1. येशू यरीहोको बाटो भएर जाँदै हुनुहुन्थ्यो।
2. त्यहाँ एक जना जक्कै नाउँ गरेका मानिस थिए । तिनी कर उठाउनेहरूमध्येका एक मुख्य व्यक्ति थिए र तिनी धनी थिए ।
3. तिनले येशूलाई हेर्न चाहन्थे, तर भीडले गर्दा देख्न सकेनन्, किनभने तिनी पुड्का थिए।
4. त्यसकारण तिनी दौडिँदै अघि गए र बाटो छेउको एउटा नेभारोको रूखमा चढे, जहाँबाट तिनले येशूलाई देख्नसक्थे।
5. जब येशू त्यही बाटो भएर त्यहाँ आइपुग्नुभयो,उहाँले मास्तिर हेर्नुभयो अनि तिनलाई देखेर भन्नुभयो, ‘‘जक्कै, ओर्लेर छिट्टो आऊ। आज म तिम्रो घरमा बस्नुपर्छ।’’
6. जक्कै तुरुन्तै ओर्लेर आए र रमाउँदै येशूूलाई आफ्नो घरमा लगे।
7. तर त्यो देखेर भीडमा हुने मानिसहरूले गनगन गर्दै भने, ‘‘उहाँ त त्यस्तो पापीको घरमा पाहुना लाग्न जानुभयो।’’
8. त्यसैबेला जक्कै सबैको अगाडि खडा भए र प्रभुलाई भने, ‘‘प्रभु, म आफूले आर्जन गरेको आधा सम्पत्ति गरीबहरूलाई बाँडिदिनेछु। अनि यदि मैले अन्यायपूर्वक कसैबाट बढी कर लिएको छु भने म त्यसको चार गुणा फिर्ता दिनेछु।’’
9. येशूले जवाफ दिनुभयो, ‘‘आज यस घरमा उद्धार आएको छ, किनभने यो मानिस पनि अब्राहामको छोरो हो।
10. अनि म, मानिसको पुत्र यस्तै हराएकाहरूलाई खोज्न र बचाउन आएको हुँ।’’
11. येशूका यी कुरा तिनीहरूले सुनिरहेका थिए, तब येशूले एउटा दृष्टान्तद्वारा भन्नुभयो, किनभने उहाँ यरूशलेमको नजिकै हुनुहुन्थ्यो र मानिसहरूले परमेश्वरको राज्य अब तुरुन्तै प्रकट हुनेछ भन्ने विचार गरिरहेका थिए ।
12. त्यसकारण उहाँले भन्नुभयो, ‘‘एक जना खानदानी व्यक्ति आफ्नोनिम्ति एउटा राजपद प्राप्त गरेर फर्किने गरी टाढा देशमा गए।
13. त्यसकारण उनले आफ्ना दश जना नोकरलाई बोलाएर आफू नआउन्जेलसम्म लगानी गर्न भनी दश चाँदीका सिक्का दिए।
14. तर उनका प्रजाहरूले उनलाई घृणा गर्दथे र उनका पछि-पछि यसो भन्दै यस्तो समाचार पठाए, ‘यस मानिसले हामीमाथि राज्य गरेको हामी चाहँदैनौं ।’
15. उनले राज्य प्राप्त गरी फर्केर आएपछि आफूले पैसा दिएका दश जना नोकरलाई बोलाए र तिनीहरूले के कति नाफा कमाएछन् भनी हिसाब मागे।
16. पहिलो नोकर आयो र भन्यो,‘मालिक, मैले साउँ रकमभन्दा अरु दश सिक्का बढी नाफा कमाएको छु।’
17. उनले भने, ‘स्याबास्, तँ विश्वसनीय नोकर रहेछस्। मैले दिएको थोरै धनमा तँ विश्वसनीय भइस्, म तँलाई इनामस्वरूप दश शहरको शासक बनाउँछु।’
18. दोस्रो नोकर आयो र भन्यो,‘मालिक, मैले साउँ रकमभन्दा अरु पाँच सिक्का बढी नाफा कमाएको छु।’
19. उनले भने, ‘स्याबास्, तँ पनि पाँच शहरको शासक हुनेछस्।’
20. तेस्रो नोकर आयो र भन्यो, ‘मालिक, हेर्नुहोस्, तपाईंको सिक्का यहाँ छ, त्यो मैले रुमालमा पोको पारेर राखेको थिएँ।
21. मलाई डर लागेको थियो, किनभने तपाईं कति निर्दयी व्यवहार गर्नुहुन्छ भन्ने मलाई थाहा थियो। तपाईं जे आफ्नो होइन त्यो लिनुहुन्छ र जे रोप्नुहुन्न, त्यसैको कटनी गर्ने मानिस हुनुहुन्छ।’
22. उनले त्यसलाई भने, ‘दुष्ट नोकर, म तँलाई तेरै मुखको शब्दद्वारा न्याय गर्नेछु। के म निर्दयी छु? यदि तैँले म त्यस्तो कठोर मानिस छु भनी जान्दथिस् भने
23. तैँले यो पैसा लगेर किन बैंकमा राखिनस् त? त्यसो गरेको भए अहिले कम्तीमा पनि त्यसको ब्याजसहित म पाउनसक्ने थिएँ।’
24. त्यसपछि उनले आफ्नो नजिकै उभिएका अरु मानिसहरूतिर फर्किएर आज्ञा दिए,‘उठ, यस नोकरबाट त्यो पैसा खोस र त्यो दश सिक्का हुनेलाई देओ ।’
25. ती मानिसहरूले भने, ‘तिनीसँग त दश सिक्का छँदै छ नि।’
26. किनभने म तिमीहरूलाई भन्दछु, ‘जोसँग छ, त्यसलाई अझै दिइनेछ, जोसँग छैन, त्यससँग भएको पनि खोसिनेछ।
27. अब मैले राज्य गरेको नचाहने मेरा शत्रुहरूलाई यहाँ ल्याओ र मेरो सामुन्ने मृत्युदण्ड देओ’।’’
28. यो दृष्टान्त भनी सक्नुभएपछि येशू चेलाहरूको अगिअगि यरूशलेमतिर उक्लनुभयो।
29. उहाँ जैतुन डाँडा नजिकै बेथफागे र बेथानी शहरहरूमा आइपुग्नुभयो, उहाँले दुई जना चेलालाई आफूभन्दा अगाडि पठाउनुभयो।
30. उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘सामुन्नेको गाउँमा जाओ, त्यहाँ पस्दै गर्दा तिमीहरूले कहिल्यै कोही नचढेको गधाको बछेडो बाँधिराखेको भेट्टाउनेछौ। त्यसलाई खोलेर यहाँ ल्याऊ।
31. कसैले तिमीहरूलाई ‘के गरेको’ भनी सोध्यो भने, ‘हाम्रो प्रभुलाई यसको खाँचो परेको छ’ भनी जवाफ दिनू।’’
32. तिनीहरू गए र येशूले भन्नुभएझैँ गधाको बछेडो भेट्टाए।
33. तिनीहरूले बछेडो फुकाउँदै गर्दा त्यसका मालिकले आएर सोधे, ‘‘तिमीहरूले हाम्रो बछेडोलाई किन खोलेका?’’
34. चेलाहरूले जवाफ दिए, ‘‘प्रभुलाई यसको खाँचो छ।’’
35. त्यसरी तिनीहरूले बछेडोलाई येशूकहाँ ल्याए अनि आफ्ना वस्त्रहरू त्यसको ढाडमा ओछयाइदिए र येशूलाई त्यसमाथि चढाए।
36. त्यसपछि भीडका सबै मानिसहरूले आ-आफ्ना खास्टोहरू फुकालेर येशूको अगाडि बाटोमा बिछयाइदिए।
37. उहाँ जैतुन डाँडाबाट ओर्लनुभएपछि चेलाहरूको भीडले, उहाँले गरेको शक्तिशाली कार्यहरू देखेर रमाउँदै, उच्च सोरले परमेश्वरको प्रशंसा गर्न शुरु गरे,
38. ‘‘परमप्रभुको नाउँमा आउनुहुने राजा धन्यका हुनुहुन्छ, स्वर्गमा शान्ति र परमधाममा महिमा होस्।’’
39. तर भीडमा भएका केही फरिसीहरूले भने, ‘‘गुरुज्यू, तपाईंका चेलाहरूलाई हप्काउनुहोस्।’’
40. येशूले जवाफ दिनुभयो,‘‘यदि यी मानिसहरू चुप लागे भने बाटोमा भएका ढुङ्गाहरू चिच्च्याउन थाल्नेछन्।’’
41. तर यरूशलेम नजिकै आइपुग्नासाथ येशूूले शहरलाई नियाल्नुभयो र रुनुभयो।
42. अनि यसो भन्नुभयो,‘‘आज,यतिखेरसम्म पनि तैँले शान्तिको बाटो कुन हो भनी जानेको भए हुनेथियो । तर अब त धेरै ढिलो भइसक्यो। अब तेरो दृष्टिबाट शान्ति लुकाइएको छ ।
43. तेरा शत्रुहरूले तेरो पर्खाल वरिपरि घेरेर मोर्चा कस्ने दिन आउँदै छ। तिनीहरूले चारैतिरबाट घेरेर तँलाई थुनिराख्नेछन्।
44. तिनीहरूले तँलाई र तँसितै तेरा बालबच्चाहरूलाई जमीनमा पछार्नेछन्, तिनीहरूले एउटा ढुङ्गोमाथि अर्को ढुङ्गो कतै छोड्नेछैनन्, किनभने तैँले, परमेश्वरले दिनखोज्नुभएको कृपापूर्ण अवसरलाई इन्कार गरिस्।’’
45. त्यसपछि येशू मन्दिरभित्र पस्नुभयो र त्यहाँ भएका सबै किनबेच गर्ने व्यक्तिहरूलाई लखेट्न शुरु गर्नुभयो।
46. उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘लेखिएको छ,‘मेरो मन्दिर प्रार्थनाको घर हुनेछ, तर तिमीहरूले त यसलाई डाँकाहरूको ओडार बनायौ।’’
47. त्यसपछि येशूले दिनहुँ मन्दिरमा शिक्षा दिनथाल्नुभयो। तर मुख्य पूजाहारीहरू, धार्मिक व्यवस्थाका शिक्षकहरू र अन्य अगुवाहरू मिलेर उहाँलाई कसरी मार्ने भनेर षडयन्त्र रच्न थाले।
48. तापनि उहाँको शिक्षामा सबै मानिसहरू मुग्ध भएकोले तिनीहरूले तुरुन्तै केही पनि गर्नसकेनन्।
|