1. येशू डुङ्गामा चढ्नुभयो र त्यहाँबाट फर्किएर आफ्नै शहरमा जानुभयो।
2. केही मानिसहरूले एक जना पक्षाघातीलाई गुन्द्रीमा उठाएर उहाँकहाँ ल्याए। ती मानिसहरूको विश्वास देखेर येशूले त्यस पक्षाघातीलाई भन्नुभयो, ‘‘छोरा, साहस गर। तिम्रा पाप क्षमा भए।’’
3. केही शास्त्रीहरूले आपसमा भने, ‘‘हेर ईश्वर-निन्दा गरेको, ऊ त आफै परमेश्वर भएजस्तो गरी बोल्दैछ।’’
4. तिनीहरू आपसमा के कुरा गर्दैछन् भन्ने थाहा पाएर येशूले तिनीहरूलाई सोध्नुभयो, ‘‘किन तिमीहरू, तिमीहरूका हृदयमा दुष्ट कुरा सोच्दछौ?
5. ‘तिम्रा पाप क्षमा भए’ भन्नु सजिलो हो कि ‘उठ र हिँड’ भन्नु?
6. म पुष्टि गरिदिन्छु, मानिसको पुत्रसँग पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ ।’’ येशू त्यस पक्षाघातीतर्फ फर्किनुभयो र भन्नुभयो, ‘‘उठ, तिम्रो गुन्द्री उठाऊ, तिमी निको भएका छौ, अब आफ्नो घर जाऊ।’’
7. त्यो मानिस बुर्लुक्क उफ्रेर खडा भयो र घरतिर लाग्यो।
8. आफ्नै आँखाको सामुन्ने यो घटना भएको देखेर सारा भीडमा भय उत्पन्न भयो । परमेश्वरले त्यस्तो महान् अख्तियार भएको मानिसलाई पठाइदिनुभएको निम्ति तिनीहरूले उहाँको प्रशंसा गरे।
9. येशू तलतिर जाँदै गर्नुहुँदा उहाँले मत्तीलाई महसुल उठाउने सानो अड्डामा बसिरहेको देख्नुभयो। येशूले मत्तीलाई भन्नुभयो, ‘‘आऊ, मेरोपछि लाग।’’ तब मत्ती जुरुक्कै उठे र उहाँको पछि लागे।
10. जब येशू मत्तीको घरमा बेलुकीको भोजनमा सरिक हुनुहुँदा धेरै महसुल उठाउने र पापीहरू आएर उहाँ र उहाँका चेलाहरूसँग खान बसे।
11. जब फरिसीहरूले यो देखे तब तिनीहरूले टकटकिँदै उहाँका चेलाहरूलाई सोधे, ‘‘तिमीहरूका गुरु किन ती पापीहरूसित बसेर खान्छन् हँ ?’’
12. जब येशूले तिनीहरूका कुरा सुन्नुभयो तब उहाँले यसो भनेर जवाफ दिनुभयो, ‘‘रोगीहरूलाई मात्रै वैद्यको आवश्यकता पर्छ, तर निरोगीहरूलाई होइन।’’
13. उहाँले फेरि भन्नुभयो,‘‘अब जाओ र यस धर्मशास्त्रको अर्थ पत्तो लगाओ: ‘म बलिदान होइन, दया चाहन्छु’, किनभने म पापीहरूलाई खोज्न आएको हुँ तर आफैलाई धर्मी र भलो ठान्नेहरूलाई होइन।’’
14. एक दिन बप्तिस्मा दिने यूहन्नाका चेलाहरू आएर येशूलाई सोधे, ‘‘हामी र फरिसीहरू उपवास बस्छौं तर तपाईंका चेलाहरू किन बस्दैनन् ?’’
15. येशूले जवाफ दिनुभयो,‘‘दुलहाको साथमा रहेका जन्तीहरूले के शोक मनाउँछन् र ? जुन दिन दुलहा तिनीहरूका साथमा रहनेछैनन्, त्यस दिन तिनीहरू उपवास बस्नेछन्।
16. पुरानो लुगामा कसले नयाँ टालो टाल्छ र? किनकि नयाँ टालोले पुरानो लुगालाई फटाउँछ र वस्त्र अझै बढी च्यातिन्छ।
17. कसैले पनि नयाँ अङ्गुरमद्य पुरानो छालाको मशकमा राख्दैन। नत्र त मशक फुट्छ र अङ्गुरमद्य पोखिन्छ। नयाँ अङ्गुरमद्यलाई नयाँ मशकमा नै राख्नुपर्दछ, यसो गर्नाले अङ्गुरमद्य र मशक दुवै जोगिन्छन्।’’
18. येशूले त्यसो भन्दै गर्नुहुँदा सभाघरका एक जना अगुवा आएर उहाँको अगाडि घुँडा टेके र उनले भने,‘‘मेरी छोरी भर्खरै मरी, तर तपाईं मेरो घरमा आएर त्यसमाथि आफ्नो हात राखिदिनुभयो भने त्यो फेरि जीवित हुनेछे।’’
19. येशू र उहाँका चेलाहरू उनको घरतिर जाँदै गर्नुहुँदा,
20. बाह्र वर्षदेखि रगत बग्ने रोग भएकी एउटी स्त्री उहाँको पछिल्तिर आई र उहाँको वस्त्रको फेरो छोई,
21. किनभने ‘‘यदि मैले उहाँको वस्त्र मात्रै छुनसकेँ भने पनि म निको हुनेछु’’ भनी उसले मनमनै सोचेकी थिई।
22. येशू फनक्कै फर्किनुभयो र त्यस स्त्रीलाई भन्नुभयो,‘‘छोरी, साहस गर, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।’’ त्यो स्त्री त्यति नै बेला निको भइहाली।
23. जब येशू त्यस सभाघरको अगुवाको घरमा पुग्नुभयो, त्यहाँ उहाँले रोइकराइ गर्नेको चर्को आवाज र अन्त्येष्टीमा बजाइने सङ्गीतको धुन सुन्नुभयो।
24. उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘पछि हट, किनभने बालिका मरेकी छैन, त्यो सुतिरहेकी छे।’’ उहाँको कुरा सुनेर तिनीहरू हाँसे।
25. जब भीड बाहिर गयो, उहाँ घरभित्र पस्नुभयो र त्यस केटीको हात समातेर उठाउनुभयो अनि त्यो उठी ।
26. यो आश्चर्यकर्मको खबर त्यस इलाकाभरि फैलियो।
27. येशू त्यहाँबाट निस्किनुभएपछि दुई जना अन्धाहरू यसो भनेर कराउँदै उहाँको पछि लागे, ‘‘हे दाऊदका पुत्र, हामीमाथि कृपा गर्नुहोस्।’’
28. तिनीहरू उहाँ बस्नुभएकै घरमा गए र येशूले तिनीहरूलाई सोध्नुभयो, ‘‘के म तिमीहरूलाई दृष्टि दिनसक्छु भनी तिमीहरू विश्वास गर्छौ?’’ तिनीहरूले भने, ‘‘ज्यू प्रभु, हामी गर्छौं।’’
29. अनि उहाँले तिनीहरूका आँखामा छुनुभयो र भन्नुभयो,‘‘तिमीहरूको विश्वासले तिमीहरू देख्नसक्ने हुनेछौ।’’
30. तब तुरुन्तै तिनीहरूले देख्नसके। येशूले तिनीहरूलाई कडा चेताउनी दिनुभयो,‘‘यस विषयमा कसैलाई केही पनि नभन्नू।’’
31. तर तिनीहरूले त्यस इलाकाभरि उहाँको कीर्ति फैलाए।
32. तिनीहरू गइसकेपछि केही मानिसहरूले एउटा बोल्न नसक्ने व्यक्तिलाई उहाँकहाँ ल्याए, त्यसलाई भूतात्माले लाटो बनाएको थियो।
33. तब येशूले त्यस भूतात्मालाई निकाल्नुभयो र तुरुन्तै त्यो मानिस बोल्नसक्ने भयो। यो देखेर भीड छक्कै पर्यो। तिनीहरूले भने, ‘‘यस्तो त इस्राएलमा अघि कहिल्यै भएको थिएन !’’
34. तर फरिसीहरूले भने, ‘‘भूतहरूकै मालिकले उसलाई शक्ति दिएको छ र त उसले भूतहरूलाई धपाउनसक्छ।’’
35. सभाघरहरूमा शिक्षा दिँदै र राज्यको सुसमाचार प्रचार गर्नुहुँदै येशू त्यस क्षेत्रका सबै शहर र गाउँभरि घुम्नुभयो। उहाँ जहाँ-जहाँ जानुभयो, त्यहाँ उहाँले हरेक प्रकारका रोग-बिमारले ग्रस्त भएका मानिसहरूलाई निको पार्नुभयो।
36. उहाँले आफूकहाँ आएको भीडलाई देखेर अति नै टिठाउनुभयो, किनकि तिनीहरू सबै गोठाला नभएका भेडाहरूझैँ सहाराविहीन र असहाय थिए।
37. उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, ‘‘फसल त साँच्चै तयार छ, तर फसल उठाउने खेतालाहरूको भने अभाव छ।
38. त्यसकारण फसलका मालिक, प्रभुसँग प्रार्थना गर र उहाँको खेतमा प्रशस्त खेतालाहरू पठाइदिनुहोस् भनेर विन्ती गर।’’
|