1. तब पवित्र आत्माले भरिपूर्ण भएर येशू यर्दन नदीबाट निस्किनुभयो । पवित्र आत्माले उहाँलाई उजाड-स्थानतिर डोर्याउनुभयो।
2. त्यहाँ शैतानले उहाँलाई चालीस दिनसम्म परीक्षा गर्यो । उहाँले ती दिनहरूमा केही खानु भएन र उहाँ साह्रै भोकाउनुयो।
3. तब शैतानले उहाँलाई भन्यो, ‘‘यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यो ढुङ्गालाई रोटी बनाउनुहोस्।’’
4. तर येशूले त्यसलाई भन्नुभयो, ‘‘लेखिएको छ, ‘मानिस भोजनले मात्र बाँच्दैन’।’’
5. त्यसपछि शैतानले उहाँलाई उच्च ठाउँमा लग्यो र छिनभरमै संसारका सबै राज्यहरू देखायो।
6. त्यसले उहाँलाई भन्यो, ‘‘म यी राज्यहरूको सारा गौरव र अधिकार तपाईंलाई दिनेछु, किनभने यो मलाई सुम्पिएको छ र जसलाई म इच्छा गर्दछु, उसलाई यो दिन्छु।
7. यदि तपाईंले मलाई दण्डवत् गर्नुभयो भने यी सबै थोक तपाईंका हुनेछन्।’’
8. येशूले जवाफ दिनुभयो, ‘‘शैतान, मबाट हटिजा, किनभने लेखिएको छ, ‘तैंले तेरा परमप्रभु आफ्ना परमेश्वरलाई दण्डवत् गर्नू र उहाँको मात्रै सेवा गर्नू’।’’
9. तब शैतानले उहाँलाई यरूशलेम मन्दिरको गजुरमा लग्यो र भन्यो, ‘‘यदि तपाईं परमेश्वरको पुत्र हुनुहुन्छ भने, यहाँबाट हामफाल्नुहोस्,
10. किनभने धर्मशास्त्रले भन्दछ, ‘उहाँले तपाईंको रक्षा गर्नका लागि आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुन्छ।
11. अनि तिनीहरूले तपाईंलाई हातहातै थाम्नेछन् र तपाईंका खुट्टा ढुङ्गामा ठोकिनेछैनन्’।’’
12. येशूले जवाफ दिनुभयो, ‘‘यो पनि लेखिएको छ, ‘तैंले आफ्ना परमप्रभु परमेश्वरको परीक्षा नगर्नू’।’’
13. यी सबै परीक्षा गरिसकेपछि अर्को मौका नआउञ्जेलसम्मको निम्ति शैतानले उहाँलाई छोडेर गयो।
14. त्यसपछि येशू पवित्र आत्माको शक्तिले भरिएर गालीलमा फर्किनुभयो। त्यस वरपरका गाउँभरि उहाँको कीर्ति फैलियो।
15. उहाँले तिनीहरूका सभाघरहरूमा शिक्षा दिनुभयो अनि हरेकले उहाँको प्रशंसा गरे।
16. तब उहाँ आफू हुर्कि एको गाउँ नासरतमा फर्किनुभयो। उहाँ सधैँझैँ विश्राम-दिनमा सभाघरमा जानुभयो र धर्मशास्त्र पाठ गर्नका लागि उभिनुभयो।
17. यशैया अगमवक्ताको पुस्तकको मुट्ठो उहाँलाई दिइयो, जब उहाँले त्यस मुट्ठोलाई खोल्नुभयो तब यस्तो लेखिएको खण्ड भेट्टाउनुभयो :
18. ‘‘परमप्रभुको आत्मा ममाथि हुनुहुन्छ, किनभने उहाँले गरीबहरूलाई सुसमाचार सुनाउनको निम्ति मलाई अभिषेक गर्नुभएको छ। कैदीहरूलाई छुटकाराको सन्देश सुनाउन, अन्धाहरूलाई दृष्टि दिन, थिचोमिचोमा परेकाहरूलाई स्वतन्त्र गराउन,
19. र परमप्रभुको प्रसन्नताको वर्षको घोषणा गर्न उहाँले मलाई पठाउनुभएको छ।’’
20. उहाँले धर्मशास्त्रको मुट्ठो बन्द गर्नुभयो र सेवकलाई दिएर बस्नुभयो, त्यहाँ भएका सबैले उहाँलाई एकटक लगाएर हेरे।
21. तब उहाँले भन्नुभयो, ‘‘तिमीहरूको सुनाइमा यो वचन पूरा भएको छ।’’
22. उहाँको मुखबाट निस्केका अनुग्रहपूर्ण वचन सुनेर तिनीहरू छक्क परे र उहाँको सराहना गरे, तिनीहरूले आपसमा भने ‘‘यस्तो कुरा हुनसक्छ र? के यिनी यूसुफको छोरो होइनन् र ? ’’
23. अनि उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘ निश्चय तिमीहरूले मलाई यो उखान भन्नेछौ, ‘ए वैद्य, आफैलाई निको पार। अथवा तिमीले कफर्नहुममा गरेका आश्चर्यकर्महरू यहाँ आफ्नै गाउँमा पनि गर।’
24. साँच्चै म तिमीहरूलाई भन्दछु, कुनै पनि अगमवक्तालाई आफ्नै गाउँमा स्वीकार गरिँदैन।
25. एलियाको समयमा अवश्य पनि खाँचोमा परेका थुप्रै विधवाहरू थिए, जुन बेला साढे तीन वर्षसम्म पानी परेन र सारा देशभरि अनिकाल पर्यो।
26. तापनि एलियालाई तिनीहरूमध्ये कसैकहाँ पनि पठाइएको थिएन। तर उनलाई सीदोनको सारपतमा एउटी विधवाकहाँ पठाइएको थियो।
27. अगमवक्ता एलीशाको समयमा इस्राएलमा धेरै कुष्ठरोगीहरू थिए तर सिरियाको नामानबाहेक अरु कोही निको पारिएन।’’
28. सभाघरमा बसेका ती मानिसहरू उहाँको कुरा सुनेर अत्यन्तै क्रोधित भए।
29. तिनीहरू रिसले चूर हुँदै उफ्रिँदै कराए र उहाँलाई धकेल्दै शहरबाहिर पहाडमा पुर्याए र भीरबाट खसालिदिनखोजे।
30. तर उहाँ भीडको बीचबाट छिरेर निस्किजानुभयो।
31. त्यसपछि येशू गालीलको कफर्नहुम शहरमा जानुभयो र हरेक विश्रामको दिनमा सभाघरमा गएर शिक्षा दिनुभयो।
32. त्यहाँ पनि मानिसहरू उहाँको शिक्षामा छक्क परे, किनभने उहाँ अधिकारसहित बोल्नुहुन्थ्यो।
33. एकपल्ट येशू सभाघरमा हुनुभएको बेला भूतात्माले सताइएको एउटा मानिस चर्को स्वरले कराउँदै यसो भन्न थाल्यो,
34. ‘‘तपाईं गइहाल्नुहोस्? हे नासरतका येशू, हामीसँग तपाईंको के काम? के तपाईं हामीलाई नाश गर्न आउनुभएको हो? तपाईं परमेश्वरबाट पठाइएको पवित्रजन हुनुहुन्छ भनी म जान्दछु ।’’
35. येशूले त्यसलाई हपारेर भन्नुभयो, ‘‘चुप लाग्, त्यस मानिसबाट निस्किआइज।’’ भीडका मानिसहरूले हेर्दाहेर्दै भूतात्माले त्यस मानिसलाई भुइँमा पछार्यो र त्यसलाई केही हानी नगरी निस्केर गयो।
36. ती मानिसहरूले चकित हुँदै भने, ‘‘यिनको बोलीमा कस्तो अधिकार र शक्ति छ। उहाँले भूतात्माहरूलाई आज्ञा दिनुहुन्छ र ती निस्कन्छन्।’’
37. उहाँको कीर्ति त्यस क्षेत्रभरि फैलियो।
38. त्यस दिन येशू सभाघरबाट निस्किएर सिमोनको घरमा जानुभयो । त्यहाँ उनकी सासू ज्वरोले सिकिस्त थिइन्। त्यहाँ हुने सबैले उहाँसँग विन्ती गरे, ‘‘ कृपया, यिनलाई निको पारिदिनुहोस् ।’’
39. तिनको छेउमा उभिएर उहाँले ज्वरोलाई हप्काउनुभयो र तुरुन्तै ज्वरोले तिनलाई छोडिहाल्यो। तिनी त्यसैबेला उठिन् र घरमा भएका मानिसहरूका लागि भोजन तयार गर्न थालिन्।
40. त्यस दिन घाम अस्ताएपछि गाउँभरिका मानिसहरूले आफ्ना रोगी-बिमारीहरूलाई येशूकहाँ ल्याए। तिनीहरूको रोग जस्तोसुकै भए पनि उहाँले तिनीहरूमाथि आफ्नो हात राखेर सबैलाई निको पार्नुभयो।
41. तीमध्ये कोही-कोही भूतात्माले ग्रस्त थिए र उहाँले आज्ञा गर्नुहुँदा भूतात्माहरू चिच्च्याउँदै र यसो भन्दै निस्के, ‘‘तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।’’ तर उहाँले तिनीहरूलाई बोल्न दिनुभएन, किनकि उहाँ ख्रीष्ट हुनुहुन्छ भनी तिनीहरू जान्दथे।
42. भोलिपल्ट एकाबिहानै येशू उजाड-स्थानतिर जानुभयो। भीडले उहाँलाई खोजे, आखिरमा उहाँलाई भेट्टाएपछि तिनीहरूले यसो भन्दै विन्ती गरे, ‘‘हामीहरूलाई छोडेर नजानुहोस्।’’
43. तर उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, ‘‘मैले अरु ठाउँमा पनि परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्नुपर्छ, यही उद्देश्यको निम्ति मलाई पठाइएको हो।’’
44. त्यसरी यहूदियाभरि नै उहाँ सभाघरहरूमा पसेर प्रचार गरिरहनुभयो।
|