1. एक दिन येशू गनेसरेत झीलको किनारमा प्रचार गरिरहनुभएको थियो र परमेश्वरको वचन सुन्नलाई मानिसहरूको ठूलो घुइँचो लाग्यो।
2. उहाँले नजिकै किनारमा राखेका दुई डुङ्गाहरू देख्नुभयो, ती डुङ्गाका मछुवाहरू पाखामा निस्किएर जाल धुँदै थिए।
3. एउटा डुङ्गामा चढेर उहाँले त्यो डुङ्गाको मालिक सिमोनलाई केही परतिर धकेल्न लगाउनुभयो। यसरी उहाँ डुङ्गामा बस्नुभयो र त्यहीँबाट भीडलाई शिक्षा दिनुभयो।
4. बोलिसक्नुभएपछि उहाँले सिमोनलाई भन्नुभयो, ‘‘यो डुङ्गालाई गहिरोतिर लैजाऊ र जाल हान, तिमीले धेरै माछा पक्रनेछौ। ’’
5. सिमोनले जवाफ दिए, ‘‘प्रभु, हामीले रातभरि जाल हान्यौं र पनि केही समात्न सकेनौं । तर तपाईंं यसै भन्नुहुन्छ भने हामी फे रि कोशिश गरी हेरौंला।’’
6. यसपल्ट तिनीहरूको जालभरि माछा परे र माछा धेरै भएकोले जाल च्यातिन लाग्यो ।
7. तिनीहरूले अर्को डुङ्गामा भएकाहरूसँग गुहार मागे, ती दुवै डुङ्गाहरू माछाले भरिएर डुब्न लाग्यो।
8. सिमोन पत्रुसले त्यो देखेर येशूको सामु घुँडा टेक्दै भने, ‘‘हे प्रभु ! तपाईं मबाट गइहाल्नुहोस् किनभने म तपाईंको छेउमा उभिन नसक्ने घोर पापी हुँ। ’’
9. किनभने त्यति बिघ्न माछा जालमा परेको देखेर तिनी र अर्को डुङ्गामा हुनेहरू सबै चकित भएका थिए।
10. तिनका साझेदार, जब्दियाका छोराहरू याकूब र यूहन्ना पनि आश्चर्यले चकित भएका थिए। येशूले सिमोनलाई भन्नुभयो, ‘‘नडराऊ, अबदेखि तिमीले मानिसहरूलाई पक्रनेछौ । ’’
11. तिनीहरूले आफ्ना डुङ्गाहरू पाखामा ल्याए र सबै थोक छोडेर येशूको पछि लागे।
12. येशू गाउँनेर पुग्नुहुँदा कुष्ठरोगले शरीर पूरै ग्रसित एउटा मानिससँग उहाँको भेट भयो। जब त्यसले येशूलाई देख्यो, तब भुइँसम्मै निहुरिएर विन्ती गर्दै भन्यो, ‘‘प्रभु तपाईंले चाहनुभयो भने म शुद्ध हुनसक्ने थिएँ।’’
13. येशूले त्यसलाई छुनुभयो र भन्नुभयो, ‘‘म चाहन्छु, तिमी शुद्ध होऊ ।’’ अनि तुरुन्तै त्यसको कुष्ठरोग हटिहाल्यो।
14. तब उहाँले त्यसलाई आज्ञा दिँदै भन्नुभयो, ‘‘यो कुरा कसैलाई नभन्नू, सीधै पूजाहारीकहाँ गएर आफूलाई देखाऊ र आफू निको भएको प्रमाणस्वरूप मोशाको व्यवस्थाअनुसार शुद्धीकरणको निम्ति बलिदान चढाऊ।’’
15. तापनि उहाँको कीर्ति चारैतिर फैलियो । यो खबर सुनेर मानिसका ठूला-ठूला भीड उहाँको वचन सुन्न र निको हुन भनी उहाँकहाँ आए ।
16. तर येशू एकलै प्रार्थना गर्न घरीघरी उजाड-स्थानमा जानुहुन्थ्यो।
17. एक दिन येशूले शिक्षा दिइरहनुभएको बेला गालील र यहूदियाका हरेक गाउँहरू र यरूशलेमबाट आएका केही फरिसी र धार्मिक व्यवस्थाका शिक्षकहरू उहाँको छेवैमा बसिरहेका थिए। परमेश्वरको निको पार्ने शक्ति उहाँको साथमा थियो ।
18. केही मानिसहरू एउटा पक्षाघातीलाई गुन्द्रीमा बोकेर त्यहाँ आए। तिनीहरूले भीडलाई छिचोलेर येशूकहाँ पुग्ने खुबै प्रयास गरे।
19. तर तिनीहरू उहाँसम्म पुग्न सकेनन्। त्यसकारण तिनीहरूले छानामा चढेर येशू बस्नुभएको ठीक माथिको छाना उप्काए र त्यहाँबाट तिनीहरूले त्यस बिरामीलाई गुन्द्रीसहित येशूको अघिल्तिर झारे।
20. तिनीहरूको विश्वास देखेर येशूले त्यस पक्षाघातीलाई भन्नुभयो, ‘‘छोरा, तिम्रा पाप क्षमा भएका छन् ।’’
21. फरिसी र धार्मिक व्यवस्थाका शिक्षकहरूले भने, ‘‘यस मानिसले आफैलाई के ठान्छ हँ ? यो त ईश्वर-निन्दा हो । परमेश्वरबाहेक अरु कसले मानिसको पाप क्षमा गर्नसक्छ?’’
22. तिनीहरूले के सोचिरहेका छन् भन्ने थाहा पाएर येशूले सोध्नुभयो, ‘‘तिमीहरू यसलाई किन ईश्वर-निन्दा ठान्छौ?
23. ‘तिम्रो पाप क्षमा भयो’ भन्नु वा ‘उठ र हिँड’ भन्नुमा कुन सजिलो हो?
24. तर तिमीहरूले यो कुरा जान: म, मानिसको पुत्रसँग पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ।’’त्यसपछि त्यस पक्षाघातीतर्फ फर्किएर उहाँले भन्नुभयो, ‘‘उठ, तिमी निको भएका छौ, आफ्नो गुन्द्री उठाऊ र घर जाऊ।’’
25. सबैले हेर्दाहेर्दै त्यो मानिस जुरुक्क उठयो र आफ्नो गुन्द्री उठाएर परमेश्वरको प्रशंसा गर्दै घरतिर लाग्यो।
26. त्यो घटना देखेर सबै मानिसहरू आश्चर्यचकित भए र भयभीत भएर यसो भन्दै परमेश्वरको प्रशंसा गरे,‘‘आज हामीले बडो अनौठो कुरा देख्यौं।’’
27. त्यसपछि गाउँबाट निस्किएर जाँदै गर्दा उहाँले लेवी नाउँको मानिसलाई महसुल उठाउने अड्डामा बसिरहेको देख्नुभयो र उसलाई भन्नुभयो, ‘‘आऊ, मेरोपछि लाग।’’
28. त्यसरी लेवी आफ्ना सबै थोक त्यहीँ छोडेर उठे र उहाँको पछि लागे।
29. त्यसको लगत्तैपछि लेवीले आफ्नो घरमा भोज राखे र येशूलाई बडो आदर गरेर निम्त्याए। लेवीका महसुल उठाउने अन्य साथीहरू र अरु पनि धेरै मानिसहरू त्यहाँ भेला भएका थिए।
30. तर फरिसीहरू र तिनीहरूको धार्मिक व्यवस्थाका शिक्षकहरूले येशूका चेलाहरूसँग गुनासो गर्दै भने, ‘‘तिमीहरू किन यस्ता पापीहरूसित बसेर खानपिन गर्छौ?’’
31. येशूले तिनीहरूलाई जवाफ दिनुभयो, ‘‘निरोगी मानिसलाई वैद्यको खाँचो पर्दैन तर रोगीलाई पर्छ ।
32. म धर्मीहरूलाई होइन, तर पापीहरूलाई पश्चात्तापको निम्ति बोलाउन आएको हुँ।’’
33. धार्मिक अगुवाहरूले उहाँलाई भने, ‘‘यूहन्नाका चेलाहरू सधैँ उपवास र प्रार्थना गर्छन् र फरिसीहरूका चेलाहरू पनि त्यसै गर्छन् । तर तपाईंका चेलाहरू किन खान्छन् र पिउँछन्? ’’
34. येशूले सोध्नुभयो, ‘‘के दुलहासँग आनन्द मनाइरहेका जन्तीहरू उपवास बस्छन् र?
35. कुनै दिन तिनीहरूबाट दुलहालाई लगिनेछ र त्यसपछि तिनीहरू उपवास बस्नेछन् ।’’
36. अनि येशूले यस्तो उदाहरण दिनुभयो, ‘‘कसैले पनि नयाँ कपडाको टालोले पुरानो कपडा टाल्दैन। त्यसो भयो भने त्यो नयाँ टालो त च्यातिन्छ नै र पुरानोसँग मेल पनि खाँदैन।
37. त्यसैगरी पुरानो मशकमा कसैले पनि नयाँ अङ्गुरमद्य हाल्दैन, हाल्यो भने नयाँ अङ्गुरमद्यले पुरानो मशकलाई फटाउँछ र अङ्गुरमद्य पोखिन्छ।
38. नयाँ अङ्गुरमद्य नयैँ मशकमा राख्नुपर्छ।
39. पुरानो अङ्गुरमद्य पिएर कसैले नयाँको चाह गर्दैन, किनभने उसले भन्छ, ‘पुरानै असल छ’।’’
|