1. यसरी उहाँहरू झीलको पारिपट्टि गेरासेनसको मुलुकमा आइपुग्नुभयो।
2. येशू डुङ्गाबाट किनारमा उत्रँदै गर्दा अशुद्ध आत्माले सताइएको एउटा मानिस चिहानघारीबाट दगुर्दै उहाँको सामु आयो।
3. त्यो मानिस चिहानघारीमा बस्दथ्यो, त्यसलाई साङ्लाले समेत बाँधेर राख्न सकिँदैनथ्यो।
4. धेरैपल्ट त्यसलाई नेल र साङ्लाले बाँधेर राख्न खोजिएको थियो तर त्यसले साङ्लाहरू चुडाउँथ्यो र नेलहरू टुक्राटुक्रा पार्थ्यो। त्यसलाई कसैले पनि वशमा राख्न सक्दैनथ्यो।
5. सारा दिन र रातभरि ऊ चिहानघारी र डाँडापाखातिर चिच्च्याउँदै र आफैलाई ढुङ्गाले फहराउँदै डुल्दथ्यो।
6. त्यस मानिसले येशूलाई टाढैबाट देख्यो र दगुर्दै आएर उहाँलाई दण्डवत् गर्यो।
7. त्यसले ठूलो सोरले चिच्च्याउँदै भन्यो, ‘‘हे येशू, सर्वोच्च परमेश्वरका पुत्र, तपाईंसँग मेरो के सरोकार? परमेश्वरको खातिर म विन्ती गर्छु, मलाई कष्ट नदिनुहोस् ।’’
8. किनभने येशूले त्यसलाई भन्नुभएको थियो,‘‘तँ अशुद्ध आत्मा, यस मानिसबाट निस्केर जा।’’
9. तब येशूले सोध्नुभयो, ‘‘तेरो नाउँ के हो?’’ अशुद्ध आत्माले जवाफ दिँदै भन्यो,‘‘फौज, किनभने यस मानिसभित्र हामी धेरै छौं।’’
10. त्यसपछि ती अशुद्ध आत्माहरूले येशूसँग त्यस इलाकादेखि तिनीहरूलाई टाढा नधपाइयोस् भनी बारम्बार विन्ती गरे।
11. त्यसको नजिकै पाखामा सुँगुरको एउटा ठूलो बगाल चरिरहेको थियो।
12. ती अशुद्ध आत्माहरूले यसो भनी विन्ती गरे, ‘‘हामीलाई तिनै सुँगुरहरूभित्र जान दिनुहोस्।’’
13. येशूले अनुमति दिनुभयो, तब त्यस मानिसबाट अशुद्ध आत्माहरू निस्केर सुँगुरहरूभित्र पसे अनि दुई हजार जति सुँगुरहरू भीरबाट हुर्रिंदै गएर समुद्रमा झरे र डुबेर मरे।
14. ती सुँगुर चराउनेहरू भागेर नजिकका शहर र वरिपरिका गाउँमा गए र त्यसको हल्ला फिँजाए। मानिसहरू, त्यहाँ के भएको रहेछ भनी हेर्न आए।
15. चाँडै नै एउटा ठूलो भीड येशूको वरिपरि भेला भयो तर अशुद्ध आत्माले सताइएको त्यस मानिसलाई देखेर तिनीहरू डराए, किनभने ऊ, त्यहाँ लुगा लगाएर सद्दे भई बसिरहेको थियो।
16. त्यस मानिसलाई र ती सुँगुरहरूलाई के भयो भनी देख्नेहरू हरेकले सो घटनाको विषयमा सबैलाई बताए।
17. तब भीडले येशूसँग, त्यो ठाउँ छोडेर जानुहोस् भनी विन्ती गर्नलाग्यो।
18. जब येशू फर्किएर डुङ्गामा चढ्नुभयो, भूतात्माले सताइएको त्यो मानिसले उहाँको साथमा जान पाऊँ भनी विन्ती गर्यो।
19. तर येशूले त्यसलाई भन्नुभयो,‘‘होइन, बरु तिमी घर जाऊ र प्रभुले तिमीमाथि कस्तो कृपा गरेर कति ठूलो काम गर्नुभएको छ, त्यो आफ्ना मित्रहरूलाई बताइदेऊ।’’
20. त्यसकारण त्यो मानिस डेकापोलिसभरि घुम्न थाल्यो र येशूले आफूमाथि कति महान् काम गरिदिनुभयो भनी प्रत्येकलाई बताउन थाल्यो । त्यसले भनेको कुरा सुनेर सबै जना छक्क परे।
21. जब येशू झीलको वारिपट्टि आइपुग्नुभयो, त्यहाँ किनारमा उहाँको वरिपरि एउटा ठूलो भीड भेला भयो,
22. अनि स्थानीय सभाघरको एक जना अगुवा, याइरस आएर उहाँको पाउमा परे,
23. र उनकी सानी छोरीलाई निको पारिदिनुहोस् भनी उहाँसँग विन्ती गरे। उनले निराश हुँदै भने, ‘‘प्रभु, मेरो सानी छोरी मर्न लागेकी छे। कृपया, आएर त्यसमाथि हात राखिदिनुहोस् र त्यो बाँचोस्।’’
24. येशू उनीसँग जानुभयो र त्यो भीड पनि ठेलमठेला गर्दै उहाँको पछि लाग्यो।
25. त्यस भीडमा बाह्र वर्षदेखि रगत बग्ने रोग भएकी एउटी स्त्री थिइन्।
26. उनले वर्षौंदेखि धेरै जना वैद्यहरूबाट धेरै कष्ट भोगेकी र आफूसित भएको सबै कुरा खर्च गरेकी थिइन् तर उनको अवस्थामा सुधार हुनुको साटो झन् खराब भएको थियो।
27. उनले येशूको विषयमा सुनेकी थिइन्। त्यसकारण भीडलाई छिचोल्दै उनी येशूको पछि पुगिन् र उहाँको वस्त्रको फेरो छोइन्,
28. किनकि उनले मनमनै सोचेकी थिइन्,‘‘यदि मैले उहाँको वस्त्र मात्रै छुनसकेँ भने म निको हुनेछु।’’
29. तुरुन्तै उनको रगत थामियो र आफू निको भएकी अनुभव गरिन्।
30. येशूले आफूबाट शक्ति निस्किएको थाहा पाएर भीडतिर फर्केर सोध्नुभयो, ‘‘कसले मेरो वस्त्र छोयो?’’
31. उहाँका चेलाहरूले जवाफ दिए, ‘‘यति ठूलो भीडले ठेलमठेला गरिरहेको देखिरहनुभएको छ, तापनि तपाईं, कसले मलाई छोयो भन्नुहुन्छ?’’
32. तर आफूलाई छुने को रहेछ भनी पत्ता लगाउनको निम्ति येशूले वरिपरि हेरिरहनुभयो।
33. तब ती स्त्रीले आफूलाई जे भएको थियो सो थाहा पाएर थरथर काम्दै उहाँको पाउमा परेर उहाँलाई, आफूले गरेको कुरा बताइन्।
34. त्यसपछि येशूले उनलाई भन्नुभयो, ‘‘छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ । शान्तिसित जाऊ । तिमी निको भएकी छयौ।’’
35. उहाँ ती स्त्रीसँग बोल्दै गर्नुहुँदा याइरसको घरबाट खबर ल्याउनेहरू आएर भने, ‘‘तपाईंकी छोरी त मरिसकी, अब गुरुज्यूलाई किन दु:ख दिनुहुन्छ?’’
36. तर येशूले तिनीहरूको कुरालाई ख्यालै नगरी याइरसलाई भन्नुभयो,‘‘नडराऊ, ममाथि भरोसा गर।’’
37. तब येशूले भीडलाई रोक्नुभयो अनि पत्रुस, याकूब र यूहन्नाबाहेक अरु कसैलाई पनि आफूसित आउन दिनुभएन।
38. उहाँहरू सभाघरको अगुवाको घरमा आइपुग्दा येशूले त्यहाँ रुने र विलाप गर्नेहरूको खैलाबैला देख्नुभयो।
39. उहाँ भित्र पस्नुभयो र ती मानिसहरूलाई भन्नुभयो, ‘‘तिमीहरू किन रुवाबासी र खैलाबैला गर्छौं? बालिका मरेकी छैन, ऊ त निदाएकी छे।’’
40. तिनीहरूले उहाँलाई हाँसोमा उडाए। तर उहाँले तिनीहरू सबैलाई बाहिर निकाल्नुभयो। त्यसपछि उहाँले त्यस बालिका सुताइएको कोठामा त्यस बालिकाको आमा-बुबा र आफ्ना तीन जना चेलाहरूलाई मात्रै लैजानुभयो ।
41. त्यस बालिकाको हात समातेर उहाँले भन्नुभयो, ‘‘ए नानी, उठ।’’
42. त्यो बाह्र वर्षकी बालिका जुरुक्कै उठी र हिँडडुल गर्न थाली। यो देखेर उसका आमा-बुबा अत्यन्त चकित भए।
43. येशूले त्यस विषयमा कसैलाई नभन्नू भनी कडा आदेश दिनुभयो र त्यस बालिकालाई ‘केही खानेकुरा देओ’ भन्नुभयो।
|