1. एक दिन येशूले मन्दिरमा शिक्षा दिइरहनुभएको थियो र सुसमाचार प्रचार गर्नुभएको थियो, त्यसैबेला धार्मिक व्यवस्थाका शिक्षकहरू, मुख्य पूजाहारीहरू र अन्य अगुवाहरू उहाँकहाँ आए।
2. तिनीहरूले सोधे, ‘‘मन्दिरबाट व्यापारीहरूलाई धपाउने अख्तियार तिमीलाई कसले दियो? वा तिमी कुन अधिकारले यस्ता काम गर्छौ?’’
3. येशूले तिनीहरूलाई भन्नुभयो, ‘‘म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्छु र मलाई जवाफ देओ ।
4. यूहन्नाको बप्तिस्मा स्वर्गबाटको थियो कि मानिसबाटको?’’
5. तिनीहरूले आपसमा त्यस विषयमा छलफल गरे,‘यदि हामीले स्वर्गबाटको हो भनौं भने त्यसो भए किन उनलाई विश्वास गरेनौ भन्लान्।
6. यदि मानिसबाटको हो भन्यौं भने मानिसहरूले हामीलाई ढुङ्गाले हान्लान्, किनभने यूहन्ना एक अगमवक्ता थिए भनी सबैले विश्वास गरेका थिए।’
7. आखिरमा तिनीहरूले जवाफ दिए, ‘‘हामीलाई थाहा छैन।’’
8. अनि येशूले पनि भन्नुभयो, ‘‘म पनि तिमीहरूलाई कुन अधिकारद्वारा यी कामहरू गर्दछु, भन्दिनँ।’’
9. येशू फेरि मानिसहरूतिर फर्किनुभयो र यो दृष्टान्त भन्नुभयो, ‘‘एक जना मानिसले आफ्नो जमीनमा अङ्गुरको खेती लगायो। उसले त्यो मोहीहरूलाई जिम्मा दिएर लामो समयको निम्ति अर्कै देशमा गयो।
10. अङ्गुर टिप्ने समयमा उसले आफ्ना एक जना नोकरलाई आफ्नो भाग लिन पठायो। तर मोहीहरूले त्यो नोकरलाई पिटे र रित्तै हात पठाइदिए।
11. त्यसकारण त्यस मानिसले अर्को नोकरलाई पठायो । तिनीहरूले त्यसलाई पनि पिटे अनि बेइज्जत गरे र रित्तै हात पठाइदिए।
12. उसले तेस्रोपल्ट पनि आफ्नो अर्को नोकरलाई पठायो र त्यसलाई पनि तिनीहरूले पिटे र घाइते बनाएर लखेटे ।
13. अब मैले के गर्ने होला भनी अङ्गुरबारीको मालिकले विचार गर्यो, ‘म, मेरो प्यारो छोरालाई पठाउनेछु, सायद तिनीहरूले उसलाई देखेर आदर गर्लान्।’
14. तर जब ती मोहीहरूले मालिकको छोरालाई देखे, तब तिनीहरूले आपसमा मिलेमतो गरे र भने, ‘यस जमीनको हकवाला यही हो, लौ त्यसलाई मारौं र यो अङ्गुरबारी हाम्रै हुनेछ ।’
15. त्यसरी तिनीहरूले त्यसलाई अङ्गुरबारीबाट घिसार्दै बाहिर लगे र त्यसको हत्या गरे। त्यसकारण अब त्यस अङ्गुरबारीको मालिकले ती मोहीहरूलाई के गर्लान्?’’
16. उहाँले फेरि भन्नुभयो, ‘‘म तिमीहरूलाई भन्दछु, ऊ आफै आउनेछ अनि ती सबैलाई मार्नेछ र अङ्गुरबारी अरुलाई नै कमाउन दिनेछ।’’ उहाँको कुरा सुन्नेहरूले भने, ‘‘त्यस्तो त कहिल्यै नहोस्।’’
17. तब येशूले तिनीहरूलाई हेरेर भन्नुभयो, ‘‘त्यसो भए धर्मशास्त्रले यसो भनेको अर्थ के हो त? ‘जुन ढुङ्गोलाई डकर्मीहरूले रद्द गरे, त्यही ढुङ्गो नै कुनाको मुख्य ढुङ्गो भएको छ।’
18. त्यस ढुङ्गोमा ठोकिने जोसुकै टुक्राटुक्रा हुन्छ र जसमाथि त्यो ढुङ्गो बज्रिन्छ, ऊ पनि धूलोपीठो हुन्छ।’’
19. जब धार्मिक व्यवस्थाका शिक्षकहरू र मुख्य पूजाहारीहरूले यो दृष्टान्त सुने, तब उहाँले त्यो तिनीहरूकै विरुद्धमा भन्नुभएको हो भन्ने बुझे। त्यसकारण तिनीहरूले त्यत्ति नै बेला उहाँमाथि हातपात गर्न खोजे तर मानिसहरूले हूलदङ्गा मच्चाउलान् भनेर तिनीहरू डराए।
20. अब तिनीहरू मौका हेर्नलागे र धर्मी भई टोपल्ने जासुसहरूलाई तिनीहरूले उहाँकहाँ पठाए। येशूले बोल्नुभएको कुरामा उहाँलाई फसाएर अधिकारीहरू र हाकिमका हातमा उहाँलाई सुम्पिदिने दाउमा तिनीहरू थिए।
21. तिनीहरूले सोधे, ‘‘गुरुज्यू, तपाईं ठीक बोल्नुहुन्छ र ठीक शिक्षा दिनुहुन्छ भन्ने हामीलाई थाहा छ, किनभने तपाईंले कसैलाई भेदभाव गर्नुहुन्न। बरु तपाईंले सत्यतामा परमेश्वरको मार्ग सिकाउनुहुन्छ।
22. अब हामीलाई भन्नुहोस्, हामीले सिजरलाई कर तिर्नु उचित हुन्छ कि हुँदैन?’’
23. उहाँले तिनीहरूको कपट बुझेर भन्नुभयो,
24. ‘‘किन तिमीहरू मेरो परीक्षा गर्छौ ? मलाई एउटा सिक्का देखाओ। यसमा कसको आकृति खोपिएको छ?’’ तिनीहरूले जवाफ दिए, ‘‘सिजरको ।’’
25. उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘त्यसो भए, जे सिजरका हुन्, ती सिजरलाई देओ। तर जे परमेश्वरका हुन्, ती परमेश्वरलाई देओ।’’
26. यसरी मानिसहरूको सामुन्ने उहाँलाई फसाउन तिनीहरू असफल भए। अझ उहाँको जवाफ सुनेर तिनीहरू उल्टै छक्क परे र चुप लागे।
27. त्यसपछि केही सदुकीहरू उहाँकहाँ आए, जसले मृत्युपछि पुनरुत्थान हुन्छ भन्ने कुरामा विश्वास गर्दैन थिए।
28. तिनीहरूले यस्तो प्रश्न सोधे, ‘‘गुरुज्यू, मोशाले हामीलाई यो व्यवस्था दिएका छन्, यदि एउटा मानिस विवाह गरेर सन्तान नजन्माई मर्यो भने उसको दाजु वा भाइले विधवासित विवाह गरोस् र उसको हक लिने सन्तान जन्माओस्।
29. कुनै परिवारमा सात जना दाजुभाइ थिए। जेठोले विवाह गर्यो र सन्तान नजन्माई मर्यो।
30. त्यसकारण माहिलोले विधवासित विवाह गर्यो र त्यो पनि सन्तान नजन्माई मर्यो।
31. त्यसपछि साहिँलोले ऊसित विवाह गर्यो, यस प्रकारले सातै भाइले त्यस स्त्रीसित विवाह गरे तर कसैबाट सन्तान जन्मेन अनि ती सातै भाइ नि:सन्तान मरे।
32. अन्त्यमा त्यो स्त्री पनि मरी।
33. अब भन्नुहोस्, मृतकबाट पुनर्जीवित हुँदा त्यो स्त्री कसकी स्वास्नी हुन्छे? किनभने त्यससित सातै भाइले विवाह गरेका थिए।’’
34. येशूले तिनीहरूलाई जवाफ दिनुभयो, ‘‘यस संसारका मानिसहरूले विवाह गर्छन् र गरिदिन्छन्।
35. तर हुनआउने युगको योग्य ठहरिनेहरू र मृतकबाट पुनर्जीवित हुनेहरूले न विवाह गर्छन्, न विवाह गरिदिन्छन्।
36. अनि तिनीहरू फेरि कहिल्यै मर्नेछैनन्, किनभने तिनीहरू पुनरुत्थानका सन्तान भएका हुनाले स्वर्गदूतसमान परमेश्वरका छोराछोरी हुनेछन्।
37. जब मोशाले अब्राहामका परमप्रभु परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वरलाई पुकारा गर्दा मृतकहरू जीवित भई उठाइनेछन् भन्ने कुरा मोशाले पनि पोथ्राको विवरणमा दर्साएका थिए।
38. त्यसकारण उहाँ मृतकहरूका होइन, जीवितहरूका परमेश्वर हुनुहुन्छ, किनभने तिनीहरू सबै उहाँको निम्ति जीवित छन् ।’’
39. त्यहाँ उभिएका मानिसहरूमध्ये कुनै कुनै धार्मिक व्यवस्थाका शिक्षकहरूले भने, ‘‘गुरुज्यू, तपाईंले ठीक भन्नुभयो।’’
40. उहाँको त्यस जवाफले तिनीहरूलाई चुप गरायो र त्यस उप्रान्त तिनीहरूले उहाँलाई कुनै पनि कुरा सोध्ने आँट गरेनन्।
41. त्यसपछि येशूले तिनीहरूलाई यो प्रश्न गर्नुभयो, ‘‘ख्रीष्टलाई किन दाऊदका छोरा भनिएको हो?
42. किनभने दाऊद आफैले भजनसंग्रहमा यसो भनेका छन्, परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, ‘मेरो दाहिने हातपट्टि बस,
43. जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो खुट्टाको पाउदान तुल्याउँदिनँ।’
44. दाऊद आफैले उहाँलाई ‘प्रभु’ भन्छन् भने ख्रीष्ट कसरी उनका छोरा भए त?’’
45. त्यसपछि येशू चेलाहरूतिर फर्किनुभयो र भीडले सुन्ने गरी आफ्ना चेलाहरूलाई भन्नुभयो,
46. ‘‘धार्मिक व्यवस्थाका शिक्षकहरूदेखि होशियार बस, जसले लामा-लामा पोशाक लगाएर हिँड्ने इच्छा गर्दछन् र बजारमा मानिसहरूले अभिवादन गरेको मन पराउँछन्। अनि तिनीहरू सभाघरमा मुख्य स्थान र भोजहरूमा आदरको स्थान खोज्छन्।
47. तर तिनीहरूले विधवाहरूका घर लुट्छन् र लोकाचारका लागि लामा-लामा प्रार्थना गर्दछन्। यस्ता मानिसहरूले अझ बढी दण्ड पाउनेछन्।’’
|