Bible Study: FrontPage




 

मर्कुस, Chapter 14

Bible Study - मर्कुस 14 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. निस्तार-चाड र अखमीरी रोटीको चाड आउन दुई दिनअघि मुख्य पूजाहारीहरू र धार्मिक व्यवस्थाका शिक्षकहरू अझै पनि येशूलाई गुप्तमा पक्रेर मार्ने मौकाको खोजीमा थिए।
  
2. तिनीहरूले सहमत भएर यसरी भनेका थिए, ‘‘तर निस्तार-चाडको अवसरमा होइन,नत्र त मानिसहरूमा हूलदङ्गा मच्चिएला।’’
  
3. त्यसबेला येशू बेथानीमा सिमोन कुष्ठरोगीको घरमा भोजन गरिरहनुभएको बेला एउटी स्त्री सिङ्गमरमरको एउटा शीशीमा बहुमूल्य जटामसीको अत्तर लिएर आई र शीशीको बिर्को खोलेर उहाँको शिरमा अत्तर खन्याई।
  
4. त्यो देखेर मेचमा बसिरहेका कोही कोही चिढिए र तिनीहरूले यसो भने, ‘‘यति महँगो अत्तर यसरी किन खेर फालेको?
  
5. त्यसले त्यो तीन सय दिनारभन्दा बढी दाममा बेच्‍‌न सक्थी र त्यो पैसा गरीबहरूलाई दिन सकिन्थ्यो।’’ तिनीहरूले त्यसलाई नराम्रोसित झपारे।
  
6. तर येशूले भन्‍‌नुभयो,‘‘छाड्देऊ, यिनले मेरोनिम्ति असलै गरेकी छिन्, तिमीहरू किन यिनलाई सताउँछौ ?
  
7. गरीबहरू त सधैँ तिमीहरूसँग रहन्छन् र तिमीहरूले चाहेको बेलामा तिनीहरूलाई सहायता गर्न सक्छौ। तर म अब तिमीहरूसँग धेरै दिनसम्म रहनेछैनँ।
  
8. यिनले मेरोनिम्ति सक्‍‌नेजति गरेकी छिन्, यिनले मेरो समय आउनुभन्दा पहिल्यै मेरो शरीरलाई दफनको निम्ति तयार गरेकी छिन्।
  
9. साँच्चै म तिमीहरूलाई भन्दछु, संसारभरि नै जहाँ-जहाँ सुसमाचार प्रचार गरिनेछ, त्यहाँ यस कामको सम्झनास्वरूप यिनको चर्चा हुनेछ।’’
  
10. बाह्र चेलाहरूमध्येका एक, यहूदा इस्करियोत येशूलाई कसरी पक्राउन सकिन्छ भन्‍‌ने कुराको जानकारी दिन मुख्य पूजाहारीहरूकहाँ गयो।
  
11. ऊ किन आएको हो भनी थाहा पाएर तिनीहरू खुशी भए र तिनीहरूले उसलाई उचित इनाम दिने वाचा गरे। त्यसकारण यहूदाले येशूलाई पक्राउने उचित दिन र अवसरको खोजी गर्न लाग्यो।
  
12. अखमीरी रोटीको चाडको पहिलो दिन (निस्तारको थुमालाई बलिदान गरिने दिन) येशूका चेलाहरूले उहाँलाई सोधे,‘‘हामी कहाँ गएर तपाईंको निम्ति चाडको भोजको बन्दोबस्त गरौं भन्‍‌ने तपाईं चाहनुहुन्छ?’’
  
13. त्यसकारण येशूले दुई जनालाई यरूशलेम पठाएर निस्तार-चाडको भोजको बन्दोबस्त गर्न लगाउनुभयो। उहाँले तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘तिमीहरू शहरमा पस्दा पानीको गाग्रो बोकेको एउटा मानिसले तिमीहरूलाई भेट्‍‌नेछ। उसैलाई पछ‍याओ।
  
14. ऊ आफ्‍‌नो घरभित्र पस्‍‌नैलाग्दा उसलाई सोध,‘हाम्रा गुरुले यो सोध्‍‌न पठाउनुभएको छ, उहाँले आफ्‍‌ना चेलाहरूसँग बसेर निस्तारकोभोज खाने पाहुना कोठा कहाँ छ?’
  
15. उसले तिमीहरूलाई तयार गरिराखिएको माथिल्लो तलाको ठूलो कोठामा लैजानेछ। तिमीहरूले त्यहीँ हाम्रो निम्ति भोज तयार गर्नू।’’
  
16. यसरी चेलाहरू अघिअघि गएर शहरमा पुगे र येशूले भन्‍‌नुभएकै जस्तो सबै थोक भेट्टाए र त्यहाँ निस्तार-चाडको भोज तयार गरे।
  
17. साँझ पर्दा येशू बाह्र चेलाहरूसँग त्यहाँ आइपुग्‍‌नुभयो।
  
18. टेबुलको वरिपरि बसेर खाँदै गर्दा येशूले भन्‍‌नुभयो, ‘‘म तिमीहरूलाई साँचो भन्दछु, यहाँ मसँग बसेर खाइरहेकाहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।’’
  
19. तिनीहरूले दु:खित भएर एक-एक गरी उहाँलाई सोधे, ‘‘के तपाईंलाई धोका दिने म नै त होइन?’’
  
20. उहाँले जवाफ दिनुभयो,‘‘मसँगै खान बस्‍‌ने तिमीहरूमध्येका एक जनाले मलाई धोका दिनेछ।
  
21. म, मानिसको पुत्र त धर्मशास्त्रले अघिबाटै भनेअनुसार मर्नैपर्छ। तर धिक्कार होस् मलाई धोका दिनेलाई ! ऊ त बरु नजन्मिएको भए हुन्थ्यो।’’
  
22. तिनीहरूले खाँदै गर्दा येशूले रोटी लिनुभयो र त्यसमा परमेश्वरको आशिष् माग्‍‌नुभयो। अनि उहाँले त्यसलाई भाँच्‍‌नुभयो र यसो भन्दै चेलाहरूलाई बाँड्‍‌नुभयो,‘‘यो मेरो शरीर हो, लेओ र खाओ।’’
  
23. अनि उहाँले अङ्गुरको रसको कचौरा लिनुभयो र त्यसको निम्ति परमेश्वरलाई धन्यवाद दिनुभयो। त्यो कचौरा तिनीहरूलाई दिँदै भन्‍‌नुभयो, ‘‘तिमीहरू सबैले यसबाट पिओ।’’
  
24. तब उहाँले तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘यो परमेश्वर र उहाँका मानिसहरूबीचमा बाँधिएको नयाँ करारको रगत हो, जुन धेरैका अधर्म क्षमा गर्नका निम्ति बगाइन्छ।
  
25. साँच्चै म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्यमा नयाँ रीतिले नपिएसम्म म अब यसबाट फेरि पिउनेछैनँ।’’
  
26. त्यसपछि एउटा भजन गाएर उहाँहरू त्यहाँबाट निस्केर जैतुन डाँडातिर जानुभयो।
  
27. येशूले चेलाहरूलाई भन्‍‌नुभयो,‘‘तिमीहरू सबैले मलाई त्याग्‍‌नेछौ, किनभने धर्मशास्त्रमा यसो भनिएको छ, ‘म गोठालालाई प्रहार गर्नेछु र बगालका भेडाहरू तितरबितर हुनेछन्।’
  
28. तर म मृतकबाट पुनर्जीवित भएपछि तिमीहरूभन्दा अघि गालीलमा जानेछु र त्यहाँ तिमीहरूलाई भेट्‍‌नेछु।’’
  
29. पत्रुसले उहाँलाई भने, ‘‘अरु सबैले तपाईंलाई छोडे पनि म तपाईंलाई छोड्‍‌नेछैनँ।’’
  
30. येशूले जवाफ दिनुभयो, ‘‘पत्रुस, म तिमीलाई साँच्चै भन्दछु, आजै राती भाले दुईपल्ट बास्‍‌नुभन्दा पहिले नै तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ।’’
  
31. तर पत्रुसले जिद्दी गर्दै भनिरहे,‘‘म मर्नु परे तापनि तपाईंलाई छोड्‍‌नेछैनँ, म कदापि तपाईंलाई इन्कार गर्नेछैनँ।’’ अनि अरु सबैले पनि पत्रुसले झैँ शपथ खाँदै त्यसै भने।
  
32. त्यसपछि उहाँहरू जैतुनघारी भएको ठाउँ गेतसमनीमा पुग्‍‌नुभयो। येशूले चेलाहरूलाई भन्‍‌नुभयो, ‘‘म गएर प्रार्थना गर्छु, तिमीहरू यहीँ बस्दै गर ।’’
  
33. उहाँले पत्रुस, याकूब र यूहन्‍‌नालाई साथमा लैजानुभयो। अनि उहाँ ज्यादै शोकित र व्याकुल हुनलाग्‍‌नुभयो।
  
34. उहाँले तिनीहरूलाई भन्‍‌नुभयो,‘‘मेरो प्राण मृत्यु नै होलाझैँ गरी अति नै शोकले भरिएको छ, तिमीहरू यहीँ बस र मसँगै जागा रहो।’’
  
35. उहाँ केही परतिर जानुभयो र भुइँमा घोप्टो पर्नुभयो। यदि सम्भव भए त्यो दु:खको घडी हटिजाओस् भनी यसरी प्रार्थना गर्नुभयो,
  
36. ‘‘हे पिता, तपाईंको निम्ति सबै थोक सम्भव छ। यो कष्टको कचौरा मबाट हटाइदिनुहोस्, तापनि मेरो होइन, तपाईंको इच्छाअनुसार हुनदिनुहोस्।’’
  
37. उहाँ फर्किएर आउनुभयो र चेलाहरूलाई निदाइरहेको भेट्टाउनुभयो। उहाँले पत्रुसलाई बोलाउँदै भन्‍‌नुभयो, ‘‘सिमोन, के तिमी निदाइरहेका छौ? के तिमी मेरो खातिर एक घण्टा पनि जागा रहन सक्दैनौ?
  
38. जागा रहेर प्रार्थना गर। नत्रभने तिमीहरू परीक्षामा परौला, किनभने आत्मा तयार छ तर शरीर कमजोर छ।’’
  
39. त्यसपछि येशूले फेरि तिनीहरूलाई त्यहीँ छोडेर केही परतिर जानुभयो र त्यही प्रार्थना दोहोर्‍याउनुभयो।
  
40. उहाँ फेरि फर्किएर आउनुभयो र यसपल्ट पनि तिनीहरूलाई निदाइरहेको भेट्टाउनुभयो, किनभने तिनीहरूका आँखा साह्रै लट्ठ भएका थिए र तिनीहरूले के भन्‍‌नुपर्ने हो त्यो पनि बुझेनन्।
  
41. उहाँ तेस्रोपल्ट पनि प्रार्थना गरेर फर्किनुभयो र तिनीहरूलाई भन्‍‌नुभयो,‘‘तिमीहरू अझै सुतिरहेका छौ? तिमीहरू अझै आराम गरिरहेका छौ? भयो, बेला आइपुग्यो, म, मानिसको पुत्रलाई धोका दिएर पापीहरूका हातमा सुम्पिएको छ।
  
42. उठ, जाऔं। हेर, मलाई धोका दिने यहीँ छ।’’
  
43. उहाँले त्यसो भनिसक्‍‌न नपाउँदै बाह्रमध्येको एक, यहूदा भाला र तरवार बोकेको एउटा जत्था लिएर आइपुग्यो। तिनीहरू मुख्य पूजाहारीहरू, धार्मिक व्यवस्थाका शिक्षक र अन्य अगुवाहरूद्वारा पठाइएका थिए।
  
44. यहूदाले पहिल्यै तिनीहरूलाई एउटा सङ्केत दिएको थियो, ‘‘म गएर जसलाई अभिवादनको चुम्बन गर्नेछु, पक्रनुपर्ने व्यक्ति उही हो भनी तिमीहरूले जान्‍‌नेछौ, उसैलाई पक्र।’’
  
45. तिनीहरू आइपुग्‍‌नेबित्तिकै यहूदा येशूको छेउमा आयो र ‘गुरुज्यू’ भन्दै उहाँलाई चुम्बन गर्‍यो।
  
46. अरुहरूले येशूलाई गिरफ्तार गरे।
  
47. तर त्यसैबेला एक जनाले तरवार थुतेर प्रधान पूजाहारीका नोकरको कान छिनाइदियो।
  
48. येशूले तिनीहरूलाई सोध्‍‌नुभयो, ‘‘के म त्यस्तो भयानक अपराधी हुँ र तिमीहरू तरवार र भाला लिएर मलाई पक्रन आएका?
  
49. तिमीहरूले मलाई मन्दिरमा हुँदा किन पक्रेनौ? म त्यहाँ दिनहुँ शिक्षा दिइरहेको हुन्थेँ । तर धर्मशास्त्रले मेरो विषयमा भनेका कुरा पूरा होऊन् भनेर यी कुरा भएका हुन् ।’’
  
50. त्यसैबेला उहाँका सबै चेलाहरू एक-एक गर्दै उहाँलाई छाडेर भागे।
  
51. रातमा लगाउने कपडा मात्र लगाएको एक जना जवान मानिसले उहाँलाई केही परबाट पछ‍याइरहेको थियो। तिनीहरूले त्यसलाई पनि पक्रन खोजे।
  
52. तर तिनीहरूले त्यसको कपडा मात्रै समात्‍‌न भ्याए, त्यो जवान तिनीहरूबाट फुत्किएर नाङ्गै भाग्यो।
  
53. तिनीहरूले येशूलाई प्रधान पूजाहारीको घरमा लगे, त्यहाँ मुख्य पूजाहारीहरू, अन्य अगुवाहरू र धार्मिक व्यवस्थाका शिक्षकहरू भेला भएका थिए।
  
54. त्यसबेला पत्रुस टाढैबाट पछ‍याउँदै मुख्य पूजाहारीको आँगनमा पुगे। केही क्षण उनी पालेहरूसँग आगो ताप्दै बसे।
  
55. त्यहाँ भित्रपट्टि मुख्य पूजाहारीहरू र सम्पूर्ण महासभाले नै येशूको विरुद्धमा बोल्‍‌ने साक्षीको खोजी गरिरहेका थिए, यसैले कि उहाँलाई मृत्युदण्ड दिनसकियोस्। तर तिनीहरूको कोशिश असफल भयो।
  
56. धेरैले उहाँको विरुद्धमा झूटो साक्षी दिए तर तिनीहरूकै कुरा आपसमा बाझियो।
  
57. अन्त्यमा केही मानिसहरू खडा भए र यसो भन्दै उहाँको विरुद्धमा झूटो साक्षी दिए :
  
58. ‘‘हामीले, यसले यस्तो भनेको सुन्यौं,‘म मानिसका हातले बनाएको यो मन्दिर भत्काउनेछु र हातैविना बनाइएको अर्को मन्दिर म तीन दिनमै खडा गर्नेछु’।’’
  
59. तर तिनीहरूकै गवाहीमा पनि एकमत थिएन।
  
60. तब प्रधान पूजाहारी सबैको सामुन्‍‌ने खडा भए र येशूलाई सोधे,‘‘के तँ यी आरोपहरूको विषयमा केही भन्दैनस्? तँ आफ्‍‌नो विषयमा के भन्छस्?’’
  
61. येशूले कुनै जवाफ दिनुभएन। तब प्रधान पूजाहारीले फेरि सोधे, ‘‘के तँ परमधन्य परमेश्वरका पुत्र, मसीह होस्?’’
  
62. येशूले जवाफ दिनुभयो,‘‘हुँ, तपाईंले म, मानिसको पुत्रलाई परमेश्वरको दाहिने बाहुलीतर्फ शक्तिको स्थानमा बसिरहेको र आकाशमा बादलको सवारीमा आउँदै गरेको देख्‍‌नुहुनेछ।’’
  
63. प्रधान पूजाहारीले आफ्‍‌नो वस्त्र च्यातेर क्रोध जनाउँदै भने,‘‘हामीलाई अरु साक्षीको किन खाँचो पर्‍यो र?
  
64. यसले ईश्वर-निन्दा गरेको तिमीहरू सबैले सुनिहाल्यौ। अब तिमीहरू के भन्छौ?’’ अनि सबैले उहाँलाई मृत्युदण्डको दोषी ठहराए।
  
65. त्यसपछि तिनीहरूमध्ये कोही-कोहीले उहाँलाई थुके र उहाँका आँखा छोपेर यसो भन्दै उहाँलाई थप्पड लगाए, ‘‘एई अगमवक्ता, भन् त, तँलाई कुट्‍‌ने को हो?’’ तिनीहरूले उहाँको गिल्ला गरे। त्यहाँबाट जाँदै गर्दा पालेहरूले समेत उहाँलाई थप्पड लगाए।
  
66. त्यसबेला, पत्रुस आँगनमा बसिरहेका थिए। प्रधान पूजाहारीको सेवा गर्ने नोकर्नीहरूमध्ये एउटी त्यहाँ आई।
  
67. पत्रुसलाई आगो ताप्दै बसिरहेको देखेर त्यसले उनलाई राम्ररी हेर्दै भनी, ‘‘तिमी पनि नासरतको येशूसँग हुनेहरूमध्येका एक हौ।’’
  
68. पत्रुसले त्यसको कुरालाई इन्कार गर्दै भने, ‘‘तिमीले के भनिरहेकी छ‍यौ, मलाई केही थाहा छैन।’’ त्यति भनेर उनी बाहिर निस्किनैलाग्दा भाले बास्यो।
  
69. त्यस नोकर्नीले उनलाई त्यहाँ उभिरहेको देखेर अरुलाई भनी,‘‘त्यो मान्छे तिनीहरूमध्येकै एक हो।’’
  
70. पत्रुसले फेरि पनि इन्कार गरे। केही बेरपछि पत्रुसको छेउमा उभिनेहरूले उनलाई भन्‍‌न लागे, ‘‘तिमी पनि तिनीहरूमध्येकै एक हौ, किनभने तिमी गालीली हौ।’’
  
71. पत्रुसले भने, ‘‘म परमेश्वरको नाउँमा शपथ खाएर भन्छु, तिमीहरूले भनेको त्यस मानिसलाई म चिन्दै चिन्दिनँ। ’’
  
72. अनि त्यसको लगत्तै दोस्रोपल्ट भाले बासेको सुनियो। तब पत्रुसलाई येशूले भन्‍‌नुभएको कुरा सम्झना भयो, ‘‘दुईपल्ट भाले बास्‍‌नभन्दा अघि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ।’’ अनि उनी पछुताउँदै धुरुधुरु रोए ।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES