1. येशू र उहाँका चेलाहरू यरूशलेमतिर आउँदै गर्नुहुँदा उहाँहरू जैतुन डाँडाको बेथफागे र बेथानी शहरहरूमा आइपुग्नुभयो। उहाँले चेलाहरूमध्ये दुई जनालाई अघिअघि पठाउनुभयो।
2. उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘सामुन्नेको गाउँमा जाओ, त्यहाँ पस्दै गर्दा तिमीहरूले कहिल्यै कोही नचढेको एउटा गधाको बछेडो बाँधिराखेको भेट्टाउनेछौ। त्यसलाई खोलेर यहाँ ल्याओ।
3. यदि कसैले तिमीहरूलाई के गरेको भनी सोध्यो भने यसो भन्नू, ‘हाम्रा गुरुलाई यसको आवश्यकता छ र उहाँले चाँडै फर्काउनुहुनेछ’। ’’
4. चेलाहरू गए र तिनीहरूलाई भनिएझैँ घरबाहिर सडकमा बछेडोलाई बाँधिराखेको भेट्टाए।
5. तिनीहरूले त्यसलाई फुकाउँदै गर्दा नजिकैबाट कसैले सोध्यो, ‘‘यसलाई फुकाएर तिमीहरूले के गर्न लागेका?’’
6. येशूले अह्राउनुभएकै कुरा तिनीहरूले भने र उनीहरूले त्यो बछेडालाई लैजाने अनुमति पाए।
7. त्यसपछि तिनीहरूले त्यस बछेडालाई येशूकहाँ ल्याए र तिनीहरूले आफ्नो वस्त्र फुकालेर त्यसको ढाडमा ओछयाइदिए अनि उहाँ त्यसमाथि चढ्नुभयो।
8. भीडमा भएका धेरैले आफ्नो खास्टोहरू फुकालेर येशूको अघिअघि बाटोमा ओछयाइदिए, अरु कतिले वरपर भएका स्याउलाहरू काटेर ल्याई बाटोभरि बिछयाइदिए।
9. उहाँ ठूलो भीडको बीचमा हुनुहुन्थ्यो। सम्पूर्ण भीड नै यसो भनेर जोडले कराउँदै थियो, ‘‘परमेश्वरलाई स्तुति होस् ! परमप्रभुको नाउँमा आउनुहुने धन्यका हुन् !
10. हाम्रा पुर्खा दाऊदको आउने राज्य धन्यको होस् ! सर्वोच्च स्वर्गमा हुनुहुने हाम्रा परमेश्वरलाई स्तुति होस् !’’
11. यसरी येशू यरूशलेममा आइपुग्नुभयो र मन्दिरमा जानुभयो; उहाँले त्यहाँ वरपर राम्ररी हेर्नुभयो र अबेर भएको हुनाले उहाँ त्यहाँबाट निस्किएर बाह्र चेलाहरूलाई साथमा लिएर बेथानीतिर जानुभयो।
12. भोलिपल्ट बिहान बेथानीबाट निस्केर जाँदै गर्दा येशू भोकाउनुभयो।
13. येशूले केही पर एउटा झ्याम्म परेको नेभारोको रूखलाई देख्नुभयो र त्यसमा केही फल लागेको छ कि भनेर हेर्न उहाँ जानुभयो। त्यसबेला नेभारोको फल फल्ने समय आएकै थिएन। त्यसकारण त्यस रूखमा पातैपात मात्र थियो।
14. तब येशूले त्यस रूखलाई भन्नुभयो,‘‘अब उप्रान्त कसैले तेरो फल खान नपाओस्।’’ उहाँले बोल्नुभएको कुरा उहाँका चेलाहरूले सुने।
15. उहाँहरू फर्किएर यरूशलेममा नै आउनुभयो र येशू मन्दिरभित्र पस्नुभयो। अनि त्यहाँ भएका व्यापारीहरू र तिनका ग्राहकहरूलाई उहाँले धपाउनुभयो। उहाँले पैसा साट्नेहरूका टेबुल र ढुकुर बेच्नेहरूका पसल पल्टाइदिनुभयो।
16. उहाँले कसैलाई पनि व्यापारका मालहरू यताउति लैजान दिनुभएन।
17. उहाँले तिनीहरूलाई सिकाउनुभयो, ‘‘धर्मशास्त्रमा लेखिएको छ, ‘मेरो मन्दिर सबै जातिका लागि प्रार्थनाको घर कहलिनेछ।’ तर तिमीहरूले यसलाई डाँकाहरूको ओडार बनाएका छौ।’’
18. त्यहाँ येशूले के गर्नुभयो भन्ने कुरा जब मुख्य पूजाहारीहरू र धार्मिक व्यवस्थाका शिक्षकहरूले सुने, तबदेखि नै उहाँलाई कसरी मार्ने भनी तिनीहरूले षडयन्त्र रच्न थाले। तर तिनीहरू उहाँसँग डराउँथे, किनभने मानिसहरू येशूको शिक्षाप्रति ज्यादै उत्साहित थिए।
19. त्यही साँझ येशू र उहाँका चेलाहरू शहरबाहिर गए।
20. भोलिपल्ट बिहानै त्यही बाटो भएर जाँदै गर्दा येशूले सराप दिनुभएको त्यस नेभारोको रूखलाई चेलाहरूले जरैदेखि सुकेको देखे।
21. अघिल्लो दिन येशूले त्यसलाई के भन्नुभएको थियो भन्ने सम्झिएर पत्रुसले भने, ‘‘गुरुज्यू, हेर्नुहोस् त, तपाईंले सराप्नुभएको रूख त सुकेछ।’’
22. येशूले चेलाहरूलाई भन्नुभयो, ‘‘परमेश्वरमा विश्वास राख।
23. साँच्चै म तिमीहरूलाई भन्दछु, यदि कसैले आफ्नो हृदयमा शङ्का गर्दैन तर आफूले भनेका कुरा पूरा हुन्छ भनी विश्वास गरेर यस पहाडलाई ‘उखेलिएर तँ समुद्रमा खस्’ भन्यो भने, त्यसको निम्ति त्यस्तै हुनेछ।
24. मेरो कुरा सुन। तिमीहरूले प्रार्थनामा जेसुकै माग्छौ सो पाएका छौ भन्ने विश्वास राख र त्यो तिमीहरूको हुनेछ।
25. तर तिमीहरू जब प्रार्थना गर्छौ, कसैको विरुद्धमा तिम्रो केही छ भने क्षमा गर र स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका पाप क्षमा गरिदिनुहुनेछ।
26. तर यदि तिमीहरूले क्षमा गरेनौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराध क्षमा गर्नुहुनेछैन।’’
27. त्यसबेला उहाँहरू फेरि यरूशलेम आइपुग्नुभयो । येशू मन्दिरको परिसरमा हिँड्दै गर्नुहुँदा मुख्य पूजाहारीहरू, धार्मिक व्यवस्थाका शिक्षकहरू र फरिसीहरू उहाँको अगाडि आए र
28. यसो भन्दै प्रश्न गरे, ‘‘मन्दिरबाट व्यापारीहरूलाई हटाउने अधिकार तिमीले कसबाट पायौ? तिमीलाई यस्तो अधिकार कसले दियो?’’
29. येशूले भन्नुभयो, ‘‘यदि तिमीहरूले मेरो प्रश्नको जवाफ दियौ भने मलाई यसो गर्ने अधिकार कसले दियो भनी म बताउनेछु।
30. यूहन्नाको बप्तिस्मा स्वर्गबाटको थियो कि मानिसबाटको? मलाई भन।’’
31. तिनीहरूले त्यस विषयमा आपसमा यसरी छलफल गरे, ‘‘यदि हामीले ‘स्वर्गबाट’ भन्यौं भने तिमीहरूले किन उसलाई विश्वास गरेनौ त भन्लान्,
32. तर ‘मानिसबाट’ भन्यौं भने यी मानिसहरूले विरोध गर्लान्।’’ किनकि बप्तिस्मा दिने यूहन्ना अगमवक्ता हुन् भनेर सबै मानिसहरूले विश्वास गर्थे।
33. त्यसपछि तिनीहरूले अन्त्यमा भने, ‘‘हामी जान्दैनौं।’’ येशूले पनि त्यस्तै जवाफ दिनुभयो,‘‘म पनि तिमीहरूले सोधेको प्रश्नको जवाफ दिन्नँ।’’
|