1. अब अखमीरी रोटीको चाड नजिकै आइपुगेको थियो । यसलाई निस्तार-चाड पनि भनिन्छ।
2. मुख्य पूजाहारी र धार्मिक व्यवस्थाका शिक्षकहरूले येशूको हत्या गर्ने षडयन्त्र गरिरहेका थिए । तर तिनीहरू मानिसहरूसँग डराउँथे।
3. त्यसपछि बाह्र जनामध्येका इस्करियोत भनिने यहूदाको हृदयमा शैतान पस्यो।
4. येशूलाई कसरी सजिलै पक्राइ दिनसकिन्छ भनेर छलफल गर्न ऊ मुख्य पूजाहारी र मन्दिरका पहरेदारहरूका अधिकारीहरूकहाँ गयो।
5. तिनीहरू यहूदासित खुशी भए र उसलाई पैसा दिन सहमत भए।
6. यसरी उसले भीड नभएको बेला येशूलाई तिनीहरूका हातमा सुम्पिदिने मौका खोज्न थाल्यो।
7. अखमीरी रोटीको चाडको पहिलो दिनमा निस्तारको थुमाको बलिदान चढाइनुपर्थ्यो।
8. येशूले पत्रुस र यूहन्नालाई यसो भन्दै पठाउनुभयो, ‘‘जाओ र निस्तारको भोज तयार गर र हामीसँगै बसेर खाउँला।’’
9. तिनीहरूले सोधे, ‘‘हामी कहाँ गएर भोज तयार गरेको तपाईं चाहनुहुन्छ?’’
10. :उहाँले जवाफ दिनुभयो, ‘‘जब तिमीहरू यरूशलेमभित्र पस्नेछौ, त्यहाँ पानीको गाग्रो काँधमा बोकेर गइरहेको मानिसलाई तिमीहरूले भेट्नेछौ। तब तिमीहरू उसलाई पछयाउँदै जाओ र उसको घरमा पस ।
11. त्यस घरका मालिकलाई भन, ‘हाम्रा गुरुज्यूले तपाईंलाई भन्नुभएको छ, मैले, मेरा चेलाहरूसित निस्तार-चाडको भोज खाने पाहुना कोठा कहाँ छ ?’
12. तिनले तिमीहरूलाई माथिल्लो तलामा सजिसजाउ भएको एउटा ठूलो कोठा देखाउनेछन् । त्यहीँ निस्तारको भोज तयार गर।’’
13. तिनीहरू गए र येशूले भन्नुभएजस्तै भेट्टाए अनि त्यहीँ नै निस्तार-चाडको भोज तयार गरे।
14. समय भएपछि खाना खाने टेबुलको वरिपरि येशू आफ्ना बाह्रै प्रेरितहरूसँग ढल्केर बस्नुभयो।
15. उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘मैले दु:ख भोग्नअघि तिमीहरूको साथमा यो निस्तार-चाडको भोजन खाने उत्कट इच्छा गरेको थिएँ,
16. किनभने म तिमीहरूलाई अहिले नै भन्दछु कि परमेश्वरको राज्यमा यो कुरा पूरा नभएसम्म म फेरि यो भोज कहिल्यै खानेछैनँ।’’
17. त्यसपछि उहाँले अङ्गुरको रसको कचौरा लिनुभयो र धन्यवाद दिनुभएपछि उहाँले भन्नुभयो, ‘‘यो लेओ र आपसमा बाँड,
18. किनभने परमेश्वरको राज्य नआएसम्म फेरि म अङ्गुरको रस पिउनेछैन।’’
19. तब उहाँले रोटी लिनुभयो, त्यसको लागि धन्यवाद दिएर त्यो भाँच्नुभयो र यसो भन्दै चेलाहरूलाई बाँडिदिनुभयो, ‘‘तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो। मेरो सम्झनामा यो गर्ने गर।’’
20. यसरी नै खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, ‘‘यो कचौरा मेरो रगतमा स्थापित भएको नयाँ करार हो, जुन तिमीहरूको निम्ति बगाइएको छ।
21. तर यता हेर, मलाई धोका दिनेको हात मसँगै टेबुलमा छ,
22. किनकि मानिसको पुत्र त ठहराइएअनुसार जानैपर्छ तर धिक्कार त्यस मानिसलाई, जसले उसलाई धोका दिन्छ।’’
23. तिनीहरूमध्ये कसले त्यस्तो काम गर्ला भनी चेलाहरू आपसमा सोधखोज गर्नथाले।
24. त्यसैगरी तिनीहरूमध्ये को ठूलो गनिने भनी विवाद पनि उठयो।
25. येशूले तिनीहरूलाई भन्नुभयो,‘‘यस संसारका अयहूदी राजाहरू र ठूला प्रशासकहरूले जनतामाथि अधिकार जमाउँछन्, तापनि तिनीहरूलाई ‘उपकारी’ भनिन्छ।
26. तर तिमीहरू त्यस्तो नहोओ। तिमीहरूमध्ये जो ठूलो छ, त्यो सबैभन्दा सानो बनोस्, अगुवा हुनेले सेवा गरोस्,
27. किनकि भोजन गर्न बस्ने ठूलो कि सेवा गर्ने ? के भोजन गर्न बस्ने होइन? तर म तिमीहरूका बीचमा सेवा गर्नेजस्तै छु।
28. मेरो परीक्षामा मसँग रहिरहने तिमीहरू नै हौ।
29. जसरी मेरा पिताले मलाई एउटा राज्य सुम्पनुभएको छ, म पनि तिमीहरूलाई सुम्पन्छु।
30. यसैले कि तिमीहरू त्यस राज्यमा मसितै मेरो टेबुलमा खानपिन गर्नेछौ। अनि इस्राएलका बाह्र कुलमाथि न्याय गर्दै तिमीहरू सिंहासनमा बस्नेछौ।
31. सिमोन, सिमोन, हेर, शैतानले तिमीलाई गहुँजस्तै निफन्न चाहेको छ।
32. तर मैले तिम्रो विश्वास नडगमगाओस् भनेर तिम्रो निम्ति प्रार्थना गरेको छु र तिमीले पश्चात्ताप गरी फर्केपछि तिम्रा दाज्यू-भाइहरूलाई स्थिर गराऊ।’’
33. पत्रुसले भने, ‘‘प्रभु, म तपाईंसँगै झ्यालखानमा जान र मर्न पनि तयार छु।’’
34. तर येशूले जवाफ दिनुभयो, ‘‘पत्रुस, म तिमीलाई भन्दछु, तिमीले मलाई चिन्दिनँ भनेर तीनपल्ट इन्कार नगरेसम्म आज भाले बास्नेछैन।’’
35. येशूले तिनीहरूलाई सोध्नुभयो, ‘‘जब मैले तिमीहरूलाई पैसा झिटीगुन्टा र जुत्ताबिना पठाउँदा के तिमीहरूलाई कुनै कुराको अभाव भयो?’’ तिनीहरूले भने, ‘‘भएन।’’
36. उहाँले भन्नुभयो, ‘‘तर अब पैसा बोक, त्यसरी नै झिटीगुन्टा र जोसँग तरवार छैन, त्यसले आफ्नो खास्टो बेचोस् र एउटा तरवार किनोस्,
37. किनभने लेखिएको यो कुरा ममा पूरा हुनुपर्छ, ‘उनी अपराधीहरूसँग गनिए’ किनभने मेरा विषयमा लेखिएका सबै कुरा पूरा हुनेछन्।’’
38. तिनीहरूले जवाफ दिए, ‘‘प्रभु, हामीसँग दुईवटा तरवार छन्।’’ उहाँले भन्नुभयो, ‘‘त्यति भए पुग्छ।’’
39. त्यसपछि सधैँजसो जैतुन डाँडामा जानको निम्ति उहाँ बाहिर निस्किनुभयो र चेलाहरू पनि उहाँको पछि लागे।
40. त्यहाँ पुगेपछि उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘परीक्षामा नपर्नका निम्ति प्रार्थना गर।’’
41. अनि उहाँ तिनीहरूबाट एउटा ढुङ्गा हान्नेजतिको दूरीमा जानुभयो र घुँडा टेकेर प्रार्थना गर्न लाग्नुभयो,
42. ‘‘हे पिता, यदि तपाईं इच्छा गर्नुहुन्छ भने यो कचौरा मबाट हटाइदिनुहोस्, तापनि मेरो इच्छा होइन, तपाईंको इच्छा पूरा होस्।’’
43. तब उहाँलाई शक्ति दिन स्वर्गबाट एक स्वर्गदूत देखा परे।
44. उहाँले अति व्याकुल भएर गम्भीरतासाथ प्रार्थना गर्नुभयो र उहाँका पसिना रगतका थोपाझैँ भुइँमा खसिरहेका थिए।
45. जब उहाँ प्रार्थनाबाट उठेर चेलाहरूकहाँ आउनुभयो, तब तिनीहरूलाई शोक र चिन्ताले थकित भएर निदाइरहेको भेट्टाउनुभयो।
46. तब उहाँले तिनीहरूलाई सोध्नुभयो, ‘‘ तिमीहरू किन निदाइरहेका छौ ? उठ र परीक्षामा नपर्नका निम्ति प्रार्थना गर।’’
47. तर उहाँ बोलिरहनुभएको बेला हेर, उहाँका बाह्र चेलाहरूमध्येको एउटा यहूदा, मानिसहरूको एक हूल लिएर त्यहाँ आइपुग्यो। ऊ येशूलाई चुम्बन गर्न उहाँको नजिकै आयो।
48. तर येशूले भन्नुभयो, ‘‘यहूदा, के तिमी मानिसको पुत्रलाई चुम्बन गरेर धोका दिन्छौ?’’
49. तब त्यहाँ हुनेहरूले, के हुनलागिरहेको छ, सो देखेर भने, ‘‘प्रभु, के हामीले तरवार चलाउनु पर्ला?’’
50. तिनीहरूमध्ये एक जनाले प्रधान पूजाहारीको दासलाई हाने र त्यसको दाहिने कान च्वाट्टै छिनाइदिए।
51. तर येशूले तिनलाई भन्नुभयो,‘‘भयो, यसो नगर।’’ उहाँले त्यसको कान छोइदिनुभयो र त्यो निको भइहाल्यो।
52. अनि येशूले उहाँकहाँ आएका मुख्य पूजाहारीहरू, मन्दिरका पहरेदारहरूका कप्तान र अन्य अगुवाहरूलाई भन्नुभयो, ‘‘के तिमीहरू डाँकाको विरोधमा आएझैँ तरवार र लाठाहरू लिएर आयौ?
53. म दिनहुँ मन्दिरमा हुँदा तिमीहरूले ममाथि हात उठाएनौ तर यो तिमीहरूको समय हो, जब अन्धकारको शक्तिले राज्य गर्नेछ।’’
54. त्यसरी तिनीहरूले उहाँलाई पक्रेर प्रधान पूजाहारीको घरमा पुर्याए र पत्रुसले टाढैबाट उहाँलाई पछयाइरहेका थिए।
55. त्यहाँ चोकमा पालेहरूले आगो बालेर वरिपरि बसेका थिए र पत्रुस पनि तिनीहरूसँगै बसे।
56. आगोको उज्यालोमा एउटी दासीले पत्रुसको अनुहार नियालेर हेरी र भनी, ‘‘यो मान्छे पनि ऊसँगै थियो।’’
57. तर पत्रुसले त्यो कुरा अस्वीकार गरे। उनले भने, ‘‘ए नारी, तिमीले के भनेकी? म उसलाई चिन्दिनँ त।’’
58. केही क्षणपछि अर्को एक जनाले उनलाई हेरेर भने, ‘‘तँ पनि तिनीहरूमध्येकै एक होस् ।’’ पत्रुसले जवाफ दिए, ‘‘हे मान्छे, म त होइन।’’
59. त्यसको लगत्तै एक घण्टापछि अर्को मानिसले दाबी गर्दै भन्यो, ‘‘ निश्चय यो मान्छे पनि उसको साथमा थियो, किनभने यो पनि गालीली हो।’’
60. तर पत्रुसले त्यस मानिसलाई भने, ‘‘हे मान्छे, तिमीले भनिरहेको कुरा मलाई थाहा छैन।’’ अनि ठीक त्यसैबेला उनी बोल्दै गर्दा भाले बास्यो।
61. त्यसैबेला प्रभु पत्रुसतिर फर्किनुभयो र उनलाई ताकेर हेर्नुभयो अनि ‘‘भाले बास्नुभन्दा अघि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ’’ भनी उहाँले भन्नुभएको कुरा उनले सम्झिए
62. अनि तिनी बाहिर निस्केर धुरुधुरु रुन लागे।
63. तब येशूलाई पक्र नेहरूले उहाँको निन्दा गरे र उहाँलाई पिटे।
64. तिनीहरूले उहाँका आँखा छोपिदिए र थप्पड हान्दै उहाँलाई सोधे, ‘‘ए अगमवक्ता, लौ अब अगमवाणी गर् त, तँलाई थप्पड हान्ने को हो?’’
65. त्यसरी तिनीहरूले चाहिँदा नचाहिँदा कुरा गर्दै उहाँको निन्दा गरे।
66. उज्यालो भएपछि मुख्य पूजाहारीहरू, धार्मिक व्यवस्थाका शिक्षकहरू र अरु अगुवाहरू भेला भए। तिनीहरूले येशूलाई महासभामा उभ्याए।
67. अनि तिनीहरूले उहाँलाई सोधे, ‘‘के तँ ख्रीष्ट नै होस् त? हामीलाई भन्।’’ तर उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, ‘‘यदि मैले हुँ, भने पनि तपाईंहरूले विश्वास गर्नुहुनेछैन।
68. यदि मैले तपाईंहरूसँग केही सोधेँ भने पनि तपाईंहरूले मलाई जवाफ दिनुहुनेछैन।
69. तर अब उप्रान्त मानिसको पुत्र परमेश्वरको शक्तिको दाहिने बाहुलीतर्फ बसेको हुनेछ।’’
70. तब तिनीहरू सबैले सोधे, ‘‘त्यसो भए, के तँ परमेश्वरको पुत्र होस् त?’’ उहाँले जवाफ दिनुभयो, ‘‘म उहाँको पुत्र हुँ, भनेर तपाईंहरू आफै भन्दै हुनुहुन्छ त ।’’
71. तिनीहरूले भने, ‘‘अब हामीलाई अरु साक्षी किन चाहियो र? किनकि हामीले उसकै मुखबाट सुनिहाल्यौं।’’
|