1. त्यसपछि उहाँ कफर्नहुम छाडेर यहूदियाको दक्षिणी मुलुक यर्दन नदीको पूर्वी इलाकामा जानुभयो। सधैँझैँ त्यहाँ ठूलो घुइँचो थियो र उहाँले तिनीहरूलाई शिक्षा दिनुभयो।
2. केही फरिसीहरू आए अनि यस्तो प्रश्न सोधेर उहाँलाई अप्ठयारोमा पार्ने कोशिश गरे : ‘‘के एउटा मानिसले उसकी पत्नीलाई त्याग्न उचित छ?’’
3. येशूले तिनीहरूलाई नै सोध्नुभयो, ‘‘मोशाले यस विषयमा के भनेका छन्?’’
4. तिनीहरूले जवाफ दिए, ‘‘उनले त त्यसो गर्ने अनुमति दिएका छन्। मानिसले उसकी पत्नीलाई त्यागपत्र लेखेर छाड्न सक्छ।’’
5. तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो, ‘‘तिमीहरूका हृदयको कठोरताको कारणले गर्दा नै मोशाले त्यस्तो आज्ञा लेखे।
6. तर सृष्टिको आदिकालदेखि नै परमेश्वरले तिनीहरूलाई पुरुष र स्त्री बनाउनुभयो।
7. यसैले ‘मानिसले आफ्ना आमा- बुबालाई छोड्छ र आफ्नी पत्नीसँगै मिलिरहन्छ
8. र ती दुवै मिलेर एउटै शरीर हुनेछन्, किनभने तिनीहरू अब दुई होइनन्, बरु एउटै शरीर हुन्छन्।’
9. यसकारण परमेश्वरले जसलाई एकसाथ जोर्नुभएको छ, मानिसले नछुट्टयाओस्।’’
10. पछि, उहाँ चेलाहरूसँग घरमा हुनुभएको बेला, तिनीहरूले त्यही विषयमा फेरि कुरा निकाले।
11. उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘आफ्नी पत्नीलाई त्यागेर अर्कीसँग विवाह गर्नेले त्यसको विरुद्धमा व्यभिचार गर्छ ।
12. त्यसैगरी, एउटी स्त्रीले आफ्नो पतिलाई त्यागेर अर्कोसँग विवाह गर्छे भने त्यसले पनि व्यभिचार गर्छे।’’
13. येशूले साना बालबालिकाहरूलाई छोएर आशिष् देऊन् भनी मानिसहरूले तिनीहरूलाई उहाँकहाँ ल्याए तर चेलाहरूले तिनीहरूलाई हप्काए।
14. यो देखेर उहाँ चेलाहरूसँग अप्रसन्न हुनुभयो र भन्नुभयो, ‘‘ती बालबालिकाहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक, किनभने परमेश्वरको राज्य यस्तैहरूको हो।
15. साँच्चै म तिमीहरूलाई भन्दछु, जसले परमेश्वरको राज्यलाई एउटा बालकले झैँ स्वीकार गर्दैन ऊ त्यसमा कहिले पस्नेछैन ।’’
16. तब उहाँले ती बालबालिकाहरूलाई अँगालोमा लिनुभयो र तिनीहरूका शिरमा हात राखी आशिष् दिनुभयो।
17. येशू त्यहाँबाट हिँड्न लाग्नुहुँदा एउटा मानिस दगुर्दै उहाँकहाँ आयो। त्यसले घुँडा टेक्दै सोध्यो, ‘‘हे असल गुरु, अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ?’’
18. येशूले त्यसलाई सोध्नुभयो, ‘‘तिमी मलाई किन असल भन्छौ? परमेश्वर मात्रै साँच्चै असल हुनुहुन्छ।
19. तर जहाँसम्म तिम्रो प्रश्न छ, तिमी व्यवस्थाका यी आज्ञाहरू त जान्दछौ: हत्या नगर, व्यभिचार नगर, नचोर, झूटो साक्षी नदेओ, नठग र आफ्ना आमा-बुबालाई आदर गर।’’
20. त्यस मानिसले भन्यो, ‘‘गुरुज्यू, मैले ती सबै आज्ञाहरू बालककालदेखि नै पालन गर्दै आएको छु।’’
21. येशूले त्यसलाई हेर्दै प्रेमपूर्वक भन्नुभयो, ‘‘तिमीसँग एउटै कुराको मात्र कमी छ, जाऊ, तिमीसँग भएका सबै थोक बेच र गरीबहरूलाई बाँडिदेऊ अनि तिमीले स्वर्गमा धेरै धनसम्पत्ति पाउनेछौ। त्यसपछि आएर मेरोपछि लाग।’’
22. यो कुरा सुनेर त्यो मानिस निराश भयो र घोसेमुन्टो लगाएर त्यहाँबाट गइहाल्यो, किनभने ऊ असाध्यै धनी थियो।
23. येशूले वरिपरि हेर्दै चेलाहरूलाई भन्नुभयो, ‘‘धनी मानिसहरूलाई परमेश्वरको राज्यमा प्रवेश गर्न कति कठिन हुन्छ !’’
24. उहाँको कुराले चेलाहरू चकित भए। तर उहाँले अझै भन्नुभयो, ‘‘प्रिय बालक हो, धनसम्पत्तिमा भरोसा राख्नेहरूलाई परमेश्वरको राज्यमा प्रवेश गर्न निकै कठिन छ ।
25. एउटा धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नुभन्दा त ऊँटलाई सियोको नाथ्रीमा छिर्न सजिलो हुन्छ।’’
26. चेलाहरूले अझै चकित हुँदै उहाँलाई सोधे, ‘‘त्यसो भए संसारमा कसले उद्धार पाउला त?’’
27. येशूले एकटक लाएर हेर्दै भन्नुभयो,‘‘मानिसको दृष्टिमा यो असम्भव छ तर परमेश्वरमा सबै कुरा सम्भव छ।’’
28. पत्रुसले उहाँलाई भने, ‘‘हामीले तपाईंलाई पछयाउन सबै थोक त्यागेर आएका छौं।’’
29. येशूले जवाफ दिनुभयो, ‘‘साँच्चै म तिमीहरूलाई भन्दछु, जसले मेरो र सुसमाचारको खातिर आफ्नो घर वा दाजुभाइ वा दिदीबहिनी वा आमा-बुबा वा छोराछोरी वा सम्पत्ति त्यागेको छ,
30. उसले यस संसारमा सतावटको साथसाथै सयौं गुणा बढ्ता गरेर घरहरू, दाजुभाइहरू, दिदीबहिनीहरू, आमा-बुबाहरू, छोराछोरीहरू र धनसम्पत्ति प्राप्त गर्नेछ, साथै आउँदो युगमा उसले अनन्त जीवन पाउनेछ।
31. तर धेरै जना, जो पहिला छन्, पछिल्ला हुनेछन् र पछिल्लाहरू पहिला हुनेछन्।’’
32. उहाँहरू माथि यरूशलेमतिर जाँदै हुनुहुन्थ्यो, येशू सबैभन्दा अगाडि हिँडिरहनुभएको थियो। चेलाहरू बेचैन थिए र पछिपछि आउने मानिसहरू सबै नै भयभीत थिए । बाह्र चेलाहरूलाई एकातिर लगेर फेरि एकचोटि येशूले यरूशलेममा आफूमाथि के के हुनआउनेछ भनेर बताउन लाग्नुभयो।
33. उहाँले भन्नुभयो, ‘‘हामी जब यरूशलेम पुग्छौं, मानिसको पुत्रलाई धोका दिएर मुख्य पूजाहारीहरू र धार्मिक व्यवस्थाका शिक्षकहरूको हातमा सुम्पिनेछ। तिनीहरूले उसलाई मृत्युदण्ड तोक्नेछन् र रोमीहरूका हातमा सुम्पिनेछन्।
34. तिनीहरूले उसलाई गिल्ला गर्नेछन्, थुक्नेछन्, कोर्राले चुट्नेछन् र मार्नेछन्। तर त्यसको तीन दिनपछि ऊ फेरि मृतकबाट जीवित भई उठ्नेछ।’’
35. त्यसपछि जब्दियाका छोराहरू, यूहन्ना र याकूब उहाँकहाँ आएर भने, ‘‘गुरुज्यू, तपाईंले हामीलाई विशेष कृपा गरिदिनुहोस् भन्ने हामी चाहन्छौं।’’
36. उहाँले तिनीहरूलाई सोध्नुभयो, ‘‘म तिमीहरूको निम्ति के गरूँ भन्ने चाहन्छौ?’’
37. तिनीहरूले उहाँलाई भने, ‘‘तपाईंको महिमित राज्यमा हामी दुई दाजुभाइ तपाईंको दाहिने र देब्रेपट्टि आदरको स्थानमा बस्न पाऊँ।’’
38. तर येशूले तिनीहरूलाई भन्नुभयो, ‘‘तिमीहरू के मागिरहेका छौ त्यो बुझ्दैनौ। के मैले पिउनलागेको कचौराबाट तिमीहरू पनि पिउन सक्छौ र? के मैले लिनैपर्ने बप्तिस्मा तिमीहरू पनि लिन सक्छौ?’’
39. तिनीहरूले जवाफ दिए, ‘‘हजूर, हामी सक्छौं।’’ अनि येशूले भन्नुभयो, ‘‘तिमीहरूले मेरो कचौराबाट पिउनेछौ र मैले लिएको बप्तिस्मा लिनेछौ,
40. तर मेरो दाहिने र देब्रेतिर को बस्न पाउँछ भन्ने अधिकार मसँग छैन। परमेश्वरले नै मेरो दाहिने र देब्रेतिर बस्ने व्यक्तिहरू रोजिसक्नुभएको छ।’’
41. यो कुरा सुनेर ती दश जना, याकूब र यूहन्नासँग रिसाए।
42. यसकारण येशूले सबैलाई भेला गरेर भन्नुभयो,‘‘तिमीहरूलाई थाहा छ, संसारका राजाहरू निरङ्कुश छन् र शासन गर्ने अधिकारीहरूले जनतामाथि आफ्नो प्रभुत्व जमाउँछन्।
43. तर तिमीहरूको बीचमा त त्यस्तो हुनुहुँदैन, तिमीहरूमध्ये जो अगुवा बन्ने इच्छा गर्छ, ऊ तिमीहरूको सेवक हुनुपर्छ।
44. अनि जो पहिलो हुने इच्छा गर्छ, ऊ तिमीहरूको दास हुनुपर्छ।
45. किनभने म, मानिसको पुत्र आफै पनि अरुबाट सेवा पाउन आएको होइनँ तर अरुको सेवा गर्न र धेरैको निम्ति छुटकाराको मोलको रूपमा आफ्नो प्राण अर्पण गर्न आएको हुँ।’’
46. उहाँहरू यरीहोमा पुग्नुभयो। पछि येशू र चेलाहरूले त्यो ठाउँ छोडेर जाँदै गर्दा एउटा ठूलो भीडले पछयाइरहेको थियो। तिमैको छोरो बर्तिमै, अन्धो भिखारी सडक छेउमा बसिरहेको थियो र येशू त्यही बाटो भएर जाँदै हुनुहुन्थ्यो।
47. नासरतबाट आउनुभएका येशू नजिकै हुनुहुन्छ भन्ने सुनेर ऊ कराउन थाल्यो, ‘‘हे येशू, दाऊदको छोरो, ममाथि कृपा गर्नुहोस्।’’
48. कसै-कसैले उसलाई यसरी हप्काए, ‘‘एई चुप लाग्।’’ तर ऊ अझै जोडसित कराइरह्यो, ‘‘हे दाऊदको छोरा, ममाथि दया गर्नुहोस्।’’
49. येशूले उसको पुकारा सुन्नुभयो र टक्क अडिएर भन्नुभयो,‘‘उसलाई यहाँ बोलाऊ।’’ अनि मानिसहरूले उसलाई बोलाउँदै भने, ‘‘साहस गर्, उहाँले तँलाई बोलाउँदै हुनुहुन्छ, आइज।’’
50. बर्तिमैले आफ्नो खास्टो एकातिर मिल्कायो र जुरुक्क उठेर येशूकहाँ आयो।
51. येशूले उसलाई सोध्नुभयो,‘‘मैले तिम्रो लागि के गरिदिऊँ भन्ने चाहन्छौ?’’ उसले भन्यो,‘‘गुरुज्यू, म देख्न चाहन्छु।’’
52. अनि येशूले उसलाई भन्नुभयो, ‘‘आफ्नो बाटो लाग, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।’’ त्यति नै बेला उसले देख्नसक्योर ऊ बाटोमा येशूको पछि लाग्यो।
|