेछन्, तर त्यसको तीन दिनमा ऊ मृत्युबाट पुनर्जीवित भएर उठ्नेछ।’’
34. तर उहाँले बोल्नुभएको एउटै कुरा पनि तिनीहरूले बुझेनन्। यसको अर्थ तिनीहरूबाट गुप्तमा राखियो र उहाँले के भनिरहनुभएको छ भनी तिनीहरूले बुझ्नसकेनन्।
35. उहाँहरू यरीहो नजिक पुग्नुहुँदा एक जना अन्धो मानिस भीख माग्दै बाटोको किनारमा बसिरहेको थियो।
36. त्यहाँबाट धेरै मानिसहरू गइरहेको सुनेर उसले के हो भनी सोध्यो।
37. नासरतका येशू त्यहाँबाट गइरहनुभएको छ भनी कसैले उसलाई भनिदियो।
38. त्यसकारण ऊ कराउन थाल्यो, ‘‘ए दाऊदका छोरा, येशू, ममाथि दया गर्नुहोस्।’’
39. येशूको अगाडि हुने मानिसहरूले त्यस अन्धालाई झपारे। तर ऊ अझै जोड-जोडले कराइरह्यो, ‘‘हे दाऊदका छोरा, येशू, ममाथि दया गर्नुहोस्।’’
40. जब येशूले त्यसको आवाज सुन्नुभयो, उहाँ उभिनुभयो र त्यसलाई आफूकहाँ ल्याउने आज्ञा दिनुभयो।
41. त्यसपछि येशूले त्यसलाई सोध्नुभयो, ‘‘म तिम्रोनिम्ति के गरिदिऊँ भन्ने चाहन्छौ?’’ उसले विन्ती गर्यो, ‘‘प्रभु,म दृष्टि पाउन चाहन्छु।’’
42. तब येशूले भन्नुभयो, ‘‘ठीक छ, तिमीले दृष्टि प्राप्त गर, तिम्रो विश्वासले तिमीलाई देख्ने तुल्याएको छ ।’’
43. त्यस मानिसले तत्कालै देख्नसक्यो र परमेश्वरको प्रशंसा गर्दै उसले येशूलाई पछयायो। त्यो देख्नेहरू सबैले पनि परमेश्वरलाई महिमा दिए।
|