1. येशूले अझै भन्नुभयो, ‘‘साँच्चै म तिमीहरूलाई भन्दछु, यहाँ उभिनेहरूमध्ये कोही कोहीले परमेश्वरको राज्य महान् शक्तिसाथ आएको नदेखेसम्म मृत्युको स्वाद चाख्नेछैनन्।’’
2. छ दिनपछि येशूले पत्रुस, यूहन्ना र याकूबलाई लिएर एउटा डाँडामा जानुभयो। त्यहाँ अरु कोही पनि थिएनन्। उनीहरूले हेर्दाहेर्दै येशूको रूप परिवर्तन भयो।
3. अनि उहाँको वस्त्र उज्ज्वल र अति नै सेता भए, यस्तो कि पृथ्वीमा कसैले पनि धोएर सेतो पार्न सक्दैन।
4. तब एलिया र मोशा येशूको छेउमा देखा परे र येशूसँग बात मार्न लागे।
5. पत्रुसले उहाँलाई भने, ‘‘गुरुज्यू, कस्तो अचम्म ! हामी यहाँ तीनवटा तम्बु बनाऔं। एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति र एउटा एलियाको निम्ति।’’
6. के भन्नुपर्ने हो भन्ने कुरा उनलाई पत्तै भएन, किनकि उनीहरू साह्रै भयभीत भएका थिए।
7. उनले यसो भन्दाभन्दै बाक्लो बादलले उनीहरूलाई छोप्यो र बादलबाट एउटा आवाज आयो, ‘‘यिनी मेरा प्रिय पुत्र हुन्, यिनको कुरा सुन्नू।’’
8. उनीहरूले झट्टै यताउति हेरे, मोशा र एलिया त्यहाँबाट गइसकेका थिए, उनीहरूसँग येशू मात्रै हुनुहुन्थ्यो।
9. डाँडाबाट ओर्लिंदै गर्दा ‘मानिसको पुत्र मृतकबाट पुनर्जीवित नहोउन्जेलसम्म त्यस घटनाको विषयमा कसैलाई नभन्नू’ भनी येशूले सतर्क गराउनुभयो ।
10. त्यसकारण उनीहरूले त्यस घटनालाई आफ्नै मनमा राखे तर मृतकबाट पुनर्जीवित हुनु भनेको के हो भनी उनीहरूले आपसमा बहस गरे।
11. उनीहरूले सोध्न थाले, ‘‘ख्रीष्ट आउनुभन्दा पहिले एलिया आउनुपर्छ भनेर धार्मिक व्यवस्थाका शिक्षकहरूले किन जोड दिन्छन् त?’’
12. येशूले जवाफ दिनुभयो, ‘‘निश्चय, सबै थोकलाई पुनर्स्थापन गर्न एलिया पहिले नै आउँछन्। तर मानिसको पुत्रले तिरस्कार र कष्ट धेरै नै भोग्नुपर्छ भनेर धर्मशास्त्रमा किन लेखिएको छ त?
13. तर म तिमीहरूलाई भन्दछु, एलिया अघि नै आइसकेका छन् र धर्मशास्त्रमा अगमवाणी गरिएझैँ तिनीहरूले उनीसँग जे मन लाग्यो, त्यही गरे।’’
14. डाँडाको फेदीमा ठूलो भीडले अरु चेलाहरूलाई घेरिराखेको उनीहरूले भेट्टाए । त्यहाँ कोही कोही धार्मिक व्यवस्थाका शिक्षकहरूले तिनीहरूसँग तर्कवितर्क गरिरहेका थिए।
15. येशूलाई आउँदै गर्नुभएको देखेर सबै मानिसहरूले अचम्म माने र उहाँलाई स्वागत गर्न अघि बढे।
16. उहाँले तिनीहरूलाई सोध्नुभयो, ‘‘के विषयमा तर्क गरिरहेका छौ?’’
17. भीडमा भएका मानिसहरूमध्ये एउटाले भन्यो, ‘‘गुरुज्यू, तपाईंले मेरो छोरोलाई निको पारिदिनुहोस् भनी मैले उसलाई ल्याएको छु। दुष्टात्माले उसलाई पक्रेको छ, त्यसले उसलाई बोल्न नसक्ने बनाएको छ।
18. जब त्यसले छोप्छ, त्यसले उसलाई लछारपछार पार्छ, ऊ मुखभरि फीँज काड्छ र दाह्रा किटेर कक्रक्कै पर्छ । मैले तपाईंका चेलाहरूलाई यस दुष्टात्मालाई निकाली देओ भनेँ, तर तिनीहरूले सकेनन्।’’
19. येशूले तिनीहरूलाई भन्नुभयो, ‘‘ए अविश्वसनीय मानिसहरू हो, म कहिलेसम्म तिमीहरूको साथमा रहूँला र तिमीहरूले विश्वास गरौला ? मैले कहिलेसम्म तिमीहरूलाई पर्खिने? त्यस केटोलाई यहाँ ल्याऊ।’’
20. तिनीहरूले त्यस केटोलाई उहाँको नजिक लगे। तर दुष्टात्माले येशूलाई देख्नेबित्तिकै ऊ जमीनमा लडयो, त्यसले केटोलाई लछारपछार पार्यो र चिच्च्याउँदै फीँज काडयो।
21. येशूले त्यसको बुबालाई सोध्नुभयो, ‘‘कहिलेदेखि यसलाई यस्तो भएको हो?’’ उसले भन्यो, ‘‘ऊ सानो छँदै देखि
22. दुष्टात्माले त्यसलाई कहिले आगोमा, त कहिले पानीमा फाल्दछ र मार्न खोज्दछ। कृपया, हामीमाथि कृपा गर्नुहोस्, यदि सक्नुहुन्छ भने यसलाई बचाउन सहायता गर्नुहोस्।’’
23. येशूले उसलाई सोध्नुभयो, ‘‘तिमीले ‘सक्नुहुन्छ भने’ भनेर के भन्न खोजेका? विश्वास गर्नेको लागि त सबै थोक सम्भव हुन्छ।’’
24. उसले तुरुन्तै जवाफ दियो, ‘‘प्रभु, म विश्वास गर्छु, मेरो अविश्वासमा मलाई सहायता गर्नुहोस्।’’
25. भीड बढ्दै गएको देखेर येशूले त्यस दुष्टात्मालाई हप्काउनुभयो, ‘‘ए लाटो र बहिरो आत्मा, यस बालकबाट निस्किआइज, म तँलाई आज्ञा गर्छु, अब फेरि कहिल्यै पनि यस केटोभित्र नपस्।’’
26. तब त्यो दुष्टात्मा चिच्च्यायो, त्यसले केटोलाई साह्रै निमोठ्दै त्यसबाट निस्केर गयो। त्यो केटो मरेतुल्य भई लम्पसार परिरह्यो। त्यहाँ भएकाहरूले ‘केटो मर्यो’ सम्म पनि भने।
27. तर येशूले त्यसको हात समातेर भुइँबाट उठ्न सहायता गर्नुभयो र त्यो उभियो।
28. त्यसपछि, उहाँ घरमा एकलै हुनुभएको बेला चेलाहरूले उहाँलाई सोधे, ‘‘हामीले त्यस दुष्टात्मालाई किन निकाल्न सकेनौं?’’
29. येशूले जवाफ दिनुभयो, ‘‘यस्तो दुष्टात्मालाई प्रार्थना र उपवासद्वारा मात्रै निकाल्न सकिन्छ।’’
30. त्यो ठाउँ छोडेर उहाँहरू गालीलमा आइपुग्नुभयो। येशूले आफूलाई सार्वजनिक गर्न चाहनुभएन।
31. किनकि उहाँ आफ्ना चेलाहरूलाई धेरै समय दिन र तिनीहरूलाई शिक्षा दिन चाहनुहुन्थ्यो। उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘मानिसको पुत्रलाई धोका दिइनेछ। उसलाई मारिनेछ। तर त्यसको तीन दिनमा ऊ मृतकबाट पुनर्जीवित हुनेछ।’’
32. तर येशूले भन्नुभएको कुरा चेलाहरूले बुझेनन् र त्यसको बारेमा सोध्ने आँट पनि गरेनन्।
33. उहाँहरू कफर्नहुम आइपुग्नुभएपछि, येशू र उहाँका चेलाहरू सधैँ बस्ने गरेकै घरमा बस्नुभयो। येशूले तिनीहरूलाई सोध्नुभयो, ‘‘बाटोमा तिमीहरूले के कुरामा तर्क गरिरहेका थियौ?’’
34. तर तिनीहरूले केही जवाफ दिएनन्, किनभने ‘तिनीहरूमध्ये को सबैभन्दा ठूलो हुने’ भनेर तिनीहरू बहस गर्दै थिए।
35. उहाँ बस्नुभयो र बाह्र चेलाहरूलाई बोलाउनुभयो र भन्न लाग्नुभयो,‘‘तिमीहरूमा जो पहिलो हुन चाहन्छ, उसले आफूलाई सबैभन्दा सानो बनाओस् र अरु सबैको सेवक बनोस्।’’
36. तब उहाँले एउटा सानो बालकलाई आफ्नो काखमा राख्नुभयो र तिनीहरूलाई भन्नुभयो,
37. ‘‘जसले मेरो खातिर यस बालकलाई स्वीकार गर्दछ, त्यसले मलाई स्वीकार गर्दछ। अनि जसले मलाई स्वीकार गर्दछ, त्यसले मलाई पठाउनुहुने मेरा पितालाई पनि स्वीकार गर्दछ।’’
38. यूहन्नाले येशूलाई भने,‘‘गुरुज्यू, एक जना मानिसले तपाईंको नाउँमा भूतहरू धपाइरहेको हामीले देख्यौं र त्यसलाई रोक्यौं, किनभने ऊ हामीहरूमध्येको होइन।’’
39. येशूले भन्नुभयो,‘‘त्यसलाई नरोक, जसले मेरो नाउँमा आश्चर्यकर्महरू गर्दछ, त्यसले तुरुन्तै मेरो विरुद्धमा केही नराम्रो बोल्न सक्दैन।
40. जो हाम्रो विरुद्धमा छैन, ऊ हाम्रो पक्षमा छ।
41. तिमीहरू ख्रीष्टका हौ भन्ने थाहा पाएर जसले तिमीहरूलाई एक कचौरा पानी पिउन दिन्छ, साँच्चै म तिमीहरूलाई भन्दछु, त्यसले निश्चय नै स्वर्गमा इनाम गुमाउनेछैन।
42. तर यदि कसैले ममाथि विश्वास गर्ने यी सानाहरूमध्ये कुनै एउटालाई बाधा दिन्छ भने त्यसलाई त एउटा गह्रौं जाँतो घिच्रोमा बाँधिदिएर समुद्रमा फालिदिनु बेश हुन्छ।
43. यदि तिम्रो हातले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेऊ, किनभने दुवै हात लिएर नरकको कहिल्यै ननिभ्ने आगोमा जाकिनुभन्दा त एउटै मात्र हात लिएर स्वर्गमा जानु उत्तम हुन्छ।
44. [ नरकमा न त कीराहरू नै मर्छन्, न आगो नै निभ्छ।]
45. यदि तिम्रो खुट्टाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेऊ, किनभने दुवै खुट्टा लिएर नरकमा जाकिनुभन्दा त एउटै खुट्टा लिएर स्वर्ग जानु उत्तम हुन्छ।
46. [ नरकमा न त कीराहरू नै मर्छन्, न आगो नै निभ्छ ।]
47. अनि तिम्रो आँखाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई झिकेर फ्याँकिदेऊ। किनभने दुवै आँखा लिएर नरकमा जाकिनुभन्दा त एउटै मात्र आँखा लिएर परमेश्वरको राज्यमा प्रवेश गर्नु तिम्रोनिम्ति उत्तम हुन्छ।
48. नरकमा न त कीराहरू नै मर्छन्, न आगो नै निभ्छ,
49. किनभने प्रत्येकलाई आगोद्वारा स्वादिलो पारिनेछ।
50. स्वादको निम्ति नुन असल हुन्छ। तर त्यसले स्वाद गुमायो भने त्यसलाई फेरि कसरी नुनिलो बनाउनु? तिमीहरू हरेकमा नुनको गुण छ, त्यसैले आपसमा मेलमिलापमा रहो।’’
|