1. ती दिनहरूमा अर्को ठूलो भीड पनि जम्मा भयो र फेरि तिनीहरूसित खानेकुरा केही थिएन। येशूले आफ्ना चेलाहरूलाई बोलाएर भन्नुभयो,
2. ‘‘यी मानिसहरूलाई देखेर मलाई दया लाग्दछ। यिनीहरू तीन दिनदेखि मसँगै छन्, अब यिनीहरूसँग खानेकुरा पनि केही छैन।
3. यदि मैले यिनीहरूलाई नखुवाई घर पठाएँ भने यिनीहरू बाटोमै मूर्च्छा पर्नेछन् किनभने यिनीहरूमध्ये कोही-कोही त धेरै टाढाबाट आएका छन्।’’
4. उहाँका चेलाहरूले भने, ‘‘यस्तो निर्जन ठाउँमा यत्तिका मानिसहरूलाई हामी कसरी खाना जुटाउन सक्छौं र?’’
5. येशूले तिनीहरूलाई सोध्नुभयो, ‘‘तिमीहरूसँग कति वटा रोटी छन्?’’ तिनीहरूले जवाफ दिए, ‘‘सातवटा।’’
6. त्यसकारण येशूले सबैलाई भुइँमा बस्न लगाउनुभयो। तब उहाँले ती सातवटा रोटी लिनुभयो, त्यसको निम्ति परमेश्वरलाई धन्यवाद दिनुभयो र भाँचेर चेलाहरूलाई बाँड्न लगाउनुभयो । त्यसपछि चेलाहरूले भीडलाई रोटी बाँडे।
7. थोरै साना माछाहरू पनि पाइयो, येशूले त्यसमा पनि आशिष् मागेर चेलाहरूलाई बाँड्न लगाउनुभयो।
8. उनीहरूले अघाउन्जेल खाए। यसरी मानिसहरूले खाइसके र उबारेका टुक्राटाक्रीहरू बटुल्दा सातवटा ठूलठूला डालाहरू भरिए।
9. त्यस दिन रोटी खाने मानिसहरूको सङ्ख्या चार हजारजति थिए। उनीहरूले त्यसरी खाइसकेपछि उहाँले उनीहरूलाई आ-आफ्नो घर पठाउनुभयो।
10. त्यसको लगत्तैपछि आफ्ना चेलाहरूसँग येशू डुङ्गामा चढ्नुभयो र दलमनुथाको क्षेत्रमा जानुभयो।
11. येशू आउनुभएको छ भन्ने सुनेर फरिसीहरू उहाँसँग तर्क गर्न आए। उहाँ साँच्चै परमेश्वरबाट आउनुभएको हो कि होइन भनी पारख गर्दै तिनीहरूले भने, ‘‘तपाईं आफैलाई प्रमाणित गर्नको निम्ति स्वर्गबाट हामीलाई एउटा चिन्ह देखाउनुहोस्।’’
12. उहाँले तिनीहरूका कुरा सुनेर लामो सास फेर्दै भन्नुभयो, ‘‘तिमीहरू किन बारम्बार चिन्ह माग्छौ? साँच्चै म तिमीहरूलाई भन्दछु, यस पुस्तालाई म त्यस्तो कुनै चिन्ह दिनेछैन।’’
13. यसरी उहाँ डुङ्गामा चढ्नुभयो र तिनीहरूलाई छोडेर झीलको पारिपट्टि जानुभयो।
14. तर चेलाहरूले आफूसित खानेकुरा बोक्न बिर्सेकाले डुङ्गामा तिनीहरूसित एउटै मात्र रोटी थियो।
15. समुद्र तर्दै गर्दा येशूले तिनीहरूलाई चेताउनी दिनुभयो, ‘‘तिमीहरू हेरोद र फरिसीहरूको खमीरदेखि होसियार बस।’’
16. तिनीहरूसित रोटी नभएको कारण उहाँले त्यसो भन्नुभएको हो भनी तिनीहरूले आपसमा कुराकानी गरे।
17. के तिमीहरू आँखा भएर पनि देख्न सक्दैनौ? के तिमीहरूका कान भएर पनि सुन्दैनौ? के तिमीहरू केही पनि सम्झँदैनौ?
18. तिनीहरू के सोचिरहेका छन् भन्ने थाहा पाएर येशूले भन्नुभयो, ‘‘रोटी छैन भनेर तिमीहरू किन चिन्ता गर्छौ? के तिमीहरू कहिल्यै देख्दैनौ वा बुझ्दैनौ? के तिमीहरूको हृदय यति पनि बुझ्न नसक्ने गरी कठोर भएको छ?
19. के मैले पाँचवटा रोटीबाट पाँच हजारलाई खुवाइनँ र? उब्रेका टुक्राटाक्रीहरू तिमीहरूले कति डाला बटुलेका थियौ?’’ तिनीहरूले भने, ‘‘बाह्र डाला।’’
20. उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘अनि मैले सातवटा रोटीबाट चार हजारलाई खुवाउँदा तिमीहरूले कति डाला टुक्राटाक्री बटुल्यौ?’’ तिनीहरूले भने, ‘‘सात डाला।’’
21. उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘तिमीहरूले अझै पनि बुझेनौ त ?’’
22. जब उहाँहरू बेथसेदामा आइपुग्नुभयो, केही मानिसहरूले एउटा अन्धालाई येशूकहाँ ल्याए र उहाँले त्यसलाई छोइदेऊन् भनी उहाँसँग विन्ती गरे।
23. येशूले त्यसलाई डोर्याउँदै गाउँबाट बाहिर लैजानुभयो। त्यसपछि त्यसका आँखामा थुकेर उहाँले त्यसमाथि आफ्ना हात राखेर सोध्नुभयो,‘‘अहिले केही देख्दैछौ?’’
24. त्यस मानिसले यताउति हेरेर भन्यो, ‘‘हजूर, म मानिसहरूलाई देख्दैछु, तर प्रस्टसँग देख्न सक्दिनँ। म त तिनीहरूलाई रूखहरूजस्ता तर हिँडिरहेको देख्दैछु।’’
25. येशूले फेरि त्यसका आँखामा हात राख्नुभयो। त्यसपछि जब त्यसले एकटक लगाएर हेर्यो, तब त्यसले पूर्णरूपले दृष्टि प्राप्त गर्यो र सबै कुरा प्रस्टैसँग देख्न थाल्यो।
26. येशूले त्यसलाई यसो भनेर घर पठाउनुभयो, ‘‘तिमी गाउँतिर नपसी सीधै घर जाऊ र यो कुरा कसैलाई नभन।’’
27. येशू र चेलाहरू गालील छाडेर कैसरिया फिलिप्पीका गाउँहरूतिर जानुभयो। त्यहाँ हिँड्दै गर्दा येशूले चेलाहरूलाई सोध्नुभयो,‘‘मानिसहरू ‘म को हुँ’ भनी भन्छन्?’’
28. तिनीहरूले भने,‘‘हजूर, कोही तपाईंलाई बप्तिस्मा दिने यूहन्ना, कोही एलिया र अरुले अगमवक्ताहरूमध्ये कुनै एक भन्छन्।’’
29. त्यसपछि येशूले सोध्नुभयो, ‘‘तिमीहरू म को हुँ भनी भन्छौ?’’ पत्रुसले जवाफ दिए, ‘‘तपाईं त स्वयम् मसीह हुनुहुन्छ।’’
30. तर येशूले कसैलाई पनि यस विषयमा नभन्नू भनी कडा चेताउनी दिनुभयो।
31. तब उहाँले तिनीहरूलाई ‘मानिसको पुत्रले धेरै कष्ट सहनुपर्छ र धर्मगुरुहरू, मुख्य पूजाहारीहरू र धार्मिक व्यवस्थाका शिक्षकहरूबाट तिरस्कृत हुनु, मारिनु र तेस्रो दिनमा पुनर्जीवित हुनुपर्नेछ’ भनी सिकाउन थाल्नुभयो।
32. येशूले तिनीहरू सबैले सुन्नेगरी यसो भन्नुहुँदा पत्रुसले उहाँलाई अलग्गै लगेर हप्काए।
33. येशू चेलाहरूतिर फर्केर तिनीहरूलाई हेर्नुभयो र पत्रुसलाई झपार्दै भन्नुभयो, ‘‘शैतान, तँ मेरो सामुन्नेबाट हटिजा। तँ त मानवीय दृष्टिले हेर्दछस्, परमेश्वरको दृष्टिले होइन ।’’
34. त्यसपछि उहाँले आफ्ना चेला र अरु मानिसहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, ‘‘यदि तिमीहरूमध्ये कोही मेरोपछि लाग्न चाहन्छ भने उसले आफ्ना सबै स्वार्थी इच्छाहरू त्यागोस् र आफ्नो क्रूस उठाएर मेरो अनुसरण गरोस्।
35. तिमीहरू आफैले आफ्नो प्राण बचाउने प्रयास गर्यौ भने त्यो गुमाउनेछौ । तर यदि तिमीहरूले मेरो र सुसमाचारको खातिर आफैलाई अर्पण गर्यौ भने साँचो जीवन पाउनेछौ।
36. सारा संसार नै हात पारेर पनि तिमीहरूले आफ्नो प्राण गुमायौ भने तिमीहरूलाई के लाभ?
37. के तिमीहरूको प्राणभन्दा मूल्यवान् अरु कुनै कुरा छ र?
38. यदि यस व्यभिचारी र पापी पुस्तामा कोही म र मेरो वचनसित सर्माउँछ भने म, मानिसको पुत्र पनि आफ्ना पिताको महिमामा र पवित्र स्वर्गदूतहरूको साथमा फर्किआउँदा ऊसित सर्माउनेछु।’’
|