1. येशूले आफ्ना बाह्र चेलाहरूलाई यी शिक्षा दिनुभएपछि उहाँ त्यस देशभरिका शहरहरूमा शिक्षा दिँदै र प्रचार गर्दै हिँड्नुभयो।
2. जब बप्तिस्मा दिने यूहन्ना झ्यालखानमा थिए, तब उनले मसीहले गरेका कामहरूको बारेमा सुने र उनले आफ्ना चेलाहरूलाई येशूकहाँ यो सोध्न पठाए,
3. ‘‘के हामीले बाटो हेरेको मसीह तपाईं नै हुनुहुन्छ, कि हामी अर्कैको प्रतीक्षा गरौं?’’
4. येशूले तिनीहरूलाई भन्नुभयो, ‘‘यूहन्नाकहाँ फर्केर जाओ र तिमीहरूले देखेका र सुनेका सबै कुरा उनलाई भन-
5. अन्धाहरूले देख्छन्, लङ्गडाहरू हिँड्छन्, कुष्ठरोगीहरू निको भएका छन्, बहिराहरू सुन्छन् र मूर्दाहरू जीवित भएका छन् अनि गरीबहरूलाई सुसमाचार सुनाउने काम भइरहेको छ।
6. अनि उनलाई यो पनि भन, त्यो मानिस धन्यको हो, जसले मबाट ठेस खाँदैन।’’
7. यूहन्नाका चेलाहरू गइसकेपछि येशूले, उनको विषयमा भीडसित कुरा गर्न थाल्नुभयो, ‘‘उजाड-स्थानमा यो मानिस को थियो र तिमीहरू उनलाई हेर्न गयौ? के तिमीहरूले उनलाई बतास चल्दा लर्किने निगालोजस्तो पायौ?
8. के तिमीहरूले उनी महँगो लुगा लगाउने व्यक्ति हुनुपर्छ भन्ने ठानेका थियौ? त्यस्तो लुगा लगाउनेहरू त दरबारमा बस्छन्, उजाड-स्थानमा होइन।
9. के तिमीहरूले अगमवक्ताको खोजी गरिरहेका थियौ? हो, उनी अगमवक्ताभन्दा पनि महान् हुन्।
10. धर्मशास्त्रले भनेको व्यक्ति यूहन्ना नै हुन्, जहाँ यसो भनिएको छ : ‘हेर, म मेरो सन्देशवाहकलाई तिमीभन्दा अघि पठाउँदैछु, र तिनले तिम्रोलागि बाटो तयार पार्नेछन्।’
11. साँच्चै, म तिमीहरूलाई भन्दछु, अहिलेसम्म स्त्रीबाट जन्मिएका मानिसहरूमध्ये बप्तिस्मा दिने यूहन्नाभन्दा महान् कोही पनि छैनन्। तैपनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो यूहन्नाभन्दा महान् हुनेछ।
12. बप्तिस्मा दिने यूहन्नाले प्रचार गर्न र बप्तिस्मा दिनथालेदेखि यता आजसम्म स्वर्गको राज्य बडो द्रुतगतिमा अघि बढिरहेको छ र हिँस्रक मानिसहरूले यसलाई आक्रमण गर्छन्,
13. किनकि यूहन्ना आउनुभन्दा पहिले, सबै अगमवक्ता र व्यवस्थाले अगमवाणी गरे।
14. यदि तिमीहरू मेरो कुरा स्वीकार गर्न इच्छुक छौ भने म भन्दछु, ‘अगमवक्ताहरूले आउनेछन् भनेका एलिया उनी नै हुन्।’
15. जसलाई सुन्ने मन छ, उसले सुनोस् र बुझोस्।
16. म यस पुस्ताको बयान कसरी गरूँ? यी मानिसहरू त चौकमा भेला भएर खेल्ने ससाना केटाकेटीहरूजस्तै छन्। तिनीहरू गुनासो गर्दै आफ्ना साथीहरूलाई भन्छन्,
17. ‘हामीले तिमीहरूको लागि बाँसुरी बजायौं र पनि तिमीहरू नाचेनौ, हामीले विलापको गीत गायौं, र पनि तिमीहरू रोएनौ।’
18. बप्तिस्मा दिने यूहन्नाले मद्य पिएनन्, तिनी प्राय: जसो उपवास बस्थे र तिमीहरू ‘उनलाई भूत लागेको छ’ भन्छौ ।
19. म, मानिसको पुत्र खाँदै र पिउँदै आएँ र तिमीहरू भन्छौ, ‘उनी घिचुवा, पियक्कड र नीच पापीहरूको मित्र हुन् !’ तर बुद्धि ठीक हो कि होइन भन्ने कुरा त्यसको परिणामबाट प्रकट हुन्छ।’’
20. त्यसपछि येशूले ती शहरहरूलाई हप्काउन थाल्नुभयो, जहाँ उहाँले धेरैजसो आश्चर्यकर्महरू गर्नुभएको थियो, किनभने तिनीहरू आफ्ना पाप त्यागेर परमेश्वरतिर फर्केका थिएनन्।
21. ‘‘धिक्कार ए खोराजीन, धिक्कार ए बेथसेदा ! तिमीहरूमा गरिएका आश्चर्यकर्महरू यदि दुष्ट टुरोस र सीदोनमा गरिएका भए, त्यहाँका मानिसहरूले धेरै अघि नै पश्चात्ताप गरिसक्ने थिए, तिनीहरूले भाङ्ग्रा लगाएर शिरमा खरानी घसेर आफ्नो दु:ख व्यक्त गर्ने थिए।
22. साँच्चै, म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा तिमीहरूको भन्दा त टुरोस र सीदोनको अवस्था धेरै राम्रो हुनेछ।
23. ए कफर्नहुमका बासिन्दाहरू हो, के तिमीहरू स्वर्गमा उचालिनेछौ र? तिमीहरू त तल मृतकको ठाउँमा खसालिनेछौ। यदि मैले तिमीहरूको निम्ति गरेका आश्चर्यकर्महरू सदोममा गरेको भए, त्यो अहिलेसम्म यहाँ हुनेथियो।
24. साँच्चै, म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा तिमीहरूको भन्दा सदोमको अवस्था धेरै राम्रो हुनेछ ।’’
25. तब येशूले यसो भन्दै प्रार्थना गर्नुभयो, ‘‘स्वर्ग र पृथ्वीका परमप्रभु, हे पिता, आफैलाई बुद्धिमान् र चलाख ठान्नेहरूबाट सत्य लुकाएर बालकहरूलाई त्यो प्रकट गरिदिनुभएको निम्ति तपाईंलाई धन्यवाद छ।
26. हो, पिता, तपाईंले यसै गर्न उचित ठान्नुभयो।
27. मेरा पिताले मलाई सबै थोकमाथि अधिकार दिनुभएको छ। पिताबाहेक अरु कसैले पुत्रलाई राम्ररी चिन्दैन।
28. हे, सबै चिन्ता र गह्रौं बोझले लादिएका हो, मकहाँ आओ र म तिमीहरूलाई विश्राम दिनेछु।
29. मेरो जुवा बोक, म तिमीहरूलाई सिकाउनेछु, किनभने म नम्र र विनयी हृदयको छु, तिमीहरूले आफ्नो मनमा विश्राम पाउनेछौ।
30. मेरो जुवा सजिलो छ र मैले तिमीहरूलाई दिने भारी पनि हलुको छ।’’
|