1. येशू मन्दिरमा बसिरहनुभएको थियो। त्यहाँ धनी मानिसहरूले मन्दिरको दानपात्रमा आ-आफ्नो भेटी हालेको उहाँले हेरिरहनुभएको थियो।
2. त्यसैबेला एउटी गरीब विधवाले पनि आफ्नो दुई पैसा भेटी हालेको उहाँले देख्नुभयो।
3. उहाँले भन्नुभयो, ‘‘साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरू सबैले भन्दा यस गरीब विधवाले धेरै भेटी चढाएकी छिन्,
4. किनभने तिमीहरूले त आ-आफ्नो प्रशस्तताबाट थोरै मात्र भेटी चढाएका छौ, तर यिनले त आफ्नो गरीबीबाट आफ्नो जीविका नै चढाएकी छिन्।’’
5. उहाँका चेलाहरूमध्ये कसै-कसैले सुन्दर-सुन्दर ढुङ्गाहरू र परमेश्वरलाई चढाइएका दानका सामग्रीहरूद्वारा सुसज्जित पारिएका मन्दिरको बारेमा कुराकानी गरिरहेका थिए। तर येशूले भन्नुभयो,
6. ‘‘यस्तो दिन आउनेछ, तिमीहरूले अहिलेसम्म जे देखिरहेका छौ, त्यो फेरि एउटा ढुङ्गोमाथि अर्को ढुङ्गो रहनेछैन, ती सबै थोक ध्वस्त पारिनेछन्।’’
7. तिनीहरूले सोधे, ‘‘गुरुज्यू, त्यस्तो अवस्था कहिले आउँछ? अनि त्यस्तो घटना घट्नुभन्दा पहिले कुनै चिन्ह देखिन्छ कि?’’
8. उहाँले जवाफ दिनुभयो, ‘‘होशियार रहो, तिमीहरूलाई कसैले नबहकाओस्, किनभने मेरो नाउँमा धेरै जना ‘ख्रीष्ट हुँ’ भनेर दाबी गर्दैर् आउनेछन् र ‘समय नजिक आएको छ’ भन्नेछन् तर तिनीहरूको विश्वास नगर्नू।
9. तिमीहरूले जब युद्ध र खैलाबैलाका कुरा सुन्नेछौ तब भयभीत नहोओ, किनभने पहिले यी घटनाहरू हुनैपर्छ तर अन्त्य तुरुन्तै हुनेछैन।’’
10. उहाँले अझै भन्नुभयो, ‘‘जाति जातिको विरुद्धमा र राज्य राज्यको विरुद्धमा खडा हुनेछन्।
11. ठूल्ठूला भूकम्प जानेछन्, डरलाग्दा महामारी र अनिकाल आउनेछन् र ठाउँ-ठाउँमा आतङ्क फैलिनेछ अनि आकाशमा अचम्मका दृश्य र ठूला-ठूला चिन्हहरू देखिनेछन्।
12. तर ती घटनाहरू हुनुभन्दा पहिले ठूलो सतावट हुनेछ । मानिसहरूले तिमीहरूलाई घिसार्दै सभाघरमा लानेछन् र झ्यालखानमा हाल्नेछन्। मलाई पछयाएको कारण राजाहरू र प्रशासकहरूका सामुन्ने तिनीहरूले तिमीहरूलाई दोष्याउनेछन्।
13. अनि त्यसबेला तिमीहरूले तिनीहरूलाई मेरो साक्षी दिने मौका पाउनेछौ।
14. त्यसकारण तिमीहरू, तिनीहरूले लगाएको आरोपको के जवाफ दिने भनी चिन्तित नहोओ,
15. किनभने त्यसबेला म आफै तिमीहरूलाई बोली र ज्ञान दिनेछु अनि तिमीहरूका कुनै पनि विरोधीले त्यो रोक्न वा काट्न सक्नेछैन ।
16. तिमीहरूका आफ्नै मानिसहरू, आफ्नै आमा-बुबा, दाजु-भाइ, नातेदार र साथीहरूले समेत तिमीहरूलाई धोका दिनेछन्। अनि तिमीहरूमध्ये कति मारिनेछौ।
17. तिमीहरूलाई मेरो नाउँको कारण सबैले घृणा गर्नेछन्।
18. तर तिमीहरूको शिरको एउटै केश पनि नष्ट हुनेछैन।
19. तिमीहरूको धैर्यद्वारा तिमीहरूले आफ्नो जीवन प्राप्त गर्नेछौ।
20. अनि जब तिमीहरूले यरूशलेमलाई सेनाहरूले घेरा हालेको देख्नेछौ, तब त्यसको विनाशको दिन नजिकै आएछ भनी जान्नू।
21. तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून्। यरूशलेमभित्र हुनेहरू निस्केर जाऊन् र गाउँ-बस्तीमा हुनेहरू शहरभित्र नपसून्,
22. किनकि ती दिनहरू परमेश्वरले बदला लिने दिनहरू हुनेछन्। यसरी धर्मशास्त्रमा अगमवक्ताहरूले भनेका कुरा पूरा हुनेछन्।
23. हाय ! त्यस बेला गर्भवती र दूध चुसाउने आमाहरूको हालत कस्तो भयानक होला ! किनभने सारा मुलुकभरि ठूलो सङ्कष्ट आउनेछ र हरेक मानिसहरूमाथि क्रोध खन्याइनेछ।
24. तिनीहरू निर्ममतापूर्वक तरवारले काटिनेछन् र बाँचेकाहरूलाई कैदी बनाएर विभिन्न देशमा लगिनेछन्, यरूशलेमलाई अयहूदीहरूले कुल्चीमिल्ची पार्नेछन्, जबसम्म तिनीहरूलाई दिएको समय पूरा हुँदैन।
25. घाम, जून र ताराहरूमा विभिन्न चिन्हहरू देखिनेछन्। अनि पृथ्वीका राष्ट्रहरूमा पनि आँधीबेहरी र समुद्रका छालको गर्जनद्वारा भयङ्कर सङ्कष्ट आउनेछ।
26. संसारमा हुनआउने घटनाहरूको आशङ्काले मानिसहरू मूर्च्छा पर्नेछन्, किनभने आकाशका शक्तिहरू डगमगाउनेछन्।
27. अनि हरेकले मानिसको पुत्रलाई शक्ति र महामहिमाको साथमा बादलमा आइरहेको देख्नेछन्।
28. यसरी जब यी सबै कुरा हुनथाल्दछन्, तब खडा होओ, आफ्ना नजर माथितिर लगाओ, किनभने तिमीहरूको छुटकारा नजिकै छ। ’’
29. त्यसपछि उहाँले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो : ‘‘नेभारो वा अरु कुनै रूखलाई हेर।
30. जब त्यसमा पालुवा पल्हाउन थालेको देखिन्छ, तब गृष्म ऋतु नजिक छ भनी तिमीहरूलाई कसैले भन्नुपर्दैन।
31. त्यसैगरी मैले भनेका यी घटनाहरू घटेको जब तिमीहरू देख्नेछौ, तब परमेश्वरको राज्य नजिकै छ भनी तिमीहरूले जान्नू।
32. साँच्चै म तिमीहरूलाई भन्दछु, यी सम्पूर्ण घटनाहरू नघटुन्जेलसम्म यो पुस्ता बितिजानेछैन।
33. स्वर्ग र पृथ्वी बितिजानेछन् तर मेरा वचन टल्नेछैनन्।
34. तिमीहरू जागा रहो, म फर्किआउँदा लापर्वाही भएर जथाभाबी खाँदै-पिउँदै वा जीवनका चिन्ताले भरिएर बसिरहेका नभेट्टिओ, किनभने त्यो दिन तिमीहरूमाथि पासोझैँ एक्कासि आइपर्ला।
35. पृथ्वीमा हुने सबैमाथि नै त्यो दिन पासोझैँ आइपर्नेछ।
36. यसकारण सधैँभरि जागा रहो र सम्भव भए ती सङ्कष्टबाट उम्किएर मानिसको पुत्रको सामु उभिनसकूँ भनी निरन्तर प्रार्थना गर्दै बस।’’
37. येशूले हरेक दिन दिउँसो मन्दिरमा शिक्षा दिनुहुन्थ्यो र साँझमा बाहिर निस्केर जैतुन डाँडामा रात बिताउनुहुन्थ्यो।
38. अनि सबै मानिसहरू उहाँको कुरा सुन्न बिहानै मन्दिरमा आउँथे।
|