1. येशूले आफ्ना बाह्र चेलाहरूलाई आफूकहाँ बोलाउनुभयो र उनीहरूलाई सबै प्रकारका रोग निको पार्ने र भूतात्माहरू धपाउने अख्तियार दिनुभयो।
2. उहाँका बाह्र प्रेरितको नाउँ यस प्रकार छ: पहिलो पत्रुस भनिने सिमोन र उनको दाजु अन्द्रियास। जब्दियाका छोरा याकूब र उनका भाइ यूहन्ना।
3. फिलिप, बारथोलोमाइ, थोमा, महसुल उठाउने मत्ती र अल्फयसका छोरा याकूब र थेदियस ।
4. सिमोन कनानी र यहूदा इस्करियोत, जसले पछि उहाँलाई धोका दियो।
5. येशूले यसो भनेर सिकाउँदै ती बाह्रै जना चेलाहरूलाई पठाउनुभयो : ‘‘अयहूदी वा सामरीहरूकहाँ नजाओ।
6. तर इस्राएलका घरानामा मात्रै जाओ, जो परमेश्वरका हराएका भेडाहरू हुन्।
7. जाओ र तिनीहरूलाई, ‘स्वर्गको राज्य नजिकै छ’ भनी घोषणा गर ।
8. बिमारीहरूलाई निको पार, मरेकाहरूलाई जीवित पार, कुष्ठरोगीहरूलाई शुद्ध पार र भूतात्माहरू धपाओ। तिमीहरूले जे सित्तैंँमा पाएका छौ, त्यो सित्तैँमा देओ।
9. तिमीहरूका आफ्ना थैलीमा सुनचाँदी र तामा नबोक।
10. तिमीहरूसँग झिटीगुन्टा नबोक, जगेडा वस्त्र र चप्पल पनि नबोक, न त लौरो नै बोक। कसैले घरमा अतिथिसत्कार गर्यो भने अप्ठयारो नमान, किनभने काम गर्ने खेताला ज्यालाको योग्य हुन्छ।
11. तिमीहरू जब कुनै शहर वा गाउँभित्र पस्छौ, एक जना योग्य मानिसको खोजी गर र त्यो ठाउँ छोडेर अर्को शहरमा नगएसम्म त्यहीँ बस।
12. तिमीहरूलाई कुनै घरमा निम्तो दिइयो भने त्यस घरलाई आशीर्वाद देओ।
13. त्यो घर तिमीहरूको योग्य रहेछ भने तिमीहरूको आशिष् त्यस घरमा रहोस्। यदि त्यो योग्य रहेन छ भने तिमीहरूको आशिष् त्यस घरमा रहनेछैन।
14. यदि कुनै गाउँले तिमीहरूलाई स्वागत गरेन र तिमीहरूका कुरा पनि सुनेन भने त्यहाँबाट निस्कँदा आफ्नो खुट्टाको धूलो टकटक्याइदेओ।
15. साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूलाई स्वागत नगर्ने त्यस ठाउँको हालत न्यायको दिनमा दुष्ट शहर सदोम र गमोराको भन्दा पनि अझै खराब हुनेछ।
16. हेर, म तिमीहरूलाई ब्वाँसाको बथानमा भेडाझैँ पठाइरहेको छु । तसर्थ सर्पझैँ सतर्क र ढुकुरझैँ सोझो बन।
17. तर होशियार बस, किनभने मानिसहरूले तिमीहरूलाई अदालतमा पुर्याउनेछन् र सभाघरको अगाडि पिट्नेछन्।
18. तिमीहरू सरकारी अधिकारीहरूको सामु खडा हुनुपर्नेछ, किनभने तिमीहरू मेरा अनुयायीहरू हौ। त्यो तिमीहरूको निम्ति मेरो विषयमा बताउने अवसर हुनेछ - साँच्चै, संसारलाई साक्षी दिने त्यो राम्रो मौका हुनेछ।
19. जब तिमीहरू पक्राउ पर्नेछौ, त्यसबेला आफ्नो बचाउको निम्ति के बोल्ने भनेर चिन्ता नगर, किनभने त्यो समयमा ठीक कुरा बोल्ने वचन तिमीहरूलाई दिइनेछ।
20. किनकि त्यसबेला बोल्ने तिमीहरू आफैँ हुनेछैनौ तर तिमीहरूद्वारा पिताको आत्मा बोल्नुहुनेछ।
21. भाइले भाइलाई धोका दिएर मृत्युमा पुर्याउनेछ, बुबाहरूले आफ्नै छोराछोरीहरूलाई धोका दिनेछन्, छोराछोरीहरू आफ्नै आमा - बुबाको विरुद्धमा उठ्नेछन् र तिनीहरूलाई मृत्युमा पुर्याउनेछन्।
22. मप्रति तिमीहरूको निष्ठाको कारण सबैले तिमीहरूलाई घृणा गर्नेछन्। तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यो बचाइनेछ।
23. यदि एउटा शहरमा तिमीहरूलाई सताइयो भने अर्को शहरतिर जाओ । साँच्चै, म तिमीहरूलाई भन्दछु, मानिसको पुत्र फेरि फर्केर आउनअघि तिमीहरू इस्राएलका सबै शहर घुमिसकेका हुनेछैनौ।
24. चेला गुरुभन्दा र नोकर मालिकभन्दा श्रेष्ठ हुँदैन।
25. चेला आफ्नो गुरुजस्तो र नोकर आफ्नो मालिकजस्तो हुनु पर्याप्त हुन्छ। यदि तिनीहरूले म, घरको स्वामीलाई नै भूतात्माहरूको मालिक भनेका छन् भने तिमी, मेरा घरानाका सदस्यहरूलाई झन् कति बढी भन्लान् !
26. तर तिमीहरूलाई धम्काउनेहरूदेखि नडराओ। समय आउँदैछ र सबै थोक खुलस्त हुनेछ, अनि गुप्तमा भएका सबै थोक सार्वजनिक गरिनेछन्।
27. जुन कुरा मैले तिमीहरूलाई अँध्यारोमा भनेको छु, त्यो कुरा दिनको उज्यालोमा कराएर सुनाओ । जे कुरा मैले तिमीहरूका कानमा सुस्तरी भनेको छु, त्यो सबैले सुन्नेगरी घरको धुरीबाट कराएर सुनाओ।
28. तिमीहरूलाई मार्न खोज्नेहरूसँग नडराओ। तिनीहरूले तिम्रो शरीर मात्रै मार्न सक्छन् तर तिम्रो आत्मालाई छुन पनि सक्दैनन्। परमेश्वरसँग मात्रै डराओ, जसले शरीर र आत्मा दुवैलाई नरकमा नाश पार्न सक्नुहुन्छ।
29. एक पैसा दाम पर्ने भँगेरोसमेत तिमीहरूका पिताको ज्ञानबिना भुइँमा खस्दैन।
30. तिम्रो शिरका केशहरू गन्ती गरिएका छन्।
31. त्यसकारण नडराओ, तिमीहरू उहाँको निम्ति संसारभरिका सबै भँगेराहरूभन्दा पनि बढ्ता मूल्यवान् छौ।
32. यदि कसैले यस पृथ्वीमा मलाई सबैको अगाडि स्वीकार गर्दछ भने म पनि त्यसलाई स्वर्गमा मेरा पिताको अगाडि खुशीसाथ स्वीकार गर्नेछु।
33. तर यदि कसैले मलाई यस पृथ्वीमा इन्कार गर्छ भने म पनि त्यसलाई स्वर्गमा मेरा पिताको सामुन्ने इन्कार गर्नेछु।
34. म यस पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी नठान। त्यसो होइन, म त तरवार चलाउन आएँ।
35. म त एउटा मानिसलाई उसको बाबुको, छोरीलाई आमाको र बुहारीलाई सासूको विरुद्धमा फाटो ल्याउन आएको हुँ।
36. तिमीहरूका शत्रुहरू तिम्रै घराना भित्रकाहरू नै हुनेछन्।
37. यदि तिमीहरू मलाईभन्दा बढ्ता आफ्ना आमा-बुबालाई प्रेम गर्छौ भने मेरा चेलाहरू हुने योग्यका हुँदैनौ अथवा यदि तिमीहरू मलाईभन्दा बढ्ता आफ्ना छोराछोरीहरू लाई प्रेम गर्छौ भने मेरा योग्यका हुँदैनौ।
38. तिमीहरू आफ्नो क्रूस उठाएर मेरोपछि लाग्न इन्कार गर्छौ भने मेरा चेलाहरू हुने योग्यका हुँदैनौ।
39. यदि तिमीहरूले आफ्नो जीवन बचाउने प्रयत्न गर्यौ भने त्यो गुमाउनेछौ। तर मेरोनिम्ति आफ्नो जीवन अर्पण गर्यौ भने त्यो पाउनेछौ।
40. तिमीहरूलाई स्वागत गर्नेले मलाई स्वागत गर्नेछ अनि जसले मलाई स्वागत गर्दछ, उसले मलाई पठाउनुहुने पितालाई स्वागत गर्दछ।
41. यदि तिमीहरूले कुनै अगमवक्तालाई परमेश्वरको तर्फबाट बोल्ने व्यक्तिको रूपमा स्वागत गर्छौ भने तिमीहरूले पनि अगमवक्ताले पाउने इनाम पाउनेछौ। धर्मीजनलाई धर्मीजन नै मानेर ग्रहण गर्नेले धर्मीजनले पाउने इनाम नै पाउनेछ।
42. यदि कसैले मेरा अनुयायीहरूमध्ये सानालाई एक कचौरा पानी मात्रै भए पनि पिउन देला, उसले निश्चय नै आफ्नो इनाम गुमाउनेछैन।’’
|