1. विश्रामको दिन येशू खेतबाट गइरहनुभएको थियो । उहाँका चेलाहरूले गहुँका बाला टिपेर माड्दै खानथाले।
2. त्यो देखेर केही फरिसीहरूले येशूलाई भने, ‘‘यिनीहरूले यस्तो गर्नुहुँदैनथ्यो। विश्रामको दिनमा फसलको कुनै काम गर्नु व्यवस्थाको विरुद्धमा हुन्छ।’’
3. येशूले जवाफ दिनुभयो, ‘‘तिमीहरूले धर्मशास्त्रमा पढेका छैनौ? दाऊद र तिनका मानिसहरूले भोकाउँदा के गरे?
4. तिनी परमप्रभुको मन्दिरभित्र पसे र पूजाहारीहरूको निम्ति मात्रै अलग गरिएको रोटी आफू ले खाए र आफ्ना मानिसहरूलाई पनि दिए। त्यो पनि त व्यवस्थाको विरुद्धमा थियो।’’
5. अनि येशूले अझै भन्नुभयो, ‘‘ म, मानिसको पुत्र त विश्राम-दिनको पनि प्रभु हुँ।’’
6. अर्को विश्रामको दिन येशूले सभाघरमा गएर शिक्षा दिइरहनुभएको थियो। त्यहाँ दाहिने हात सुकेको एउटा मानिस पनि थियो।
7. धार्मिक व्यवस्थाका शिक्षकहरू र फरिसीहरूले येशूको चेवा गरिरहेका थिए। येशूले त्यस मानिसलाई विश्राम-दिनमा निको पार्नुभयो भने उहाँलाई व्यवस्था उल्लङ्घन गरेको आरोप लगाउन सकिन्छ भनी तिनीहरू पर्खिरहेका थिए।
8. तर तिनीहरू के विचार गर्दैछन् भन्ने कुरा थाहा पाएर उहाँले त्यस हात सुकेको मानिसलाई भन्नुभयो, ‘‘उठ र यहाँ माझमा खडा होऊ।’’ यसरी त्यो मानिस अगाडि आयो।
9. येशूले आफ्ना आलोचकहरूलाई भन्नुभयो, ‘‘म तिमीहरूलाई एउटा प्रश्न सोध्छु, विश्रामको दिनमा असल काम गर्नु उचित हो कि खराब ? यो ज्यान बचाउने दिन हो कि नाश पार्ने?’’
10. उहाँले ती हरेकलाई पालैपालो हेर्नुभयो र त्यस मानिसलाई भन्नुभयो, ‘‘तिम्रो हात पसार ।’’ त्यसले हात पसार्यो र त्यो ठीक भइहाल्यो।
11. त्यो देखेर येशूका शत्रुहरू ज्यादै क्रोधित भए र अब उहाँलाई के गर्ने भनी आपसमा छलफल गर्नलागे।
12. त्यसको लगत्तैपछि एक दिन येशू पहाडतिर प्रार्थना गर्न जानुभयो र रातभरि परमेश्वरसँग प्र्रार्थना गर्नुभयो ।
13. बिहान उज्यालो भएपछि उहाँले आफ्ना सबै चेलाहरूलाई बोलाउनुभयो। अनि तीमध्ये बाह्र जनालाई छानेर तिनीहरूलाई प्रेरित नाम दिनुभयो, तिनीहरू यिनै हुन्:
14. सिमोन- जसलाई पत्रुस पनि भनिन्छ, अन्द्रियास- जो पत्रुसको दाजु हो, याकूब, यूहन्ना, फिलिप बारथोलोमाइ,
15. मत्ती, थोमा, याकूब- जो अल्फयसको छोरो हो, सिमोन कनानी- उनलाई उग्रपन्थी पनि भनिएको छ।
16. यहूदा, जो याकूबको छोरो हो र यहूदा इस्करियोत, जसले येशूलाई धोका दिएको थियो।
17. उहाँहरू पहाडबाट ओर्लनुभएपछि एउटा समतल जग्गामा उभिनुभयो। उहाँको वरिपरि सबै चेलाहरू र सारा यहूदिया, यरूशलेम, टुरोस अनि सीदोन समुद्रको उत्तरी किनारबाट आएका धेरै मानिसहरूको ठूलो भीड लागेको थियो।
18. तिनीहरू उहाँको वचन सुन्न र आफ्ना रोग- बिमारबाट निको हुनआएका थिए। अनि उहाँले तिनीहरूमध्ये धेरै जनाबाट भूतात्माहरू निकाल्नुभयो।
19. सबैले उहाँलाई छुने कोशिश गरिरहेका थिए, किनकि उहाँबाट निको पार्ने शक्ति निस्किएर धेरैलाई निको पारिरहेको थियो।
20. तब येशू आफ्ना चेलाहरूतिर फर्किनुभयो र भन्नुभयो, ‘‘धन्य तिमी गरीबहरू, किनभने परमेश्वरको राज्य तिमीहरूलाई दिइएको छ।
21. धन्य अहिले भोकाउनेहरू, किनभने तिमीहरू तृप्त हुनेछौ। धन्य अहिले रुनेहरू, किनभने तिमीहरू आनन्दित भएर रमाउने समय आउनेछ।
22. धन्य तिमीहरू, जब मानिसहरूले तिमीहरूलाई मानिसको पुत्रको खातिर घृणा गर्नेछन्, बहिष्कार गर्नेछन्, गिल्ला गर्नेछन् र दुष्ट ठानी तिमीहरूका नाउँलाई अपमान गर्नेछन्।
23. त्यस दिन रमाओ र खुशीले उफ्र, किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ किनकि तिनीहरूका पुर्खाहरूले अगमवक्ताहरूलाई त्यसै गरेथे।
24. धिक्कार, तिमी धनीहरू, किनभने तिमीहरूले अहिल्यै सुख-चैन भोगिसकेका छौ।
25. धिक्कार, तिमी अहिले तृप्त हुनेहरू, किनभने तिमीहरूको अघि भोको रहनुपर्ने समय आउँदै छ, धिक्कार, तिमी निस्फिक्री भई हाँस्नेहरू किनभने तिमीहरूको हाँसो शोकमा परिणत हुनेछ।
26. धिक्कार, तिमी सबै मानिसबाट प्रशंसा पाउनेहरू, किनभने तिनीहरूका पुर्खाहरूले पनि झूटा अगमवक्ताहरूको प्रशंसा गरेका थिए।
27. तर तिमीहरू मेरा वचन सुन्न चाहन्छौ भने म भन्छु, तिम्रो शत्रुलाई प्रेम गर। जसले तिमीहरूलाई घृणा गर्छन्, तिनीहरूको भलाइ गर ।
28. जसले तिमीहरूलाई सराप्छन्, तिनीहरूलाई आशिष् देऊ । तिमीहरूलाई दुर्व्यवहार गर्नेहरूको निम्ति प्रार्थना गर ।
29. तिमीसँग भएको चीज माग्नेलाई देऊ अनि तिमीबाट लगिएको चीज फिर्ता लिने प्रयत्न नगर।
30. अरुले तिम्रोलागि जस्तो गरून् भन्ने चाहन्छौ, तिमीले पनि अरुको निम्ति त्यस्तै गर।
31. अरुले तिम्रोलागि जस्तो गरून् भन्ने चाहन्छौ, तिमीले पनि अरुको निम्ति त्यस्तै गर।
32. आफूलाई प्रेम गर्नेलाई मात्रै प्रेम गर्छौ भने त्यो कुन ठूलो कुरा हो र? पापीहरू पनि त त्यसै गर्छन्।
33. आफ्नो उपकार गर्नेको मात्र उपकार गर्छौ भने त्यो कुन ठूलो कुरा हो र? त्यति त पापीहरूले पनि गर्छन् ।
34. यदि फर्काउन सक्नेलाई मात्र सापटी दिन्छौ भने के असल गर्यौ र? किनकि पापीहरूले पनि फेरि उत्ति नै फिर्ता पाउने आशा राखेर आफूजस्तैहरूलाई सापटी दिन्छन्।
35. तर आफ्ना शत्रुहरूलाई प्रेम गर। तिनीहरूको भलाइ गर। तिनीहरूलाई फिर्ता पाउने आशा नराखी देऊ । तब स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ। यसरी तिमीहरू सर्वोच्च परमेश्वरका सन्तान हुनेछौ, किनभने उहाँ बैगुनी र दुष्टहरूप्रति पनि कृपालु हुनुहुन्छ।
36. तिमीहरू पनि आफ्ना पिताजस्तै कृपालु हुनुपर्छ।
37. अरुको न्याय नगर र तिमीहरूको पनि न्याय गरिनेछैन। अरुलाई दोष लगाउन छोड र तिमीलाई दोष लगाइनेछैन। यदि तिमीले अरुलाई क्षमा गर्यौ भने तिमीलाई पनि क्षमा गरिनेछ।
38. यदि तिमीले दियौ भने तिमीलाई पनि दिइनेछ, तिमीलाई दिइने त्यो उपहार खाँदी-खाँदी, हल्लाइ-हल्लाइ र पोखिनेगरी पोल्टामा दिइनेछ। तिमीले अरुलाई दिँदा जुन नापले दिन्छौ, तिमीलार्ई पनि त्यही नापले दिइनेछ।’’
39. अनि येशूले यो दृष्टान्त भन्नुभयो : ‘‘अन्धाले अन्धालाई डोर्याउन सक्दैन, के सक्छ र? के ती दुवै खाल्डोमा पर्दैनन् र?
40. विद्यार्थी आफ्नै शिक्षकभन्दा ठूलो हुँदैन तर कडा परिश्रम गर्ने विद्यार्थी शिक्षकजस्तै हुनसक्छ।
41. जब तिम्रो आफ्नै आँखामा मूढो छ भने भाइको आँखामा भएको कसिङ्गरको किन चिन्ता गर्छौ?
42. जब तिम्रो आफ्नै आँखामा मूढो छ र देख्न सक्तैनौ भने तिम्रो भाइको आँखामा भएको कसिङ्गर निकाल्छु भन्दै कसरी अघि सर्न सक्छौ? ए कपटीपाखण्डी, पहिले आफ्नै आँखाको मूढो निकाल र बल्ल तिमीले आफ्नो भाइको आँखामा भएको कसिङ्गर निकाल्न सकौला।
43. असल रूखले खराब फल फलाउँदैन र खराब रूखले असल फल फलाउन सक्दैन।
44. रूखलाई त्यसको फलद्वारा चिनिन्छ। काँडाको झ्याङमा नेभारो फल्दैन, अनि एेसेलुको झ्याङमा अङ्गुर फल्दैन।
45. असल व्यक्तिले आफ्नो असल हृदयबाट असलै कुरा निकाल्दछ, अनि दुष्टले आफ्नो दुष्ट हृदयबाट दुष्टै कुरा निकाल्दछ। तिम्रो मुखले तिम्रो हृदयमा भएका कुरा बोल्दछ। ग
46. तिमीहरू मेरा आज्ञापालन गर्दैनौ भने मलाई किन ‘प्रभु, प्रभु’ भन्छौ?
47. जो मकहाँ आएर मेरा वचनहरू सुन्छ र ती पालन गर्छ, त्यो कस्तो मानिस हो, म तिमीहरूलाई बताउँछु।
48. ऊ, त्यो मानिसजस्तो हो, जसले गहिरो खन्यो र चट्टानमाथि जग बसालेर घर बनायो। जब बाढी आयो र त्यस घरमा बजारियो, तैपनि त्यो घरलाई केही पनि भएन।
49. तर मेरा वचन सुनेर पनि त्यसअनुसार नगर्ने मानिस, त्यो व्यक्तिजस्तो हो, जसले जग नखनी घर बनायो। जब बाढी आयो र घरमाथि बजारियो तब त्यो घर पूर्णरूपले ध्वस्त भयो।’’
|