1. त्यसपछि येशूले तिनीहरूलाई दृष्टान्त सुनाउन थाल्नुभयो : ‘‘एक जना मानिसले आफ्नो जमीनमा अङ्गुरबारी लगायो। त्यसको वरिपरि पर्खाल बनायो र अङ्गुर पेल्ने कोल राख्यो अनि पाले बस्ने मचान पनि बनायो। त्यसपछि उसले अङ्गुरबारी मोहीहरूलाई जिम्मा लगाएर टाढा देशमा गयो।
2. अङ्गुर टिप्ने समयमा उसले आफ्ना एक जना नोकरलाई आफ्नो भाग लिन पठायो।
3. तर मोहीहरूले त्यो नोकरलाई पक्रेर पिटे र रित्तै हात पठाइदिए।
4. फेरि उसले अर्को नोकरलाई पठायो तर तिनीहरूले त्यसको टाउकोमा हिर्काए र बेइज्जत गरी पठाए।
5. उसले अर्को नोकरलाई पनि पठायो तर त्यसलाई पनि तिनीहरूले मारे । त्यसैगरी पठाइएका अरुहरू कोही पिटिए त कोही मारिए।
6. अब उसले पठाउनसक्ने उसको एउटै प्रिय छोरो मात्र थियो ‘तिनीहरूले मेरो छोरोलाई त आदर गर्लान्’ भन्ने सोचेर उसलाई तिनीहरूकहाँ पठायो।
7. तर ती मोहीहरूले उसको छोरोलाई देखेर आपसमा भने, ‘‘यस जमीनको हकवाला नै आउँदै छ। लौ, त्यसलाई पनि मारौं र त्यसपछि यो सबै सम्पत्ति हाम्रो हुनेछ।’’
8. त्यसकारण तिनीहरूले त्यसलाई पक्रेर मारे र अङ्गुरबारीको बाहिरपट्टि फालिदिए।
9. अब त्यस जमीनको मालिकले ती मोहीहरूलाई कस्तो दण्ड देला ? म तिमीहरूलाई भन्दछु, ऊ आफै आउनेछ र ती सबैलाई मारेर त्यो अङ्गुरबारी अर्कैलाई दिनेछ।
10. के तिमीहरूले धर्मशास्त्रमा कहिल्यै पढेका छैनौ? ‘डकर्मीहरूले रद्द गरेको ढुङ्गो नै कुनाको शिरढुङ्गो बन्यो।
11. यो परमप्रभुको काम हो र यो हाम्रो दृष्टिमा अचम्मको छ।’
12. उहाँले त्यस्तो दृष्टान्त दिएर बोल्नुभएको कारण यहूदी अगुवाहरू येशूलाई पक्रन चाहन्थे-उहाँले दृष्टान्तमा बताउनुभएका मोहीहरू तिनीहरू नै थिए। तर भीडको कारण तिनीहरू उहाँलाई छुन डराए। त्यसकारण तिनीहरूले उहाँलाई छोडेर गइहाले।
13. धार्मिक अगुवाहरूले केही फरिसीहरू र हेरोदका समर्थकहरूलाई पठाई येशूलाई उहाँकै कुरामा फँसाएर उहाँमाथि आरोप लगाउने कोशिश गरे।
14. ती मानिसहरूले भने,‘‘गुरुज्यू, तपाईं कति इमानदार हुनुहुन्छ भन्ने कुरा हामीलाई थाहा छ। तपाईं निष्पक्ष हुनुहुन्छ र कसैलाई भेदभाव गर्नुहुन्न। तपाईंले सत्यतामा परमेश्वरको मार्ग सिकाउनुहुन्छ। अब हामीलाई भन्नुहोस्- हामीले सिजरलाई कर तिर्नु ठीक हो कि होइन?
15. हामी सिजरलाई कर तिरौं कि नतिरौं?’’ येशूले तिनीहरूको कपटलाई बुझेर भन्नुभयो, ‘‘तिमीहरू यस्तो छलपूर्ण प्रश्न गरेर कसलाई फसाउन खोज्दैछौ? मलाई एउटा सिक्का देखाओ, तब म भनूँला।’’
16. जब तिनीहरूले उहाँको हातमा एउटा सिक्का राखिदिए, उहाँले सोध्नुभयो, ‘‘यसमा कसको आकृति खोपिएको छ?’’ तिनीहरूले भने,‘‘सिजरको ।’’
17. येशूले भन्नुभयो,‘‘त्यसो भए जे सिजरका हुन् ती सिजरलाई देओ, तर जेजति कुरा परमेश्वरका हुन्, ती परमेश्वरलाई देओ।’’ उहाँले दिनुभएको यस्तो जवाफ सुनेर तिनीहरू बोल्नै सकेनन्।
18. मृत्युपछि पुनरुत्थान हुँदैन भनी विश्वास गर्ने केही सदुकीहरू येशूकहाँ आएर यस्तो प्रश्न गरे,
19. ‘‘गुरुज्यू, मोशाले यस्तो व्यवस्था दिएका छन् - यदि कुनै मानिसले विवाह गरेर सन्तान नजन्माई मर्यो भने उसको दाजु वा भाइले त्यस विधवासित विवाह गरोस् र उसको हक लिने सन्तान जन्माओस्।
20. कुनै परिवारमा सात जना दाजुभाइ थिए। जेठोले विवाह गर्यो र सन्तान नजन्माई मर्यो।
21. त्यसकारण माहिलोले विधवासित विवाह गर्यो, ऊ पनि सन्तान नजन्माई मर्यो । त्यसपछि साहिँलोले विवाह गर्यो र ऊ पनि सन्तान नजन्माई मर्यो।
22. त्यस्तै प्रकारले सातै भाइहरूले त्यस विधवासित विवाह गरे र सन्तान नजन्माई मरे । अन्त्यमा त्यस विधवा पनि मरी ।
23. अब भन्नुहोस्, पुनरुत्थानमा त्यो कसकी पत्नी हुनेछे? किनभने सातै भाइसँग त्यसको विवाह भएको थियो ।’’
24. येशूले तिनीहरूलाई जवाफ दिनुभयो, ‘‘तिमीहरूले धर्मशास्त्र र परमेश्वरको शक्तिलाई नबुझ्नु नै तिमीहरूको समस्या हो। तिमीहरू भ्रममा परेका छौ।
25. किनभने पुनरुत्थानमा बिहेबारी हुनेछैन । सबै जना स्वर्गमा परमेश्वरका दूतहरूजस्ता हुनेछन्।
26. पुनरुत्थानको विषयमा के भनिएको छ, तिमीहरूले मोशाको पुस्तकमा पढेका छैनौ? कसरी जलिरहेको पोथ्रामा परमेश्वरले यसो भन्दै बोल्नुभयो, ‘म अब्राहाम, इसहाक र याकूबका परमेश्वर हुँ।’
27. उहाँ मृतकहरूका होइन तर जीवितहरूका परमेश्वर हुनुहुन्छ; तिमीहरूले ठूलो भूल गरेका छौ।’’
28. धार्मिक व्यवस्थाका शिक्षकहरूमध्ये कुनै एक जना त्यो बहस सुन्दै नजिकै उभिरहेका थिए। येशूले ठीक जवाफ दिनुभयो भन्ने बुझेर तिनले सोधे, ‘‘आज्ञाहरूमध्ये सबैभन्दा महत्वपूर्ण कुन हो?’’
29. येशूले जवाफ दिनुभयो, ‘‘आज्ञाहरूमा सबैभन्दा महत्वपूर्ण यो हो: ‘हे इस्राएल सुन, परमप्रभु हाम्रा परमेश्वर, एकमात्र प्रभु हुनुहुन्छ।
30. तिमीहरूले आफ्नो सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले, सम्पूर्ण समझले र सम्पूर्ण शक्तिले परमप्रभु परमेश्वरलाई प्रेम गर्नू।’
31. अर्को आज्ञा पनि त्यत्तिकै महत्वपूर्ण छ :‘तिमीहरूले आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्नू।’ अरु कुनै पनि आज्ञा यीभन्दा महत्वपूर्ण छैनन्।’’
32. धार्मिक व्यवस्थाका शिक्षकले जवाफ दिए, ‘‘गुरुज्यू, ठीक भन्नुभयो। एउटै मात्र परमेश्वर हुनुहुन्छ, उहाँबाहेक अरु कोही छैन भनेर तपाईंले साँचो कुरा भन्नुभयो ।
33. अनि म जान्दछु, मैले मेरा परमेश्वरलाई मेरो सम्पूर्ण हृदयले, सम्पूर्ण समझले, सम्पूर्ण शक्तिले प्रेम गर्नू र मेरो छिमेकीलाई आफूलाई जस्तै गरी प्रेम गर्नू अत्यन्तै महत्वपूर्ण छ। यो आज्ञापालन गर्नु भनेको व्यवस्थालेभनेबमोजिम सबै प्रकारका भेटीहरू र बलिदानहरू चढाउनुभन्दा पनि महत्वपूर्ण छ।’’
34. तिनको ज्ञानपूर्ण जवाफ सुनेर येशूले भन्नुभयो,‘‘तिमी परमेश्वरको राज्यबाट टाढा छैनौ।’’ अनि त्यसपछि कसैले पनि येशूलाई प्रश्न सोध्ने आँट गरेन।
35. अनि येशूले मन्दिरमा मानिसहरूलाई सिकाउँदै गर्नुहुँदा तिनीहरूलाई सोध्नुभयो,‘‘किन धार्मिक व्यवस्थाका शिक्षकहरूले ख्रीष्ट दाऊदका छोरा हुनुहुन्छ भनी दाबी गर्छन्?
36. दाऊद आफैले त पवित्र आत्माको प्रेरणामा यसो भनेका थिए : परमप्रभुले मेरा प्रभुलाई भन्नुहुन्छ, ‘तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्याउँदिनँ।’
37. दाऊद आफैले ख्रीष्टलाई प्रभु भन्छन् भने, उनी कसरी दाऊदका छोरा भए?’’ भीडमा जम्मा भएका मानिसहरूले अझै चाख मानेर उहाँको कुरा सुने।
38. उहाँले त्यसबेला सिकाउनुभएका शिक्षाहरूमध्ये केही यी नै हुन्, ‘‘धार्मिक व्यवस्थाका शिक्षकहरूदेखि होशियार बस। तिनीहरू लामा-लामा पोशाक लगाउँछन् र बजारमा मानिसहरूले अभिवादन गरेको मन पराउँछन् ।
39. तिनीहरू सभाघरमा मुख्य स्थान र भोजहरूमा आदरको स्थान खोज्छन्,
40. तिनीहरूले विधवाहरूका घर लुट्छन् र लोकाचारको लागि लामो-लामो प्रार्थना गर्छन्। यी मानिसहरूले अझ बढी दण्ड पाउनेछन्।’’
41. येशू मन्दिरको दानपात्रको छेउमा बस्नुभयो र मानिसहरूले भेटी चढाउँदा हरेकलाई हेर्नुभयो। अनि धेरै धनी मानिसहरूले प्रशस्त भेटी चढाए।
42. त्यसपछि एउटी गरीब विधवाले आएर तामाका दुई सिक्का अर्थात् एक पैसा चढाई।
43. येशूले चेलाहरूलाई बोलाएर भन्नुभयो, ‘‘साँच्चै म तिमीहरूलाई भन्दछु, यी सबै मानिसहरूले भन्दा धेरै भेटी यस विधवाले चढाएकी छ,
44. किनभने अरुले त आफ्नो प्रशस्तताबाट थोरै अंश मात्र भेटी हाले तर यस गरीब विधवाले आफूसँग भएको सबै थोक चढाई।’’
|